“ह्या, आमा आज पनि कति पिरो हाल्नु भाको तरकारीमा ?”
“हैन,कति गनगन गर्दो रहेछ यो केटो , यति जाबो पिरो पनि नखाए कसरी बाठो भइन्छ ?”
त्यस दिन पनि मैले बाठो भइने अभिलाषाका साथ , नाक , कान अनि सास एकैचोटि बन्द गरि पिरो तामाको एक बटुका झोल एकैपटकमा घुट्क्याएँ । अझ यसलाइ यसरी भनौँ , आधा बाल्यकाल त हरेक दिन घरमा पाक्ने पिरो तरकारीलाइ सत्तोसराप गर्दै बित्यो ।
बाल्यकालका मेरा ती प्रार्थनाहरु सायद ठिक ठाउँमा पुगेका थिए भने , आजसम्म यो संसारबाटै ‘खुर्सानी’ भन्ने प्रजाति लोप भइसकेको हुने थियो ।
एकदिन त असह् भएर अलिक झट्किलो पारामा नै सोधेँ –“हैन यो पिरो खाएर आजसम्म को चाहिँ बाठो भएको देख्नु भाको छ ?”
यस्ता प्रश्नहरुको जवाफ सायद हरेक आमाहरुले ‘जिन’मै लिएर आएका हुन्छन् । मेरी आमालाइ पनि थाहा नहुने कुरै भएन । “सुँगा छैन , सुँगा । खुर्सानी खाएरै त्यस्तो बाठो भएको त हो नि ।”
हो यो कुरा त सोह्रै आना सहि हो । हाम्रो छिमेकमा रहेको मैना सुँगा , चरा भइकन पनि दुरुस्तै मानिसको जस्तो आवाज निकाल्न सक्थ्यो । फेरि त्यसलाइ कतिपटक त मैले आँफैले लगेर खुर्सानी खुवाएको छु । मेरो बाल मस्तिष्कले यो भन्दा बढि सोच्न सकेन । धेरै पछि सम्म पनि मलाइ लागिरह्यो पिरो खाए बाठो भइन्छ ।
जब ठूलो हुँदै गएँ तब खुर्सानीका अनेक पारखीहरुसँग भेट हुन थाल्यो । खुर्सानीको तरकारी , खुर्सानीको अचार त बच्चैदेखि खाँदै÷सुन्दै आइएको थियो । तर भारत÷बङ्गलादेश पुग्दा त असत्तिहरुले खुर्सानीकै दाल अनि खुर्सानीकै भात खुवाइदिए ।
आश्चर्यचकित त मलाइ अझ यस कुराले बनाएको छ कि संसारभर रहेका खुर्सानी पारखीहरुबिच एउटा मूलभूत समानता भेटिन्छ । समानता यस मानेमा कि , आफ्नो खुर्सानी प्रतिको मोह सिद्ध गर्न भए–नभएको भ्रमहरुको प्रचार गर्ने । जस्तो कि ः
— खुर्सानी खाए बाठो भइन्छ ।
— खुर्सानीले पेटका बिकारहरु ठिक पार्छ ।
— खुर्सानीले एन्टिबायोटिकको काम गर्छ ।
— पिरो खाँदा रुघा चट हुन्छ ।
— खुर्सानीले रगत सफा गर्छ अनि छाला राम्रो बनाउँछ ।
— जाडो महिनामा टन्न खुर्सानी खाए शरिर तातो हुन्छ । आदि
यि र यस्ता कुराहरुले सदिऔँदेखि हाम्रो मस्तिष्कमा डेरा जमाएर बसेका छन् । यिनमा केहि सत्यता पनि होलान तर हामीले कहिल्यै यस्ता सानातिना कुराहरुका वैज्ञानिक कारणहरु जान्ने प्रयास गरेनम । खुर्सानी मन पराउनेले धमाधम प्रचार गरिरह्यौँ अनि मन नपराउनेले पनि, होला त नि भनेर चुपचाप पत्याइरह्यौँ ।
खुर्सानी र मानवीय जिब्रो
यो पहिलो पटक सुन्नेका लागि आश्चर्यको कुरा हुनसक्छ कि पिरो कुनै स्वाद नै होइन । हाम्रो जिब्रोमा जम्मा पाँच किसिमका प्रमुख स्वादहरु थाह पाउने ‘रिसेप्टर’हरु रहेका हुन्छन –गुलियो , नुनिलो , अमिलो, तितो र अजिनो मोटोको स्वाद । यी बाहेका पनि केहि स्वादहरु यिनै पाँच थोक मिसिएर बनेका हुन्छन् ।
तर पिरो भने कुनै स्वाद नै होइन । वैज्ञानिकहरु त पिरोलाइ एक किसिमको दुखाइसँग तुलना गर्दछन् । खुर्सानीमा ‘क्यापसिसिन’ नाम गरेको एकप्रकारको तत्व रहेको हुन्छ । क्यापसिसिन जिब्रोको संसग्रमा आउनासाथ यसले दुखाइ थाहा पाउने ‘रिसेप्टर’हरुलाइ तरङ्गित बनाउँछ । अन्ततोगत्वा दिमाखले यसलाइ दुखाइ अर्थात ‘पेन’कै रुपमा ग्रहण गर्दछ । जिब्रोबाट त्यसरी मस्तिष्कसम्म पुग्ने केहि सूचनाहरु भने तापक्रम हेर्ने निकायसम्म पनि पुग्दछन् । त्यसैले त पिरो खाँदा मुख पोलेको जस्तो अनुभव पनि हुन्छ ।
तसर्थ पिरो कुनै स्वाद होइन । यो त क्यापसिसिनका कारण उत्पन्न हुने दुखाइ र मुख पोल्नुको नतिजा मात्रै हो । यहि दुखाइ र पोलाइलाइ नै सायद धेरै पारखीहरुले शरिर तातेको भनि विश्लेषण गरेको हुनुपर्दछ ।
आखिर पिरो कुनै स्वाद नै होइन भने मानिसहरु किन खुर्सानीका लागि यति विधि मरिहत्ते गर्छन त ?
यसको उत्तर थाहा पाउन वैज्ञानिक÷साइकोलोजिस्ट पल रोजिनले लामै अनुशन्धान गरेका छन् जसको सार यस्तो थियोः
मानिसहरुले खुर्सानीलाइ आफ्नो खानामा धेरै पछि मात्र मिसाएका हुन् । यसको उत्पादन पहिलोपटक मेक्सिकोमा भएको पाइन्छ । त्यसबखत मानिसहरुले हात्तीबाट आफ्नो बाली जोगाउनका लागि खेतको वरिपरि खुर्सानी लगाउँथे । रोजिनका अनुसार खुर्सानीको असर लगभग सम्पूर्ण स्तनधारी जिवहरुमा मानिसकै जस्तो रहन्छ ।
तर क्यापसिसिनको असर चराहरुमा भने रहन्न । खुर्सानी खाँदा पिरो नहुने भएकै कारण , चराहरुले यसका बिँयाहरुलाइ एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछन् । यहि अनुशन्धान पढेपछि बल्ल मेरी आमाको ‘सुँगा’ बाला तर्क फ्लप भएको महशुस गर्दैछु ।
तर बिस्तारै मानिसहरुले पनि पिरो मन पराउन थाले । यसको विश्लेषण भने रोजिनले मनोविज्ञानको सहारा लिएर गरेका छन् । हाम्रो शरिर र मस्तिष्कको विकास नै यसरी भएको छ कि , कतिपय अवस्थामा आफूले आफैलाइ पिडा दिँदा हामीमा चरम सन्तुष्टिको महशुस हुन्छ । ‘म्यासोचिजम’ यस्तै मनोविज्ञानको एउटा पाटो हो जहाँ मानिसहरु आफैलाइ पिडा दिएर चरम उत्तेजना हाँसिल गर्दछन् ।
अर्को उदाहरण रोजिनले रोलर कोस्टर (एक किसिमको घुम्ने पिङ) खेल्नेहरुको दिएका छन् । रोलर कोस्टर खेल्दा क्षणिक रुपमा भयङ्कर डर पैदा भएको हुन्छ तर उनीहरुलाइ थाह हुन्छ कि म मर्दिन । तसर्थ त्यहि डर महशुस गर्नकै लागि धेरैले त्यो रिस्क लिन्छन् । त्यस्तै क्यापसिसिनले पनि मुखमा पोलेको अनुभव गराउँछ , एक किसिमको दुखाइ पैदा गराउँछ । तर यो दुखाइले आफ्नो जिब्रो÷मुखलाइ केहि असर गर्दैन भन्ने कुरा मानवीय मस्तिष्कले चाल पाइसकेको छ । त्यसैले त यो पिडाले धेरै मानिसहरुलाइ सन्तुष्टि दिलाउँछ ।
तर सबै मानिसहरुले यस्तो पिडा मन पराउँछन नै भन्ने छैन । प्राय मानिसहरु जो पिरो मन पराउँदैनन् , तिनको पिडा वा दुखाइ सहन सक्ने क्षमता पनि कम नै रहेको पाइएको छ । आखिर सबै मानिस एकै नासका हुन्छन भन्ने छैन । कसैलाइ एकै कोर्राले दुखाउँछ भने कोहि दुइ–चार कोर्रा सहन सक्ने क्षमता राख्दछन् ।
त्यस्तो पिडा सहन सक्ने क्षमता भने कसैले जन्मदै लिएर आएको हुँदैन । आज अलिकति भोलि अलिकति गर्दै बिस्तारै बढाउँदै लैजाने हो । सायद यहाँनेर भने मेरी आमाको स्पस्टिकरण पनि धेरै हदसम्म सत्य सावित हुन्छ । उहाँ भन्नुहुन्थ्यो–“बच्चैदेखि अलि अलि पिरो खाने बानी नगरे कसरी भोलिपर्सि बाहिरको पिरो खान सक्छस् ?”
तर आफूलाइ भने पिरो भन्नासाथ खुर्सानीको चित्रले पनि सधैँ तर्साइरह्यो ।
खुर्सानीका केहि नमिल्दा किस्साहरु
माघको एक बिहान कलेजकै एक साथीले घरमा खाना खान आइज भनेर निम्तो गर्यो । रुघा लागेर केहि असजिलो भएको थियो तर पनि नाइ भन्न सकिन । गइयो जाडोमा काप्दै–काप्दै । एकै छिनको भलाकुसारी पश्चात किचेनतर्फ नै जाने निर्णय भयो । भोक त लागेकै थियो तर जब मलाइ दिइएको दालको कचौरामा फुरेको ‘ढिँडी’ तैरिरहेको देखेँ तब रुघाको बहाना झिकि केहि खाना कम गर्न लगाएँ । दालमै खुर्सानी देखिसकेकोे मेरो मस्तिष्कले तरकारी र अचारमा त किम जोङ उनकै मिसायलहरु अपेक्षा गरिसकेको थियो ।
दुइ गाँस पश्चात नै बारुदहरु पड्कन थाले । अन्तिम गाँससम्म पुग्दा त किम जोङले बिच सडकमै मिसायल प्रहार गरि मृत्युदण्ड दिएका उनका सैनिक अधिकारीको जस्तै अवस्था भइसकेको थियो मेरो ।
खाइसकेपछि पो अन्तिममा यत्रो क्षेप्यास्त्र परिक्षणको रहस्योद्धघाटन भयो । “बाबुलाइ रुघा लागेको छ भन्ने थाह पाएर , आज अलि बेसी खुर्सानी हालिदिएको” ।
जवाफ त मुखभरि आइसकेको थियो –“अन्टि, यो कुरा धूर्वसत्य हो कि खुर्सानीमा केहि मात्रामा भिटामिन सि हुन्छ तर त्यस्तो संसारमा कहिँ कतै पत्तो लागेको छैन कि आधा किलो ढिँडी एकपटकमा बुत्याउँदैमा , रुघा चट होस्” तर मुख यति पोलिरहेको थियो कि केहि बोल्न सक्ने अवस्थै थिएन ।
बरु बचेखचेको आवाज संचित गरि मन्तातो दूध माँगे अनि निकै बेरसम्म मुखमा राखिरहेँ । क्यापसिसिन पानीमा घुल्दैन न त यसको असर चिनि खाएर नै कम हुन्छ । त्यसैले फ्याट भएको जस्तै दूध वा घिउले धेरै पिरो भएका बेला केहि फाइदा पुर्याउन सक्छन् ।
त्यस्तै एकदिन फुपुको घरमा खाना खाने निम्तो थियो । त्यहाँ भने कुनै पनि परिकारमा कत्ति पनि पिरो हालिएको थिएन । पेट चर्किने गरि टन्नै खाइयो । अन्त्यमा खानाको निकै प्रशंसा गर्दै भनेँ –“जे होस तपाइहरु पनि खासै पिरो रुचाउनुहुन्न ह ।ै नभए आजकाल खुर्सानी नहालेको भान्छा कहाँ भेटिन्छ र ?”
फुपुले बडो सर्तक हुँदै भन्नुभयो–“मिठो त किन नलाग्नु नि भाइ, तिम्रो भिनाजुलाइ कसले अल्सर हुन्छ भनेर लाइदिएछ , त्यहाँदेखि घरमा खुर्सानी ल्याउन बन्द”।
खुर्सानी नखाने निर्णयमा पुग्नु आफ्ना लागि सुखद भएतापनि आखिरमा उहाँको बुझाइ खुर्सानीको एककिसिमको बद्नामी नै थियो । त्यसैले मौन बस्न सकिन । यदि तपाइको पेटमा वा आन्द«ामा अरु नै कारणले अल्सर भइसकेको छ भने खुर्सानीले मुखमा जस्तै ती ठाउँहरुमा पनि दुखाइ सिर्जना गरिदिन्छ तर तपाइ स्वस्थ हुनुहुन्छ र अल्सर भइसकेको छैन भने खुर्सानी कै कारण अल्सर हुने भन्ने चाहिँ संसारमा आजसम्म कतै पनि भएको छैन ।
फुपाजुलाइ मेरो कुराले कत्तिको चित्त बुझ्यो कुन्नि , अर्कोपटक खाना खान जाँदा भने फुपुले अचारमा थोरै खुर्सानी हाल्नु भएको थियो ।
हालसालै मात्र खुर्सानी सम्बन्धि यस्तै एउटा भ्रमले साहै्र दुख दियो ।
अघिल्लो दिन मेलम्चिमा खाना खाएपछि हाम्रो पेटले ठोस अन्न केहि भेटेको थिएन । चाउचाउ, बिस्कुट र चकलेटकै भरमा पाँचपोखरी पुगेर आधा बाटो पनि फर्किसकेका थियौँ । चौतारा नपुग्दै लामीडाँडा भन्ने गाउँ भेटियो । लगभग ४८ घण्टा पछि भात खान पाइने कुराले मन पुलकित बनेको थियो । नहोस पनि किन , त्यत्रो हिँडाइ र थकान पश्चात खान लागिएको खाना ।
राती पुगेकाले तिउन भने केहि थिएन । बजैले आलुको झोल र भात पकाउने कुरा बताइन । नुन र भात भए पुग्ने भोक लागेको अवस्थामा आलुको झोल त चौरासी व्यञ्जन हुने नै भयो । बजैले तरकारी बसाल्नै लागेकी थिइन तब एकजना साथीले ‘युरेका’ स्टाइलमा ठूलै कुरा पत्ता लाए जसरी हठात भने –“बज्यै तरकारी चैँ पिइइइइरो बनाउनु है । यत्रो हिँडेको हड्डी , जोर्नी, मासु दुखेको सब ठिक हुन्छ”।
बजैले पनि थपिन , “हो लेकको जाडोमा पिरो तरकारी खाएर सुत्यो भने बिहान उठ्दा सब दुखाइ चट”।
भन्न त मन लागेको थियो बजै , खुर्सानी खाएर यसरी जोर्नीको दुखाइ ठिक हुने भइदिएको भए बाथ रोगको उपचार यति धेरै कम्प्लिकेटेड हुने नै थिएन ।
मोबाइल खोलेँ , नेट चलेको थियो भने साथीलाइ पनि देखाइदिने थिएँ – क्यापसिसिन क्रिम लगाउँदा त्यहि ठाउँमा केहि मात्रामा दुखाइ कम गर्न सकिने केहि अनुशन्धानहरु त भएका छन् तर त्यसरी पिइइइरो तरकारी मुखबाट खाएर पुरै शरिरको दुखाइ सन्चो हुने कुरा चाहिँ आजसम्म कहिँ कसैले पत्तो लगाउन सकेका छैनन् ।
स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै अन्तिम गाँस निल्दै गर्दा , तिनै साथीलाइ भने –“काठमाडौ पुग्ना साथ लेख्ने हो”।
”के ट्राभल लग ?”
”होइन”
”अनि के त ?”
”खुर्सानीलाइ बद्नाम गर्न खोज्नेहरुका नाममा”।








