Search This Blog

Monday, November 27, 2017

खुर्सानीलाइ बद्नाम गर्न खोज्नेहरुका नाममा


“ह्या, आमा आज पनि कति पिरो हाल्नु भाको तरकारीमा ?”

“हैन,कति गनगन गर्दो रहेछ यो केटो , यति जाबो पिरो पनि नखाए कसरी बाठो भइन्छ ?”

त्यस दिन पनि मैले बाठो भइने अभिलाषाका साथ , नाक , कान अनि सास एकैचोटि बन्द गरि पिरो तामाको एक बटुका झोल एकैपटकमा घुट्क्याएँ । अझ यसलाइ यसरी भनौँ , आधा बाल्यकाल त हरेक दिन घरमा पाक्ने पिरो तरकारीलाइ सत्तोसराप गर्दै बित्यो ।

बाल्यकालका मेरा ती प्रार्थनाहरु सायद ठिक ठाउँमा पुगेका थिए भने , आजसम्म यो संसारबाटै ‘खुर्सानी’ भन्ने प्रजाति लोप भइसकेको हुने थियो ।

एकदिन त असह् भएर अलिक झट्किलो पारामा नै सोधेँ –“हैन यो पिरो खाएर आजसम्म को चाहिँ बाठो भएको देख्नु भाको छ ?”

यस्ता प्रश्नहरुको जवाफ सायद हरेक आमाहरुले ‘जिन’मै लिएर आएका हुन्छन् । मेरी आमालाइ पनि थाहा नहुने कुरै भएन । “सुँगा छैन , सुँगा । खुर्सानी खाएरै त्यस्तो बाठो भएको त हो नि ।”

हो यो कुरा त सोह्रै आना सहि हो । हाम्रो छिमेकमा रहेको मैना सुँगा , चरा भइकन पनि दुरुस्तै मानिसको जस्तो आवाज निकाल्न सक्थ्यो । फेरि त्यसलाइ कतिपटक त मैले आँफैले लगेर खुर्सानी खुवाएको छु । मेरो बाल मस्तिष्कले यो भन्दा बढि सोच्न सकेन । धेरै पछि सम्म पनि मलाइ लागिरह्यो पिरो खाए बाठो भइन्छ ।

जब ठूलो हुँदै गएँ तब खुर्सानीका अनेक पारखीहरुसँग भेट हुन थाल्यो । खुर्सानीको तरकारी , खुर्सानीको अचार त बच्चैदेखि खाँदै÷सुन्दै आइएको थियो । तर भारत÷बङ्गलादेश पुग्दा त असत्तिहरुले खुर्सानीकै दाल अनि खुर्सानीकै भात खुवाइदिए ।

आश्चर्यचकित त मलाइ अझ यस कुराले बनाएको छ कि संसारभर रहेका खुर्सानी पारखीहरुबिच एउटा मूलभूत समानता भेटिन्छ । समानता यस मानेमा कि , आफ्नो खुर्सानी प्रतिको मोह सिद्ध गर्न भए–नभएको भ्रमहरुको प्रचार गर्ने । जस्तो कि ः

खुर्सानी खाए बाठो भइन्छ ।

खुर्सानीले पेटका बिकारहरु ठिक पार्छ ।

खुर्सानीले एन्टिबायोटिकको काम गर्छ ।

पिरो खाँदा रुघा चट हुन्छ ।

खुर्सानीले रगत सफा गर्छ अनि छाला राम्रो बनाउँछ ।

जाडो महिनामा टन्न खुर्सानी खाए शरिर तातो हुन्छ । आदि

यि र यस्ता कुराहरुले सदिऔँदेखि हाम्रो मस्तिष्कमा डेरा जमाएर बसेका छन् । यिनमा केहि सत्यता पनि होलान तर हामीले कहिल्यै यस्ता सानातिना कुराहरुका वैज्ञानिक कारणहरु जान्ने प्रयास गरेनम । खुर्सानी मन पराउनेले धमाधम प्रचार गरिरह्यौँ अनि मन नपराउनेले पनि, होला त नि भनेर चुपचाप पत्याइरह्यौँ ।

खुर्सानी र मानवीय जिब्रो

                       
यो पहिलो पटक सुन्नेका लागि आश्चर्यको कुरा हुनसक्छ कि पिरो कुनै स्वाद नै होइन । हाम्रो जिब्रोमा जम्मा पाँच किसिमका प्रमुख स्वादहरु थाह पाउने ‘रिसेप्टर’हरु रहेका हुन्छन –गुलियो , नुनिलो , अमिलो, तितो र अजिनो मोटोको स्वाद । यी बाहेका पनि केहि स्वादहरु यिनै पाँच थोक मिसिएर बनेका हुन्छन् ।

तर पिरो भने कुनै स्वाद नै होइन । वैज्ञानिकहरु त पिरोलाइ एक किसिमको दुखाइसँग तुलना गर्दछन् । खुर्सानीमा ‘क्यापसिसिन’ नाम गरेको एकप्रकारको तत्व रहेको हुन्छ । क्यापसिसिन जिब्रोको संसग्रमा आउनासाथ यसले दुखाइ थाहा पाउने ‘रिसेप्टर’हरुलाइ तरङ्गित बनाउँछ । अन्ततोगत्वा दिमाखले यसलाइ दुखाइ अर्थात ‘पेन’कै रुपमा ग्रहण गर्दछ । जिब्रोबाट त्यसरी मस्तिष्कसम्म पुग्ने केहि सूचनाहरु भने तापक्रम हेर्ने निकायसम्म पनि पुग्दछन् । त्यसैले त पिरो खाँदा मुख पोलेको जस्तो अनुभव पनि हुन्छ ।

तसर्थ पिरो कुनै स्वाद होइन । यो त क्यापसिसिनका कारण उत्पन्न हुने दुखाइ र मुख पोल्नुको नतिजा मात्रै हो । यहि दुखाइ र पोलाइलाइ नै सायद धेरै पारखीहरुले शरिर तातेको भनि विश्लेषण गरेको हुनुपर्दछ ।

आखिर पिरो कुनै स्वाद नै होइन भने मानिसहरु किन खुर्सानीका लागि यति विधि मरिहत्ते गर्छन त ?

यसको उत्तर थाहा पाउन वैज्ञानिक÷साइकोलोजिस्ट पल रोजिनले लामै अनुशन्धान गरेका छन् जसको सार यस्तो थियोः

मानिसहरुले खुर्सानीलाइ आफ्नो खानामा धेरै पछि मात्र मिसाएका हुन् । यसको उत्पादन पहिलोपटक मेक्सिकोमा भएको पाइन्छ । त्यसबखत मानिसहरुले हात्तीबाट आफ्नो बाली जोगाउनका लागि खेतको वरिपरि खुर्सानी लगाउँथे । रोजिनका अनुसार खुर्सानीको असर लगभग सम्पूर्ण स्तनधारी जिवहरुमा मानिसकै जस्तो रहन्छ ।

तर क्यापसिसिनको असर चराहरुमा भने रहन्न । खुर्सानी खाँदा पिरो नहुने भएकै कारण , चराहरुले यसका बिँयाहरुलाइ एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछन् । यहि अनुशन्धान पढेपछि बल्ल मेरी आमाको ‘सुँगा’ बाला तर्क फ्लप भएको महशुस गर्दैछु ।

तर बिस्तारै मानिसहरुले पनि पिरो मन पराउन थाले । यसको विश्लेषण भने रोजिनले मनोविज्ञानको सहारा लिएर गरेका छन् । हाम्रो शरिर र मस्तिष्कको विकास नै यसरी भएको छ कि , कतिपय अवस्थामा आफूले आफैलाइ पिडा दिँदा हामीमा चरम सन्तुष्टिको महशुस हुन्छ । ‘म्यासोचिजम’ यस्तै मनोविज्ञानको एउटा पाटो हो जहाँ मानिसहरु आफैलाइ पिडा दिएर चरम उत्तेजना हाँसिल गर्दछन् ।

अर्को उदाहरण रोजिनले रोलर कोस्टर (एक किसिमको घुम्ने पिङ) खेल्नेहरुको दिएका छन् । रोलर कोस्टर खेल्दा क्षणिक रुपमा भयङ्कर डर पैदा भएको हुन्छ तर उनीहरुलाइ थाह हुन्छ कि म मर्दिन । तसर्थ त्यहि डर महशुस गर्नकै लागि धेरैले त्यो रिस्क लिन्छन् । त्यस्तै क्यापसिसिनले पनि मुखमा पोलेको अनुभव गराउँछ , एक किसिमको दुखाइ पैदा गराउँछ । तर यो दुखाइले आफ्नो जिब्रो÷मुखलाइ केहि असर गर्दैन भन्ने कुरा मानवीय मस्तिष्कले चाल पाइसकेको छ । त्यसैले त यो पिडाले धेरै मानिसहरुलाइ सन्तुष्टि दिलाउँछ ।

तर सबै मानिसहरुले यस्तो पिडा मन पराउँछन नै भन्ने छैन । प्राय मानिसहरु जो पिरो मन पराउँदैनन् , तिनको पिडा वा दुखाइ सहन सक्ने क्षमता पनि कम नै रहेको पाइएको छ । आखिर सबै मानिस एकै नासका हुन्छन भन्ने छैन । कसैलाइ एकै कोर्राले दुखाउँछ भने कोहि दुइ–चार कोर्रा सहन सक्ने क्षमता राख्दछन् ।

त्यस्तो पिडा सहन सक्ने क्षमता भने कसैले जन्मदै लिएर आएको हुँदैन । आज अलिकति भोलि अलिकति गर्दै बिस्तारै बढाउँदै लैजाने हो । सायद यहाँनेर भने मेरी आमाको स्पस्टिकरण पनि धेरै हदसम्म सत्य सावित हुन्छ । उहाँ भन्नुहुन्थ्यो–“बच्चैदेखि अलि अलि पिरो खाने बानी नगरे कसरी भोलिपर्सि बाहिरको  पिरो खान सक्छस् ?”

तर आफूलाइ भने पिरो भन्नासाथ खुर्सानीको चित्रले पनि सधैँ तर्साइरह्यो ।

खुर्सानीका केहि नमिल्दा किस्साहरु

माघको एक बिहान कलेजकै एक साथीले घरमा खाना खान आइज भनेर निम्तो गर्यो । रुघा लागेर केहि असजिलो भएको थियो तर पनि नाइ भन्न सकिन । गइयो जाडोमा काप्दै–काप्दै । एकै छिनको भलाकुसारी पश्चात किचेनतर्फ नै जाने निर्णय भयो । भोक त लागेकै थियो तर जब मलाइ दिइएको दालको कचौरामा फुरेको ‘ढिँडी’ तैरिरहेको देखेँ तब रुघाको बहाना झिकि केहि खाना कम गर्न लगाएँ । दालमै खुर्सानी देखिसकेकोे मेरो मस्तिष्कले  तरकारी र अचारमा त किम जोङ उनकै मिसायलहरु अपेक्षा गरिसकेको थियो ।

दुइ गाँस पश्चात नै बारुदहरु पड्कन थाले । अन्तिम गाँससम्म पुग्दा त किम जोङले बिच सडकमै मिसायल प्रहार गरि मृत्युदण्ड दिएका उनका सैनिक अधिकारीको जस्तै अवस्था भइसकेको थियो मेरो ।

खाइसकेपछि पो अन्तिममा यत्रो क्षेप्यास्त्र परिक्षणको रहस्योद्धघाटन भयो । “बाबुलाइ रुघा लागेको छ भन्ने थाह पाएर , आज अलि बेसी खुर्सानी हालिदिएको” ।

जवाफ त मुखभरि आइसकेको थियो –“अन्टि, यो कुरा धूर्वसत्य हो कि खुर्सानीमा केहि मात्रामा भिटामिन सि हुन्छ तर त्यस्तो संसारमा कहिँ कतै पत्तो लागेको छैन कि आधा किलो ढिँडी एकपटकमा बुत्याउँदैमा , रुघा चट होस्” तर मुख यति पोलिरहेको थियो कि केहि बोल्न सक्ने अवस्थै थिएन ।

बरु बचेखचेको आवाज संचित गरि मन्तातो दूध माँगे अनि निकै बेरसम्म मुखमा राखिरहेँ । क्यापसिसिन पानीमा घुल्दैन न त यसको असर चिनि खाएर नै कम हुन्छ । त्यसैले फ्याट भएको जस्तै दूध वा घिउले धेरै पिरो भएका बेला केहि फाइदा पुर्याउन सक्छन् ।

त्यस्तै एकदिन फुपुको घरमा खाना खाने निम्तो थियो । त्यहाँ भने कुनै पनि परिकारमा कत्ति पनि पिरो हालिएको थिएन । पेट चर्किने गरि टन्नै खाइयो । अन्त्यमा खानाको निकै प्रशंसा गर्दै भनेँ –“जे होस तपाइहरु पनि खासै पिरो रुचाउनुहुन्न ह ।ै नभए आजकाल खुर्सानी नहालेको भान्छा कहाँ भेटिन्छ र ?”
फुपुले बडो सर्तक हुँदै भन्नुभयो–“मिठो त किन नलाग्नु नि भाइ, तिम्रो भिनाजुलाइ कसले अल्सर हुन्छ भनेर लाइदिएछ , त्यहाँदेखि घरमा खुर्सानी ल्याउन बन्द”।

खुर्सानी नखाने निर्णयमा पुग्नु आफ्ना लागि सुखद भएतापनि आखिरमा उहाँको बुझाइ खुर्सानीको एककिसिमको बद्नामी नै थियो । त्यसैले मौन बस्न सकिन । यदि तपाइको पेटमा वा आन्द«ामा अरु नै कारणले अल्सर भइसकेको छ भने खुर्सानीले मुखमा जस्तै ती ठाउँहरुमा पनि दुखाइ सिर्जना गरिदिन्छ तर तपाइ स्वस्थ हुनुहुन्छ र अल्सर भइसकेको छैन भने खुर्सानी कै कारण अल्सर हुने भन्ने चाहिँ संसारमा आजसम्म कतै पनि भएको छैन ।

फुपाजुलाइ मेरो कुराले कत्तिको चित्त बुझ्यो कुन्नि , अर्कोपटक खाना खान जाँदा भने फुपुले अचारमा थोरै खुर्सानी हाल्नु भएको थियो ।

हालसालै मात्र खुर्सानी सम्बन्धि यस्तै एउटा भ्रमले साहै्र दुख दियो ।

 अघिल्लो दिन मेलम्चिमा खाना खाएपछि हाम्रो पेटले ठोस अन्न केहि भेटेको थिएन । चाउचाउ, बिस्कुट र चकलेटकै भरमा पाँचपोखरी पुगेर आधा बाटो पनि फर्किसकेका थियौँ । चौतारा नपुग्दै लामीडाँडा भन्ने गाउँ भेटियो । लगभग ४८ घण्टा पछि भात खान पाइने कुराले मन पुलकित बनेको थियो । नहोस पनि किन , त्यत्रो हिँडाइ र थकान पश्चात खान लागिएको खाना ।

राती पुगेकाले तिउन भने केहि थिएन । बजैले आलुको झोल र भात पकाउने कुरा बताइन । नुन र भात भए पुग्ने भोक लागेको अवस्थामा आलुको झोल त चौरासी व्यञ्जन  हुने नै भयो । बजैले तरकारी बसाल्नै लागेकी थिइन तब एकजना साथीले ‘युरेका’ स्टाइलमा ठूलै कुरा पत्ता लाए जसरी हठात भने –“बज्यै तरकारी चैँ पिइइइइरो बनाउनु है । यत्रो हिँडेको हड्डी , जोर्नी, मासु दुखेको सब ठिक हुन्छ”।

बजैले पनि थपिन , “हो लेकको जाडोमा पिरो तरकारी खाएर सुत्यो भने बिहान उठ्दा सब दुखाइ चट”।

भन्न त मन लागेको थियो बजै , खुर्सानी खाएर यसरी जोर्नीको दुखाइ ठिक हुने भइदिएको भए बाथ रोगको उपचार यति धेरै कम्प्लिकेटेड हुने नै थिएन ।

मोबाइल खोलेँ , नेट चलेको थियो भने साथीलाइ पनि देखाइदिने थिएँ – क्यापसिसिन क्रिम लगाउँदा त्यहि ठाउँमा केहि मात्रामा दुखाइ कम गर्न सकिने केहि अनुशन्धानहरु त भएका छन् तर त्यसरी पिइइइरो तरकारी मुखबाट खाएर पुरै शरिरको दुखाइ सन्चो हुने कुरा चाहिँ आजसम्म कहिँ कसैले पत्तो लगाउन सकेका छैनन् ।

स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै अन्तिम गाँस निल्दै गर्दा , तिनै साथीलाइ भने –“काठमाडौ पुग्ना साथ लेख्ने हो”।

”के ट्राभल लग ?”

”होइन”

”अनि के त ?”

”खुर्सानीलाइ बद्नाम गर्न खोज्नेहरुका नाममा”।

Wednesday, November 22, 2017

कथा मङगलसेनको घोडा


करिब एक हजार वर्ष पहिलेको कुरा हो, सुनकोसीको किनारमा एउटा ऐतिहासिक सभ्यता मौलाएको थियो – कमलपुर सभ्यता ।

हलेसी महादेवको कोखबाट बगेको दुधकोसी, अहिलेको दोलखा–रामेछापलाइ साँध बनाइ बगेको तामाकोसी र रोसी खोलो सब मिसिएपछि सुनकोसीले एक भिमकाय स्वरुप ग्रहण गर्दछ । हो त्यही सुनकोसी आफ्नो साथमा अमुल्य मणि–माणिक्य र सुनका असर्फीहरु लिएर बग्दथ्यो । त्यसैले त त्यस कमलपुर सभ्यताको कान्ति दिन दुइ गुना र रात चार गुना गर्दै संसारभर फैलिरहेको थियो ।

कमलपुर देशमा मङगलसेन नाम गरेका राजा थिए । आफ्नो युद्ध कौशल र सुशासनका लागि ती राजा दुर–दराजका देशहरुमा समेत कहलिएका थिए । भनिन्थ्यो “मङ्गलसेनको राज्यमा खान नपाएर र अन्यायमा परेर कोही मर्दैन ।” हुन पनि उनि आफ्ना प्रजालाइ सदैव उच्चतम स्थानमा राख्दथे ।

यसरी त्यस राज्यमा राजा प्रजा सबै मिलेर देशको गौरव चुलीमा पुर्याइरहेका थिए ।

तर राजा मङगलसेनको एउटै खोट थियो । उनी निसन्तान थिए ।  त्यस दिनको स्राप यति भयानक थियो कि आजसम्म पनि राजदरबार वर–पर कुनै वृक्षमा फल फल्दैन थियो । तबेलाको घोडा होस या राजगोठका गाइ भैँसी कोही ब्याउन सक्दैन थिए । बुढो हुन्थे र मर्थे तर सन्तान उत्पादन गर्ने क्षमता तिनमा पटक्कै हुँदैन थियो ।

“कौटिल्या”– आज पनि मङगलसेन कहालिदै बिउँझिए ।
कमलपुर राज्यमा त्यो आकाशवाणी सबैले सुनेका थिए “जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ , तबसम्म राजा मङगलसेनको दरबारमा विर्यहरु नाश भइरहने छन् ।”

****

कमलपुरबाट धेरै पश्चिममा अर्को सभ्यता फस्टाउँदै थियो– सिखरापुरा । अन्नपूर्ण हिमशृङ्खला लाइ छिचोल्दै बगेको सेती अनि उस्तै अजङ्गको आँधीखोला जब कालीगण्डकीमा मिसिन्थे तब सुनकोसीको महानता पनि फिका–फिका लाग्द्थ्यो ।

कस्यप राजा त्यस क्षेत्रमा आधिपत्य जमाएर बसेका थिए । कौटिल्यादेवी कस्यप राजाकी जेठी सुपुत्री थिइन जसको सुन्दरता बयान गर्न त्यस समयका कुनै पनि महापुरुषहरु असमर्थ थिए । त्यस्तो हजार सुर्यको जस्तो तेज वर्ण भएकी युवती सायदै कुनै सभ्यताले आजसम्म पैदा गरेको होला ।

कौटिल्याको सुन्दरताको चर्चा पुरै आर्य सभ्यता भरी हर एक युवकको मुक्तकन्ठबाट सुन्न पाइन्थ्यो ।
कस्यप राजाका छोरा थिएनन मात्र दुइ छोरी थिए ,कौटिल्या र बिशाखा ।

****

त्यस दिन घटेको भयावह घटना लाख कोसिसका बाबजुद पनि मङ्गलसेनले बिर्सन सकेका छैनन् । सभामा मङ्गलसेन आफ्ना पिता उग्रसेनका साथ उपस्थित भएका थिए । कमलपुर राज्यबाट मात्रै होइन, लगभग चौधै भुवनका आधिपतिहरु , कौटिल्यालाइ आफ्नो बनाउन त्यहाँ पुगेका थिए ।

सभालाइ सम्बोधन गर्दै कस्यप राजाले भने– “जसले यो स्वयम्बरको औँठीमा पोतिएको तिन रङ्गको अर्थ बताउन सक्ला म उसैलाइ आफ्नो छोरीको हात सुम्पनेछु ।”

****

मङगलसेनले जब कौटिल्यालाइ पहिलोपटक देखेका थिए तब उनी अर्धनग्न अवस्थामा थिइन । सभाको त्यस बिहान मङ्गलसेनले यस्तो कामुक दृश्य देखे जसको परिकल्पनासमेत आजसम्म कसैले गर्न सकेका छैनन् होला ।

 कौटिल्या कालीगण्डकीको किनारमा शालिग्राम पुज्न गएकी थिइन अनि मङगलसेन नयाँ राज्यमा शिकार खेल्न । उनि त्यसबखत त्यहाँ आइपुगे जसबखत कौटिल्या आफ्ना वस्त्र खोलेर नदिमा स्नान गर्न तयार थिइन । हो मङगलसेनले त्यसैबखत कौटिल्याका छातीमा ३ बहुरङगी धर्साहरु देखेका थिए ।

 दुवैका आँखा जुधे अनि नशा–नशामा प्रेमको सन्चार भयो । उनीहरु एकले अर्कालाइ यसरी हेरिरहे कि मानौं उनीहरु त मिलनका निम्ती सात जुनीदेखि टड्पिरहेका छन् ।

****

सभामा निकैबेर खास खुस चल्यो । ठुला–ठुला विद्वान कहलिएकाहरुले आ–आफ्नो तर्क राखे ।

जब मङगलसेनको पालो आयो, उनले सबैले अपेक्षा गरेभन्दा फरक खाले उत्तर दिए । “औँठीमा पोतिएका तिन रङ्गको सिधा सम्बन्ध कौटिल्याको छातीमा रहेका तिन बहुरङ्गी धर्साहरुसँग रहेको छ ।”

 उनको उत्तरले सभामा सन्नाटा छायो । यसको सबैभन्दा ठुलो असर कस्यप राजालाई पर्यो , उनले त केवल बौद्धिकता जाच्नेँ हेतुले यो प्रस्न गरेका थिए ।

तबत उनको क्रोधको सिमा रहेन अनि आफ्नो तरवार झिके र  मङगलसेन माथि जाइ लागे । राजा उग्रसेनले पनि आफ्नो छोरालाइ बचाउन हतियार लिएर कस्यप राजालाइ प्रहार गर्न लागे ।

आफ्नो राजाको रक्षार्थ, अङ्गरक्षकले बिच सभामा राजा उग्रसेनको गर्दन छिनालिदियो ।

मङगलसेनको पनि लगभग त्यही हविगत भइसकेको थियो तर कौटिल्या हतारिदै आएर , मङगलसेनलाइ अङ्कमाल गरिन अनि जिवनरक्षाका लागी याचना गरिन ।

मङ्गलसेनको ज्यान जोगियो तर पनि आफ्नै आँखा अगाडि आफ्ना बाबुको लास लडिरहँदा उनी कत्ति पनि कौटिल्याप्रति कृतज्ञ बन्न सकेनन् । कौटिल्यादेविले रोइ, कराइ गरिन अनि मङगलसेनसँग प्रेमको भिख मागिन तर पनि बाबुको हत्या उनका लागी कौटिल्याको विस्व सुन्दर स्वरुप भन्दा लाखौं गुणा ठुलो चोट थियो ।

मङ्गलसेनले बाबुको छुट्टीएको शिर र धड उठाए अनि कौटिल्यालाइ थु–थु गर्दै त्यस सभाबाट बाहिरिए ।

****

कौटिल्याले आफ्नो चोखो प्रेम मङगलसेनलाइ दिइसकेकी थिइन त्यसैले त्यस घटना पश्चात् उनी आजिवन ब्रम्ह्चर्यमा रहने कठोर निर्णयमा पुगिन ।

यता मङगलसेन आफ्ना पिताका उत्तराधिकारीका रुपमा कमलपुर राज्यका नयाँ राजा बने नयाँ रानी भित्र्याए तर पनि कौटिल्याको स्नेहले भने उनलाइ हरपल हरक्षण पोलिरहन्थ्यो ।

त्यहाँ माथी कौटिल्याको ब्रम्हचर्यको असर यति भयावह भयो कि एकदिन कमलपुर राज्यमा आकाशवाणी भयो – “जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ , तबसम्म राजा मङगलसेनको दरबारमा विर्यहरु नाश भइरहने छन् ।”

 ****

एकदिन राजाले हठात निर्णय लिए ,म कौटिल्याको ब्रम्हचर्य डगाएरै छाड्छु.......

राजा मङगलसेन भीषण युद्धको तयारीमा जुटे । उनको जिवनमा अब एउटै मात्र लक्ष्य बाँकी रह्यो, शिखरापुरा राज्य हत्याएर आफ्नो पिताको हत्याको बदला लिने अनि कौटिल्याको चिरहरण गरि उसको ब्रम्हचर्य नष्ट गर्ने ।

महिनौ लामो अभ्यासमा आफैँ सम्लग्न भइ, मङगलसेनले एउटा अजङ्गको फौज तयार पारे अनि आवश्यक युद्ध सामाग्री सहित पश्चिम पहाडतिर हानिए ।

****

जति जति पाइला पश्चिम तर्फ लम्कदै थियो उनलाइ त्यती त्यती कौटिल्याको यादले सताउँदै जान थाल्यो । उसको मृगमरिची नयन, कलकलाउँदो केश अनि मस्त कसिएको बदन, सम्झदै मङगलसेनका शरीर काप्न थाल्दथ्यो ।

हिउँ जस्तै कन्चन सेती नदि जब काली न काली गण्डकीसँग मिसिन्थिन , त्यहाँ अदभूत कलाको जन्म हुन्थ्यो । अपत्यारिलो रङ्गको निर्माण हुन्थ्यो ।

हो त्यही सङगम स्थल नजिकै एकजना भयानक साधु उत्पत्ति भए । ती साधुले सारा फौजलाइ रोके अनि राजासँग केही भलाकुसारी गर्न लागे ।

उनी भन्दै थिए –“कौटिल्याले आफ्नो ब्रम्हचर्यको तपस्यामा के पनि वर मागेकी  छिन भने उनिसँग सहवास गर्नेको तत्काल मृत्यु हवोस ।”

 अब भने राजा हतास देखिए । सारा योजना बिफल भएको साथै सम्पूर्ण कमलपुर सभ्यताकै नाश हुने भयले निकै अधैर्य भइ जमिनमा घोप्टो परेर रुन थाले ।

राजाको यस्तो अवस्था देखि साधुको मनमा करुणा पलायो । उनले राजालाई सम्झाउँदै भन्न लागे, “म तिम्रा घोडामा कामवासना भरिदिन्छु जसका प्रभावले कौटिल्या त्यस घोडाप्रति मोहित हुनेछे र त्यस स्त्रीको ब्रम्हचर्य पनि यसै घोडाले तोड्नेछ ।

राजा अवाक भए तर आफ्नो सभ्यताको रक्षार्थ उनिसँग अर्को विकल्प पनि त थिएन । त्यसैले साधुका कुरामा मौन स्वीकृती जनाए । हेर्दा हेर्दै घोडामा अनौठो किसिमको कान्ती प्रज्वलित भयो । साधु फेरि बिलिन भए, राजा अवाकको अवाकै रहे ।

****

गोप्य योजना अनुरुप राजा घोडा ब्यापारीको भेषमा कौटिल्या कहाँ जाने सहमती बन्यो । दरबार बाहिर पुगेपछी सिपाहीले उनलाइ रोक्यो अनि सोधपुछ गर्न लाग्यो । तर मङगलसेन कलाकारितामा निपुण थिए, त्यसैले त सिपाहीले उनलाइ चिन्नै सकेन ।

योजना अनुरुप नै उनले रानीका लागि तिलस्मी घोडा उपहार ल्याएको कुरा दरबारसम्म पुर्याए । 

कस्यप राजाको मृत्यु भइसकेको थियो अनि कौटिल्या उनको उत्तराधिकारीका रुपमा राज्य चलाउँथिन । मङगलसेनले दिउँसो कौटिल्यादेविसँग दर्शनभेट गर्ने समय पाए ।

जब घोडा सहित मङ्गलसेन कौटिल्याका अघि उपस्थित भए दुवैका नजर टक्क अडिए । उस्तै सुन्दर र शालिन चेहरामा मङगलसेन पुनः एकपटक मन्त्रमुग्ध भए । कौटिल्याको आँखामा पनि उस्तै भाव देखेर उनलाइ रानीले आफूलाइ चिनेको भान भयो ।

तर कौटिल्या त घोडाप्रति आकर्षित भएकी थिइन । उनमा त्यस्तै भावनाको जागृत भयो जस्तो धेरै वर्ष पहिले गण्डकीको किनारमा मङगलसेनलाइ देख्दा भएको थियो ।

कौटिल्याले तुरुन्त घोडा किन्ने सहमती जनाइन अनि आफ्नो खोपी भित्र पसेर सानो बालक झैँ रुन थालिन । आज कौटिल्यालाइ मङगलसेनको यादले एकदमै सताउन थाल्यो, किन किन उ आफ्नो निकै नजिक छ कि जस्तो भान रानीलाइ भइरहेको थियो । रातभर उनलाइ निन्द्रा परेन । कहिले उनलाइ मङ्गलसेनको यादले ब्याकुल बनाउँथ्यो त कहिले घोडासँगको सामिप्यताले प्रफुल्लित !

****

कौटिल्या सबेरै तबेलामा पुगिन, जहाँ राजा मङ्गलसेन घोडा ब्यापारीको भेषमा आफ्नो घोडालाइ सिहार्दै थिए । कौटिल्यालाइ त्यहाँ देखेर राजा झस्किए । उनी आफ्नो परिचय नखुलोस भन्नेकुरामा उनि पुर्ण सचेत थिए । तर कौटिल्याले चिन्ने त परैको कुरा उनलाइ वास्ता समेत नगरी सिधै तबेला भित्र पसिन । कौटिल्याका आँखा पुरै सम्मोहनमा परेको मानिसको जस्तो देखिन्थ्यो ।

मङगलसेन एकछिन त पहरेदार जस्तो बाहिरै प्रतीक्षा गरिरहे तर उनको धैर्यताको बाँध धेरै समय अडिन सकेन । कौटिल्या पुरै निवस्त्र भइसकेकी थिइन । राजा अन्तरआत्मादेखी नै कौटिल्यालाइ मन पराउथे त्यसैले त उ आफु बाहेक अरु कसैको नहोस भन्ने चहाना उनिभित्र थियो ।

कौटिल्याको त्यो अवस्था देख्दा राजालाइ असह्य भयो । उनले हठात आफ्नो तरबार निकाले र एकै प्रहारमा घोडाको शिर धडबाट अलग गरिदिए । तब मात्र कौटिल्या होसमा फर्किएको झैँ झसङ्ग भइन ।

त्यसपछि भने राजाले आफ्नो नक्कली दारी जुङ्गा झिकेर आफ्नो असली परिचय दिए ।

धेरै वर्षको प्रतिक्षा पछि जब यी दुइको भेट भयो तब दुवैले आफ्नो आँसु थाम्न सकेनन् । भावविहेल हुँदै एक अर्काको आलिङ्कनमा बाँधिए ।

कौटिल्याको ब्रम्हचर्य त्यसै तबेलामा भङ्ग भयो तर साधुको योजना अनुरुप घोडाबाट होइन ।

 राजा मङगलसेन एकैछिनमा हिक्क हिक्क गर्दै रगत ओकल्न थाले । कौटिल्याले यसको रहस्य बुझिन अनि मङगलसेनको तरबार झिकि आफ्नो प्राण–पखेरु समाप्त गरिन ।

दुइ प्रेमी सदा–सदाका लागी अमर रहे।

****

मङगलसेन रहेनन त के भयो उनको राज्यमा उसैगरि फल फल्न थाले अनि जनावर वृद्धि हुन थाले ।
कालान्तरमा राजा मङगलसेनको सम्झनामा पश्चिम पहाडमा दरबार बनाइयो अनि अझै पनि पुर्वी भुभागमा कौटिल्यादेवीको निकै सत्कार र सम्मान सहित सम्झना हुने गरेको छ ।

****

भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला, यो कथा बैकुण्ठ जाला!!

Friday, October 20, 2017

पल्पसा मरेकी छैन –Palpasa is not yet dead !


दृश्यलाई के लाग्यो, पल्पसा त्यति सजिलै मारिइन ? के पल्पसा त्यति कमजोर भाग्य भएकि केटि थिइ जसको जीवन एक पलमै सकियो ?

सधैँ देखिएका र लेखिएका कुरा मात्र सत्य हुँदैनन् ।

 हो , पल्पसा मरेकी छैन । उसले त अझ धेरै बाच्नु छ । धेरै भोग्नु छ । र मर्नु भन्दा अघि यो पनि जान्नु छ कि दृश्य उसको लागि लायक नै थिएन ।

पल्पसाले दृश्यलाइ चिन्न सकिन अनि दृश्यले पल्पसालाइ बुझ्न सकेन । पल्पसा जो सानैदेखि पश्चिमि रहनसहन र “इस्टे टुगेदर” को संस्कृतिमा हुर्केकी थिइ , बोल्ड थिइ । के उ  हिन्दी फिलिमको सत्य सावित्री झै सदा दृश्यको यादमै सारा जिवन व्यतित गर्ने सोचमा थिइ ?

कदापी होइन , दृश्यले महिनौ वास्ता नगरिसकेको पृष्ठभुमिमा पल्पसा जो “ पोलिग्यामस रिलेसनशिप” देखेर हुर्केकी थिइ, चुप बस्ने मनस्थिति मै थिइन । त्यो रात पनि पल्पसा मसँग थिइ, जुन रात दृश्यले सोच्यो, पल्पसा मारिइन । अझ साचो भन्नुपर्दा , उ एक्लै पश्चिम पहाडको द्वन्द्वग्रस्त क्षेत्रमा डकुमेन्ट्री बनाउन गएकै थिइन । हामी दुवै त्यो प्रोजेक्टमा सँगै थियौँ ।

****
दृश्य उहि चित्रकार थियो, जसको बारेमा पल्पसाले मलाइ हाम्रो सम्बन्ध सुरु हुनुभन्दा पहिले नै बताइसकेकी थिइ । उ हरायो भन्ने कुरा सुनिसकेपछि मैले करिब २÷३ महिना विभिन्न स्रोतबाट उसको खोजी गरे तर उ कतै फेला परेन । मनमनै लाग्यो, द्वन्द्वको बेला छ , कतै क्रसफायरिङमा मरिसक्यो ।

 तर त्यो रात जब डकुमेन्ट्री सकेर हामी फर्कदै थियौँ, दृश्य हामी चढेकै बसमा आएर चढ्यो । सुरुमा त पल्पसा आत्तिएकी थिइ पछि मसँग अनुमती मागेर उसैको समिपमा गएर बसि । त्यस घटनाले मलाइ ठुलो बज्रपात भयो । लामो समय हराएर अचानक भेटिएको दृश्यप्रति पल्पसाले देखाएको आशक्ती मेरा लागी सानो चोट थिएन ।

****
पल्पसाको सुन्दरता, उसको व्यवहार, उसको सोच्ने तरिका ! ओहो ! मेरा लागि उ अक्सिजन भन्दा कम महत्वपूर्ण थिइन । हाम्रो पहिलो भेट न्युयोर्कमै भएको थियो । देशमा भविष्य नदेखेपछी म फिजिक्स पढ्न अमेरिका हानिएको थिएँ । पढ्दै सानो–तिनो जागिर पनि गर्थे ।

यसपटक भने धेरै दिनको कसरत पछि एउटा खैरेको आर्ट ग्यालरीमा जागिर पाएको थिएँ । चित्र बनाउन नजानेकाले नै बायोलोजी छाडेर फिजिक्स रोजेको मेर ालागी क्यानभास भन्नु कालो अक्षर भैसी बराबर नै थियो । तर दुइ÷चार दिनका पट्यारलाग्दा पलहरुपछी , मैले त्यस ग्यालरीमा जे देखे त्यो मेरालागी सानो खुसीको बहाव थिएन ।

एसियाली वर्णकै एक सुन्दर युवती घन्टौ त्यस ग्यालरीमा आएर घोत्लिरहन्थी । लामो कालो कपाल, हसिलो मुहार अनि फरासिलो स्वभाव, सायद “लभ एट फस्ट साइट” भन्ने कुरो सुनेको मात्रै थिएँ तर त्यसदिन आफैले महशुस गर्ने मौका पाएँ । आफ्नो धैर्यतालाइ मैले धेरैदिन कायम राख्न सकिन । फटाफट उसको समिपमा गएँ र मित्रताको हात अघी बढाएँ ।

“ हाइ आइ एम बिशाल फ्रम नेपाल, आइ वोर्क एट डिस ग्यालरी ।” मेरो वाक्य टुंगिन नपाउदै उसको मुहारमा कान्ति प्रज्वलित भैसकेको थियो । “ओ माइ गड, तपाईं नेपाली हो ? सो लक्की टु सी अ नेपालिज गाइ हेअर ।” मेरो नाम पल्पसा हो ।

मैले हात बढाएको थिएँ, उसले हग गर्न खोजी । मलाइ निकै अप्ठ्यारो लाग्यो ।

****
उ साझसम्म ग्यालरीमा बसेर चित्र हेर्थी । म भने उसलाइ मौका मिलेसम्म हेरिरहन्थे । पछि पछि हुदै गएपछी, हाम्रो मित्रता ग्यालरी भित्र मात्रै सिमित रहेन । न्युयोर्कका रेस्टुरेन्ट, पार्क अनि स्ट्रीटहरुमा हामी घन्टौ गफिन्थयौँ । वास्तमा हाम्रो सम्बन्ध झ्याङिदै थियो ।

आफ्नो कलाप्रतिको आशक्ती, घर परिवारसगँको टकराव, उसले लगभग सबैकुरा मलाइ नलुकाइ भन्थी । घरमा छोरीको विवाह पि.एच.डी गरेको केटासँग गरिदिने निर्णय भएको रहेछ तर पल्पसा आफ्नो स्वतन्त्रता चहान्थी । म मनमनै सोच्थे “फिजिक्समा पि.एच.डि सकेकै दिन तिम्रो हात माग्न तिम्रै घर आउनेछु मैया”। सायद फलाम तातिसकेको थियो, मौका बखत बिचार गरेर प्रहार गर्न मात्र बाकी थियो ।

अर्थात म संसारलाइ बताउन चहान्थेँ पल्पसा र मेरो सम्बन्धको बारेमा । उसलाइ पल्पसाबाट “मेरी पल्पसा” बनाउन चहान्थेँ, मात्र मेरी ।

****
 आज ग्यालरी जानु अघि सानो पत्र लेखेँ साथमा केही गुलाफहरु । सदाझै आज पनि ठिक ११ बजे ग्यालरी पुगे, पल्पसा २ बजे आउथिन । तर आजको दिन अरु दिनहरु भन्दा निकै फरक थियो, मुटुको गति बढिरहेको थियो तर समयले आफ्नो धर्म पट्क्कै छाडेको थिएन, मन्द मन्द आफ्नै गतिमा घडीको सुइ चलिरहेको थियो ।

४ बज्यो तर पनि पल्पसा आइपुगिन, लाग्यो केहि काम पर्यो होला । उसको मोबाइलमा सम्पर्क हुनसकेन । दिनहरु बिते, गुलाफ मुर्झायो, पत्रका मसि सुके तर किन हो पल्पसा आइन ।

सात दिनपछी आफुलाइ जेनि बताउने एकजना महिला ग्यालरीमा मलाई खोज्दै आइ । हस्याङ–फस्याङ गर्दै आफ्नो ब्यागबाट पत्र निकालेर मेरो हातमा थमाइदिइ अनि हावाको बेग जस्तैगरी त्यहाबाट अलप भइ । पल्पसाको पत्र रहेछ, एकै सासमा खामबाट झिके अनि पढ्न थालेँ ।

 आत्मीय मित्र भनेर सम्बोधन गरेकी रहिछ, जब पत्र सकियो म पुरै गले । करङको कापबाट रगत बगेर सिधै पैतालामा पुगेको भान भयो, हातगोडा लल्याक–लुलुक भए । उसले लेखेकी थिइ “घरमा धेरै नै टर्चर भएपछि नयाँ सिराबाट जिवन सुरु गर्न सदाका लागी नेपाल जादैछु । यो पत्र तिम्रो हातमा पर्दा सायद म काठमाडौमा ल्यान्ड गरिसकेकी हुनेछु । पछिल्ला दिनयता तिमिले हाम्रो मित्रतालाइ बिल्ड अप गरेर अर्कै नाम दिन लागेको मलाइ भान भइरहेछ । प्लिज मलाइ बिर्सिदेउ ।” निमेष भरमै मेरा सारा सपना भताभुङ्ग भए, मेरो प्रेम एकतर्फी मात्र रहेछ भन्ने प्रमाणित भयो । कयौं दिनसम्म निदाउन सकिन .

****
 एक बिहान मेरो मनमा अनौठो उर्जा जागृत भयो । नयाँ सोचले जन्म लियो । अमेरिकामै स्थायी रुपमा बस्न पाउँ भनी लिएको “पि.आर” को आवेदन फारम च्यातेर फालिदिए । म पल्पसालाइ फलो गर्न चहान्थे, मित्र भएरै सहि उसँग नजिक हुन चहान्थे किनभने मलाइ अर्कि पल्पसा फेरि कहि मिल्नेबाला थिएन । पढाइ र करिअरको पर्वाह गरिन अनि कसैलाइ सुइँकोसम्म पनि नदिइ म काठमाडौ फर्किए ।

****

 पल्पसा र म बिचको ग्याप महिनौको भइसकेको थियो । उपन्यासमा भनिए जस्तै यो बिचमा पल्पसा र दृश्य एक–अर्कासग नजिक भएका रहेछन् जसको सुइको मैले धेरै पछि मात्र पाएको थिएँ ।

तर भावीको लेखा पनि अचम्मको हुदोरहेछ । मैले काठमाडौ आएर फेरि पल्पसालाइ एपरोच गरेको समय त्यस्तो समय थियो जतिखेर दृश्यले पल्पसालाइ छाडेर अन्यन्त्र कतै हिंडेको थियो। उ पुन एक्लिएर अनि न्यास्रीएर फेरि अन्यत्र सिफ्ट हुने योजनामा थिइ । म काठमाडौ आएको थाह पाउनसाथ उ भक्कानिदै आएर मेरो अङ्गालोमा बाँधिइ । दृश्यसँगको सम्बन्ध अनि उसले दिएको धोका सब बेलिबिस्तार लगाइ । मैले पनि उसलाइ च्याप्प अङगालोमा बाँधे अनि तिमि एक्लो छैनौ भनेर ठुलो ढाडस दिँए । आखिरमा हाम्रो सम्बन्धले त्यही नाम पायो जसका लागी मैले आफ्नो करियर अनि भविस्य सब दाउमा लगाएको थिएँ ।

 एकदिन बिहानै पल्पसाले फोन गरी र झट्टै भेट्नु छ भनेर बोलाइ । अजङ्गको क्यामरा किनेकी रहिछ, द्वन्द्वको विषयमा डकुमेन्ट्री बनाउन लागेको र एकजना साथीको खाँचो भएको कुरो सुनाइ । म पल्पसासँग केहि समय बिताउन चहान्थँे, उसँग अझै नजिक हुन चहान्थँे । त्यसैले यस्तो सुनौलो मौका मैले खेर जान दिइन । अनि लाग्यौँ पश्चिम पहाडतिर ।

 ****

त्यस भयानक रात पल्पसा र उसको प्रिय चित्रकार दृश्य अगाडि सिटमा बसेका थिए, म भने अलि पछाडी थिएँ । गाडी टक्क रोकियो । कन्डक्टर भन्दै थिए, पिसाब फेर्न ओर्लनुस फेरि अगाडि गाडी रोकिदैन । दृश्य उठेर पिसाब फेर्न गयो ।

पल्पसा त्यसैबेला म निर आइ अनि अघि किनेको पानीको बोतल मागी । पानी सक्किएकाले मैले रित्तो बोतल थमाइदिएँ । उ बोतल लिएर पानी भर्न तल झरी ,म पनि पल्पसालाइ पछ्याउँदै बाहिर निस्किएँ । गाडीको एकातर्फ पिसाब फेर्नेको लर्को थियो, अर्कातर्फ पल्पसा र म धारामा पानी भरिरहेका थियौँ ।

त्यसपछिको घटनाक्रम उपन्यासमा वर्णन गरिए जस्तै थियो । प्रहरीको जिपलाइ लक्षित गरि थापिएको एम्बुसमा हामी चढेको गाडी पर्यो । त्यस्तो भयानक बिस्फोट मैले सायद चलचित्रमा पनि देखेको थिइन ।

दृश्यलाइ लाग्यो, पल्पसा बस भित्रै रहेका कारणले उ मारिइ । पल्पसालाइ लाग्यो दृश्य मर्यो, मलाइ लाग्यो ‘जार’ सक्कियो अनि “पल्पसा क्याफे” पढ्ने पाठकलाइ लाग्यो चोखो प्रेम मर्यो । तर वास्तमा हामी सबै भ्रममा बाँचिरहेका थियौँ ।

****
 अनेक प्रयत्न गरेर दृश्य मरिसकेको कुरा पल्पसालाइ सम्झाएँ । गुहेश्वोरीलाइ साक्षी राखी उसको सिहुदोमा सिन्दुर भरेँ । अमेरिका त्यागिदिएँ अनि शान्त र सौम्य जिन्दगी बिताइरहेको थिएँ ।

अचानक मेरो जिन्दगी एक उपन्यासले तहस नहस पारिदियो, सिर्फ एक झट्कामा । नारायण वाग्लेको कृती पल्पसा क्याफे आउनासाथ मैले त्यो पढेँ अनि दृश्य जिउँदै रहेको कुरा थाह पाएँ । पछि पुस्तकले मदन पुरस्कार पायो, अनि त पल्पसाबाट जति लुकाउन खोजेपनि सत्य लुकेन ।

 आज यो लेखिरहदा म टिचिङ अस्पतालको मानसिक रोग उपचार कक्षमा छु । पल्पसा बिक्षिप्त छिन् । डाक्टरहरु भन्छन् ,गहिरो सद्मा परेको छ, यस्तो बिरामीको बर्षौसम्म पनि होस नफर्किएका रेकर्डहरु छ्न । कति वर्ष कुर्नु हुन्छ विशाल जि ?

म फिस्स हास्दै भन्छु, म पल्पसालाइ वर्षौ त के, जुनि जुनि कुर्न सक्छु डाक्टर साब!

(नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेमा आधारित)

Thursday, September 28, 2017

गजल


मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।

काम पर्दा आक्कल-झुक्कल घन्टी बज्थ्यो उसको  (२)
त्यही 'कामका' पाना  भित्र गुलाफ राखिनछु ।

शहर बजार टहलिदै कफी पिइयो कतिकति (२)
एउटै इस्ट्र  कपमा राखी जुठो साटिनछु ।

मध्य रातमा अनलाइन गफले काउकुती लाउँथ्यो (२)
भेट हुँदा गफका कुरा गर्न जानिनछु ।

‘असल मित्र’ मात्रै हामी जाने बेला तिम्ले भन्यौ (२)
दाल–भात खायो भोक टर्यो  ! तर ट्वाक्क बनिनछु ।

मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।



Wednesday, September 27, 2017

शिक्षण अस्पतालमा पहिलो अनशन


(अनशन त्यसमाथि पनि झन शिक्षण अस्पताल भनिसकेपछि त सबैको मनमा एउटै नाम आउँछ , डा. गोविन्द केसी । तर डा.गोविन्द केसी भन्दा पहिले पनि आइओएममा अनशन बस्ने व्यतिm हुन प्रा.डा. भीष्मराज प्रसाई जसको रोचक वर्णन उनको आत्माकथा आफैलाइ फर्केर हेर्दा’ मा पढ्न पाइन्छ ।)

ओहो म त भूतले खाजा खाने बेलामा डिन भएको रहेछु । त्यो बेला २०४६ सालको आन्दोलनको पृष्ठभूमि बन्दै थियो । पञ्चायत विरोधी गतिविधि बढ्दै थियो । क्याम्पसमा कतिपय विद्यार्थी र प्राध्यापकहरु पठनपाठन भन्दा राजनितिमा बढि तल्लीन हुन थालेका थिए । राजनैतिक दलहरु प्रतिबन्धित भएकाले स्वतन्त्र विद्यार्थी युनियनका नाममा पार्टीका भ्रातृ संगठनहरु क्याम्पसमा सक्रिय थिए । प्रतिबन्धित राजनितिक पार्टीको टर्च बोकेर विद्यार्थी संगठनहरु तत्कालिन बेथिति,प्रशासनिक अस्तव्यस्तता र शैक्षिक समस्यालाइ निहुँ बनाएर क्याम्पसमा होहल्ला गरिरहेका थिए ।

२०४६ सालको आन्दोलन अघिका १० वर्षमा मुलुकका क्याम्पसहरुमा विद्यार्थी राजनिति उफानमा थियो । कांग्रेसको नेपाल विद्यार्थी संघ , कम्युनिष्टहरुको अनेरास्ववियू , पञ्चहरुको राष्ट्रिय विद्यार्थी मण्डल आदि । संगठनहरुले क्याम्पसहरुमा विद्यार्थी समस्याका नाममा राजनिति गरिरहेका थिए जसले क्याम्पसको पठनपाठन अवरुद्ध भइरहेको थियो । क्याम्पसहरुमा अस्थिरता , अनुशासनहिनता र अराजकता व्याप्त थियो ।
उता, त्रिविका प्राध्यापकहरुमा पनि राजनिति हावी भइसकेको थियो र उनीहरुको राजनिति हावा शिक्षण अस्पतालमा पनि घुसिसकेको थियो । प्राध्यापकहरु कोहि ‘प्रगतिशिल’ भएका थिए भने कोहि ‘प्रजातान्त्रिक’ । आफू परियो विशुद्ध सेवक । राजनितिको खेलमा नलागेको । त्यसैले भयो के भन्दा , कांग्रेस र कम्युनिष्ट पार्टीका प्राध्यापक र विद्यार्थीहरुले मलाइ यो पञ्चे डिन हो , यसलाइ डिनबाट हटाउनुपर्छ भन्न थाले । शुरुमै मेरो मार्गमा अवरोध खडा गरियो ।

तर त्यसमा पनि मत विभाजन भयो । एकथरीले मलाइ पञ्चे डिन हो निकाल्नुपर्छ भन्ने र अर्काथरीले उहाँ र उत्कृष्ट डिन हो निकाल्नु हुँदैन भन्ने । अन्तत ः मलाइ डिनबाट हटाउने कि राख्ने भन्ने विषयमा भोटिङ भयो । रोचक भनूँ या बिडम्बना , प्रतिनिधिसभाका माननीय सदस्यहरुले भोटिङ गरेर कुनै प्रधानमन्त्री चयन गरेझैँ शिक्षण अस्पतालका सम्पूर्ण डाक्टर र कर्मचारीहरुले मलाइ हटाउने कि राख्ने भन्ने विषयमा मतदान गर्नुपर्यो रे । मतदान हुँदा मेरो विपक्षमा जम्मा ९ मत खस्यो रे । त्यो अनौठो चुनावमा म करिबकरिब सर्वसम्मत रुपले विजय भएँ अरे । त्यसपछि कसैको केहि लागेन , मलाइ हटाउन खोज्नेहरु आफैँ पाखा लागे ।

यो त एउटा अड्चन थियो । यस्ता अड्चनहरु धेरै आए । म डिन भएर गएपछि पनि विभिन्न विद्यार्थी संगठनहरुले विभिन्न माग तेर्साएर घेराउ , तालाबन्दी र धर्ना आदि गर्दै आएका थिए ।

२०४६ साल फागुनको प्रसङ्ग हो ,एक दिन म आफ्नो कार्यलयमा जाँदा विद्यार्थीहरुको असहज गतिविधि पाएँ । करिब एक सय जना जति विद्यार्थी मेरो कार्यकक्ष बाहिर थुप्रिएका थिए । त्यति नै संख्यामा भित्र पनि विद्यार्थी थिए । जब म ती विद्यार्थीलाइ पन्छाउँदै आफ्नो सेक्रेटरीको कोठामा पुगेँ तब मैले आफ्नो कार्यकक्षको ढोका खुल्लै भएको पाएँ । आफ्नो कार्यकक्षमा प्रवेश गर्दा त दर्जनौँ विद्यार्थी फ्लोरमा बसिरहेका थिए र त्यहाँ कार्यलयमा कोहि स्टाफ थिएनन् ।

म सरासर डिनको कुर्सिमा गएर बसेँ ।

“के भो ? के भन्न आएका हौ ? सबै एकैचोटि यसरी आउने ?” , मैले भनेँ ।

“सर हामी आफ्ना माग राख्न आएका हौँ । सरले यी माग पूरा गर्छु भनेर सहि गर्नुपर्यो । सहि नगर्ने हो भने हामी तपाइलाइ घेराउ गर्छौ ।” विद्यार्थीको कुनै नाइकेले भने ।

केहिबेर उनीहरुलाइ फकाउने कोसिस गरेँ । उनीहरुका मागहरु केके हुन् , त्यसबारेमा बुझ्ने कोसिस गरेँ । उनीहरुका मागहरुमध्य ५० प्रतिशत राजनितिक प्रकृतिका थिए जसका बारेमा मैले कुरै गर्न चाहिन । म उनीहरुसँग शैक्षिक कार्यक्रम र प्रशासनिक प्रकृतिका मागहरुका बारेमा मात्र छलफल गर्ने पक्षमा थिएँ तर उनीहरुको उदेश्य अर्कै थियो । उनीहरु डिनलाइ हतोत्साहित पारेर आफ्ना सम्पूर्ण मागमा सहि गराउने योजनाले आएका थिए वा राजनैतिक आन्दोलनकै त्यो एउटा अंग थियो , मलाइ खासै थाहा भएन । जति सम्झाउँदा पनि विद्यार्थीहरु मेरो कार्यलयबाट टसको मस भएनन् ।

तीन घण्टा बित्यो । उनीहरुले इन्स्टिच्युटका अन्य कर्मचारीलाइ पनि भित्र प्रवेश गर्न दिएनन् , मलाइ पनि घेराउ गरिरहे । म गम्भिर अवस्थामा पुगेँ । विभिन्न ठाउँबाट मलाइ फोन आउन थाल्यो । म घेराउमा परेको घटनाका बारेमा चारैतिर खबर फैलियो । मेरो सुरक्षालाइ लिएर मेरा परिवारका सदस्यहरु बडो चिन्तित हुन थाले । मेरा भाइ बेनुपराज प्रसाई त्यतिबेला पञ्चायत तथा स्थानीय सहायकमन्त्री थिए । उनले गृहमन्त्रीलाइ मेरो अवस्थाका बारेमा जानकारी गराइसकेका थिए । सरकार बल प्रयोग गरेर मेरो उद्धार गर्ने भन्ने तयारी गर्दै थियो ।

मलाइ उद्धार गर्न सरकारले कुनै बल प्रयोग गर्नु पर्दैन । उत्पन्न परिस्थितिलाइ म आफ्नै तरिकाले हल गर्नेछु । मैले गृहका अधिकारीलाइ भनिदिएँ र क्याम्पसमा बल प्रयोग गर्न दिइनँ ।

दिउँसोतिर मलाइ लाग्यो कि अब यी विद्यार्थीहरुसँग बहस र वादविवाद गरेर समस्याको समाधान हुनेवाला छैन । अब अर्कै समाधान खोज्नुपर्ला ।

म मुसुक्क हाँसे । केहिबेर उनीहरुलाइ एक–दुइ चोटि जोक पनि सुनाएँ । केहिबेर पछि मैले भने “तिमीहरुको र मेरो सम्बन्ध अब अलिकति परिवर्तन गरुँ है । अब म पनि तिमीहरुसँगै लाग्छु”।

म आफ्नो कुर्सिबाट जुरुक्क उठेँ र विद्यार्थीहरुसँगै तल फ्लोरमा गएर बसेँ । “तिमीहरुलाइ केहि भन्नु छ भने म सुनिरहन्छु तर म तिमीहरुको कुराको कुनै मतलब गर्दिनँ”, मैले भनेँ ।

“हैन सर हाम्रा माग तपाइले सम्बोधन गर्नुपर्यो”, विद्यार्थीहरु कराए । तर म मौन भएँ , केहि बोलिन । कुनै ध्यान साधकझैँ हलचल नगरी चुपचाप दुवै आँखा बन्द गरिरहेँ । त्यसपछि भने बल विद्यार्थीहरुको कोटमा थियो । म उनीहरुको प्रतिक्रियाको प्रतिक्षामा थिएँ ।

साझँको पाँच बज्यो । अब भने विद्यार्थीहरुलाइ छटपटी हुन थाल्यो ।

साँझमा मैले घोषणा गरेँ ,“तिमीहरुले यो घेराउ कार्यक्रम रद्ध गरेर नगएसम्म म तिमीहरुसँग बोल्दिन र केहि खान्न पनि । मेरो प्रजातान्त्रिक हक खोस्ने तिमीहरुको व्यवहार विरुद्ध म भोक हड्ताल गर्छु ।”

मेरो घोषणाले विद्यार्थी , मेरी श्रीमती र अन्य आफन्तहरु आत्तिए । सबैलाइ मेरो चिन्ता हुन थाल्यो । हामी घेराउ गर्न आएको डिन आफैँ भोक हड्ताल गरिरहेको छ भन्दै विद्यार्थीहरुले चारैतिर खबर फैलाए । क्याम्पस हातामा प्रहरी प्रवेश गर्न दिनुपर्यो भनेर मलाइ सरकारबाट दबाब आउन थाल्यो तर पनि मैले क्याम्पस हातामा प्रहरीको प्रवेश हुन दिइन ।

रात परेपछि घेराउमा बसेका करिब ७० प्रतिशत विद्यार्थी त्यहाँबाट गए , तिनका नाइके मात्र बाँकी रहे । त्यसपछि भने इन्स्टिच्युटका अधिकारीहरु मेरो कोठामा मलाइ भेट्न आए । मैले उनीहरुलाइ तत्काल गइहाल्न भने  र उनीहरु पनि चुपचाप गइहाले ।

राति ८ बजे विद्यार्थी नेताहरुले होस्टेलमा मेरा लागी खाना तयार गराएका रहेछन् । त्यो खाना मेरो कार्यकक्षमा ल्याइयो । तर मैले खाना खान अस्विकार गरेँ र आफ्नो अडानमा दृढ रहेँ । मेरा लागी अब त्यो प्रतिष्ठाको विषय भइसकेको थियो ।

पहिलो दिन मैले केहि खाइन । दोस्रो दिन भने विद्यार्थीहरुको व्यवहार केहि नरम भयो । फेरि बिहान उनीहरुले मलाइ ब्रेकफास्टका लागि आग्रह गरे तर मैले मानिन ।

घेराउ कार्यक्रम बन्द भएको लिखित घोषणा गर अनिमात्र खान्छु । मैले भने ।

अब भने विद्यार्थीहरुलाइ बडा संकट पर्यो । उत्पन्न परिस्थितिका बारेमा आफ्ना राजनितिक गुरुहरुसँग सल्लाह गर्न गए । साँझपख विद्यार्थीहरुले आएर भने “सर, हामी यो घेराउ कार्यक्रम रद्ध गर्छौँ । त्यसको लिखित विज्ञप्ति पनि ल्याएका छौँ , तपाइले भोक हड्ताल तोड्नुपर्यो ।”

अन्ततः विद्यार्थीहरुले नै आन्दोलन फिर्ता लिएपछि मैले पनि ३६ घण्टापछि आफ्नो भोक हड्ताल तोडेँ ।

(प्रा.डा. भीष्मराज प्रसाईको किताब आफैलाइ फर्केर हेर्दाबाट )

प्रसाइ आइओएमका पूर्व डिन साथै शिक्षण अस्पतालका प्रथम डाइरेक्टर पनि हुन ।


आधुनिक चिकित्सा विज्ञानका नामुद लापरबाही


१. रिचार्ड स्मिथले पाएको गलत औषधी ः

यो सन् २०१० मा संयुतm राज्य अमेरिकामा घटेको घटना हो । ७९ वर्षिए रिचार्ड स्मिथ किड्नीका बिरामी थिए । उनी केहि वर्षदेखि लगातार रुपमा अस्पताल आएर आफ्नो डायलाइसिस पनि गराइरहेका थिए । अचानक एकदिन उनलाइ सास फेर्न निकै नै अफ्ठ्यारो भयो र चिकित्सकहरुले उनलाइ आइसियूमा राखेर उपचारको थालनी गरे । आइसियूमा राखेको अर्को दिन उनलाइ पेट दुख्यो । ग्यासट्राइटिसको शंका गरि  चिकित्सकहरुले उनलाइ ‘एन्टासिड’ प्रेस्क्राइब गरे । तर भैदियो के भन्दा , एकजना आइसियूमै कार्यरत नर्सले एन्टासिड जस्तै देखिने ‘प्यानक्युरोनियम’ नामको अर्कै औषधी स्मिथलाइ दिइन ।

‘प्यानक्युरोनियम’ मानिसलाइ बेहोस बनाएर इन्ट्युबेट गर्न प्रयोग गरिने दबाइ हो । सो दबाइ पाउनासाथ , स्मिथ बेहोस भए र डाक्टरहरुको लाख कोसिसका बाबजुद पनि एक महिना पश्चात् उनको मृत्यु भयो । सोझो तरिकाले हेर्दा उतm घटनामा उपचारमा संलग्न नर्सले लापरबाही गरेको प्रष्ट देखिन्छ । तर पनि अस्पतालले सो घटनाको अनुशन्धान गर्यो र अन्त्यमा संसारलाइ चकित बनाउने गरि ती नर्सलाइ कुनै पनि कार्वाही गरेन । बरु अस्पतालका सबै डिपार्टमेन्टहरुमा उस्तै–उस्तै देखिने औषधी सँगै नराख्न परिपत्र जारी गर्यो साथै ‘प्यानक्याुरोनियम’ एनेसथेसियाले मात्रै चलाउन पाउने नियम बनायो ।

२. रेजिना टर्नरको गलत सर्जरी ः

लगातार रुपमा स–साना पक्षघातहरु भइरहे पश्चात् , रेजिना टर्नरले आवाज गुमाइन । चिकित्सकहरुको सल्लाहबमोजिम , उनको क्रानियोटोमी बाइपास ( एक किसिमको मस्तिष्कको सर्जरी) गर्नुपर्ने भयो । अपरेशन भन्दा अघि उनी ठमठम हिँड्न सक्थिन , आफ्नो स्याहार पनि आफैले गर्न सक्थिन । तर अपरेशन पश्चात भने उनी सम्पूर्ण रुपमा अपाङ्ग भइन । अलिक पछाडी मात्र चिकित्सकहरुले के पत्ता लगाए भने , टर्नरको देब्र्रे भागको बाइपास सर्जरी गर्नुपर्नेमा भूलवश दाहिने भागको सर्जरी भएको रहेछ ।

तर जब कारण पत्ता लाग्यो , तबसम्म ढिलो भइसकेको थियो । घटनापश्चात् , अस्पतालले उच्चस्तरीय छानबिन समिति गठन गर्यो  जसले सर्जन र नर्सलाइ मात्र दोषी देखाएर अस्पताललाइ उन्मुतिm दिएन । बरु त्यस अस्पतालमा दैनिक रुपमा हुने सर्जरीको संख्यादेखि स्वास्थ्यकर्मीलाइ लगाइने ड्युटि हावर्स माथि पनि प्रश्न उठायो । साथै सोही घटना पश्चात् नै संसारभर हुने सर्जरी पूर्व पूरा गर्नुपर्ने प्रोटोकललाइ अझ परिस्किृत र शसतm बनाइयो ।

३. एन्डी वारहोलको रहस्यमय मृत्यु ः

सन् १९९० को घटना हो । अस्पताल र स्वास्थ्यकर्मीहरुसँग भयङ्कर डराउने एन्डी वारहेल पनि आफ्नो पित्त थैलिमा देखापरेको जटिल समस्याका कारण अन्तत्तोगत्वा अपरेशन गर्न राजी भए । चिकित्सकहरुले पनि सफलतापूर्वक उनको सर्जरी गरे । प्रोटोकलअनुसार उनलाइ केहि दिन अस्पतालमै  भर्ना गरेर राखियो । बिस्तारै स्वास्थ्यलाभ गरिरहेका वारहोलको अचानक अस्पतालमै केहि दिन पश्चात् मृत्यु भयो ।
पोस्टमार्टम गर्दा उनको फोक्सो र शरिरका अन्य भागमा समेत पानी भरिएको थियो । कारण खोतल्दै जाँदा पत्तो लाग्यो कि वारहोललाइ दिइनुपर्ने फ्ल्युडको(स्लाइन पानी) मात्रा भुलबश डबल पर्न गएछ । त्यत्रो जोखिमपूर्ण सर्जरीबाट जोगिएका वारहोलले अति नै सानो गल्तिका कारण संसारकै प्रतिष्ठित अस्पतालमा मृत्युवरण गर्नुपर्यो ।

४. सिबिएसले गरेको सनसनीपूर्ण खुलासा ः

३४ वर्षिका रोड्नी इङ्गलिस जन्मजात स्पाइना बाइफिडा नामक समस्याबाट ग्रसित थिए । नियमित उपचार गराइरहेका इङ्गलिस यसपटक पनि सामान्य सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए । सामान्य शल्यक्रिया पश्चात् उनी स्वास्थ्यलाभ गर्दै थिए तब अचानक उनी बेहोस भए र त्यसपछि कहिल्यै आँखा खोलेनन् । अस्पतालले स्पष्ट रुपमा मृत्युको कारण बताउन सकेन तर मर्ने बेलामा उनलाइ एनेमिया भएको तथ्य बाहिर ल्यायो ।

बिरामीका आफन्तको उजुरीका आधारमा , सिबिएस, अमेरिकाले बृहत अनुशन्धान गर्यो जसले मृत्युको कारण उनलाइ दिइएको गलत रगत भनेको छ । आखिर रेडक्रस सोसाइटिले त्यत्रो होसीयारीपूर्वक तयार गरेको ब्लड जो पुनः १०–१२ ठाउँमा राम्रोसँग परिक्षण गरिन्छ , कसरी गलत भयो त ? जून आजसम्म पनि रहस्यपूर्ण नै रहेको छ ।


कि सबथोक रोबटले संचालन गर्नपर्यो , अन्यथा मानिसले नै गर्ने भएपछि कहिँ कतै गल्ति त भइहाल्छ । यस्ता गल्तिहरु पुरै निमिट्यान्न त बनाउन सकिदैन तर यिनलाइ न्युनिकरण गर्नेतिर सबैको ध्यान जानु वाञ्छनीय छ ।
पुनश्च ः माथि प्रस्तुत गरिएका दृश्टान्तहरु संसारभर लापरबाही हुन्छन् तसर्थ हामीले पनि लापरबाही गर्न पाउनुपर्छ भन्ने आशयका पक्कै होइनन् । बरु संसारका बिकसित भनिएका देशहरु र प्रतिष्ठित मानिएका अस्पताल र स्वास्थ्यकर्मीहरुबाट समेत त्रुटीहरु हुन्छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको हो । आखिर डाक्टर पनि मानव हो र मानिसले जान अन्जानमा अनेक गल्तिहरु गरिरहेको हुन्छ ।


 

Saturday, September 23, 2017

इन्द्रावतीको शिरानमा पाँचपोखरी


‘अबिरल बग्दछ इन्द्रावती’ । रमेश विकलको यो चर्चित कृति जहाँ जन्मियो, त्यसैको सेरोफेरोमा हाम्रो यात्रा अगाडि बढ्ने छ । अर्थात, इन्द्रावती नदिको किनारै–किनार ।

यात्राको प्रारम्भ करिब १२०० मिटर उचाइमा अवस्थित मेलम्ची बजारबाट हुन्छ । त्यसो त सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौताराबाट पनि पाँचपोखरी पुग्न सकिन्छ तर त्यताबाट जानुका आफ्नै प्रशस्त फाइदा र बेफाइदाहरु छन् ।

हिउँदको समयमा हो भने गाडी धेरै माथि भोताङ गाउँसम्म पुग्छ तर बर्खामा जाने सोच बनाउनु भएको छ भने मेलम्ची बजार वा त्यहाँ भन्दा एक घण्टा माथिको गाउँ टिपेनीबाटै पैदल यात्राको थालनी हुन्छ ।

टिपेनी हुँदै थाङपाल धाप (१३०० मि) र भोताङ (१६०० मि) सम्मको बाटो त्यति कठिन छैन । बिहान सबेरै काठमाडौँबाट गाडी चढे , अलि कस्सेर हिँड्दा भोताङ नभए धापसम्म त त्यसदिन अवस्य पुगिन्छ । बाटोमा गाउँ–बस्ती , चिया पसल , धारा र होटलहरु पनि प्रशस्तै छन् । भूकम्पले क्षतबिक्षत बनाएका ती गाउँहरु बिस्तारै उठ्दै छन् । भत्किएका भग्नावशेषहरु अझै बाँकी नै छन । तर त्यसले भने तपाइको यात्रामा कुनै पनि प्रभाव पार्दैन । आखाँमा आँसु लुकाएरै भएपनि सिन्धुपाल्चोक बासीहरु मिठो मुस्कान पस्किन खप्पिस छन् । आफ्ना गाउँमा आएका पर्यटकलाइ सक्दो माया गरिरहेकै छन् ।


भोताङ गाउँपछि बल्ल कठिन यात्राको प्रारम्भ हुन्छ । त्यसपछि भने गाउँ–बस्ती , चिया पसल , धारा र होटलहरु भेटिदैनन् । छन त केवल , वन–जङ्गल , खोला–नाला , बडेबडे झरना, पुल–पुलेसा र खर्कमा बस्तु चराउन खडा गरिएका गोठहरु । बाटो पनि उकालै मात्रै । अझ बस्तु हिँड्ने बाटोमा ठडिएर बसेका लेकाली जुकाहरुले  यात्रालाइ झन रोमान्चक बनाउन मदत गर्छन् ।

कहिलेकाहिँ त घण्टौ हिँड्दा पनि मानिस, बस्तु वा गोठ केहि भेटिदैनन् । बाटो बिराइएछ कि जस्तो भान हुन्छ । तर आत्तिनु पर्दैन इन्द्रावती नदिले जबसम्म तपाइको कानमा सुसेलीरहन्छ तबसम्म तपाइ ठिक बाटोमा हुनुहुन्छ ।

“ताङ्गुमा छुर्पि सुकाउने , माया मनको कुरा मनमै लुकाउने” ।

मानेखर्क , टुप्पी डाँडा , ताङ्गुखर्क , याकखर्क , छिम्ती आदिमा रहेका हरएक गोठहरुले यस्तै सुरिला भाका र गितहरु जन्माएका छन् । दिनभर बस्तुका चरनसँगै लिरिक्सहरु लेखिन्छन् र रातभर तिनै गाइवस्तुका घाँटीमा झुण्डिएका घण्टहरुका ट्याङ–ट्याङ, टुङ–टुङसँगै सुमधुर सङ्गितको जन्म हुन्छ । सायद यसरी नै सदिऔँदेखि लेकमा गितहरु बनिरहेका छन् ।


तिनै गोठहरुमा ८–१० वर्षका कलिला साङ्गे तामाङहरु पनि भेटिन्छन् जो काखीमै किताब च्यापेर गाइ–बाखा्र चराउन जान्छन् अनि कहिले–काहिँ यसो फुर्सद मिल्यो भने ३–४ घण्टा तलको विद्यालय धाउँछन् । विद्यालयमा पनि कहाँ दिनभर बस्न पाउनु । साँझ गोठमा नपुगिएला भनेर दिउँसै निस्कन्छन् अनि त्यहि बाटो ठसठस गर्दै बेलुका आफ्ना बायस्तै/दाजुलाइ सघाउन गोठमै आइपुग्छन् ।

यदि भोताङबाट तपाइ नसिमपाटी (३७०० मिटर) सम्म पुग्न सक्नुभएन भने यस्तै गोठहरुमा बस्ने अवसर पाउनुहुनेछ जहाँ साङ्गेले तातो भात र स्वायबिन पकाएर खुवाउँछ अनि गाइ, बाख्रा र कुखुराहरुका  बिचमा रहेको उसको प्यारो ओछ्यानमा नै तपाइलाइ सुत्ने व्यवस्था मिलाउँछ ।

नसिमपाटीमा भने केहि घरहरु छन् जुन पर्यटकहरुको न्यानो आतिथ्यका लागि वर्षौदेखि पर्खि बसेका  छन् । नसिमपाटीले विशेष केहि दिन नसकेपनि तपाइलाइ एक छाक दाल–भात र सुत्नका लागि न्याना राडी–गुन्द्री भने अवश्य दिनेछ ।

स्थानीयले बताएअनुसार , कात्तिक पछि त्यहाँ हिँउ पर्छ र हिँउ परेसँगै सबैजना तल गाउँ झर्छन् । त्यसपछिको ५–६ महिनासम्म ती घर/गोठहरुमा न  आगो बल्छ न त चौरीका घण्टहरुबाट ट्याङ–ट्याङ, टुङ–टुङ नै । पूरा सन्नाटा ।


नासिमपाटीबाट पाँचपोखरी पुग्न ३ घण्टा लाग्छ । करिब ३५०० मिटर भन्दा माथिको उचाइमा पुगिसकेपछि अक्सिजनको कमि भइ अल्टिच्यूड सिकनेस (लेक लाग्ने) हुनाले यात्रा अलि कठिन बन्दै जान्छ । उकालाहरु अप्ठ्यारा लाग्छन् । झन त्यस माथि ठाउँ–ठाउँमा खसेका पहिरोहरुले बाटो साघुँरो बनाइदिएका छन् । तल त मात्र कहालिलाग्दो भिर छ । पाँच पोखरी नपुगन्जेलसम्म नै मौसम बदलिरहन्छ । कहिले डम्म हुस्सु लागेर अगाडिको बाटो केहि देखिदैन त कहिले सिमसिम पानी पर्छ ।

करिब ४३०० मिटर उचाइमा रहेको पाँचपोखरी आफैमा अद्भूत छ । वरिपरि अग्ला टाकुराहरु र विचमा पोखरीहरुको उपत्यका । १–२–३–४–५ । गनेरै टपक्क मिलेर बसेका पाँच पोखरीहरु । तिनै अग्ला टाकुराका काप–कापबाट पानीका मूल फुटेका छन् र पोखरी बनेका छन् । फेरि पोखरीहरु भरिएर झरना अनि झरनाहरु  बग्दै बग्दै इन्द्रावती ।


पोखरीका वरिपरि फूलका बगैँचाहरु पनि छन् । अनेकन प्रजातिका ती रङ्गी–चङ्गी फूलहरु पाँच पोखरीका देवताले रोपेका हुन रे । सायद तिनै देवताले बगैँचामा मलजल गर्दा हुन , गोडमेल गर्दा हुन । त्यसैले त खप्तड उपत्यकालाइ नै बिर्साइदिने गरि त्यहाँ डाँडै भरि फूल फुलेका छन् ।

अरुबेला प्रायः शान्त रहने पोखरीहरु जनै पूर्णिमाका मेलामा भने भरिभराउ हुन्छन् । भगवान शिवको दर्शन गर्ने र पोखरीमा स्नान गरि जनै फेर्न भक्तालुहरुको घुँइचो लाग्छ । स्थानीयले बताएअनुसार गत वर्ष मात्र करिब दश हजार तिर्थालुहरु पूर्णिमाका दिन पाँचपोखरी पुगेका थिए ।

यस वर्षको जनै पुर्णिामालाई पनि मध्यनजर गर्दै सम्पुर्ण तयारी पूरा भइसकेको छ । ठाउँ-ठाउँमा थर्पुहरु बनिसकेका छन् । होटलहरु थपिएका छन् । साङ्गे तामाङका गोठहरु पनि चिटिक्क बनाइएका छन् । खानेखानेकुराहरु प्रसस्त लगेर राखिएको छ । बाटो सुधार गरिएको छ ।
 कात्तिक अघिसम्म त पोखरी वरपर पनि केहि थान होटलहरु  खुला नै रहन्छन् ।

पाँचपोखरीबाट फर्कदाः

फर्कने मुख्यतः दुइ विकल्पहरु छन् । पहिलो मेलम्ची हुँदै चढेकै बाटो र दोस्रो हिले हुँदै चौतारा तिरबाट । चौतारा हुँदै फर्कने बाटो निकै नै अप्ठ्यारो छ र प्राय मानिसहरु ओहोर–दोहोर पनि गर्दैनन् । तर साँच्चै ‘एडभेन्चरस ट्रेकिङ’ रुचाउनेहरुका लागि दोस्रो विकल्प उत्तम विकल्प हो । त्यस माथि चौतारा तिरको बाटोमा यति धेरै प्राकृतिक भेरियसन छ कि एकै दिनमा तपाइले प्रकृतिका अनेका स्वरुपहरु देख्न पाउनुहुनेछ ।

नासिमपाटीदेखि हिले भञ्ज्याङसम्मको बाटो अग्ला पहाडका टुप्पै–टुप्पो हुँदै अघि बढ्छ जतिखेर तपाइलाइ आफू बादल माथि हिँडिरहको छु जस्तो महशुस हुन्छ । ठिक तल बादलका टुक्राहरु एक–अर्कासँग ठोकिदै ठोकिदै जिस्किरहेका हुन्छन् । माथि हेर्यो छ्याङ्ग निलो आकाश ।

हिलेदेखि पौवाबास सम्मको बाटो अलि ‘ट्रिकी’ छ । एकैछिनमा उकालेर डाँडाको टुप्पोमा पुर्याउँछ र फेरि ओरालेर फेदमा । यो क्रम झर्को नलागुन्जेलसम्म चलिरहन्छ ।

पौवाबासदेखि कामिखर्क पुग्ने बाटोमा भने अचम्मको जङ्गल फेला पर्छ । कहिले ‘एनिमेटेड हलिउड’ चलचित्रमा देखाइने जस्ता लेउ लागेका रुखहरु त कहिले चारकोसे झाडीमा जस्तो निस्पट अन्धकार । वरपर चराका चिरबिर र बेलाबेला रुखका हागाँमा ठोकिदै बहेका बतासका झोकाहरुले यात्रामा कत्ति पनि थकान महशुस हुन दिँदैनन् ।

कामीखर्कबाट ठाडै ओरालो झर्दै गर्दा गजबको उपत्यका फेला पर्छ । समथर भूमिमा हरिया घाँस । छेउमै रहरलाग्दो पोखरी अनि अनेक प्रजातिका रङ्गि–चङ्गि फूलहरु । मिल्ने भए सधैँभरि त्यहि बसिरहौँ जस्तो लाग्ने ।

त्यसपछिको बाटोमा खासै उकालो चढ्नु पर्दैन । खोङ्ज्योबाट अघि लागेपछि माइथानमा अर्को बस्ति भेटिन्छ जहाँसम्म घनाह जङ्गलको बिचैबिच ओरालो झर्नुपर्छ ।

बाटैभरि खानेपानी चाहिँ एकदम सिमित ठाउँमा मात्रै पाइन्छ ।  त्यही भएर भेटिएको ठाउँमा जुगाड गरिहाल्नु पर्छ ।बाटो हराउने सम्भावना त कमै छ तर पनि कतै कतै दोबाटोहरु आउँछन् जसले बेलाबखत झुक्याइरहन्छन् । त्यहि भएर बस्ति भेटिएका ठाउँमा बाटोका बारे उचित सल्लाह लिएर अघि बढ्नु बुद्धिमता ठहरिन्छ ।

माइथान–लामीडाँडा–स्याउले हुँदै चौतारा आइपुगिन्छ जुन बाटोमा घर र मानिसहरु प्रशस्तै भेटिन्छन् र हिँड्न निकै सजिलो पनि छ ।

माथि उल्लेखित चौतारा हुँदै फर्कने बाटोबाट माथि चढ्न पनि सकिन्छ । तर त्यसो गर्दा मोटा–मोटी एकदिन बढ्ता लाग्ने र बाटो पनि कठिन भएकाले प्राय मानिसहरुको रोजाइमा मेलम्ची कै बाटो पर्ने गरेको छ ।


ट्रेकिङका लागि उचित समय ः चैतदेखि असोजसम्म ।
ट्रेकिङका लागि छुट्याउनुपर्ने दिन ः ४ देखि ६ ।
बोक्नै पर्ने सामाग्रीहरु ः रेनकोट÷घुम÷ ओढ्ने प्लास्टिक , टर्च लाइट , पानीको बोतल , चाउचाउ÷बिस्कुट, प्रशस्त चकलेट , जीवनजल , आवश्यतmा र चिकित्सकको सल्लाह बमोजिम लेकबाट बच्नका लागि एसिटाजोलामाइड , सिटामोल , फस्ट एड बक्स , दुखाइ कम गर्ने , ग्यास्ट्रिक र एलर्जिका औषधी । ट्रेकिङ जुत्ता र केहि न्याना कपडाहरु ।
अनुमानित खर्च : व्यक्तीमा भर पर्ने । तर पनि यो रुट खासै खर्चिलो छैन । मेलम्चीसम्मको बस भाँडा १६० र फर्कदा चौताराबाट २२० । खाएको र बसेको हेरि–हेरि २०० देखि ५०० सम्म  (जति माथि गयो त्यति बढि लाग्ने) ।

पुनस्च : यात्राका दौरान नासिमपाटीमा एकजना दिदिको घरमा बास बसेका थियौँ । हिँड्ने बेलामा हामीसँग भएको क्यामेरा देखेर , दिदिको सानो छोरोले फोटो खिच्ने औधी रहर गर्यो । हामीले फोटो खिच्यौँ । साथै दिदिले एउटा वाचा पनि गराएकी थिइन , "आर्को साल जनैपूणिर्मामा यहाँ थुप्रो मान्छे आउँछ, कसैको साथ लाएर फोटो पठाइदिनुन है ।"

त्यति माथिको गाउँमा , त्यस्तो हार्दिकताका साथ अनुरोध गरेकी दिदीलाइ निराश बनाउन पटक्कै मन छैन । जनैपूणिर्मा आउनै लाग्यो । विचरी फोटो कुर्दै बसेकी होलिन ।

कोही यसवर्ष पाँचपोखरी जाँदै हुनुहुन्छ भने ,  कृपया  सम्पर्क गरी दिदी र उनको छोराको उक्त फोटो नासिमपाटीसम्म पुर्याइदिनुस न है !

साँझमा अँगेनामा आगो जोड्दै तिनै दिदीले भनेकी थिइन :

पहाडका कापकापबाट उम्रिएको ‘पाँचपोखरी’ जब भरिएर पोखिन्छ तब कयौँ गाउँ–बस्तीसँग मितेरी गाँस्दै गाँस्दै अघि बढ्छ । पाँचपोखरी लाखौँ वर्षदेखि यस्तै हजारौँ इतिहासहरुको साक्षी बन्दै आएको छ । आखिर पाँचपोखरी छ र त ‘अबिरल बग्दछ इन्द्रावती ’ ।

फोटोहरु : नारायण कडेल



Saturday, September 9, 2017

डोराका रहस्यमय सपना, जसलाई फ्रायडले यसरी व्याख्या गरे

सपना त्यति भयानक त थिएन तर रहस्यमय भने अवस्य थियोः
‘डोराका बुबा अत्तालिँदै कोठाभित्र प्रवेश गर्छन् अनि मस्त निदाइरहेकी डोरालाई झक्झक्याउँछन्। जब डोरा आफ्नो सपनाभित्रको सपनाबाट बिउँझन्छे तब उसको घरमा आगो लागिरहेको हुन्छ।
चारैतिरबाट उसको नाकमा धुवाँको गन्ध आइरहेको छ। ऊ झटपट लुगा लगाउँछे अनि भाग्नका लागि तम्तयार हुन्छे। तब अचानक उसकी आमाले आफ्नो ‘गहनाको बक्सा’ सम्झिन्छिन् र डोराका पितालाई त्यो ल्याइदिन अनुरोध गर्छिन्। यस्तो अवस्थामा पनि आफ्नी श्रीमतीको गहना मोह देखेर अचम्मित अनि क्रोधित भएर भन्छन्, ‘जाबो गहनाका लागि म मेरो परिवारको जीवन सङ्कटमा पार्न सक्दिन।’ जसै उसका स–परिवार घरबाहिर आइपुग्छन् डोराको सपना पनि भङ्ग हुन्छ।’
***
सिग्मन्ड फ्रायडका लागि डोराको यो केस झन्झन् जटिल बनिरहेको थियो। करिब एक साताअघि ती १८ वर्षकी युवतिलाई उनका पिताले फ्रायडको क्लिनिकमा ल्याएका थिए। हो, फ्रायडसामु आइपुग्दा सम्म डोराको अवस्था अत्यन्त  जटिल बनिसकेको थियो। अचानक उसले आवाज गुमाएकी थिई। उसलाई सास फेर्न अफ्ठ्यारो भइरहेको थियो। बेस्सरी टाउको दुखेको कुरा इसाराले बताउँथी र उसका हाउभाउ हेर्दा ऊ  निकै आत्तिएकी जस्तो भान हुन्थ्यो।
लक्ष्यण देख्नासाथ, डोरालाई ‘हिस्टेरिया’ नामक समस्याले गाँजेको हो भनेर पत्ता लगाउन फ्रायडलाई कत्ति पनि समय लागेन। तर, रोगको मूल कारण थाहा नपाई, कसरी पो सही उपचार हुन सक्थ्यो र? अझ डोराकै जस्ता समस्या भएका अरु बिरामी पनि फ्रायडले प्रशस्तै देखिसकेका थिए। यसैकारण फ्रायडले रोगको जरैसम्म पुग्ने उद्देश्यका साथ एक–एक गर्दै डोराका सम्पूर्ण जीवनकथा खोतल्न थाले।
डोराको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनका बुबा नजिकैको कपडा उद्योगमा काम गर्थे भने आमा गृहिणी थिइन् जसलाई पटक–पटक भान्छा सफा गरिरहनुपर्ने अचम्मको समस्या थियो। डोरा र उनका दाजु ओटो सँगै विद्यालय जान्थे। तर, त्यस समय अस्ट्रियाको समाज छोरीहरुप्रति त्यति उदार थिएन। त्यसैले त डोराको विद्यालय र साथीभाइसँगको सामिप्यता त्यति लामो हुन पाएन। ऊ घरै बस्थी।
घरमा पनि डोरा कहिल्यै आमाको नजिक भइन। बरु उसलाई बुबासँगैको निकटता बिस्तारै रमाइलो लाग्न थाल्यो। झन् उनका बुबा टिभी लागेर थल्लिएपछि त, सम्पूर्ण स्याहार–सुसारको जिम्मा डोराकै थियो। त्यसले पनि ऊ बुबासँग अझ नजिक थिई।
टिभीको उपचार लामो समयसम्म चल्ने भएकाले चिकित्सकको सुझाव अनुसार उनीहरुको परिवार सहरबाट अलि टाढाको बस्तीमा स्थानतरण भयो। नयाँ ठाउँमा भने डोराले आफ्नो मन मिल्दो साथी भेट्टाई– हेर के र उनकी पत्नी फ्राउ के। के दम्पत्ती मिलनसार थिए। त्यसैले त दुई परिवारबीचको मित्रता झन् घनिष्ठ बन्दै गयो।
पारिवारिक घनिष्ठता बढेसँगै परिवारका सदस्यहरु पनि एक–अर्कासँग नजिक हुन थाले। अझ यसलाई यसरी भनौं, फ्राउ के डोराका पितासँग बिस्तारै आकर्षित हुँदै थिइन् भने हेर के चाहिँ डोरासँग। कहिलेकाहीँ त समीकरण कस्तो भइदिन्थ्यो भने, डोरा आफ्ना पिताको स्याहार गर्न छाडेर हेर केसँग घुम्न जान्थिन् र फ्राउ भने डोराको पितासँग दिनभरि कोठामै बस्थिन्।
बुबाको उमेरको भए पनि हेर केसँग डोराको मित्रता खुब जमेको थियो, किनभने डोराका कोही केटा साथी नै थिएनन्। हेर पनि डोराका लागि मिठामिठा खानेकुरा र उपहार किनेर ल्याइदिन्थे। सायद यत्तिको महत्व डोराले जीवनमा कहिल्यै पाएकी थिइन।
***
त्यस दिन पनि डोरा र हेर के घुम्न निस्किएका थिए। साँझपख, तलाउका छेउमा वातावरण सुनसान थियो। मानिसहरु कोही पनि आवतजावत गरिरहेका थिएनन्। हो, त्यति नै खेर हेरले डोरालाई अचानक आफूतिर ताने अनि जबरजस्ती आफ्नो आलिङ्गनमा बेरेर चुम्बनको प्रयास गरे।
डोराले एकाएक आफूमाथि के भइरहेको छ, ठम्याउनै सकिन। आफ्नै बुबा समान व्यक्तिले किन त्यस्तो हरकत गरे? उसले केही पनि सोच्नै सकिन। खै ! डोरासँग कहाँबाट त्यस्तो शक्ति आयो कुन्नि, उसले आफूलाई एक झट्कामै हेर केको हातबाट मुक्त गराई अनि उसका गालामा कसिलो थप्पड मारेर फटाफट एक्लै बाटो लागी।
घटनाको केही दिनसम्म डोरा मानसिक रुपमा विक्षिप्त थिई। तर, निकै नै हौसला र साहस बटुलेर एकदिन यी सम्पूर्ण कुराको बेलिबिस्तार आफ्ना बुबालाई लगाई र के दम्पत्तीसँगको सम्बन्ध तोड्नका लागि आग्रह गरी। तर, उनका बुबा कुनै पनि हालतमा फ्राउसँग टाढा हुन चहँदैन थिए।
उनले डोराको यो प्रस्ताव मान्ने कुरै भएन। अझ हेर केसँग यस विषयमा बुझ्दा, उनले यसखाले घटना कहिल्यै नभएको भनी जिकिर गरे। डोराको उमेर र कोठामा असरल्ल भेटिएका प्रेम सम्बन्धी किताबका आधारमा उसका बुबा डोराका कथनमा कुनै सत्यता छैन भन्ने निष्कर्षमा पुगे।
हो यिनै घटनापछि डोरा बिरामी परी। केही पटक त घरै छाडेर भाग्ने प्रयास पनि नगरेकी होइन तर बुबाले बारम्बार रोके। मनोविश्लेषक फ्रायडका अनुसार यी सबै कुरा त गौण हुन्। मुख्य रहस्य त उसका सपनाभित्रै लुकेका छन्।
***
सिग्मन्ड फ्रायडले डोराको सपनाको जसरी रहस्य उद्घाटन गरे,  त्यसले सारा संसारलाई नै एकपटक तरङ्गित तुल्याइदियो। फ्रायडले ती किशोरीको सपनाका एक–एक घटनालाई ‘सेक्स’सँग तुलना गरे। घरमा आगो लाग्नुको मतलब हो कि, डोराको परिवार ठूलो सङ्कटमा छ। उसलाई अत्तालिँदै उठाउन उसको बुबा आउनुको मतलब यो हो कि, संसारमा डोरालाई सबैभन्दा माया गर्ने व्यक्ति उसकै बुबा हुन्।
उठ्दा उसको नाकमा धुँवाको गन्ध आइरहेको थियो, जसले हेर केको चुरोट पिउने आचरणका बारे जनाउ दिन्छ। केही दिन अगाडि हेर केले डोरालाई चुम्बन गर्ने प्रयास गरेका थिए, जतिखेर उसको मुखमा बसेको चुरोटको गन्ध डोराका नाकले ठम्याएको थियो। सबैभन्दा चकित  त ‘गहनाको बक्साले’ तुल्यायो जतिखेर फ्रायडले त्यो बक्सालाई डोराको ‘भर्जिनिटी’सँग तुलना गरे।
डोराको कुमारित्व संकटमा परेको थियो र त्यो भावना उनी आमाको मुखबाट सपनामा प्रतिध्वनित भएको थियो। तर उसको बुबालाई त्यसप्रति खासै दिलचस्पी थिएन। त्यसैले त बाहिर आउँदा पनि उनले त्यो गहनाको बक्सालाई त्यति महत्व दिएनन्।
यसैबीच डोराले आफूले बारम्बार देखिरहने अर्को सपना बारे पनि बताइन् जसले यस केसलाई अझ रहस्यमय बनाँउदै लगिरहेको थियो।
***
दोस्रो सपनामा डोरा एउटा अञ्जान सहरमा पुग्छे। अञ्जान सडक र अञ्जान गल्लीहरु। त्यसपछि ऊ अचानक एउटा घरभित्र पुग्छे जहाँ उसका लागि एउटा चिठी छाडिएको हुन्छ। चिठी उसकी आमाले डोरालाई लेखेकी हुन्छिन्, जसमा भनिएको छ कि, ‘पुरानै बिमारीका कारण डोराको पिताको मृत्यु भएको छ र यदि आफ्ना बुबाको मुख हेर्न मन भए, अन्तिम संस्कार अगाडि नै घर आइसक्नु।’
पत्र पढ्नासाथ डोरा अत्तालिँदै घर जान रेलवे स्टेसन खोज्न थाल्छे। बाटोमा जति जनालाई सोध्यो ‘अब रेलवे स्टेसन कति टाढा छ?’ सबैले एउटै जवाफ दिन्थे, ‘साढे दुई घन्टा। अन्त्यमा उसले रेलवे स्टेसन त देख्छे तर त्यहाँ पुग्न सक्दिन। त्यसपछि ऊ सिधै घरमा हुन्छे, तर घरमा पनि कोही हुँदैनन्। सबैजना उसको बुबाको अन्तिम संस्कारका लागि गइसकेका हुन्छन्।
सपनामा भएको मोटामोटी घटना यति नै हुन्छ। तर, फ्रायडले यसबाटै हजारौं तथ्यको पर्दाफास गरिदिन्छन्। झन् दोस्रो सपना सुनिसकेपछि त फ्रायड के कुरामा विश्वस्त हुन्छन् भने ती किशोरीमा हिस्टेरियाको लक्षण देखिनुको पछाडि उसको भित्री मनमा दबिएर बसेको यौनइच्छा नै हो।
हो, हेर केलाई थप्पड लगाए पनि डोरा चहान्थी कि उसले त्यस दिन पूरा गर्न नसकेको काम कुनै दिन पूरा गरोस्। भौंतारिँदै रेलवे स्टेसन खोज्नुले डोराभित्र तीव्र रुपमा बढिरहेको यौन चहानालाई दर्शाउँछ। उसले रेलवे स्टेसन त देख्छे तर त्यहाँ पुग्न सक्दिन। त्यस दिन तलाउमा हेरसँग त्यस्तो घटना भएपछि ऊ एक्लै घर आएकी हुन्छे र बाटोमा कसैले उसलाई घरसम्म पुग्नका लागि साढे दुई घन्टा लाग्ने कुरा बताएको हुन्छ र तिनै प्रसंग कहीँ–कतै सपनामा मिसिएको हुन सक्ने फ्रायडको अनुमान छ।
बुबाको मृत्युको चिठी डोराले यसकारण सपनामा देख्छे कि, उसलाई भित्री मनमा डर थियो, कतै उसको अनुपस्थितिमा हेरचाह कम भएर उसका बुबाको मृत्यु पो हुने हो कि। यो सपना देख्नुपूर्व, उसले आवेगमा आएर पटक–पटक पत्र लेख्दै घर छाड्ने धम्की दिएकी थिई। फ्रायडका अनुसार यो धम्कीको पछाडि उसको बुबाले फ्राउ केसँग हुर्कंदै गरेको प्रेम सम्बन्ध त्यागिदिउन् भन्ने डोराको भित्रि मनसाय थियो। यसलाई व्याख्या गर्न फ्रायडले ‘ओइडिपस कम्प्लेक्स थेउरी’को सहारा लिएका छन्।
ओइडिपस पाचौं शताब्दीका ग्रिकका राजकुमार थिए, जसले आफ्नै पिताको हत्या गरी आफ्नी आमासँग विवाह गर्छ। अर्थात् कुनै पनि बच्चाले जन्मदै आफ्नो विपरित लिङ्गी अभिभावकसँग आकर्षित हुने गुण लिएर जन्मिएको हुन्छ। डोरा  पनि आफ्नो पिताप्रति आकर्षित थिई र आफ्नै आखाँ अगाडि अरुसँग सम्बन्धमा रहेको हेर्न चहान्न थिई। कतिसम्म भने, यही गुणका कारण डोरा आफ्नी आमालाई पनि धेरै हदसम्म हेयको दृष्टिले हेर्थी।
के दम्पत्तीसँगको घनिष्ठताका कारण डोराको जीवन बिस्तारै अस्तव्यस्त बन्दै थियो। आफूले मन पराउने आफ्ना पितालाई फ्राउले खोसेर लगेकी थिइन्। हेर केसँग तलाउमा भएको घटनापछि उसमा झन् तीव्र रुपमा यौन इच्छा त बढिरहेको थियो तर त्यस घटनालाइ हेरले मनगढन्ते भनेर डोराबाट टाढिएपछि उसका चहाना पूरा हुने सम्भावना क्षीण हुँदै थिए।
त्यसैल त ऊ कहिले चुरोट पिउने हेरसँगको चुम्बनको कल्पना गर्दै घरभरि धुवाँ भरिएको सपना देख्थी, त कहिले कुमारित्व (गहनाको बक्सा) गुमेको। फ्रायडले बताए अनुसार, यदि त्यो दिन तलाउमा डोराले हेरलाई नरोकेकी भए, उसमा यस्ता खाले समस्या नै आउने थिएन। यौनका चाहना किशोर–किशोरीहरु दुवैमा हुन्छ, तर स्वभावतः महिलाले त्यस्ता चाहना ज्यादा दबाउने भएकै कारण उनीहरुमा धेरै जसो यी चाहनाहरु विभिन्न शारीरक समस्यका रुपमा प्रस्फुटित हुन्छन् भन्ने फ्रायडको ठम्याइ हो।
फ्रायडको यो ‘हाइपोथेसिस’ले ठूलै खैलाबैला मच्चाएको छ। कतिपय देशका महिला अधिकारवादीहरु फ्रायडको यो तर्कसँग सहमत छैनन्। कतिले त डोराले रेप गर्न रोक्नु उसको गल्ती थियो भन्ने आशय फ्रायडको अनुसन्धानमा देखिएको भन्दै उनको पुत्ला दहन गरे। तर, जे होस् सपना पढ्ने फ्रायडको यो प्रयास साँच्चै गजबको छ।
(सिग्मन्ड फ्रायडको किताब ‘इन्टरप्रेटेसन अफ ड्रिम’मा आधारित)
प्रस्तुतिः विशद दाहाल

Monday, August 21, 2017

सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।

१. Affair र Affiliation एउटै जस्तो लाग्छ ~
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।

२. के हो यस्तो कि ,
 काठमाडौकै चाहिने अनि पैसा बाल नै चाहिने~
तिम्रो जिद्दी र सरकारको नीति एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।

३. सर्वोच्च पिताको आदेश भन्दै जब ,
पुर्वाधार बिहिन त्यस्ता बकम्फुसेहरुसँग सम्बन्ध गाँस्दै हिड्छ्यौ ~
तब टियु र तिम्रो निहुँ एउटै जस्तो लाग्छ ।
Affair र Affiliation एउटै जस्तो लाग्छ ।

४. हामी पनि त चरो- मुसो केही नभेटिने सुनसान जगा खोज्दै हिँड्थ्यौँ  (होइन र?)~~
हाम्रो डेटिङ र मेडिकल कलेजको सेटिङ एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।

५ . म जस्ताको अब यहाँ के काम भो'र , जब करोडौं करोडको बोली लाग्न थाल्यो ~~
पिरती र छात्रवृत्ति एउटै जस्तो लाग्छ ।
सम्बन्ध र सम्बन्धन एउटै जस्तो लाग्छ ।
Affair र Affiliation एउटै जस्तो लाग्छ ।

Friday, August 18, 2017

राष्ट्रवादको संरक्षण ः धोतीमा राष्ट्रवाद, टोपीमा राष्ट्रवाद कि रगतमा राष्ट्रवाद ?


२००७ साल पछि नेपालमा भएका हरेक साना ठूला क्रान्तिहरुमा मधेसले पटक–पटक मसिनो चामलको भात खुवाएर सम्पूर्ण देशलाइ गुण लगाइरह्यो । तर जब उसले एकपटक आफ्ना अधिकारहरु माग्दै केन्द«को दाना–पानी बन्द गरिदियो , हो तबदेखि नै घन्काउन थालियो कुनै कालखण्डमा सेलाइसकेको राष्ट्रवादको नारा ।

भनिन्छ अहिले हाम्रो देशमा चौधरी ग्रुपको वाइवाइ चाउचाउ भन्दा पनि धेरै र छिटो राष्ट्रवाद बिक्छ । टोपी लगाउने राष्ट्रवादी ,धोती लगाउने गैर–राष्ट्रवादी । नेपाली , नेवारी , तामाङ वा लिम्बु भाषा बोल्ने राष्ट्रवादी तर भोजपुरी या मैथली लवज भएकाहरु गैर–राष्ट्रवादी । हो यस्तै, यस्तै आरोप र प्रत्यारोपहरुले जन्माएको राष्ट्रवादको सौदाबाजी गर्दै हाम्रा राजनितीज्ञहरु मस्त राजनितीको धन्दा चलाइरहेका छन् । वर्षौँदेखि ।

“सिक्किम दुख्छ , दार्जीलिङ दुख्छ तर आफ्नै देशको मधेश दुख्दैन ।” सिनेमा हलमा प्रवेश गर्दागर्दै , चलचित्रको यो पहिलो डायलगले नै दर्शकहरुको मथिङ्गल खल्बल्याइदिन्छ । पूरा चलचित्र भरि एक–दर्जन यस्ता ओजनदार डायलगहरु छन् जसका लागि रमेश रन्जन र पुर्नेन्दु झालाइ जति नै बधाइ दिए पनि त्यो कम नै हुन जान्छ ।

चलचित्र विरगंजको सेरोफेरोमा खिचिएको छ र त्यो लोकेसन नै हो जसले मुभिलाइ निकै नै जिवन्त तुल्याएको छ ।

विरगंज आफैमा एउटा ऐतिहासिक शहर हो । यसले कयौँ हस्तीहरुलाइ जन्माएको छ । घरघरमा बल्ने मट्टितेल र ग्याँसहरु पुर्याएको छ । ती ग्याँसहरुमा पाक्ने अन्न फलाएको छ । उद्योग , वाणिज्य र व्यापारबाट देशलाइ नै संवृद्ध तुल्याउन मदत गरेको छ । तर यी सबैभन्दा पनि महत्वपूर्ण भनेको चाहिँ विरगंजले सदिवौँदेखि सहिष्णुता र सद्भावको अनुपम पाठ सम्पूर्णलाइ सिकाउँदै आएको छ । साँच्चै विरगंजवासीहरु पहाडका मधेसी पनि हुन र मधेसका पहाडी पनि हुन ।

चलचित्रमा एउटा दृश्य छ , जहाँ कुनै अमुख राजनैतिक दलको स्वार्थमा जातीय दंगा भड्किन लागेको हुन्छ । दुइ फरक समुदायका मानिसहरु एकले अर्कालाइ मार्ने अभिप्रायका साथ आमने–सामने आइपुग्छन् । तब अचानक , नजिकैको विद्यालयमा राष्ट्रिय गान बज्छ र दुवै समूहका मानिसहरु टक्क अडिन्छन् । यो नै चलचित्र भरिको सबैभन्दा ‘इलोजिकल’ दृश्य हो (इलोजिकल यो सेन्समा कि, त्यसरी आवेगमा आएका मानिसहरु कदापी पनि राष्ट्रिय गान बज्दैमा रोकिदैनन् ) । तर त्यहि दृश्य हो जसले दिन खोजेको म्यासेज चाहिँ चलचित्र भरिमै सबैभन्दा सशतm छ । त्यत्रो आवेशमा पनि राष्ट्रिय गान बज्दा रोकिनु भनेको, चाहे ऊ मधेसी होस या पहाडिया , राष्ट्रियताको सवालमा भने ऊ एकदम कटिबद्ध छ । प्रतिबद्ध छ ।

निर्देशकले भन्नुभए जस्तो मुभि त्यति लाउड त लाग्दैन तर पनि सायद निखिल उप्रेतीलाइ न्याय गर्न राखिएका केहि फाइटका दृश्यहरु अवश्य भद्धा लाग्छन् । डिएसपि थारु र देबु शाहको अभिनयले दर्शकका आँखा झिमिक्क पनि हुन दिँदैनन् ।

कथाकारले बडो चार्तुयताका साथ अन्तिमसम्म पनि सस्पेन्स क्रियट गरिराखेका छन् जसले गर्दा दर्शकलाइ लास्ट सिनसम्म पनि अब के होला भन्ने लागिरहन्छ । तसर्थ संरक्षण हेर्न गएका दर्शक बिचमै उठेर हिँड्ने चान्स शून्य प्राय नै छ ।

धरमेन्द« प्रेमर्षिले लेख्नुभएको गजल ‘सम्झनाको सारङ्गी’ सुनेर पनि तपाइको मुटुमा गाँठो परेन भने सम्झनोस तपाइको मुटु नै छैन ः
तिम्रो माया तेल हुँदा , म उज्यालो बत्ति थिएँ
तिम्ले मिलाइदिन्थ्यौ र पो, जित्ने तास पत्ति थिएँ ।
कहाँ पुगेँ , कस्तो भएँ , फिटिँदा पो चाल पाएँ
आफुसँग आफू एक्लै भेटिदा पो चाल पाएँ ।
सम्झनाको सारङ्गी यो रेटिदा पो चाल पाएँ ।

सायद केहि वर्ष यता हामीले पढेको ÷ सुनेको मध्य एकदमै शसतm गजल हो यो ।

तर यति हुँदा हुँदै पनि केहि आधारभूत कुरामा भने फिल्म अवश्य चुकेको छ । चलचित्र पोलिटिक्स , प्रेस र प्रहरी प्रशासनको संरक्षणमा मौलाएको विकृतिमा बढ्ता केन्दि«त छ जुन कुराहरु हामीले हरेक हप्ता जसो रिलिज हुने नेपाली चलचित्रहरुमा हेर्दै आइरहेका छौँ । केहि ठाउँमा मधेसको असली समस्या उठाउन खोजिएको जस्तो देखिन्छ तर त्यसलाइ बिचमै अलपत्र छाडिएको छ ।

तराइ र मधेस बिच भिन्नता छ कि छैन ?

देबु शाहले अन्त्यमा म गलत भएपनि मेरा मुद्धाहरु गलत छैनन् त्यसलाइ कृपया तपाइहरुले अगाडि बढाइदिनुस भनेका छन । तर उनको मुद्धा के हो कहिँ कतै पनि प्रष्ट्याइएको छैन । (यो प्रश्नको उत्तर दिनु किन पनि जरुरत थियो भन्दा ,इस्यु उठाइसकेको अवस्थामा मधेसीहरु के–का लागि लडिरहेका छन् भनेर चलचित्रले सबैलाइ बुझाउनु आवश्यक थियो ।)

मधेसका जनताले केन्द«सँगबाट भोग्नुपरेको अपमान र असमानताका बारे चलचित्र मौन छ ।
सायद चलचित्रले क्षेत्रियताको पगरी पाउने डरले होकी धैरै दृश्यहरुमा निर्देशक एकदमै डिफेन्सिभ देखिनुहुन्छ । केन्द«का नेताहरु भन्दा पनि मधेसकै राजनितीज्ञहरुमा खराबी रहेको आभास बारम्बार भइरहन्छ । हो , मधेसी नेताहरु सत्तालिप्त भएकै हुन तर त्यसै कुरालाइ मात्र ज्यादा फोकस्ड गर्दा , संरक्षणले साच्चैको मधेसको कथा भने बोक्न चहाँदा चहाँदै पनि पूर्ण रुपमा सकेको छैन ।

त्यहाँ त मधेस आन्दोलनले ल्याएका सकारात्मक परिवर्तनका कुराहरु पनि हुनपथ्र्यो । मधेसी जनताका स्वाभिमानका कुराहरु पनि हुनपथ्र्यो ।

सायद यी कुराहरु भइदिएका भए , सुनमा सुगन्ध हुने थियो । तर पनि सुगन्ध छैन भन्दैमा सुनको महत्व घट्दैन । सुन, सुन नै हो । संरक्षण त्यस्तै एउटा सुन हो ।

मेरो बुझाइमा संरक्षणले सम्पूर्ण नेपालीहरुको राष्ट्रवादको संरक्षण गरेको छ । चाहे ऊ धोती लगाउने मधेसी होस या टोपी लगाउने पहाडी या बख्खु लगाउने हिमाली , सबैको रगतमा नेपाल बगेको छ । सायद यो कुरा माखे साङ्ग्लो भन्नेहरुले पनि बुझेका होलान् र सोझा मधेसी जनतालाइ मात्र भोट ब्याङ्क पोलिटिक्सका रुपमा मात्र प्रयोग गर्ने मधेसका मसियाहरुले पनि ।


Saturday, August 5, 2017

राजनीतिले थल्लिदै गरेको आइओएम



पूर्व अमेरीकी राष्ट्रपति थोमस जेफरसनको एउटा निकै प्रसिद्ध भनाइ रहेको छ –“ I never considered a difference of  opinion in politics , in religion , in philosophy as a cause for withdrawing from my friend." अथार्त मैले कहिल्यै पनि मेरो भिन्न राजनैतिक , धार्मिक वा दार्शनिक विचारलाइ मेरा साथी–भाइबाट टाढिने माध्यम बन्न दिइन ।

राजनीतिमा एउटा गजबको सूूत्र छ फुटाउ अनि राज गर । चाहे त्यो सम्बन्धका लागि गरिने राजनीति होस या सत्ताका लागि , हमेसा यो सिदान्त लागु भइरहन्छ अनि समाज, राजनीतिका कारण अनावश्यक या सानातिना कुराहरुमा विभाजित भइरहन्छ । समाजमा अस्थिरता नभइ , सत्तामा स्थिरता छाउँदैन । त्यसैले त सत्ताले हामीलाइ सधैँ एक–अर्कासँग लडाइरहन्छ , हामीबिच फुट सृजना गराइरहन्छ अनि त्यसैको आवरणमा आफू राज गरिरहन्छ ।

आइओेएमको विद्यार्थी राजनीति

भनिन्छ ०४६ अनि ०६२–६३ सालमा ब्यवस्था परिवर्तका लागि भएका आन्दोलनका झिल्काहरु टिचिङ अस्पतालकै विद्यार्थी , कर्मचारी र प्राध्यापकहरुले बालेका थिए । त्यतिखेरको अवस्थामा सार्वजनिक रुपमा मानिसहरुलाइ संगठित बनाउन पाइदैन थियो । त्यसैले त मूलधारका राजनैतिक पार्टिहरुले बडो चातुर्यताका साथ शैक्षिक क्षेत्रमा आफ्ना भातृ संगठनहरु बिस्तार गरे जहाँ सरकारले कुनै रोक–तोक गर्न पाउँदैन थियो । फलत उनीहरु विद्यार्थी र शैक्षिक क्षेत्रका विज्ञहरु मार्फत नै आफ्ना एजेन्डाहरु जनता समक्ष पुर्याउँथे । यसरी त्रिभुवन विश्वविद्यालय लगायत आइओएममा पनि विद्यार्थी संगठनको बिजारोपण भयो । र त्यसबखतको सो निर्णयलाइ धेरै हदसम्म सहि पनि मान्न सकिन्छ ।
तर आज व्यवस्था परिवर्तन भएर जनताले सम्पूर्ण अधिकार प्राप्त गरिसकेका छन्  । कुनै पनि विषयलाइ सार्वजनिक बहसमा ल्याउने अनेकन उपायहरु निक्लिसकेका छन् । यसर्थ , जसका लागि राजनैतिक दलका भातृसंगठनहरु शिक्षा क्षेत्रमा खोलिएका थिए , तिनका प्रयोजन साथै औचित्य पनि आजका दिनमा समात्त भइसकेको छ ।
यहाँनेर बिडम्बनाको कुरा के  छ भन्दा ,हामीले त्यस्ता संगठनहरुको समयानुकूल परिवर्तन गर्नुृको साटो , झन तिनीहरुमा भएका बिकृतीहरुलाइ प्रश्रय दिँदै त्यस्ता कुराहरुलाइ मान्यताका रुपमा स्थापित गरिरहेका छौँ ।
उदाहरणका लागि, जीवनको लगभग एक–चौँथाइ उमेरसम्मको त्याग र कठिन परिश्रमको फलस्वरुप एउटा विद्यार्थी आइओएममा भर्नाहुन आइपुग्छ । उसको एउटै सपना हुन्छ – सक्सेसफुल डाक्टर या स्वास्थ्यकर्मी बन्ने , नाम, दाम कमाउने अनि प्रशस्त बिरामीहरुको सेवा गर्ने । जीवनमा कहिल्यै माक्र्स–लेनिनको नाम नसुनेको वा पुजिवाद या समाजवादका बारेमा नजानेको प्रथम वर्षको विद्यार्थीलाइ भर्ना भएको प्रथम दिनमै राइटिस्ट वा लेफ्टिस्ट बन्ने अफरहरु आउँछन् । बिचरा एक अबोध बालक झैँ ऊ पुरै रन्थनिन्छ ।

त्यसपछि भने विद्यार्थी संगठनहरुले विस्तारै आफ्ना तुरुपहरु निकाल्न थाल्छन् । भर्खर भर्ना भएका विद्यार्थीहरुलाइ आकर्षित गर्न फस्ट एड ट्रेनिङ दिने नाममा होुस या रेष्टुरामा दिइने खाजा–खाना पार्टीका रुपमा , उसलाइ आफ्नो पक्षमा पार्न हरदम लागिरहन्छन् । उसले यत्तिको महत्व त  जीवनमा कहिल्यै पाएको हुँदैन । कसैले महत्व दिनु या नयाँ आएका भाइ बहिनीहरुलाइ पार्टी दिनु पटक्कै गलत कुरा होइन तर यहाँ त कुरा नियतको उठ्दै छ । प्रसिद्ध नाट्यकर्मी इलियोटले आफ्नो नाटक मडर इन क्याथेड्र«लमा लेखेका छन् –The Last Temptation is the greatest treason , to do the right deed for wrong reason।अर्थात , गलत नियतका साथ गरिने सहि कामहरु पनि गलत हुन ।

अन्त्यमा लामै रस्साकस्सी पश्चात् नयाँ भर्ना भएका विद्यार्थीहरु विभिन्न संगठनहरुमा प्रवेश गर्छन्, औपचारिक या अनौपचारिक रुपमा । ऊ स्वतन्त्र बस्न सक्दैन किनभने “एक्लो बृहस्पती झुट्टा” भन्ने पाठ उसलाइ बेलैमा पढाइएको हुन्छ ।त्यसपछि सुरुहुन्छ बिभाजनको राजनीति। अनि आफ्नो संगठनको संख्याको आवरणमा अनेकन नैतिक ÷ अनैतिक गतिविधिहरु ।

के हुन्छ त बिकसित देशहरुमा ?

धेरै दिनको कसरत पछि हालसालै मात्र विस्वको प्रतिष्ठित हार्डवर्ड मेडिकल स्कुल बाट एम.बि.बि.एस
सक्काएका एक जुझारु नेपाली भाषी डाक्टरलाई भेट्ने मौका जुर्यो। दुई जनाले चार–चार कप कफि सुर्क्याउन्जेल हामीले हार्डवर्डमा हुने विद्यार्थी राजनीति बारे छलफल गर्यौँ।

त्यहाँको मेडिकल स्कुल अरु संकायको तुलनामा अलि भिन्न रहेछ। विभिन्न पूर्व विशिष्ट व्यक्तिहरुका नामबाट क्लबहरु खोलिएका रहेछन् । ती क्लबहरुले युनिभर्सिटी कै पुर्व डिन वा प्राध्यापकहरुको प्रत्यक्ष निगरानीमा अनेकन विद्यार्थी सेन्ट्रीक कामहरु गर्दा रहेछन् ।अनि विद्यार्थीहरु पनि आ–आफ्नो फिल्ड अफ इन्टेरेस्टका आधारमा, ती क्लबहरुमा आबद्द हुँदा रहेछन्  । उदाहरणका लागि खेलकुदमा बढ्ता चासो हुने स्टुडेन्ट स्पोर्ट्स क्लबको सदस्य बन्छ, साहित्यमा इन्ट्रेस्ट हुने लिटेररी क्लबको आदि । ती क्लबहरुको छुट्टाछुट्टै विधिवत चुनाव हुँदोरहेछ अनि त्यसैअनुसार कार्यसमितिको गठन पनि।

यो बाहेक त्यहाँ हुने अर्को चुनाव भनेको क्लास रिप्रेजेनटेटिभ अर्थात् सि.आर को रहेछ । सि.आर हरुलाइ नै युनिभर्सिटीले विद्यार्थीको असली प्रतिनिधि मान्दोरहेछ अनि तिनिहरुसँगै मासिक रुपमा बैठक बसेर, विद्यार्थीहरुका समस्या र गुनासो सुन्दोरहेछ ।

अनि त्यसो भए के हार्डवर्डका विद्यार्थीहरु देशको मेनइस्ट्रीम पोलिटिक्ससँग कनेक्टेड नै हुँदैनन् त?
विश्वविद्यालयले सर्टि्फिकेट धारी विद्यार्थी मात्र होइन , सक्षम नेतृत्व पनि उत्पादन गर्नुपर्छ र यो कुरामा हार्डवर्ड पुर्णरुपमा कन्भिन्स्ट रहेको देखिन्छ । उदाहरणका लागि एउटा पब्लिक हेल्थ स्टुडेन्ट भविष्यमा जिल्ला जनस्वास्थ्य अधिकृत बन्छ र जिल्ला कै स्वास्थ्यको नेतृत्व गर्छ । त्यसैगरी एउटा मेडिसिन पढेको विद्यार्थीले भविष्यमा डिन, डाइरेक्टर आदि बन्नुपर्ने हुन्छ र त्यसका लागि उसमा नेतृत्व लिनसक्ने खुबी बेलैदेखी विकास गर्नु अति नै वान्छनीय छ।

तसर्थ तिनै मध्यका एक क्लबले , रिपब्लिकन इन्फर्मेसन सेन्टर र डेमोक्र्या्टिक इन्फर्मेसन सेन्टर भनेर भिन्नाभिन्नै सबकमिटी गठन गरिदिएका रहेछन् । ती इन्फर्मेसन सेन्टरहरुको काम भनेको विद्यार्थीहरुलाइ मेनइस्ट्रीम पोलिटिक्सका बारेमा बुझाउने, देश कसरी चलिरहेको छ भनेर सिकाउने र उनिहरुमा नेतृत्व क्षमताको विकास गर्ने रहेछ । यसरी हार्डबर्डमा राजनैतिक पार्टिका भातृसंगठनहरु नहुँदै पनि हामीले चाहेका जस्ता सम्पूर्ण कामहरु भइरहेका छन । जस्तै , विद्यार्थीका हकहितका लागि काम गर्ने कमिटिहरु पनि छन् , उनिहरुलाइ विभिन्न अतिरितm क्रियाकलापहरुमा सहभागि गराउने क्लबहरु पनि छन् पोलिटिक्स बुझाउने गैरराजनैतिक संगठनहरु पनि ।

अब हेरौं , हाम्रोमा के चलन छ।

हाम्रा कलेजहरुमा क्लबहरु छैनन् बरु विद्यार्थी संगठनहरु खडा गरिएका छन् । यस्ता संगठनहरु जुन राष्ट्रिय मुलधारका राजनैतिक पार्टीसँग सिधै आबद्ध हुन्छन् , तिनिहरुबाट फन्डिङ प्राप्त गरेका हुन्छन् अनि तिनै पार्टीका सिदान्तहरु हुबहु लागू गराउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको , क्याम्पसका विद्यार्थीहरु आफ्नो फिल्ड अफ इन्टेरेस्ट जस्तै खेलकुद, लिटेरेचर आदिको आधारमा होइन आफ्नो सिदान्तका आधारमा बिभाजित हुन्छन् । ती सिदान्तका बारे ब्रीफिङ गर्ने पनि कहाँ छुट्टै क्लब हुन्छन् र, आफ्नो निकटतम साथी वा सिनियर जता छ, उ पनि त्यतै लाग्छ।
सबैभन्दा महत्वपूर्ण कुरा त के छ भन्दा , कुनै पनि विद्यार्थीले पाउने अवसरहरु उसको क्षमताले होइन , उसले संगठनमा पार्ने प्रभाव र उसको नेतृत्वसँगको निकटताले निर्धारण गर्छ । यसरी , क्षमतावान विद्यार्थीहरु ओझेलमा पर्ने वा निरुत्साहित हुने सम्भावना बढ्छ ।
हो, यसै कुराले हामीलाइ हार्डवर्ड भन्दा फरक बनाएको छ अनि हार्डवर्ड भन्दा पत्रु पनि।उनिहरु विद्यार्थी नीति गर्छन् , हामी राजनीति ।

राजनीति कि विद्यार्थी निति ?

राजनैतिक पार्टीको भातृसंगठनका रुपमा चुनाव लडेको व्यक्तिलाई कालान्तरमा पार्टीले रिकग्नाइजड गर्छ । अनि हाम्रो जस्तो जतासुकै राजनैतिक भागबन्डाले चल्ने देशमा त झन ती उमेदवारहरु भविष्यका स्वास्थ्य प्रतिष्ठान वा एकेडेमिका प्रबल दाबेदार आजैबाट बन्दछन् । त्यसैले त यस्ता संगठनहरुको नेतृत्व गर्न तछाड मछाड चल्छ । साँढेको जुधाइ बाछाको मिचाइ भनेझैँ , यहि नेतृत्वको तछाड मछाडमा निहत्था विद्यार्थीहरु चाहिँ मन–मुटाव अनि झैँझगडा गरिरहन्छन् ।
यसको ठिक बिपरित , जब कोही विद्यार्थी  कुनै पार्टीको झन्डा नबोकी स्वतन्त्र ढंगले अगाडि आउँछ तब उ आफ्नो मास्टर्स प्रती बफादार रहन पर्दैन र सचा अर्थमा विद्यार्थीको प्रतिनिधि बन्दछ। यसो गर्दा व्यक्तिलाइ भन्दा बढि विद्यार्थीलाइ फाइदा हुन्छ र यसैलाइ नै विद्यार्थी नीति भन्न खोजिएको हो।

आखिर बेफाइदा के त ?

राजनैतिक पार्टिका भातृसंगठनहरुको विचार स्वतन्त्र रहने सम्भावना निकै कम रहन्छ । जति नै स्वतन्त्र हौँ भनेतापनि जब कसैले बाहिरको फन्ड प्रयोग गरेर चुनाव लड्छ वा संगठनलाइ माथिल्लो लेभलसम्म पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्छ तब उसको निर्णयहरुमा अवश्यदुर्गन्धझल्किन्छ । त्यस्तै उनीहरुकै आवरणमा बाहिरी तत्वहरुले संस्थाकै अस्तित्व माथि प्रहार गरिरहने सम्भावधना पनि उत्तिकै रहन्छ ।
विद्यार्थी मात्र होइन , यहाँ त कर्मचारीदेखि प्राध्यापकसम्म राजनैतिुुक रुपमा विभाजित छन् । विभाजित हुनुका साथै , राजनीतिलाइ आफ्नो पदोन्नती गर्ने माध्यमका रुपमा प्रयोग गरेको दृश्टान्त पनि प्रशस्तै छन् । प्रतिष्ठानदेखि विश्वविद्यालय तहसम्म हुने राजनैतिक भागबन्डा र नियुतिmहरु पनि हाम्रा यस्तै राजनीतिका नेगेटिभ आउटकमहरु हुन । त्यस्तै डा.गोविन्द केसीको मुद्धामा सबै मेडिकल क्षेत्र एक नहुनुको कारण पनि यस्तै हुन सक्छ ।
सायद यी सबै कुराहरु बुझेर होला , पूर्व अमेरीकी राष्ट्रपति थोमस जेफरसनले भनेका होलान् , राजनीतिले सदैव दुइ चार व्यतिmलाइ मात्र फाइदा पूर्याइरहन्छ र त्यसैले राजनीतिका लागि उनी आफ्ना साथी भाइ , इष्टमित्रसँग टाढा हुुन चहान्नन् ।



धमिलो पानीमा माछा मार्न खोज्नेहरुका नाममा


A good friend might not be a good son/daughter; similarly a good father might not be a good husband

अर्थात, एउटा व्यतिm कसैका लागि एकदम राम्रो हुन सक्छ तर त्यहि व्यतिm अर्को पक्षका लागि एकदम खराब । गुण–अवगुणहरु सबैमा हुन्छन् । त्यसैले त , मानिस राम्रो या नराम्रो हुनुमा उसले खेल्ने  भूमिका , समय, सन्दर्भ सबैले फरक पार्छन् । विगत केहि घण्टामा सिकेको यस दिव्यज्ञानका आधारमा आज आफैले आफ्ना बारेमा लेख्ने पहिलोपटक जमर्को गर्दैछु ।

मेरा खुलापत्रका मूख्य कमजोरीहरु 

नम्बर १ ः दुइ–चारवटा अनलाइन र्पोटलमा आलेख छापिदैमा , आफूले आफैलाइ लेखनिमा निपुण सम्झनु सायद पहिलो भूल थियो । यत्तिसम्म हेक्का भएनछ कि , कुनै पनि सार्वजनिक पद धारण नगरेको व्यतिmका बारे, सो व्यतिmविशेषको सहमतिबिना लेख्न पाइदैन ।

व्यतिmलाइ इङकित गरिएको भएतापनि, मेरो लेखनीको एकमात्र उदेश्य पब्लिक फोरममा त्यस्ता कुराको हेल्दि डिसकसन होस भन्ने नै हो ।

नम्बर २ ः नियतमा गरिएको शंका

अघि भनेको जस्तै , मैले खराबी देख्ने त्यहि कुरामा , अर्को पक्षले केहि खोट नदेख्नसक्छ । तर  म मेरो सोचाइमा घोत्लिन  त्यतिखेर बाध्य भएँ जतिखेर मेरा निकै नजिकका साथी–भाइसमेतले पनि “त्यत्तिको लागीपरेको मानिसको नियतमै शंका चाहिँ नगरेको भए हुन्थ्यो है” भने ।

भावआवेशमै सहि , आखिर किन त्यस्तो सोचाइ आयो त? निकैबेरको चिन्तनपश्चात् ,म आफैले आफैलाइ निकै ठूलो स्वार्थी भएको  महशूस गरेँ ।

डा.केसीको आन्दोलनमा सहभागि हुनुमा मेरा पनि केहि स्वार्थ रहेछन् । जस्तो कि , नेपालकै लब्धप्रतिष्ठित व्यतिmहरुसँग घनिष्ठ सम्बन्ध बनाउन पाइने , राजनितिज्ञहरुसँग नजिकबाट काम गरेर राज्य प्रणालीका बारे नजिकबाट जान्ने मौका पाइने , केहि मिडिया हाउसहरुसँग चिनजान हुने अनि मुख्यत हजारौँ हजार मानिसहरुलाइ लिड गर्न सक्ने नेतृत्वको विकास हुने ।

यी सम्बन्धहरुको दुरुप्रयोग नगरु भन्दा भन्दै पनि, कतिपल्ट त आफैले घुम्न गएका बकमफुसे आर्टिकलहरुसमेत प्रकाशित गराएर आलोचित भइसकेको छु ।

सायद आफूले यस्तै स्वार्थरुपि चश्मा लगाएर पनि हो कि अर्काको निष्ठामा पनि स्वार्थ देखेको ।

यति भन्दा भन्दै पनि मैले छलफलमा ल्याउन खोजेको नियत चाहिँ अनशनस्थलकै नजिकमा होहल्ला गर्ने , डिस्को चलाउने आदिको पनि थियो । तर त्यसका बारेमा कहि कतै डिसकसन नै भएन ।

धमिलो पानीमा माछा मार्ने काम

एउटा लेखको आ–आफ्ना किसिमका व्याख्या विश्लेशण गरी कसरी र कतिसम्म खेल्न सकिदो रहेछ भन्ने दृश्टान्तहरु हरएक आइवोमाइट्सका फेसबुक वालमा छरपष्ट देख्न सकिन्छ ।

पानी छचल्काएर जब मैलै धमिलो बनाएँ , तब सबैले आफ्नो बलबुताले भ्याएसम्म माछा मार्ने प्रयास गरे । कि त त्यस लेखमा खराबी देख्नेहरु मात्र थिए कि त पुर्ण सत्यता । एकजना त्यस्तो कोही निस्किएन जसले लेखका कमि कमजोरीहरु साथसाथै त्यसले उठाउन खोजेको इस्यूका बारेमा क्रिटिकल्लि सोचेको होस् । त्यो त फगत कसैलाइ म ममाथि वा मैले पत्र लेखेको पात्र माथि आफ्नो झोक पोख्ने माध्यम पो भएछ ।

ती गलत इन्टेसनका साथ भएका शेयरहरु प्रति मेरो गम्भिर आपत्ति रहेको छ ।

अन्तमा ,

डा.केसीलाइ ढाल बनाएर जसरी एकले अकालाई  आरोप लगाउने काम भइरहेको छ , त्यो जत्तिको तुच्छ काम केहि हुन सक्दैन । आखिर एउटा व्यतिm हाम्रा लागि भोकभोकै लडिरहेको छ । हामी चाहिँ त्यहि भोको पेटमा आफ्ना इगोहरु भज्याइरहेका छौँ ।