Search This Blog

Sunday, October 21, 2018

स्वास्थ्यका लागि साइकल


”पुष्करेलाइ बल्ल छ्याङ लागेछ ।” पहिलोपटक साइकलबाट  विश्व भ्रमण गर्ने पुष्कर शाहको  घोषणालाइ उडाउँदै एउटाले भन्यो ।

फेरि अर्को बोलिहाल्यो , “बहुलाएछ यो । ” तर उनी भने  आफ्नो जीवनलाइ विश्व साइकल यात्राको त्रिपिटक बनाउन चहान्थे, बाइबल र कुरान बनाउन चहान्थे । छ्याङले नमात्ने उनका ग्याङका साथीहरु त्यहि माइतीघरको भट्टीमा इँटा थपिरहेका थिए । उनी भने निक्लिएँ विश्व भ्रमण गर्न , साइकलमा ।

साइकलमा पनि विश्व भ्रमण गर्न सकिन्छ त ?  कसैले नपत्याउँदा-नपत्याउँदै पनि अन्ततः एघार वर्ष , चार हजार पन्ध्र दिन र दुइ लाख एक्काइस हजार किलोमिटरको दुरि पार गर्दै पुष्कर शाहको साइकलले संसारलाइ साढेँ पाँच फन्को लगायो ।

*****

कुनै जमानामा यातायातको सबैभन्दा विशिष्ट साधन रहँदै आएको साइकललाइ अचेल भने विश्व बजारीकरण र आधुनिकरणसँगै हेयको दृष्टिले हेर्न थालिएको छ । सन् १८१७ मा जर्मन नागरिक कार्ल भोन ड्राइसले पहिलोपटक घोडाले नतानिकनै गुड्ने वस्तु बनाउँदा कत्रो उत्सव मनाइएको थियो । साइकल भएको मानिसको कत्रो इज्जत रहन्थ्यो । यता बेलायतमा वर्षेनि आयोजना हुने साइकल प्रतियोगितामा आफ्ना छोराका लागि हावा भएको टायर बनाएर गुडाइदिदा डनलपका छोराले अरु प्रतिस्पर्धीहरुलाइ कता हो कता पछि पार्न सफल भएका थिए । यसरी क्रमिक रुपमा साइकलको स्वरुप र इन्जिनियरिङमा परिवर्तनहरु भइरहेका छन् ।

नेपालमा भने साइकलको इतिहास त्यति लामो छैन । सन् १९२५ मा स्थापना भएको पञ्च अष्टनारायण साइकल पसललाइ नै नेपालको पहिलो आधिकारिक साइकल विक्रेता मानिदै आएको छ । तर त्यो भन्दा अघि नै तराइका विभिन्न जिल्लाहरुमा फाट्टफुट्ट साइकल देखा परिसकेको थियो । ती भूभागमा केहि समय अघिसम्म पनि साइकल छोटो र मध्यम दुरिको यात्राका लागि एकमात्र यातायातको साधन थियो । तर समयसँगै साइकलको प्रयोगमा धेरै हदसम्म कमि आइसकेको छ ।

यस्तै नियति १९६० को दशकमा साइकलको राजधानी मानिने नेदरल्यान्डले पनि भोगेको थियो । दोस्रो विश्व युद्द पछि जब मानिसहरुको जीवनस्तरमा क्रमिक रुपमा सुधार हुन थाल्यो तब मानिसहरुले धमाधम साइकल त्यागेर कार किन्न थाले । लगभग काठमाडौँ कै जस्तो भू–बनोट रहेको आम्सटरड्याम साइकलका लागि उपयुक्त  शहर हुँदा हुँदै पनि १९६० पछिका दिनमा साइकल अलोकप्रिय बन्दै थियो ।

 साइकलको संख्या घटेसँगै आम्सटरड्याममा तिन प्रमुख समस्याहरु देखिन थाले । शहरमा मस्तिष्कघात र ह्रृदयघातका बिरामीहरुको संख्या बढ्यो । देशले आफ्नो अर्थतन्त्रको गतिलो हिस्सा तेल आयातमा खर्च गर्न थाल्यो । अनि पेट्रोल , डिजल र मट्टितेलको प्रयोगसँगै सुन्दर शहर एकाएक प्रदुषित बन्न थाल्यो ।

तर नेदरल्यान्ड साँच्चै साइकल युगमा प्रवेश गरेको चाहिँ सन् १९७१ र ७३ का दुइ घटनाले नै हुन् ।  सडक दुर्घटनमा परी एकै वर्षमा ४०० भन्दा बढि बालबालिकाको मृत्यु भइसके पश्चात् “स्टप चाइल्ड मडर” अर्थात बालबालिकाको हत्या बन्द गर भनी स्थानीय जनता प्रदर्शनमा उत्रन थाले ।

त्यस्तै इजरायललाइ युद्दमा सघाएको आरोपमा , साउदी अरबले नेदरल्यान्ड माथि नाकाबन्दि लगायो । दिनानुदिन हुने प्रर्दशन र तेलमा भएको नाकाबन्दिले आजित भएका डच प्रधानमन्त्रीले सन् १९७३ मा विशेष सम्बोधन मार्फत आफ्ना जनतालाइ जीवनशैलि नै परिवर्तन गर्न आह्रान गरे । फलस्वरुप , नेदरल्यान्ड पुनः साइकल सिटि मै रुपान्तिरित भयो ।

आजका दिनमा , आठ मध्य सात डच नागरिक साइकल चलाउँछन् । बाइस हजार माइल त साइकल चलाउनकै लागि भनि बनाइएका साइकल पाथ रहेका छन् । त्यहाँका प्रधानमन्त्री मार्क रुटे साइकलमै चढेर राजदरबार पुगेको अनि कार्यलय जान आउन नै साइकल प्रयोग गरेका तस्बिरहरु बेलाबखत भाइरल हुने गरेका छन् ।

नेदरल्यान्ड मात्रै  होइन डेनमार्क , स्विडेन , नर्वे , बेलायत लगायतका विभिन्न यूरोपियन देशहरुले साइकलको फाइदा बुझी सक्दो आफूलाइ साइकल सिटिमा रुपान्तरित गराइरहेका छन् ।

स्वास्थ्यका लागि साइकल

सन् २०१४ मा प्रकाशित विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाइ आधार मान्ने हो भने नेपालामा हुने कुल मृत्युको ६० प्रतिशत कारण नसर्ने रोगहरु रहेका छन् । त्यसमा पनि डाइबेटिज , मुटुको रोग , क्यान्सर, दम  प्रमुख चुनौति बनिरहेका छन् । अझ परिवर्तित खानपिन र जीवनशैलिका कारण युवा वर्ग नै उच्च रक्तचाप र मधुमेहको जोखिममा पर्न थालेका छन् ।

यस्तो अवस्थामा साइकलका विभिन्न फाइदाहरुलाइ अङ्गिकार गर्दै यसको प्रवद्र्दन गर्न सके अकालमा हुने त्यस्ता मृत्यु केहि हदसम्म भएपनि न्यूनिकरण गर्न सकिन्थ्यो कि ।

१ मानसिक स्वास्थ्यमा सुधार

प्रसिद्ध साइकल यात्री ग्रायम ओब्री डिप्रेसनको सिकार भएका थिए । भनिन्छ तिनपटक सम्म त उनले आत्माहत्याकै प्रयास गरे । तर उनका अनुसार अन्ततः साइकलकै कारण उनले पुर्नजीवन पाए । हुन पनि साइकल चलाउँदा निस्कने ‘इन्ड्रोफिन’ र ‘एड्रिनालिन’ जस्ता हार्मोनले मस्तिष्कमा सहि र सकारात्मक परिवर्तहरुको संचार गराउँछन् ।

एक अध्ययनका अनुसार , दैनिक तिस मिनेटको साइकल यात्राले मानिसको स्मरणशक्ति , सोच्न सक्ने र योजना बनाउन सक्ने क्षमतामा व्यापक वृृद्धि गराउँछ । साइकलले आत्मविश्वास बढाउँछ । यति मात्र नभएर यदि तपाइ ‘इन्सोम्निया’ अर्थात निद्रा नपर्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने पनि साइकल यात्राले त्यसमा धेरै सहयोग पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।


२ मोटोपनको अचुक औषधी ः साइकल

 एक घण्टाको साइकल यात्रामा करिब ४०० देखि  १००० क्यालोरी कार्बोहाइड्रेट नष्ट हुन्छ । यसको अर्थ के हो भने यदि तपाइ नियमित रुपमा साइकल चलाउनुहुन्छ भने खानपानमा उति साह्रो पथपरेज नलगाइ पनि आफ्नो तौल घटाउन सक्नुहुनेछ । अझ महत्वपूर्ण कुरा त के छ भने , उति नै समय हिँड्ने र साइकल चलाउने दुइ बिचमा , हिँड्ने मानिसको तुलनामा साइकल चलाउने मानिसले लगभग दुइ गुणा ज्यादा क्यालोरी नष्ट गर्न सक्छ । हिँडदा भन्दा कुद्द्दा र कुद्ददा भन्दा साइकल चलाउँदा चाँडो तौल घटाउन सकिन्छ ।

साइकलको तुलनामा हिँड्दा वा कुद्दा शरिरको अतिरिक्त भार घुँडा र कुर्कुच्चामा पर्ने हुँदा तौल घटाउनका लागि कुद्नु भन्दा साइक्लिङ गर्नु थप फाइदा जनक मानिन्छ ।

यस्तै साइक्लिङ गर्दा पेटका मांसपेशीमा थप बल पुग्ने हुँदा, घटाउन सबैभन्दा गार्हो मानिने 'एबडोमिनल फ्याट' अर्थात पेटको बोसो सजिलै पग्लन्छ ।

३ मुटु रोगको जोखिम कम गर्न साइकल

ग्लास्गो यूनिभर्सिटिले झन्डै झन्डै पाँच वर्ष लगाएर करिब दुइ लाख साठी हजार जनामा गरेको अध्ययनले दैनिक रुपमा साइकल चलाउने व्यक्तिहरुमा मुटु रोगको जोखिम पचास प्रतिशतले कम हुने तथ्य बाहिर ल्याएको छ । सन् २०१८ को ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित सो अध्ययनले शहरी क्षेत्रमा तसर्थ साइकलको प्रयोग व्यापक रुपमा बढाउनु पर्ने कुरा पनि औँल्याइएको छ । साइकल चलाउँदा मुटुको धड्कन र रक्त संचार दुवै सन्तुलनमा रहन्छन्  जसले समग्र रक्त प्रणालीलाइ नै ठिक राख्न मदत पुर्याउँछ ।

यति हुँदा–हुँदै पनि लामो समयसम्म निरन्तर साइकल चलाउने कसैकसैमा भने मुटुको आकार ठूलो भइ ‘सडेन कार्डियाक अरेस्ट’ अर्थात अचानक मुटु बन्द हुने जोखिमपूर्ण अवस्था पनि देखिएको छ । तर साइकलले मुटुलाइ पुर्याउने फाइदाका तुलनामा यस्ता यदाकदा घट्ने जोखिमहरु नगन्य नै हुन्छन् ।

४ स्वस्थ फोक्सोका लागि साइकल

साइकलले दुइ तरिकाले हाम्रो फोक्सोलाइ फाइदा पुर्याउँछ । पहिलो त साइकलका कारण कम हुने वातावरणीय क्षति र प्रदूषणले फोक्सोलाइ सफा र स्वस्थ राख्न मदत गर्दछ । भनिन्छ गाडीको प्रयोग छाडेर प्रत्येक दिन दश किलोमिटर मात्रै पनि साइकलमा आवतजावत गर्ने हो भने प्रति व्यक्ति बराबर एक वर्षमा १५०० किलो कार्बन उत्सर्जन कम हुनेछ । साइकलको प्रयोगले इन्धनको खपतमा कमी आउनुका साथै धुवाँ, धूलो र प्रदुषण व्यापक रुपमा कम हुनेछ ।

दोस्रो भनेको साइकल चलाउँदा फोक्सोमा हुने रक्तसंचार र श्वासप्रश्वासले पनि यसलाइ स्वस्थ राख्न मदत पुर्याउँछ ।

५ जिमको विकल्प साइक्लिङ

स्वस्थ अनि स्फूर्त रहन साथै फिट देखिनका लागि अहिले ठूलो संख्यामा युवा जमात जिम सेन्टरहरु धाउने गरेका छन् । कुनै कारणवश यदि तपाइ जिम गर्न असमर्थ रहँदै आउनु भएको छ भने त्यसको भरपर्दो विकल्प साइक्लिङ हुनसक्छ ।

 साइकलको नियमित प्रयोगले तौल घटाउनुका साथै मांसपेशी र हड्डीको सन्तुलित विकासमा सहयोग पुर्याउँछ । विशेषगरी पेडलिङ गर्दा खुट्टामा र ओरालो झर्दा  हातमा बल पुग्ने हुदाँ साइक्लिङ गर्दा मांसपेशी कसिलो, सार्हो र मोटो बन्दछ ।

त्यस्तै साइकल चलाउँदा, मासंपेशीले हड्डीलाई तान्ने हुदाँ यसले  "बोन डेन्सिटी" बढाउन पनि मदत गर्दछ । समग्र रुपमा हड्डीको विकासमा पनि साइक्लिङले टेवा पुर्याउँछ ।

यी बाहेक पनि मस्तिष्कघातमा (स्ट्रोक) कमि आउने , मानिसको 'न्याभिगेसन स्किल' अर्थात भूगोललाई बुझ्न सक्ने क्षमतामा वृद्धि हुने , तार्किक क्षमता बढ्ने , यौन क्षमतामा वृद्धि हुने आदि फाइदाहरुबारे  विभिन्न अध्ययनहरु भएका छन् । यसका अलावा पनि रिसर्च नभएका साइकलका अनेकौँ फाइदाहरु छन् जसबारे विस्तृत अध्ययन र खोज हुन बाँकी नै छ ।


मेची-महाकाली साइकल यात्रा

साइकलका यिनै फाइदाहरुलाइ जनमानसमा पुर्याउन अझ अहिलेका युवाहरुलाइ साइकल तर्फ थप आकर्षित गर्न हामीले एउटा कठिन साइकल यात्रा गर्ने योजना बनाएका छौँ । "स्वास्थ्यका लागि साइकल" भन्ने प्रमुख नारा सहित  मेची पुलबाट प्रारम्भ गरिने  यात्रा महाकाली पुलमा  पुगेर समापन गर्ने योजना रहेको छ ।

पुष्कर शाहले शान्तिको सन्देश बोकी साइकलमै विश्व भ्रमण गरे । जम्मा तिनवटा साइकल, दुई सय सत्तरीवटा टायर, एक सय पन्चानब्बेवटा ट्युब , एक सय चालीसवटा चेन , छब्बिस जोडी प्याडल, चौधवटा हेल्मेट र त्रिपन्न जोडी पन्जा फेरेरै भएपनी उनले विश्व भ्रमण गरि छाडे ।

हामीले त यो भन्दा सार्है सानो सोचेका छौँ । मात्र केही सय युवालाइ साइकल प्रती आकर्षित गर्न सकियो भने पनि देशमा दिनानुदिन बढ्दै गएको दिर्घ रोग त्यही सयको हाराहारीमा भएपनी कम गर्न सकिन्थ्यो ।

झन भविष्यमा प्रमुख शहरहरुलाइ नै साइकल सिटि बनाउन सकियो भने त "सफा, सुन्दर र स्वस्थ" नेपाल बनाउने सबैको चहाना पनि पूरा हुने थियो ।






Saturday, October 13, 2018

कविता : आस

घण्टी,बजिहाल्छ कि भन्ने आस
मोबाइलको
घण्टा, बितिहालोस भन्ने आस
पर्खाइको ।

नकाब,एउटा उत्रिहालोस भन्ने आस
झुटको
धर्का, त्यो जोडिजावोस भन्ने आस
फुटको ।

पोते, एउटा उनियोस भन्ने आस
लगनको
गित, एउटा कोरियोस भन्ने आस
मिलनको ।

बादल, त्यो  नबर्सियोस भन्ने आस
आँसुको
खाडल, त्यो पुरियोस भन्ने आस
अविश्वासको ।

छाती, एउटा भइदियोस भन्ने आस
बेलुनको
पट्टि , एउटा देओस कसैले मलाइ
गान्धारीको ।



Saturday, September 1, 2018

माननीयज्यूका मननीय करेक्सन


“सांसदको घडिमा माफियाको ब्याट्री”

एभरेष्ट होटलको एउटा छेउमा उभिएर यो नारा लगाउँदै गर्दा मनमा सधैँ  खुल्दुली हुन्थ्यो , सडक पारी संसद भवनभित्र बस्नुभएका सांसदज्यूहरुको कानसम्म यो नारा पुग्छ कि पुग्दैन होला ? यदि पुग्छ भने , सुनेर यसमा उहाँहरुको प्रतिक्रिया के हुन्छ होला ? यत्ति सुन्दा त मनमा गढ्न पर्ने तर  पनि किन जनताको पक्षमा  काम नगरेको होला ?

आज यस्तो लागिरहेछ डाक्टर गोविन्द केसीको पन्ध्र पटकको कठिन सत्याग्रह, स्वतस्फूर्त रुपमा सडकमा निस्केका हजारौँ नागरिकको आवाज, पत्रपत्रिकामा आउने सयौँ समाचार , दर्जनौँ आलेख, विज्ञहरुका पटकपटकको सुझाव अनि सामाजिक संजालमा लेखिएका/शेयर गरिएका अनगिन्ति विचारहरु पश्चात् अन्तत यो नारा माननीयज्यूहरुले सुन्नु भएको छ । सुन्ने मात्र होइन यसले उहाँहरुलाइ छोएछ पनि सायद ।

यसपटक संघीय संसद चिकित्सा शिक्षा ऐन पारित गर्न जुर्मुराएको छ ।

सरकारले डा.गोविन्द केसीसँग गरेका सम्झौता हुबहु ऐनमा राख्ने भनी सरकारका तर्फबाट माननीय देव प्रसाद गुरुङ, माननीय शान्ता चौधरी र माननीय कृष्ण भक्त पोख्रेलले संशोधन दर्ता गराउनु भएको छ । त्यस्तै प्रतिपक्षि दलका तर्फबाट पनि माननीय गगन थापाले तिनै सम्झौतालाइ संशोधनका रुपमा प्रस्तुत गर्नु भएको छ । तसर्थ डा.गोविन्द केसीले उठाउँदै आउनु भएको मुद्धालाइ सरकार र प्रतिपक्ष दुवैले ओन गरिसकेका छन् भन्दा अतियुक्ति नहोला।

यता केहि माननीयज्यूहरुले त झन्  ती सम्झौतामा उल्लेख गरिएका बाहेक पनि ऐनमा यस्ता बुदाहरु समेट्ने प्रयास गर्नुभएको छ जुन पढ्दै गर्दा लाग्छ , वा ! माननीयज्यू क्या मननीय करेक्सन छ !

जस्तै ,

१ स्वास्थ्य शिक्षालाइ क्रमश राष्ट्रियकरण गर्ने

स्वास्थ्य र शिक्षा निशुल्क भएको दिन साँचो अर्थमा संवृद्धि आएको मानिनेछ । आखिर समाजवाद उन्मूख संविधान र साम्यवादी पार्टीको सरकार भएको समयमा आम नेपाली जनताको अपेक्षा पनि यहि नै हो।

माननीय सुजिता शाक्य र माननीय रेखा झाले संयुक्त रुपमा हाल्नु भएको संशोधनमा ऐनको प्रस्तावनामै “संविधानको मौलिक हकको धारा ३५ अनुरुप स्वास्थ्य र शिक्षालाइ राज्यको दायित्व भित्र पर्ने व्यवस्था गर्ने” भन्ने वाक्य थप गर्नुपर्ने भनिएको छ ।

त्यस्तै प्रस्तावनामै थपिनु पर्ने भनि माननीय कृष्ण प्रसाद दाहालले चिकित्सा शिक्षालाइ नाफा रहित बनाउने परिकल्पना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “चिकित्सा शिक्षा क्षेत्रमा रहेको निजि लगानीलाइ संविधानको धारा ४ र ३५ अनुसार नाफा रहित लगानी गर्न सक्ने गरी” भन्ने वाक्यांश थप्ने ।

माननीय विन्दा पाण्डे लगायत दर्ता नम्बर २१ का एक दर्जन सांसदज्यूहरुले एकैपटक हाल्नु भएको संशोधनबाट चिकित्सा शिक्षा आम जनताको पहुँचमा पुगोस भन्ने उहाँहरुको कामना रहेको बुझिन्छ ।

उक्त संशोधन अनुसार चिकित्सा शिक्षा आयोगलाइ थप कार्यभार दिइनेछ जसमा , “चिकित्सा शिक्षामा सरकारी, सामुदायिक र गैर नाफामुलक लगानी अविवृद्धि गर्दै नाफामुलक कामकारबाहीलाइ आवश्यक योजना बनाइ निरुत्साहित र अन्त्य गर्ने ” रहनेछ । यसरी चिकित्सा शिक्षा ऐनले परिकल्पना गरेको आयोगले उक्त कार्यभार पाएको खण्डमा , देशकै स्वास्थ्य शिक्षा क्षेत्र सुधारको मार्गमा यो  एउटा गर्भिलो फड्को ठहरिनेछ ।

दर्ता नम्बर २१ कै माननीयज्यूहरुले भविष्यमा आशयपत्र लिन चहाने संस्थाहरु पनि बाध्यात्मक रुपमै गैर नाफामुलक हुनुपर्ने प्रावधान थप गर्न भन्नु भएको छ । यो क्लजले मेडिकल कलेज खोली कमाउ धन्दा चलाउन खोज्नेहरुलाइ निरुत्साहित गर्नेछ ।

माननीय खगराज अधिकारी र माननीय रेखा शर्माले संयुक्त रुपमा हाल्नु भएको संशोधनले त अबको पाँच वर्ष भित्रमै सबै कलेजहरु राज्यको दायरामा ल्याइनुपर्ने कुराको जोडदार वकालत गरेको छ ।

मानानीय राजेन्द्र केसीले हाल्नु भएको संशोधनमा पनि “चिकित्सा शिक्षा स्वदेशी विद्यार्थीका लागि पुर्णरुपमा निशुल्क गरिदै लगिने छ“ भनिएको छ ।

झन सबैभन्दा एक कदम अघि बढि माननीय प्रेम सुवालले त बडो भावनाका साथ , “ सर्वसाधारण नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्न, चिकित्सा शिक्षा निशुल्क गर्न, सरकारमा गएका पार्टीका नेता र नेता पत्निको उपचार दिल्लि, बैङ्कक, सिङ्गापुर लगायतका देशमा  जानुपर्ने स्थिति अन्त्य गर्न, जिल्ला स्थित सरकारी र सार्वजनिक अस्पताललाइ सुविधा सम्पन्न बनाउन र निजि अस्पताल पाँच वर्षभित्र राज्यअन्तर्गत संचालनमा ल्याउन वाञ्छनीय भएकाले, संघीय संसदले यो ऐन बनाएको छ । ” भन्ने वाक्यांश प्रस्तावनामै राख्नुपर्ने संशोधन हाल्नुभएको छ ।

कानुनी हिसाबले हुबहु नै त यि वाक्य राख्न नमिल्ला तर उहाँका शब्दहरुले बोकेका अर्थ भने गहिरा छन् ।

माननीयज्यूहरुका यी संशोधनहरु मननीय मात्र होइन साच्चै सह्रानीय पनि छन् ।
दुइ तिहाइ बहुमत प्राप्त बामपन्थी सरकारसँग अवसर पनि छ ।
यसपटक खुट्टा नकमाउनोस् । तपाइहरुले चाहेको खण्डमा स्वास्थ्य शिक्षाको राष्ट्रियकरण गरी त्यसलाइ निशुल्क गराउन सम्भव छ ।

२. विदेशी लगानी र विदेशी विद्यार्थीको हकमा

माननीय प्रेम सुवालले विधेयकको दफा १७ मा हाल्नु भएको संशोधनमा भनिएको छ , “ शिक्षण क्षेत्रमा निशर्त विदेशी अनुदानलाइ स्वागत गरिनेछ तर विदेशी लगानीलाइ स्वीकृत गरिने छैन ।“

साच्चै ऐन जारी गर्नु अघि विदेशी लगानी सम्बन्धमा उक्त प्रावधानबारे छलफल हुन जरुरी छ ।

स्वास्थ्य शिक्षालाइ सम्पुर्ण रुपमा सरकारी र निशुल्क हुनपर्छ भनेर आवाज उठिरहेको समयमा , निशर्त आएका विदेशी अनुदान बाहेक अरु विदेशी लगानीलाइ निरुत्साहित गर्नु नै उचित हुने एकथरीको तर्क रहेको छ ।

 त्यस्तै विदेशमा छरिएका गैरकानुनी पैसा संगठित रुपमा मेडिकल शिक्षामा भित्रने जोखिम पनि यसले टार्नेछ ।
हाल संचालनमा रहेका भारतीय लगानीका दुई मेडिकल कलेजहरुका योगदान पनि उत्तिसारो उल्लेख्य रहन सकेको छैन । अझ चितवनमा रहेको एक भारतीय लगानीको कलेज त खुल्लमखुल्ला  लुटकै धन्दामा उत्रिएको समाचारहरु बेलाबखत आइरहन्छन् ।

विदेशी लगानीको मेडिकल कलेजले कसरी राष्ट्रिय राजनितिलाइ नै प्रभावित पार्न सक्छ भन्ने बुझ्न श्रीलंकामा  संचालित एकमात्र निजि मेडिकल कलेज ‘नेभिल फरनान्डो टिचिङ अस्पताल’ को उदाहारण लिए पुग्छ ।

तर यत्ति हुदाहुदै पनि दुइचार वटा नजिरका आधारमा  विदेशी लगानीलाइ  सम्पुर्ण रुपमा नै निस्तेज गर्न नहुने अर्काथरीको तर्क रहेको छ । विगतमा पनि चाइनिज र युरोपियन लगानीका मेडिकल कलेजहरु खुल्ने हल्ला बेलाबखत चलेका हुन र तिनले दिने विश्वस्तरीय सुविधा र गुणस्तरका चर्चा पनि नभएका होइनन् ।

तर जे होस स्वास्थ्य शिक्षा क्षेत्रमा विदेशी लगानी भित्राउने कि नभित्राउने वा भित्राएको खण्डमा कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने कुरामा यो ऐन स्पष्ट हुन जरुरी छ ।

त्यस्तै विदेशी विद्यार्थीको हकमा माननीय प्रेम सुवालले नै हाल्नु भएको अर्को संशोधन मननयोग्य छ । उक्त संशोधनमा भनिएको छ “स्नाकोत्तर तहमा भर्ना हुने नेपाली विद्यार्थीलाइ एक वर्षको अनुभव आवश्यक हुने तर विदेशी विदार्थीलाइ एक वर्षको अनुभव आवश्यक नहुने पक्षपातपूर्ण प्रावधान हटाउनु पर्ने । ”

जुन तर्कको आधारमा नेपाली विद्यार्थीहरुलाइ एक वर्ष अनुभव चाहिने भनिएको छ त्यो तर्क  विदेशी विद्यार्थीको हकमा पनि लागु हुनपर्छ । स्नाकोत्तर लेभलको पढाइ भनेको कक्षाकोठामा बसेर पढ्ने भन्दा पनि बिरामीको उपचार गरेरै पढिने पढाइ हो । तसर्थ विदेशमा पढेर आएको भन्दैमा भर्खर एमबिबिएस सक्काएको बिनाअनुभवी डाक्टरलाइ सिधै नेपाली बिरामीको उपाचारमा संलग्न गराइनु त्यति न्यायसंगत देखिदैन ।

होइन स्नाकोत्तर पढाइ गर्दै गरेको चिकित्सकले प्रोफेसरको निगरानीमा उपचार गर्ने भएकाले फरक पर्दैन भन्ने केहिको तर्क छ । यदि त्यसो हो भने नेपाली विद्यार्थीलाइ मात्रै किन एक वर्ष अनुभवको अति भार ?

३. गुणस्तरमा नो कम्प्रमाइज !

चिकित्सा शिक्षालाइ व्यवस्थित र गुणस्तरीय बनाउनका लागि सबैभन्दा पहिले प्रवेश परीक्षालाइ नै  व्यवस्थित बनाउनु वाञ्छनीय छ ।

विगतमा जारी भएको अध्यायदेशको दफा ६ को खण्ड ख मा चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) संचालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने भनिएको छ । उक्त बुदाले प्रवेश परीक्षा जस्तो महत्वपूर्ण कुरामा पनि अस्पष्टता कायम गरिदिएको छ ।

आयोगलाइ शक्तिशाली बनाइ कमन इन्ट्रान्सको जिम्मा पनि दिइनुपर्छ भन्ने आवाज उठिरहेको सन्दर्भमा , माननीय सुजिता शाक्यले हाल्नु भएको संशोधन पनि महत्वपूर्ण छ । संशोधनमा प्रवेश परीक्षाका लागि नीति तथा मापदण्ड बनाउनुका साथै आयोगले नै  परीक्षा संचालन गर्ने भनिएको छ ।
“......निर्धारण गरी परीक्षा संचालन गर्ने ।” भन्ने शव्दहरुले अस्पष्टता हटाउनुका साथै भविष्यमा हुनसक्ने चलखेललाइ पनि रोक्नेछ ।

त्यस्तै प्रवेश परीक्षा सम्बन्धी व्यवस्था भएको दफा १६ मा माननीय गगन कुमार थापाले “उच्च शिक्षामा अध्ययनको लागि भर्ना हुन चहाने व्यक्तिले आयोग या आयोगले तोकेको संस्था वा निकायले संचालन गरेको प्रवेश परीक्षामा न्यूनतम साठी प्रतिशत अङ्क ल्याइ उत्तीर्ण गर्नु पर्नेछ ” भन्ने बुदा थप गर्न भन्नु भएको छ । यो प्रावधानले चिकित्सा शिक्षामा प्रारम्भबाटै गुणस्तर कायम राख्न सघाउ पुर्याउँछ ।

अझ विदेश पढ्न जाने विद्यार्थीको हकमा त यो उत्तिर्णाङ्कले गुणस्तरको सन्दर्भमा विशेष महत्व राख्दछ ।

त्यस्तै माननीय गगन कुमार थापाले नै हाल्नु भएको अर्को संशोधनमा , प्राविधिक शिक्षा तथा तालिम परिषद अन्तर्गत प्रमाणपत्र तहका स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरुको प्रवेश परीक्षा पनि आयोगको समन्वयमा परिषदले गर्ने व्यवस्था मिलाउन भनिएको छ । यसले परिषदकै कार्यक्रमहरुका विश्वस्नियता साथै गुणस्तर बढ्नेछ । आयोगमा रहनु भएका विज्ञहरुबाट प्रशस्त साथ र  सहयोग  परिषदले पाउनेछ ।

यता प्रमाणपत्र तह भन्दा मुनिका स्वास्थ्य सम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रमहरु अब उप्रान्त सन्चालन गर्न नहुने माननीय गगन कुमार थापाकै अर्को संशोधनमा उल्लेख छ । हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल र हेल्थ पोस्ट लेभलमा एमबिबिएस चिकित्सकको दरबन्दी भन्ने कानुन बन्दै गर्दा उक्त संशोधन सान्दर्भिक रहेको छ ।

विगतमा स्वास्थ्य क्षेत्रमा प्रसस्त जनशक्ति नभएको समयमा अर्धदक्ष जनशक्ति उत्पादन गरेर भएपनी स्व्वस्थ्य सेवा गाउँगाउँमा पुर्याउने सरकारको निति ठिक थियो । तर अहिले आएर पनि त्यस्तै जनशक्तिको हातमा जनताको  स्वास्थ्य  सुम्पिनु त्यति ठिक नहोला ।

गुणस्तरकै सवालमा माननीय दुर्गा पौडेलले संशोधन मार्फत विशेष चासो प्रकट गर्नु भएको छ । पाठ्यक्रम, शिक्षण विधि तथा उपाधिको दफा १९ मा , “चिकित्सा शिक्षाको पाठ्यक्रम , शिक्षण विधि र उपाधिको मापदण्ड अन्तराष्ट्रिय विश्व विद्यालयको स्तर एवम विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसारको हुनेछ  ” भन्ने बुदा थप गर्नुपर्ने उहाँको तर्क रहेको छ ।

हाम्रा युनिभर्सिटीहरुले प्रदान गर्ने डिग्रि विश्वव्यापीरुपमा सर्वमान्य हुनुपर्दछ र यसतर्फ काम गर्नका लागि आयोगलाइ कानुनी बाटो खुला गरिदिनु ठिक हुनेछ ।

४. आम नागरिकको चिकित्सा शिक्षामा पहँुच 

हालको विभेदकारी व्यवस्थाका कारण जेहेन्दार तथा गरिब विद्यार्थीको हकमा केहि सयको संख्यामा मात्र छात्रवृत्तिका सिटहरु उपलब्ध छन् । तसर्थ चिकित्सा शिक्षालाइ आम नागरिकको पहुँचसम्म पुर्याउने हो भने छात्रवृत्तिको संख्यामा व्यापक वृद्धि गरिनु जरुरी छ ।

यसै सन्दर्भमा माननीयहरु यशोदा गुरुङ सुवेदी, पुर्ण कुमार सुवेदी र शशी श्रेष्ठले संयुतm रुपमा हाल्नु भएको संशोधनमा छात्रवृत्तिको संख्या दोब्बर बनाइनुपर्ने उल्लेख छ । उहाँहरुका अनुसार स्वदेशी लगानीमा संचालित मेडिकल कलेजहरुले दशको सट्टा बिस र विदेशी लगानीमा संचालित कलेजहरुले बिसको सट्टामा चालिस प्रतिशत छात्रवृत्ति दिनुपर्नेछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षभित्र एमबिबिएस संचालन गनुपर्ने कुरा ऐनमै राख्नुपर्ने माननीय प्रेम सुवालको तर्क रहेको छ ।  यसरी समय र नाम नै तोकेर ऐन बनाउन कानुनी रुपमा मिल्ला÷नमिल्ला आफ्नै ठाउँमा छ तर चिकित्सा शिक्षालाइ आम नागरिकको पहँुचमा पुर्याउने माननीयज्यूको यो सकारात्मक सोचलाइ सम्मान गर्नै पर्छ ।

माननीय अन्जना विशंखेले चिकित्सा शिक्षामात्र नभइ गुणस्तरीय स्वास्थ्य सेवा पनि दुर्गम भेगका मानिससम्म पुगोस भन्ने मनसायका साथ संशोधन हाल्नु भएको छ । सरकारी स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीले  अन्यत्र काम गर्न नपाउने तर त्यसका लागि सरकारले तलबमा वृद्धि र भत्ताको व्यवस्था गर्नुपर्ने उहाँको तर्क रहेको छ । साथै दुर्गम जिल्लाहरुमा विशेषज्ञ सेवा पुर्याउँदै गर्दा पर्याप्त उपकरण र स्वास्थ्यकर्मीहरुलाइ  सुविधा र सुरक्षाको उचित प्रत्याभुति दिलाउनुपर्ने महत्वपूर्ण विषय लिखित रुपमै संसदको ध्यानाकर्षणमा आउनु अत्यन्त सह्रानीय कुरा हो ।

अन्त्यमा,
आदरणीय सांसदज्यूहरु, विगतमा यहाँहरुको धेरै आलोचना गरियो । नाराबाजी पनि  गरियो ।

तर आज जसरी केही माननीयज्युहरुले व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठेर चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराउनु भएको छ , भन्नैपर्ने हुन्छ , माननीय ज्यु क्या करेक्सन गरिदिनुभएको छ जसले  तपाइहरुको एउटा कटु आलोचक रातारात आज तपाइहरुको फ्यान भएको छ ।

 बस  डा.गोविन्द केसीसँग गरिएका सम्झौता  अब बन्ने ऎनमा हुबहु राखिदिनोस । छुटेका केहि जनतामुखी र विद्यार्थीमुखी बुदा छन भने इमानदारी पूर्वक सबैलाइ जानकारी गराइ थपिदिनोस , तपाइहरुको यो फ्यान ऐन पास भएको दिन डाइ हार्ड फ्यान बन्नेछ ।

उसैगरी एभरेस्ट होटलको छेउमा उभिएर अर्को नारा लगाउन मन छ :
"सांसदको घडिमा जनताको ब्याट्री "

विशद दाहाल



Saturday, August 11, 2018

प्रधानमन्त्री ज्यू , मलाइ विश्वास छ यसपटक चिकित्सा शिक्षा ऐनले दिनको घाम देख्नेछ


प्रधानमन्त्री ज्यू सर्वप्रथम यहाँलाइ धेरै धेरै धन्यवाद । २७ दिन लाग्यो तपाइलाइ कुरा बुझाउन । तर ढिलै भएतापनि तपाइ हामीले उठाउँदै आएका मुद्धामा सकारात्मक हुनुभएको छ । यसपटक त झन मलाइ जुस खुवाउन सुवाष नेम्वाङ र विष्णु पौडेल पनि आउनु भएको थियो । तसर्थ म यसपटक धेरै नै आशावादी छु । त्यस घटनालाइ मैले , यो हाम्रो  समग्र अभियानलाइ नै तपाइले  ‘ओन’ गर्नु भएको रुपमा बुझेको छु ।

तर यति हुँदा–हुँदै पनि एउटा कुरा स्मरण गराउन चाहेँ । मैले आठौँ अनशन सुरु गर्नु पहिले पनि तपाइलाइ भेटि हाम्रो अभियानका बारे सम्पूर्ण कुराहरु बताएका थिएँ । तर कहिँ कतैबाट पनि सुनुवाइ नभइसकेपछि मैले अनशन बस्नु परेको थियो ।

यति मात्र होइन तपाइ समेत गरि मैलै यसै बैठक कक्षमा नेपालका छ जना  प्रधानमन्त्रीहरुसँग भेट गरिसकेको छु । सबैजनाले मसँग उसैगरि माग पूरा गरिदिने प्रतिवद्धता पनि जनाउनु भएको छ । तर मैले पटकपटक धोका पाइसकेको छु ।

तपाइसँग समय छ भने प्रधानमन्त्री ज्यू आज म तपाइलाइ बताउँछु किन म यसरी पटकपटक अनशन बसिरहेछु । रहरले वा लहडले म अनशन बसेको होइन प्रधानमन्त्री ज्यू, कति छाती पोलिरहेछ भन्ने कुरा त मलाइ मात्र थाह छ ।

नेपालमा कुनै पनि जिल्ला छैनन् जहाँ म तिन पटक भन्दा कम गएको छु । मुगु र डोल्पा हुन सबैभन्दा कम गएका त्यो पनि तिनतिन पटक । अन्त त म धेरैपटक गएँ । दुर्गम पहाडी जिल्लामा जन्मिएपनि दक्षिण एसियाको सुविधा सम्मन्न अस्पतालबाट चिकित्सकीय पढाइ सम्पन्न गर्ने मौका पाएँ । युरोप र अष्ट्रेलियामा गएर आफ्नो सिप तिखार्ने मौका पाएँ ।

तसर्थ विश्वका विकसित भनिएका देशहरुमा के हुन्छन् र हाम्रो देशको शहर बजारदेखि कुना कन्दरासम्म स्वास्थ्य क्षेत्रमा के हुन्छ मैले नजिकबाट देख्ने मौका पाएको छु ।

मौका मिलेसम्म म देशका विभिन्न ठाउँहरु डुलेर त्यहाँका बिरामीहरुको सेवा गर्ने प्रयास गर्छु । गाउँ–गाउँ पुगेर त्यहाँका स्वास्थ्यकर्मीहरुलाइ आफूले जानेका सिप सिकाउने प्रयास गर्छु । तर प्रधानमन्त्री ज्यू अँजुलिमा भरेर लगेको पानीले कति नै जनाको तिर्खा मेट्न सकिँदो रहेछ र ! हो यसै कुराले हो मलाइ सबैभन्दा बढ्ता पोल्ने ।

सन् २०१२ को युनिसेफको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष चौबिस हजार भन्दा बढि ५ वर्ष मुनिका बालबालिकाले अकालमै ज्यान गुमाइरहेका छन् । हरेक चारदेखि छ घण्टाको विचमा एकजना सुत्केरी महिलाको मृत्यु हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा त यी सबै घटनाहरु देशका ग्रामिण भेगमा घटिरहेका छन् जहाँ कुल जनसंख्याको असि प्रतिशत मानिसहरुको बसोबास रहेको छ ।

यता बिस प्रतिशत जनसंख्या मात्र शहर बजारमा बस्छन् जसका लागि भने अनेकन सुविधासम्पन्न अस्पतालहरु खुलेका छन् । यति हुँदा हुँदै पनि तिनै शहर बजारका मध्य र निम्न वर्गीय जनताहरु समेत गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाबाट बन्चित हुँदै आएका छन् ।

हामी यतिन्जेल लड्दै आएको तिनै ग्रामिण भेगमा बस्ने मध्य र निम्न वर्गीय मानिसहरुका लागि हो । स्वास्थ्य क्षेत्र सेवा मुलक हुनपर्यो र देशै भरि तिनको न्यायोचित वितरण हुनपर्यो भन्नका लागि हो ।

हरेक सरकारले स्वास्थ्य  क्षेत्रमा छुट्टाएको बजेटलाइ खर्चका रुपमा लिँदै आएको छ । तर त्यो त खर्च होइन प्रधानमन्त्री ज्यू लगानी हो । सरकारको दायित्व हो । अझ अहिले त दुइ तिहाइ बहुमतको कम्युनिस्ट सरकार छ । समाजवाद उन्मुख संविधान छ । संविधानमै स्वास्थ्य सबैको नैसर्गिक अधिकार भनेर लेखिएको छ । यस्तो अवस्थामा पनि सरकारले स्वास्थ्यलाइ उद्योगकै रुपमा हेर्नु अत्यन्त दुखद कुरा हो ।

स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनेको मेडिकल कलेज हो । तर यसैलाइ अहिले स्वाथ्यमा व्यापार गर्ने सबैभन्दा ठूलो अस्त्र बनाइएको छ । अस्पताल खोलेको एक वर्ष भएको हुँदैन सबैलाइ मेडिकल कलेज नै खोल्न हतार हुन्छ । अपोलो, एस्कर्ड, मेदान्त जस्ता प्रतिष्ठित अस्पतालहरु मेडिकल कलेज होइनन् । तर पनि तिनले गुणस्तरीय स्वास्थ्य सेवा दिनुका साथै नाफा नै गरिरहेका छन् ।

हाम्रो देशमा विचित्र छ । श्रिलंका दक्षिण एसियामै गुणस्तरीय स्वास्थ्य शिक्षाका लागि कहलिएको देश हो । साढेँ दुइ करोड जनसंख्या रहेको उक्त  देशमा जम्मा आठ वटा मेडिकल कलेज छन् ती पनि जम्मै सरकारी । हाम्रोमा तिन करोड जनसंख्या छ जसका लागि २२ वटा मेडिकल कलेज संचालनमा छन् । त्यसमा पनि जम्मा तिन वटा सरकारी । आठ वटा मेडिकल कलेज त बनेपा समेत गरी काठमाडौ उपत्यकामा मात्रै छन् ।

प्रधानमन्त्री ज्यू अहिलेको अवस्थामा भए त म डाक्टर नै बन्न सक्ने थिइन । एमबिबिएस पढ्न ५०–६० लाख । एम.डी एम.एस का लागि अर्को ५०–६० लाख । अझ डि.एम एम.सिएच अध्ययनका लागि त झन करोडसम्म लिइन्छ रे । यत्ति पैसा तिर्न सक्ने मानिस नेपालमा कति होलान , ५ प्रतिशत ? तपाइ त देशकै अभिभावक । त्यसो हुदा  बाँकी ९५ प्रतिशत जनसंख्यको हित हुने गरी कानुन निर्माण गर्नुहुनेछ मलाइ विश्वास छ । त्यसका लागि सरकारी मेडिकल कलेजहरु खोलिनुपर्छ ।

अन्यथा नलिनुहोला तर आजसम्म जो–जो प्रधानमन्त्री बन्नुभयो उहाँहरुले नै आफ्ना भेगका जनतालाइ उपेक्षा गरिरहनुभएको छ ।

तपाइको जन्मथलो तेह्रथुम तर त्यहाँ एउटा पनि ठूला स्वास्थ्य संस्थाहरु खुलेका छैनन् । त्यस भेगका जनताहरु स्वास्थ्य उपचार गराउन कि त भारतको सिलगुढि पुग्छन् या त धरान नभए काठमाडौँ नै आउनु पर्ने बाध्यता रहेको छ । त्यसैले हामी  पटकपटक भनिरहेका छौँ , पूर्वका ताप्लेजुङ, पाँचथर , इलाम , संखुवासभा लगायतका जिल्लाहरुलाइ सुविधा हुनेगरी इलाम या त पाँचथरमा एउटा मेडिकल कलेज खोलौँ ।

देउवाजीको जन्मथलो भनेपनि कर्मथलो भनेपनि डडेलधुरा । तर उहाँ चार–चार पटकसम्म प्रधानमन्त्री बनिसक्दा पनि सुदुरपश्चिममा एउटा पनि सरकारी मेडिकल कलेज खुल्न सकेको छैन । डोटी र डडेल्धुराका जनता अझै पनि स्वास्थ्य उपचारका लागि भारत जान बाध्य छन् । हामीले नै अनशन बसेर गेटा मेडिकल कलेज खोल्न दबाब दियौँ । सुदुरपश्चिमका नौ जिल्ला समेटिने गरी खुल्ने भनेको त्यस कलेज पनि एकजना निजि मेडिकल कलेज संचालकको प्रभावमा परी अलपत्र परेको छ ।

यता प्रचण्डजीको उद्गम थलो नै रोल्पा । तर उहाँ स्वयम प्रधानमन्त्री हुँदा हामीले पटकपटक भेटि राप्तीमा मेडिकल कलेज खोल्न आग्रह गर्यौँ । तर उहाँले त सुनेको नसुनै गर्नुभयो । दाङमै पुगेर अनशन सुरु गर्न लागेपछि बल्ल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने सहमति बन्यो । उहाँले त रोल्पाका जनताका लागि वकालत गर्न पथ्र्योा तर उहाँ त एक जना व्यापारीको निजि फाइदाका लागि वकालत गरिरहनु भएको छ ।

यता सरकारी स्तरमा संचालनमा आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्ने भनिएको पनि आठ वर्ष भइसक्यो तर आजसम्म कुनै सुरसार नै छैन ।

यत्तिका वर्ष भयो हामी लडेको । यो अन्तरालमा चिकित्सा शिक्षाका बारेमा धेरै रस्साकस्सीहरु भए । जुन ऐन आज संसदमा प्रस्तुत भएको छ , त्यसमा हामीले धेरै कम्प्रमाइज गरिसकेका छौँ । अझ यो भन्दा बढि कम्प्रमाइज गरे सो ऐन कुनै कोणबाट पनि विद्यार्थीमुखि र जनतामुखी बन्न सक्दैन र यो सरासर तिन करोड नेपालीका लागि धोका हुनेछ ।

यसपटकको सत्याग्रह प्रारम्भ गर्नु पहिले पनि हामीले शिक्षा मन्त्रीलाइ भेटि यसबारेका सबै कुरा बताएका थियौँ । तर उहाँले झुक्याउनु भएछ । हामीले नै भनेअनुसार संसदमा ऐन प्रस्तुत गर्छुृ भन्नु भएको थियो तर पेश गर्ने बेलामा त उहाँले त्यसमा यति धेरै तोडमोड गर्नुभयो कि हामीले जसका लागि लड्दै आएका थियौँ तिनको त अस्तित्व नै नामेट हुनेभयो ।

अन्तत यहाँको सरकारले ढिलै गरेर भएपनि सम्पूर्ण बुँदाहरुमा सहमति जनाएको छ ।  यो स्वागतयोग्य काम हो ।

म संसदीय मर्यादा र प्रक्रियाको सम्पूर्ण रुपमा सम्मान गर्छु । जनताहरुबाट निर्वाचित सांसदज्यूहरु प्रति मेरो अथाह विश्वास छ । थप छलफलका लागि विधेयक सायद संसदीय समितिमा गएको छ । छलफल होस । विचार विमर्श होस ।

तर दुइ तिहाइको सरकारले जुन सहमति हामीसँग गरेको छ, त्यसबाट व्याक हुनेछैन । र प्रधानमन्त्री ज्यू , मलाइ विश्वास छ यसपटक चिकित्सा शिक्षा ऐनले दिनको घाम देख्नेछ ।

( प्रधानमन्त्रीसँगको भेटमा डा.केसीले बताउनुभएको कुराको सम्पादित अंश )


Saturday, August 4, 2018

दोबाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः चुनौती र अगाडिको बाटो



परिचय
वि. सं २०६८ मा अलग्गै ऐनद्वारा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल कर्णाली प्रदेशस्थित जुम्लाको चन्दननाथ नगरपालिकामा अवस्थित छ । नेपाल सरकारले गरिरहेको स्वास्थ्य र मेडिकल शिक्षाको विकेन्द्रीकरणको अभ्यास स्वरुप स्थापित यो संस्थामा हाल धेरै विषयहरुमा विशेषज्ञ सेवाहरु उपलब्ध छन् ।

त्यस्तै यहाँ हाल हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र एनेस्थेसिया असिस्टेन्ट कोर्स सञ्चालनमा छन् ।
कर्णाली क्षेत्र र वरपरका नौ जिल्ला (जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम, बझांग, बाजुरा, जाजरकोट) लाई प्राथमिकतामा राखेर स्थापित यो संस्था अब नव निर्मित कर्णाली प्रदेश (थप जिल्लाहरुः दैलेख, सुर्खेत, सल्यान र पश्चिम रुकुम)को एउटै प्रतिष्ठान स्तरको चिकित्सा शिक्षण संस्थाका रुपमा रहेको छ । हालै प्रतिष्ठानअन्तर्गतको अस्पतालको ३०० बेडसहितको आधुनिक भवन सञ्चालनमा आएको छ ।

जुम्लास्थित प्रतिष्ठानको अस्पतालबाट मात्र नभई विभिन्न जिल्ला अस्पतालहरुबाट समेत प्रतिष्ठानसम्बद्ध विशेषज्ञ चिकित्सकहरुले सेवा दिने कामले पछिल्लो वर्षमा थप गति लिएको छ ।

तर अहिले यो प्रतिष्ठान सफलता र असफलताको निर्णायक दोबाटोमा उभिएको छ । एकतिर देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा सिंगो कर्णाली प्रदेशको नेतृत्वदायी शिक्षण र स्वास्थ्य संस्थाका रुपमा यसलाई विकसित गर्ने अवसर प्रदेश र केन्द्रीय सरकारहरुसँग छ भने यसको स्वामित्व र व्यवस्थापन लगायतमा रहेका चुनौतीहरुका कारण यो असफल हुने डर पनि उत्तिकै टड्कारो छ । खास गरी कर्णालीको जुम्लाजस्ता कम जनघनत्व भएका ठाउँहरुमा एमबीबीएस जस्ता कार्यक्रमको औचित्य र सम्भावना दुवै नभएकाले यस्ता ठाउँमा ठूला अस्पताल बनाएर शिक्षणको पाटोलाई सुर्खेत वा नेपालगन्जजस्ता ठूला शहरमा झार्नुपर्छ भन्ने मत पनि खास गरी काठमाडौंमा बलियो छ । त्यो अवस्थामा एमबीबीएस लगायतका कार्यक्रमहरुका लागि भनेर भएको अरबभन्दा बढी लगानीको अवस्था के हुन्छ भन्ने प्रश्न छ ।

हाल खलंगाबजारस्थित परिसर प्रांगणबाहेक चन्दननाथ नगरपालिकाभित्रै र बाहिर गरी बेसिक साइन्स र अन्य भवनहरुका लागि भनेर प्रतिष्ठानले जग्गा निःशर्त अनुदान पाएकोमा तिनमा थप भौतिक संरचना बनाएर समय लगाएर भए पनि जुम्लाभित्रै सबै सुविधा र संकायहरुसहित शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने वा अहिले नै बिरामीको चाप धेरै भएको सुर्खेत क्षेत्रीय अस्पतालसँग कुनै न कुनै रुपमा सहकार्य गरेर सापेक्षतः छिटो एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने भन्ने प्रश्न कायम छ ।

हालको अवस्था

१. स्वास्थ्य सेवा

पतिष्ठानमा उपलब्ध सेवाः
यस क्षेत्रमा सुर्खेतभन्दा माथि विशेषज्ञ तहको सेवाको सख्त अभाव भएको समयमा खुलेको यस प्रतिष्ठानमा हाल नौ विषयका २३ विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् (हेर्नुहोस्, टेबल १)। साथै १२ जना मेडिकल अधिकृतहरुसमेत कुल ३५ जना चिकित्स्कहरुअहिले कार्यरत रहेका छन् । अन्य जनशक्तिको विवरणका लागि हेर्नुहोस्ः टेबल २ ।

टेबल १ः चिकित्सकहरुको संख्या
विषय चिकित्सक संख्या
हाड जोर्नी
एमडीजीपी
सर्जरी
बाल रोग
इन्टरनल मेडिसिन
मानसिक रोग
स्त्री तथा प्रसुति रोग
दन्त रोग
एनेस्थेसिया
मेडिकल अधिकृत १२
नोटः रेडियोलोजिस्ट नरहेकाले अल्ट्रासाउण्ड सेवा एमडीजीपी चिकित्सकहरुद्वारा दिइने

टेबल २ः अन्य जनशक्ति
प्रकार संख्या
नर्सिंग ६४
प्रयोगशाला प्राविधिक
फार्मेसी
एक्स रे

अस्पतालको चारतले भवनमा रहेका ३०० बेडमध्ये हाल पहिलो दुई तलामा इमर्जेन्सी, प्रयोगशाला, विभिन्न वार्डहरु र अपरेशन थिएटर सञ्चालनमा छन् भने बाँकी दुई तला प्रयोगमा आइसकेका छैनन् ।

सामान्य शल्यक्रियाहरुबाहेक केही जटिल प्रकृतिका शल्यक्रियाहरु पनि संस्थानमा भइसकेका छन् जसमध्ये हेमिआथ्रोप्लास्टी (आधा जोर्नी प्रत्यारोपण) र मेरुदण्डको शल्यक्रिया पर्छन् । त्यस्तै प्रसुतिसम्बन्धी जटिलताका कारण ज्यान जोखिममा परेका हुम्लाका दुई बिरामीलाई हेलिकप्टरबाट अन्यत्रको सट्टा प्रतिष्ठानमा ल्याएर सफल उपचार गरिएको छ । प्रसुतिकै एक जटिल रक्तस्रावको बिरामीलाई १४ जना व्यक्तिबाट ताजा रगत निकालेर दिएर समेत ज्यान जोगाउने शल्यक्रिया गरिएको छ ।

 1.जिल्लागत सेवा

यसै वर्षदेखि कालीकोट जिल्लामा प्रत्येक महिनाको १५ र २८ गत र मुगुमा प्रत्येक महिनाको २ गते विशेषज्ञ चिकित्सकहरुद्वारा ओपीडी सेवा सञ्चालित हुन्छ । त्यस्तै डोल्पामा ३ वर्षदेखि प्रतिष्ठानले एमडीजीपी चिकित्सक राखेरएकीकृत आकस्मिक मातृ तथा शिशु स्याहार सेवा (सिइओएनसी) सेवा दिंदै आएको छ भने हुम्लामा एक एएसबीए र एक नर्स राखेर सिइओएनसी सेवा दिइरहेको छ ।

त्यस्तै जाजरकोटमा एक स्त्री रोग विशेषज्ञ र एक नर्ससहित सिइओएनसी सेवा उपलब्ध गराएको छ भने सुर्खेतस्थित अञ्चल अस्पतालमा हाल ३ विशेषज्ञ चिकित्सकहरु (सर्जरी, हाडजोर्नी र एनेस्थेसिया विभाग) प्रतिष्ठानबाट खटाइएका छन् । त्यस्तै कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट र सल्यान जिल्लामा पाठेघर को अपरेशन क्याम्प पनि प्रतिष्ठानले नै सञ्चालन गरेको छ ।

२. शैक्षिक कार्यक्रमहरु

४० सिट क्षमतासहितको हेल्थ असिस्टेन्ट कार्यक्रमको अहिले तेस्रो वर्ष चल्दैछ भने ४० सिटकै नर्सिंग कार्यक्रमको पाँचौं वर्ष चल्दैछ र दुई ब्याचका नर्सहरु यहाँबाट निस्किेसकेका छन् । त्यस्तै यसै वर्षदेखि एनेस्थेसिया असिस्टेन्ट कार्यक्रममा ४ जना विद्यार्थी अध्ययनरत छन् । हालसालै प्रतिष्ठानले नर्सिग काउन्सिलसँग १० सिट ब्याचलर इन मिडवाइफरी कार्यक्रमका लागि समेत अनुमति पाइसकेको छ ।
थप भौतिक सम्पत्ति
चेरिया चौरमा ४२२ रोपनी र धितामा १०० रोपनी जग्गा स्थानीयवासीले प्रतिष्ठानका लागि निःशुल्क अनुदान दिएका छन् जसमध्ये बेसिक साइन्सका लागि आवश्यक भवनहरु चेरिया चौरमा र नर्सिंग तथा अन्य कार्यक्रमहरुका लागि भवन बनाउने अवधारणा ल्याइएको छ ।  यसबाहेक अरु जग्गा पनि प्रतिष्ठानलाई प्राप्त हुने विभिन्न चरणहरुमा रहेको छ ।



चुनौतीहरुः

१. स्वामित्वको प्रश्न

प्रदेश सरकार गठनसँगै जिल्लाका सबै जिल्ला अस्पतालहरु र सुर्खेतको क्षेत्रीय अस्पतालहरु कर्णाली प्रदेशको स्वामित्वमा आइसकेका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केन्द्रको मातहतमा रहिआएको छ । जबकि माथि उल्लेख गरिएझैं प्रतिष्ठान र यस प्रदेशका बाँकी सबै अस्पतालहरुबीच गहिरो सम्बन्ध र अन्तर्निभरता विकसित भइसकेको छ । स्वास्थ्य सेवा प्रदान गर्न मात्रै नभई शैक्षिक कार्यक्रमहरु चलाउन पनि यी संस्थाहरुबीचको सहकार्य अनिवार्य बनेको छ । जस्तो कि, प्रतिष्ठानले अब चलाउन लागेको ब्याचलर इन मिडवाइफरीको मुख्य सिकाइ केन्द्र सुर्खेत क्षेत्रीय अस्पताल हुनेछ ।
अब प्रतिष्ठानको शैक्षिक स्तरोन्नति गरेर एमबीबीएस लगायतका कार्यक्रम चलाउन पनि त्यस्तो सहकार्यविना सम्भव नभएको सरोकारवालाहरुको बुझाइ छ । तर त्यस्तो सहकार्यमा खास गरी प्रतिष्ठान र क्षेत्रीय अस्पतालको फरक फरक स्वामित्व बाधा हुन सक्ने सम्भावना छ ।

२. व्यवस्थापन र नेतृत्वको प्रश्न

यस अध्ययनका क्रममा संस्थामा कार्यरत सबैजसो चिकित्सकहरुले प्रतिष्ठानको व्यवस्थापनमाथि प्रश्न उठाए । यसमा उनीहरुले उठाएका सवाल यस्ता छन्ः
ड्ड प्रतिष्ठानको नेतृत्वमा रहेका व्यक्तिहरु (उपकुलपति, रेक्टर, रजिस्ट्रार, डिन र अस्पताल निर्देशक)बीच न्युनतम साझा भिजन र सहकार्यमा रुचिको अभाव
ड्ड विभिन्न पदाधिकारीहरुका प्राथमिकतामै रहेका भिन्नता
ड्ड कार्य कुशलता र व्यवस्थापकीय क्षमताको अभाव (उदाहरणः करारमा एमडी पढेका चिकित्सकलाई करार अवधि नपुग्दै डीएम पढाउन अनुमति दिइएको)
ड्ड सम्बन्धित विज्ञता नै नभएको व्यक्तिलाई जिम्मेवारीमा ल्याउँदा समस्याको बोधको समेत अभाव
ड्ड एक वर्ष रहेर कार्यकुशलता प्रदर्शन गरेका डिनलाई राखीराख्नमा असफलता
ड्ड पदाधिकारीहरुबीचको मनमुटावका कारण महत्वपुर्ण कामहरु प्रभावित भएका
ड्ड विभिन्न खालका नाजायज दबाब खेप्ने क्षमता पदाधिकारीमा नहुँदा सही निर्णयहरु हुन नसकेका


३. भौगोलिक अवस्थिति, जनघनत्व

असहज भुगोल र यातायातको पहुँच अभावका कारण कर्णाली क्षेत्रकै ठूलो जनसंख्यालाई प्रतिष्ठानबाट विशेषज्ञस्तरको सेवा दिन नसकेको प्रष्ट देखियो । हाल डोल्पाका तत्कालीन तीन गाविस र हुम्लाबाट फाटफुट अनि मुगुका े सानो क्षेत्रबाहेक मुख्यतः जुम्ला र कालीकोटबाट मात्रै बिरामीहरु प्रतिष्ठानको अस्पतालमा आउने गर्छन् । त्यसको मुख्य कारण यातायात पुगेको ठाउँमा समेत सडकको दुरावस्थाका कारण प्रतिष्ठान पुग्न लामो समय कष्टकर यात्रा गर्नुपर्ने र त्यसका लागि जहाजमा नेपालगन्ज जानभन्दा पनि निकै महंगो पर्नु देखियो ।
पछिल्लो समय जिल्लाहरुमा प्रतिष्ठानले विशेषज्ञ ओपीडी सञ्चालन गर्न थालेपछि प्रतिष्ठानको अस्पतालमा बिरामीको प्रवाह केही बढे पनि यातायात पूरै सहज नभएसम्म प्रतिष्ठानको अस्पताललाइै क्षमता अनुसारको सेवा दिनसमेत सहज देखिैदैन । त्यस्तै एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम चलाउन बिरामीको चाप पनि अहिलेको अवस्थामा नपुग्ने देखिन्छ ।

४. नियामक निकायको अडान

भौगोलिक अवस्थिति र जनघनत्वका न्युनताका कारण एमबीबीएसजस्ता कार्यक्रम चलाउन नेपाल मेडिकल काउन्सिलले अपवादजन्य व्यवस्था गर्नुपर्ने माग प्रतिष्ठानका पदाधिकारीहरुले गर्दै आएका छन् । प्रतिष्ठानले धेरै जिल्ल अस्पतालहरुसम्म विशेषज्ञ सेवा बिस्तार गरेपछि जिल्लाहरुमा छरिएर रहेका अस्पतालका बेडहरुसमेत प्रतिष्ठानका बेडको रुपमा गन्न पाउनुपर्ने पदाधिकारीको दाबी छ ।मेडिकलकाउन्सिल चाहिं देशभित्र कतै पनि दोहोरो मापदण्ड कायम गर्न नहुने अडानमा छ । सुगम ठाउँहरुमा जति बिरामीको चापलगायतका मापदण्ड पुर्याउन लाग्दा यहाँ कार्यक्रम चलाउन धेरै ढिलो हुने पदाधिकारीहरुको भनाइ छ ।

५. समन्वयको अभावः

 विभिन्न सरोकारवालाहरुबीच आवश्यक तहको समन्वय भएको देखिंदैन ।
ड्ड संघ र प्रदेशमध्ये कुन सरकार अन्तर्गत यो र यस्तै संस्थाहरु रहँदा तिनको अधिकतम विकास हुन्छ भन्नेमा नीतिगत तहमै आवश्यक बहस नभएको देखिन्छ । त्यस्तो बहसपछि मात्रै संघीय र प्रदेश सरकारबीच आवश्यक समन्वय गरेर स्वामित्वको विवाद टुंग्याउनु सम्भव हुन्छ ।
ड्ड प्रतिष्ठानका पदाधिकारीहरु आफैंबीच समन्वय गरेर प्रतिष्ठानको विकासका लागि साझा खाका तयार पार्ने काम भएको देखिंदैन ।
ड्ड प्रतिष्ठानका पदाधिकारीहरु र कार्यरत चिकित्सक र कर्मचारीबीच संस्थाको भविष्यका बारेमा प्रभावकारी सम्वाद भएको देखिंदैन
ड्ड संघ र प्रदेश दुवैले पदाधिकारी लगायतका सरोकारवालाहरुसित समन्वय गरेको पनि देखिंदैन ।

सरोकारवालाका धारणा र अडान

प्रदेश सरकार

ड्ड प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट र कुराकानी हुन नसकेको
ड्ड मन्त्रीहरुसँगको अलग अलग भेटघाटका क्रममा प्रतिष्ठानसम्बन्धी फरक अवधारणाहरु आएकाले यस विषयमा एउटै धारणा बनाउन प्रदेश सरकारले विशेष गृहकार्य र बाँकी सरोकारवालाहरुसँग अन्तर्कि्रया गर्नुपर्ने ।

चिकित्सकहरु
ड्ड अविलम्ब एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने
ड्ड त्यसका लागि तत्काल सुर्खेत क्षेत्रीय अस्पतालसँग सहकार्य हुनुपर्ने
ड्ड डिनको खाली पदमा अविलम्ब योग्य र सक्षम व्यक्ति ल्याउनुपर्ने
ड्ड साझा भिजन र समुहमा काम गर्ने भावना भएका पदाधिकारीहरुको टिम हुनुपर्ने । त्यसका लागि या त हालका पदाधिकारीहरुको प्रवृत्ति र कार्यशैली फेरिनुपर्ने, नत्र व्यक्तिहरु नै फेर्नुपर्ने ।

उपकुलपति

ड्ड शैक्षिक कार्यक्रम अपेक्षित गतिमा स्थापित नभए पनि स्वास्थ्य सेवा प्रवाहमा छलांग मार्न प्रतिष्ठान सफल भएको । दुर्गमका धेरै जिल्ला मात्रै नभई सुर्खेत क्षत्रीय अस्पतालमा समेत विशेषज्ञ चिकित्सक पठाएर सेवा प्रवाहमा सहयोग गरिएको
ड्ड प्रतिष्ठानकै अस्पतालमा बिरामीको चाप सापेक्षतः कम भए पनि हस्पिटल एट होमको अवधारणा अनुसार जिल्ला जिल्लामा विशेषज्ञ तहको सेवा पुर्याइएको, स्वास्थ्य सेवा जस्तै शिक्षणमा पनि विकेन्द्रीकृत शिक्षण गर्न सकिने
ड्ड कर्णाली क्षेत्रको भौगोलिक विकटता र जनघनत्वको कमीका कारण नेपाल मेडिकल काउन्सिलले यसका लागि अपवादमूलक व्यवस्था गर्नुपर्ने
ड्ड हालसम्म स्वास्थ्य सेवा र शिक्षा दुवैमा सुर्खेत क्षेत्रीय अस्पतालसँगको समझदारी र सहकार्य गरिएकोमा त्यसलाई थप घनीभुत पार्नुपर्ने
ड्ड एमडीजीपी कार्यक्रम चलाउन तुलनात्मक रुपमा सहज भएको र त्यसले एमबीबीएस कार्यक्रम ल्याउन सहयोग गर्ने भएकाले तत्काल २ सिट मात्रै भए पनि त्यसको अनुमति पाउनुपर्ने ।

स्थानीय वासी

ड्ड जुम्लामा सबै विषयका विशेषज्ञ तहका सेवा हुनुपर्ने
ड्ड स्थानीय विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिने गरी एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने

अगाडिको बाटो
१) तत्काल गर्नुपर्ने कामः

क) नीतिगत

ड्ड कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै नभई सरकारको एक प्रदेश एक मेडिकल शिक्षण संस्था नीति अन्तर्गत खुल्न लागेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा मेडिकल कलेज लगायतका संस्थाहरुको भविष्यबारे केन्द्र सरकारले राम्रो गृहकार्य गर्नुपर्ने । कर्णालीबाहेक राप्ती र पोखरा प्रतिष्ठानमा ठूलो लगानी नभएको तथा अहिलेसम्म ती संस्था अचाक्ली धेरै प्रशासनिक खर्च भएका सेतो हात्तीजस्ता बनेकाले तिनको औचित्यबारे गम्भीर विमर्श हुनुपर्ने । पहिले पनि गम्भीर बहस नभई हतारमा ल्याइएका ती प्रतिष्ठानहरुको विकल्प खोज्नुपर्ने आवश्यकता महसुस भएमा निकै कम प्रशासनिक खर्च हुने गरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका आंगिक मेडिकल कलेजहरु खोल्ने विकल्पमा जाने, जसले कम खर्चमा स्वास्थ्य सेवा र शिक्षा दुवैको बिस्तार हुन्छ ।

ड्ड दीर्घकालमा कुन प्रतिष्ठान कायम हुने र कुन सरकारी आंगिक मेडिकल कलेज हुने भन्ने निक्र्योल भएपछि तिनको स्वामित्व केन्द्र वा प्रदेश कुन तहमा हुने भन्ने निक्र्योल गर्ने । त्यसो गर्दा संस्थाको स्वामित्व, अपनत्व, जवाफदेहिता र दिगोपन तथा सम्बन्धित सरकारको आर्थिक क्षमतालाई आधार बनाउने ।

ड्ड एक अर्बभन्दा बढी लगानी भएर कर्णाली क्षेत्रको स्वास्थ्य सेवा प्रवाहमा उल्लेख्य भुमिका खेलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पनि त्यस्तो निक्र्योल भएपछि सुर्खेत क्षेत्रीय अस्पतालसँग सहकार्यको बाटो खोल्ने । भौगोलिक रुपमा सयौं किलोमिटर टाढा रहेका यी संस्थाहरुबीचको सहकार्य मार्फत एमबीबीएस कार्यक्रम चलाउनका लागि नियमनका बाधा अड्चन फुकाउन सरकारले नेपाल मेडिकल काउन्सिलमा पहल गर्ने ।

ख) व्यवहारिक

ड्ड सुर्खेत क्षेत्रीय अस्पतालसँगको सहकार्यमा सापेक्षतः छिटो एमबीबीएस कार्यक्रम भित्र्याउने वा समय लगाएर भए पनि बेसिक साइन्सलगायतका लागि अलग्गै संरचनाहरु निर्माण गरेर तथा आवश्यक बिरामीको चाप हुने अवस्था पर्खेर जुम्लाभित्रकै संरचना र यहाँ आउने बिरामीको भरमा एमबीबीएस चलाउने भन्ने विषयमा सबै सरोकारवालाहरुले विमर्श गरेर एक मत हुनुपर्ने । हाल अधिकांश सरोकारवालाहरुको बुझाइ सुर्खेतसँगको सहकार्यमार्फत छिटो एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, त्यसो नगर्दा सुर्खेतमा प्रतिस्पर्धी संस्था खुलेको अवस्थामा राज्यलाई अनावश्यक भार  पर्ने मात्रै नभई कर्णाली प्रतिष्ठानमा नयाँ कार्यक्रम ल्याउनु भप चुनौतीपूर्ण हुने भन्ने रहेको ।

ड्ड समग्र बहसमा सबैभन्दा पेचिलो मुद्दा सुर्खेतसँगको सहकार्यको रुप कस्तो हुने भन्ने रहेको । त्यसमा केही विकल्प यस्ता रहेकाः

सुर्खेत क्षेत्रीय अस्पताललाई प्रतिष्ठान मातहत ल्याएर सिंगो संस्थालाई केन्द्रको स्वामित्व रहेको तर कर्णाली क्षेत्रको स्वास्थ्य र शिक्षा हेर्ने संस्थामा बदल्ने
सुर्खेत क्षेत्रीय अस्पताललाई प्रतिष्ठान मातहत ल्याउने, सिंगो संस्थालाई प्रदेशको स्वामित्वमा ल्याउने र प्रतिष्ठानलाई कर्णाली प्रदेशकै नेतृत्वदायी स्वास्थ्य र शिक्षण संस्थामा बदल्ने
क्षेत्रीय अस्पताललाई प्रतिष्ठानको टिचिंग साइटका रुपमा मात्रै प्रयोग गर्ने
सहकार्य हुन नसकेको खण्डमा जुम्लामै सबै संरचना बनाएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्ने
ड्ड कुनै पनि विकल्पमा जानु अगाडि माथि भनिए झैं केन्द्र र प्रदेश सरकारको एउटै परिष्कृत नीति र धारणा हुनुपर्ने
ड्ड पहिलो, दोस्रो, वा तेस्रो विकल्पमा गएर सुर्खेत क्षेत्रीय अस्पतालसँग सहकार्य भएको अवस्थामा जुम्लामा बेसिक साइन्स (एमबीबीएस अन्तर्गत पहिलो र दोस्रो वर्षमा पढाइने आधारभुत विज्ञान) को पढाइ गर्ने र तेस्रो वर्षदेखि शुरु हुने क्लिनिकल पोस्टिंगका हकमा बिरामीको चाप हेरी एक तिहाइको हाराहारी पोस्टिंग जुम्लामै र बाँकी दुई तिहाइ सुर्खेतमा गर्ने व्यवस्था गर्ने  । त्यसो गर्दा हाल प्रतिष्ठानमा रहेको नन् प्राक्टिसिंग नीति प्रतिष्ठानअन्तर्गत सुर्खेतमा रहने फ्याकल्टीहरुका लागि समेत कार्यान्वयन गर्ने । हाल शुरु भएको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउने प्रतिष्ठानको अभ्यास यस क्षेत्रका सबै जिल्लामा बिस्तार गर्ने ।

ड्ड सुर्खेतसँग सहकार्य भएको अवस्थामा बेसिक साइन्सका लागि जुम्लामा अलग्गै भवन बनाउनु पर्ने वा हालकै भवनको प्रयोगमा नआएको भागलाई उपयोग गर्ने भन्नेमा बिस्तृत गृहकार्य हुनुपर्ने । हाल बिरामीको चापलगायतको अवस्था हेर्दा कक्षाकोठाकै लागि नयाँ भवन बनाउनु नपर्ने । तर बिरामीको चाप र सेवा बिस्तार भएको अवस्थामा थप भवन र संरचनाहरु बनाइ पठनपाठनको काम अन्यत्र सारेर अस्पतालको सेवा बिस्तार गर्न सकिने । कक्षाकोठा र प्रयोगशालाबाहेक होस्टेल र फ्याकल्टी क्वार्टरका संरचनाचाहिं तदारुकताका साथ अस्पताल परिसरभित्रै बनाउन सम्भव देखिने । थप लगानी जुटेर अन्यत्र बेसिक साइन्सका सबै संरचना बनेको खण्डमा अस्पताल परिसरका ती संरचना सहजै अस्पतालको बिस्तारित सेवाका लागि उपयोग गर्न सकिने ।

२) मध्यमकालमा गर्नुपर्ने काम

जुम्लास्थित प्रतिष्ठानको अहिलेको प्रथम चुनौती भनेको कर्णाली प्रदेशका धेरैभन्दा धेरै मानिस अस्पताल आएर सेवा लिन सक्ने अवस्था बनाउनु हो । त्यसको मुख्य उपाय भनेको सडकरुको निर्माण र स्तरोन्नति गरेर अस्पतालसम्मको यात्रा सहज बनाउनु हो । अहिलेकै अवस्थामा चाहिं सिंजा वा नाग्मदेखि बिहान बेलुका नियमित अस्पतालसम्मका लागि सस्तो बस सेवा सञ्चालन गर्नु आवश्यक देखिन्छ । त्यसबाहेक टाढाबाट आउने बिरामीको बसाइलाई सहज र कम खर्चिलो बनाउन गेस्ट हाउस निर्माण गर्नुपर्ने देखिन्छ ।

३) दीर्घकालीन र नीतिगत कुराहरु

ड्ड प्रतिष्ठानको नेतृत्व चयन राजनीतिक प्रकृतिको हुने अवस्था बन्द हुनुपर्ने । अर्को विश्वविद्यालयमा काम गर्दै गरेको प्राध्यापकलाई ल्याउँदा यसै थला परेका नेपालका पुराना विश्वविद्यालयका व्यवस्थापकीय समस्या यहँ पनि देखा पर्ने र संस्थाले छलांग मार्ने सम्भावना नभएकाले सेवा निवृत्त वा अर्को विश्वविद्यालयमा आबद्ध नभएका व्यक्तिलाई नियुक्ति दिनुपर्ने । त्यसो गर्दा कर्णाली क्षेत्रमा विशेष याोगदान वा लगाव भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने । पदाधिकारीलाई तालिकाबद्ध रुपमा निश्चित कार्यभार दिई कार्य सम्पादन सन्तोषजनक नभएको अवस्थामा पदबाट हटाउने व्यवस्था गर्ने ।
ड्ड प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा शिक्षा र पर्यटनलगायतको प्रवद्र्धन गरेर स्वास्थ्य र शिक्षालाई जनजीविकाका अन्य सवालसँग जोड्ने ।

रामेश सर , डा.केसीका सपना अधुरै होलान त ?

आदरणीय रामेश सर नमस्कार !

खासमा अगाडि पट्टि  भूमिका बाँध्न नखोजेको त होइन तर दुइ पटकसम्म एउटै कुरो लेख्दै मेट्टाउदै गरियो । तेस्रो पटक त्यहि लाइन राख्न मन लागेन । त्यहि भएर अनुमति भए सोझै मुद्धामा प्रवेश गर्छु ।

दुइ दिन अघि नयाँ पत्रिकामा प्रकाशित यहाँको “गोविन्द केसीलाइ प्रश्न” शिर्षकको आलेख पढ्ने मौका मिल्यो । त्यहाँ उठाइएका केहि प्रश्नको उत्तर, पढ्दा बखतमै र केहि प्रश्नका उत्तर डा.केसीसँग छलफल गदैैगर्दा जान्ने मौका पाएँ । तर कतिपय प्रश्नका उत्तर जान्दा जान्दै पनि एक त फाइनल यरमा पढाइको चटारो अर्को हामी जस्ता ‘अलेखक’लाइ जानेकै कुरा लेख्न पनि कमिलालाइ मुतको पहिरो जस्तै हुने रहेछ ।

अन्तत दुइ दिन लगाएरै भएपनि केहि लेखेको छु । फेरि डा. केसीलाइ सोधेको तँ किन जान्ने भइस भनेर कम्तिमा तपाइले चाहिँ भन्नु हुने छैन भन्ने मलाइ पूर्ण विश्वास छ । आखिर डा.केसीलाइ सोधेको प्रश्न , उनलाइ विश्वास गरेर यो अभियानमा लाग्ने हामी जस्ता सयौँका लागि पनि त हो ।

 यस पटकको सत्याग्रहमा १९ औँ दिनसम्म डा.गोविन्द केसीले एउटै कुरा भनिरहे “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले दिने सेवा÷सुविधा प्रति म पूर्ण रुपमा विश्वस्त छु । तसर्थ अन्तिमसम्म पनि जुम्लामा नै बसेर लड्नेछु ।”

सरकारले अन्तसम्म पनि एउटै ढिपि कसिरह्यो , “जुम्लामा डा.केसीलाइ खतरा छ , जसरी पनि काठमाडौ ल्याइनुपर्छ ।” अन्ततोगत्वा २० औँ दिनका दिन सरकार आफ्नो योजनामा सफल भयो ( जुम्ला घटना, बिर्सन लायक एक दिन ) । डा.केसी निरिह भए , हामी उपचार गर्न सक्षम छौँ भनिरहेका चिकित्सकहरु निरिह भए , जुम्ला वासीहरु निरिह भए ।

तर डा.केसीको हेलिकोप्टर जुम्लाबाट उडेसँगै जे भयो , त्यसले सत्याग्राही डाक्टरको अटल विश्वासलाइ एकपटक पुनः पुष्टि गरिदिएको छ । घाइते प्रहरी जवान कमल आर्चायलाइ छातीमा गम्भिर चोट लागेको थियो । त्यस्तो अवस्थाको बिरामीलाइ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले राइट आट्रियम (मुटुको दाहिने भित्ता) सम्म पुगी ५ मिलिमिटरको घाउबाट बगिरहेको रगत बन्द गरिदिए । प्रहरीले थप उपचारका लागि भनेर उनलाइ काठमाडौ त ल्यायो तर यहाँ उनको अरु केहि खास उपचार गर्न परेन । जुम्लामा जे गरियो त्यो नै उनको ज्यान बचाउनका लागि पर्याप्त थियो ।

जसरी लोकमान बारे पहिलोपटक बोल्दै गर्दा उनलाइ पागल भनियो । गोपाल पराजुली हट्नुपर्छ भन्दा हावादारी ठानियो । दुइ–तिहाइको सरकारले थान्कामा बस भनेको मानिससँग सम्झौता गर्ला भन्ने कुरा कहिँ कसैले कहिलै चिताएन । जुम्लाका चिकित्सक सक्षम छन भन्दा गफै होला भनियो । आज तिनै सत्याग्राही भनिरहेका छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.बि.बि.एस पढाउन सकिन्छ । अनि फेरि केहि थान मानिसहरु उनको विश्वास माथि प्रश्न गरिरहेका छन् ।

यो भन्दै गर्दा डा.केसीलाइ प्रश्नै गर्न पाइदैन भन्ने चाहि पटक्कै होइन । “बादे बादे जायते तत्वबोध” , आखिर वादविवाद र छलफलबाट नै कुनै कुराको खास निचोडमा पुग्न सकिन्छ । अझ डा.केसीकै नजिक मानिएका मानिसहरुले जब प्रश्न उठाउँछन तब त झन बहस घनिघुत हुनैपर्छ ।

पहिलो प्रश्न ःउनी किन चिकित्सा शिक्षालाइ पूरै राष्ट्रियकरण गर्नुपर्छ भनेर माग राख्दैनन् ?

यो प्रश्न पढ्दै गर्दा केहि समय अघि सरले नै गर्नुभएको एउटा टुइटको अंश याद आइरहेछ @RaameshKoirala Tweet

अझ यो भन्दा बढि सरले समय–समयमा भन्नुहुने युतिm ,“ अरे बाबा , सबैथोक केसीले नै बोलिदिनपर्छ भनेर अपेक्षा गर्ने हामी कस्ता ?” (टुइट÷लेखमा नभेटिएको) सम्झिरहेछु ।

तर यो भन्दै गर्दा , मुख्य मुद्धामा बहस नगरी भाग्न खोजेको भने कदापि होइन । औसतमा नेपालका निजि मेडिकल कलेज संचालकहरुले आफ्नो कलेजको विक्रि मूल्य ८ देखि १० अरबको हाराहारीमा तोकेका रहेछन् ।

नोबेल मेडिकल कलेज , विराटनगर ः १० अरब
युनिभर्सल मेडिकल कलेज , भैरहवा ः ७ अरब
नेसनस मेडिकल कलेज , विरगंज ः ६ अरब
राष्ट्रीयकरणका लागि लाग्ने खर्च कति ?

तसर्थ २० वटा मेडिकल कलेज सरकारले खरिद गर्न चाहेमा करिब २ खरब रुपैया लाग्ने रहेछ । कुल बजेट नै १२ खरब भएको देशमा , २ खरब मेडिकल कलेज नै किनेरै सक्काउने र सर ?

फेरी सरकै पुराना आलेखहरु खोतलेर पढेँ । वर्षको चारवटाको दरले किनौँ भन्ने सुझाव रहेछ । त्यसो गर्दा पनि फेरि अर्को समस्या आउने देखिन्छ । हामीले वर्षौदेखि लड्दै आएको भनेको ग्रामिण भेगका जनताको स्वास्थ्य शिक्षाका लागि हो । अहिले संचालनमा रहेका सम्पूर्ण मेडिकल कलेजहरु शहर केन्दि«त छन् । तिनलाइ खरिद गरेर सरकारी बनाइदा , जुन भेगका मानिसका लागि डा.केसी लडिरहेका छन् उनीहरुका लागि अन्याय हुनेछ । फेरि सबै मेडिकल कलेजहरु सम्पूर्ण रुपमा मेडिकल शिक्षाका लागि योग्य छैनन , तिनमा फेरि उत्ति नै लगानी थप्नुको कुनै तुक रहदैन ।

बरु सरकारले देश र जनताको आवश्यतmा अनुसार विभिन्न भेगमा आफै गुणस्तरीय मेडिकल कलेज खोल्ने । त्यसो गरे बाध्यतावश निजिले आफ्नो स्तर उकास्नेछन नभए स्वतः बन्द भएर जानेछन ।

रह्यो प्रश्न डा.केसी राष्ट्रियकरणको पक्ष कि विपक्षमा ? यसमा सर , तपाइले किन सन्देह गरिरहनुभएको छ मैले बुझ्न सकिरहेको छैन । डा.केसी स्पष्ट रुपमा सबै मेडिकल कलेजहरु सरकारी हुनपर्छ र स्वास्थ्य शिक्षा निशुल्क हुनपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।

राष्ट्रियकरण जस्तो संवेदनशील बिषय हचुवाको भरमा  माग राख्न  भएन ? यस विस्षयमा त ठूलो माथापच्चीको जरुरी छ। बल्ल एकाध लेख पढ्न पाइएको छ पत्रपत्रिकामा। यसै बिषयमा नयाँ पत्रीकामा पुर्ब अर्थ सचिब रामेश्वर खनालले लेखेको लेख निकै सान्दर्भिक छ। राष्ट्रियकरण सम्भव नभए पनि देशलाइ आर्थिक भार नपर्ने गरि मुनाफारहित ट्रष्टको रुपमा सञ्चालन गर्न सकिने विकल्प एउटा उपाय हुन सक्छ। यत्रो बिकृती देखेर आजित भैसक्नुभएको केसी सर यी मुनाफारहित ढंगले चलुन्, गुणस्तरीय र सुलभ स्वास्थ्य शिक्षा होस् भन्ने चाहनुहुन्न होला र? तर फेरि यो देशको सम्पुर्ण भारी त्यो बूढो शरीरले बोक्न सक्ला र?


मेडिकल कलेजको सम्पत्ति मुल्यांकन गर्ने र त्यसलाई त्यो संस्थाको रिण सम्झेर मुनाफारहित ट्रष्टमा रुपान्तरण गर्ने। त्यो संस्थाले बिस्तारै आफ्नो आम्दानीबाट रिण तिर्दै जाने र सरकारले पनि त्यसको सहजीकरण गर्ने उपाय उत्तम उपाय हुन सक्छ। सरकारलाई पनि भार नपर्ने र मेडिकल शिक्षाका बिकृती को पनि अन्त्य हुने स्थिति सिर्जना हुन सक्छ। यस्ता अनेक उपायहरु बहस र अध्य्यन हुन जरुरी छ र यसरी  सरकारले वैज्ञानिक तवरले गर्ने राष्ट्रिकरणमा डा.केसीको कुनै आपत्ति  रहने छैन ।

दोस्रो प्रश्न ः जुम्लामा बिसौँ दिनमा जे भयो ठिक भएन ?   

हो हामी पनि भनिरहेका छौँ , जुम्लामा बिसौँ दिनमा जे भयो ठिक भएन । तर बेठिक निहत्था सत्याग्राहीले गरेका होइनन् । बेठिक निर्मम सरकारले गरेको हो ।

जुम्ला घटना ः एक बिर्सन लायक दिन

रामेश सर , डा.केसीलाइ हाइपोक्यालेमिया थियो । उपचारमा संलग्न मेडिसिन विभागका चिकित्सकहरु भनिरहेका थिए, इसिजि चेन्जेज केहि आएको छैन । यत्तिको बिरामी हामी यहिँ म्यानेज गर्न सक्छौँ । डा.केसी स्वयम आफू यहिँ बस्ने भनेर पटकपटक काठमाडौँमा सन्देश पठाइरहेका थिए । यस्तो परिस्थितिमा एकतर्फी रुपमा जबरजस्ती प्रहरी परिचालन गरी अनशन बसिरहेको मानिसलाइ अनशन शैयाबाटै उठाउनु अपहरण होइन ? अचानक रुपमा प्रहरी अस्पताल हातामा प्रवेश गर्छ । कसैले नचिताएको घटना घट्छ । जब विद्यार्थीहरुमा माथि अनपेक्षित रुपमा प्रहार हुन्छ के उनले आत्मासमर्पण गरेका होइनन र ? हिंसा रोक्नु सत्याग्राहीका गुण होइनन् ?

त्यहाँ स्थानीयको जुन साथ र समर्थन थियो नि सायद तपाय हामी भएका भए त्यस्तो अवस्थामा पनि ढिट भएर त्यहिँ बस्ने अडान लिन्थ्यौँ होला !

तपाइको गम्भिर आपत्ति नरेश भण्डारीलाइ किन प्रतिष्ठानमा छिर्न दिइएन भन्ने रहेछ । माफ गर्नुहोला सर ठूला कुरा गरेको होइन तर यो प्रश्न त केहि ज्यालादारी  टुइटेहरुले गर्ने प्रश्न भन्दा पनि कमजोर भयो ।

तपाइ त्यसदिन जुम्लामा हुनु भएको भए सुन्नुहुन्थ्यो ,डा.केसीलाइ लादैनौँ भनेर नरेश भण्डारी प्रतिष्ठानबाट फर्कदै गर्दा उनका भोटरले समर्थनमा कत्रो नारा लगाएका थिए । माने कि प्रतिष्ठान नरेश भण्डारीले नै ठडाएका हुन तर भेट्ने नियत भएको मानिस ः
१. २० दिनसम्म पर्खदैन
२. म आउँदैछु भनेर जानकारी गराउँछ
३. कमसेकम उनी आएको खबर डा.केसी कहाँ पुग्ने बेलासम्म पर्खन्छ
४. जिम्मेवार व्यतिmसँग छलफल गरी समन्वय गर्न आग्रह गर्छ नकि ढोकामा जम्मा भएका विद्यार्थीलाइ देखेर मुर्मुृरिदै फर्कन्छ ।

मुख्य प्रश्न ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कसरी एमबिबिएसको अध्यापन हुन्छ ?  

मैले कन्टेन्टलाइ इमोसनल बनाएर बहसबाट टाढिन खोजेको होइन । बस ‘सामजिक न्याय’को सिदान्त कहिँ कसैले बिर्सिएको भए , त्यसलाइ स्थापित गर्नका लागि मात्रै केहि उदाहरणहरु पस्कदै छु ।

हाम्रो जुम्ला बसाइका दौरान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एच.ए÷नर्सिङको फारम खुलेको थियो । दैलेखबाट एकजना भाइ १२ किलो घिउ बोकेर आए । प्रतिकिलो २०० का दरले नाफा राखी घिउ विक्रि गरे । त्यहि पैसाले एच.एको फारम भरे ।

कालिकोटमा एकजना बहिनी थालमा आँप लिएर बिक्रि गर्न आइन । पैसा के गर्छौ भनेर सोधेको , भोलिपर्सि नर्सिङ पढ्ने हुम भन्छिन । मेरो त मथिङ्गल हल्लियो सर ! जुन सपना सुविधा सम्पन्न शहरमा बसेर मेरा दिदि बहिनीले देखेका छैनन् त्यो सपना प्रतिष्ठानका कारण मुगु, दैलेख , कालिकोटमा देख्न थालिसकिएको छ ।

के त्यस भेगका जनतालाइ न्याय गर्नु सरकारको दायित्व होइन ? “सामाजिक न्याय”का सवालमा पनि नाफा–घाटा र इकोनोमिक्सका सिदान्त लगाएर हुन्छ र सर ?

कर्णाली क्षेत्र र वरपरका नौ जिल्ला (जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम, बझांग, बाजुरा, जाजरकोट) लाई प्राथमिकतामा राखेर स्थापित यो संस्था अब नव निर्मित कर्णाली प्रदेश (थप जिल्लाहरुः दैलेख, सुर्खेत, सल्यान र पश्चिम रुकुम)को एउटै प्रतिष्ठान स्तरको चिकित्सा शिक्षण संस्थाका रुपमा रहेको छ । हालै प्रतिष्ठानअन्तर्गतको अस्पतालको ३०० बेडसहितको आधुनिक भवन सञ्चालनमा आएको छ ।

अब यति भइसकेपछि, मेडिकल कलेज संचालनमा चाहिने तीन प्र्रमुख आधार स्तम्भ “थ्रि एफ (फ्रेल, फ्यासिलिटि र फ्याकल्टि )” हुन ।

फ्रेल अर्थात बिरामी । सुर्खेतसँग समन्वय गरे एनएमसिले तोके बमोजिमको बिरामी संख्या अहिले नै प्रतिष्ठानले पुर्याउन सक्छ । फेरि यो सुझाव त सरहरुले नै दिइसक्नु भएको रहेछ । अझ प्रतिष्ठानको कार्यक्षेत्रमा रहेका सबै जिल्लाहरुका संख्या पनि जोडिदिने हो भने त विद्यार्थी–बिरामीको अनुपात प्रशस्तै हुन्छ । यसका अलावा निकट भविष्यमा डोल्पाबाट जुम्लासम्म बाटो खुल्नेछ , आसपासका जिल्लाहरु सम्म नियमित बस सेवा संचालन हुनेछ । तब मेडिकल कलेजका लागि चाहिने एउटा प्रमुख क्राइटेरिया पूरा हुनेछ ।

फ्यासिलिटि अर्थात स्वास्थ्य सुविधा । सर , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेमिआर्थोप्लास्टी अनि स्पाइनका जटिल सर्जरी पनि हुन्छन भन्दा विश्वास नलाग्ला । धेरै भो डोल्पाबाट हेलिकोप्टर लिफ्ट गरेका सुत्केरीलाइ नेपालगंज नलगी जुम्ला मै अपरेशन गर्न थालिएको । राइट आट्रियममा टाँका लगाइएको प्रसङ्ग त माथि नै उल्लेख गरिसकेँ । यति हुदा हुदै पनि एमबिबिएस पढाउन अझ धेरै ‘इकुपमेन्ट’ र सरसुविधाहरु चाहिन्छन् । यसका लागि सरकारले नाफा–घाटा हेरेर लगानी गर्न कन्जुस्याइ गर्नु हँुदैन । स्वास्थ्य शिक्षामा गर्ने लगानी जनताका लागी हुनपर्छ ।

अब आयो सबैभन्दा महत्वपूर्ण कुरा अर्थात फ्याकल्टि ।

रामेश सर , तपाइले भन्नुभए जस्तै जुम्लाबाट बेलुका चढेर बिहान काठमाडौ आइपुग्ने न त रेल छ न त सबैजना डा.केसी जस्तै जोगी बन्न सक्छन् । तर पनि सर जुम्लामा विशेषज्ञ डाक्टर पुर्याउन सकिन्छ ।

केहि समय अघि अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा कार्यरत एकजना नेपाली चिकित्सकले आफ्नो फेसबुक वालमा लेख्नुभयो , जुम्लामा मेडिकल कलेज खुलोस आएर भोलुन्टियर गर्न म तयार छु ।” उनी आउलान र एकजना फ्याकल्टि पुर्याउँला भन्ने अपेक्षाका कारण मैले यो लाइन राखेको होइन । उनी त अहिले हुर्कदै गरेको एउटा मनोभावका प्रतिनिधि पात्र हुन ।

धेरै युवा चिकित्सकहरु अहिले देशमै केहि गर्न चहान्छन् । सबैजनाको चिल्ला गाढि चढौँला , आलिसान महलमा बसौँला भन्ने सपना हुदैन । आधारभूत सर–सुविधा र तलब दिए सयौँको संख्यामा अहिले नै युवा जमात जुम्ला जान तयार छन् । सरासर हवाइजहाजमा जाँदा बिहान हिँडे दिउँसो पुगिन्छ । खर्च हुने खास धेरै ठाउँहरु छैनन् । त्यस भेगका जनताले गर्ने आदर र सम्मान पाउँदा शहर बजार तिर हराउँदै गएको पेशाको प्रतिष्ठा फिर्ता मिलेको महशुस हुन्छ । काठमाडौँका दश ठाउँमा डुलेर एउटा कन्सलटेन्टले जति कमाउँछ त्यति रकम प्रतिष्ठानले अहिले नै दिन थालिसकेको छ । मेडिकल अफिसरको तलब जुम्लामा ८४,००० छ भन्दा ग्राण्डीमा काम गर्ने एकजना चिकित्सक अक्क न बक्क परे ।

मलाइ यत्ति कुरा बुझाइदिनोस कि मानिस पैसाका लागि देश छाडेर विदेश जान तयार छ भने उचित पारिश्रमिक पाए केहि घण्टाको हवाइजहाज दुरिमा रहेको आफ्नै देशको जुम्ला जान कि तयार हुदैन ?

फेरि यहाँले नै सुझाउनु भएजस्तै सबै प्रतिष्ठानहरुलाइ एउटै छाता मुनि ल्याइयो भने रोटेसन गरेर बिर र धरानका विशेषज्ञ चिकित्सकहरु लाइ पनि जुम्ला पुर्याउन सकिन्छ । अरु त अरु एकपटक जुम्लाले फुल फेजमा मेडिकल कलेज संचालन गरोस , जीवनको उत्तराद्र्धमा त्यस्तो विशिष्ट हावापानीमा गएर कर्णालीको सेवा गर्न प्रतिष्ठानसँग आबद्ध नभएका शहर बजारका भरपर्दा प्रोफेसरहरु पनि तयार हुनेछन् ।

बस सरकारले इच्छाशतिm देखाउन पर्यो , सरले उठाउनु भएजस्तो प्राविधिक कठिनाइहरु त्यति ठूला हुन जस्तो मलाइ लाग्दैन । उदाहरणका लागि सबै प्रतिष्ठानहरुका विद्यार्थीहरुलाइ एउटै ठाउँमा बेसिक साइन्स पढाउने अनि तेस्रो वर्षदेखि बल्ल सम्बन्धित अस्पतालमा पठाउने । उपाय अरु पनि हुन सक्छन् । बहस गरौँ , मन्थन गरौँ ।

प्रश्न भन्दा उत्तर लामो होला भन्ने चिन्ताले “दोबाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः चुनौती र अगाडिको बाटा” शिर्षकमा करिब २००० शब्दको शोध छुट्टै संलग्न गरेको छु  ( नारायण कँडेलको सहयोगमा  ) ।

सर, तपाइ जुम्लामा पाँच वर्षसम्म पनि एमबिबिएस संचालन हुन सक्दैन भनेर लजिक तेर्साइरहनु भएको छ । यता डा.केसी अबको पाँच–सात वर्षमा कर्णालीका केटा केटिहरु डाक्टर बनेका सपना देखिरहनु भएको छ । तपाइको लजिक नपत्याउने पर्ने त्याति प्रशस्त कारण छैन । अझ डा.केसीको सपना माथि झन कसरी अविश्वास गरौँ । खै !


( गोविन्द केसीलाइ प्रश्न आलेखको अर्को महत्वपूर्ण पाटो , छात्रवृत्ति र अनिवार्य करार बारे छुटै बहस हुन जरुरी छ  )

     

Saturday, July 21, 2018

एक बिर्सन लायक दिन, जुम्ला घटना

साउन ३, बिहिवार बिहान ६ बजे

सदाझै आज पनि जुम्लामा हलुका पानी छिट्याइरहेको छ । डाँफे लेक भन्दा माथी बिस्तारै बादल फाट्दै छ । बिहानीमा चरा चुरुङ्गीहरु चिर्बिराउदै छन् । आज तीन दिन , तीन रात भयो जुम्लाबाट डा.केसीलाइ जबरजस्ती उडाउन हेलिकप्टर आउँदैछ भन्ने हल्ला चल्न थालेको । त्यही भएर पनि आज राती हामी ढोका लक गरेर  सुतेका थियौँ । नारायण र म बडो चनाखो भएर सुत्थ्यौँ, कतै राती नै पो लैजाने होकी । दिउँसो त त्यहाँ पढ्ने विद्यार्थीहरु र भेट्न आउने शुभचिन्तकहरु भइहाल्थे , हलुका डर रातकै रहन्थ्यो ।

करिब साढे ६ बजेतिर काठमाडौबाट फोन आयो; गएराति नेकपाको आकस्मिक बैठक बसेको थियो रे जसमा डा.केसीलाइ जसरी हुन्छ काठमाडौ ल्याउने निर्णय भएको छ रे , तयारी अवस्थामा बस्नु ! खासै विश्वास लागेन किनभने दुई दिन अघि पनि यस्तै फोन काठमाडौबाट आएको थियो अनि हामी हतास हुँदै अस्पतालमा सयौँको संख्यामा जम्मा भएका थियौँ ।

डा.केसीको 'इन्स्टिन्क्ट' भने साह्रै गजबको छ । फोनमा भएको कुरा सुनाउनासाथ हामीलाइ   भन्नुभयो , "आज मलाइ लिन हेलिकप्टर पक्का आउँछ तर म जान्न , म यहिँ बसेर लड्ने हो ।"

बिहान ७ बजे

हामीले सरको अडियो बनायौँ । बोल्दा उत्तेजित भएर मुटुको धड्कन  बढ्ने भएकाले हामीसँग पनि उहाँ खासै बोल्नु भएको थिएन । जसो तसो  अडियो त बन्यो तर जुम्लामा इन्टरनेट कहाँ त्यति सजिलै टिप्थ्यो र ! त्यति अडियो पठाउन माथी डाँडासम्म उक्लिन पर्यो ।

अडियो सम्बोधनमा डा.केसीले प्रष्टसँग आफ्नो कुरा बताउनु भएको थियो, आफू बिरामी नभइ अनशनमा रहेको र मर्नुपरे पनि चन्दननाथ बाबाको काखमा,  तिला नदिको किनारमै मर्ने इच्छा व्यक्त गर्नु भएको थियो ।

अडियो काठमाडौसम्म त पुग्यो तर सत्ताको उन्मादले भरिएको सत्ताधारीका कानसम्म सायद पुग्न सकेन !

बिहान ८ बजे

चिया खान म , नारायण र किशोर बाहिर निस्किएका थियौं । खलंगा बजारमा आज हेलिकप्टर आउने कुरो त खरमा सल्किएको आगो जसरी सल्किसकेको रहेछ ।

चिया पसलमा स्थानीय काने खुशी गर्दै थिए, जुम्ला आउन लागेको हेलिकप्टर त औँसीको रातमा पनि उड्न सक्छ रे । कोही भन्दै थिए, प्लेन जत्रो हेलिकप्टर हुन्छ रे । हामी तिनै जना मुस्कुरायौँ । चिया पिउँदै हेलिकप्टर शिर्षकमा कविता पनि लेखियो ।

फर्किएर अस्पताल आउँदा स्थिती अर्कै बनिसकेको थियो । अरु दिनभन्दा अस्पतालमा मानिसहरुको चहलपहल ज्यादा नै थियो । पछि थाह भयो ती त बिना बर्दिका प्रहरी रहेछन् । बिरामीका आफन्त बनेर सिभिल ड्रेसका प्रहरीहरु अस्पताल भित्र पसिसकेका थिए । माथि टप फ्लोरदेखि तल ग्राउन्ड फ्लोरसम्म प्रहरीहरु तैनाथ थिए ।

बिहान ९ बजे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत एच.ए, ल्याब टेक्निसियन, एनेस्थेसिया, नर्सिङका विद्यार्थीहरुको कानसम्म पनि हेलिकप्टर आउने कुरा पुगिसकेको रहेछ । त्यस दिन सबैजना स्वतस्फुर्त रुपमा कक्षा कोठामा नगइ, अनशन स्थल तर्फ आए । सबैजना करिडोरमा जम्मा भएर बस्यौँ ।

डा.केसी अनशन बसेको स्थल अस्पतालको तेस्रो तल्लामा थियो र अनशन स्थलसम्म आइपुग्ने प्रमुख तीन बाटाहरु थिए । पुर्वतिर नर्सिङका विद्यार्थी थिए, पश्चिम तर्फ एच.ए का । तल मेन गेटमा चाहिँ नर्सिङका स्टाफहरु बस्नु भएको थियो ।

विद्यार्थीहरुले गेटमा चाबी लगाए । गेटमा टँसाएर डेस्क बेन्च राखे र आफू त्यसभन्दा पछाडी बसेर सबै नाकाहरु सम्पुर्ण रुपमा सिलबन्दी गरिदिए ।

सबैजना विश्वस्त थियौं, प्रहरीले अस्पताल भित्र पसेर कुनै पनि हालतमा बल प्रयोग गर्दैन । त्यसैले यत्तिको सिल बनाइसकेपछि डा.केसीसम्म सरकार पुग्न सक्दैनथ्यो । तर आजका दिनमा फर्किएर हेर्दा यस्तो लाग्छ कि सरकार हामीले अपनाउन सक्ने सम्पुर्ण सावधानीका बारे जानकार थियो र त्यसलाई काट्ने मास्टरप्लान राती नै नेकपाको आकस्मिक बैठकमा बनिसकेको थियो ।

बिहान १० बजे

अन्तत खलंगाको आकाशमा हेलिकप्टर देखा पर्यो । अनि  हेलिकप्टरको आवाज सुनेसँगै सारा खलंगा बजार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्यो । जुम्ली आमाहरु जम्मा हुनथाले । भण्डारी गाउँ तल प्रतिष्ठान तर्फ ओर्लियो । गैरागाउँका दिदी बहिनिहरु मास्तिर उक्लिए । हेर्दाहेर्दै  केही क्षणमै मानव सागर अस्पताल वरपर जम्मा भयो ।

बाहिर स्थानीयको अवरोध , भित्र विद्यार्थी , चिकित्सक र नर्सहरुको । यस्तो अवस्थामा डा.केसीलाइ जुम्लाबाट लैजान कुनै पनि हालतमा सम्भव नै थिएन ।

करिब साँढे दश तिर कर्णाली प्रदेशका मुख्य मन्त्री, गृह मन्त्री र नेपाल सरकारका सचिव अनशन स्थलमा आइपुगे ।

बिहान ११ बजे

डा.केसीको एउटै अडान थियो । सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म म वार्ता गर्दिन । डा.केसीकै भावना अनुरुप हामीले सरकारका प्रतिनिधिहरुलाइ भित्र नजान आग्रह गर्यौँ । 

सुरुमा त जसरी पनि डा.केसीलाइ भेट्ने उहाँहरुको योजना थियो । तर वरपरको त्यत्रो मानवसागर र उनीहरुले डा.केसीको समर्थनमा लगाइरहेको नारा सुनिसकेपश्चात उहाँहरुको मुड फेरियो ।

सरकारका प्रतिनिधि व्याक भए । पहिलो घेरामा बसेका प्रहरीहरु पनि एकहद सम्म व्याक भए । स्थानीयले भिडन्त निम्तन नदिएकोमा आफ्ना मुख्य मन्त्री र गृहमन्त्रीका पक्षमा नाराबाजी पनि गरे । हात हल्लाएर आफ्ना जनप्रतिनिधिको स्वागत गरे ।

तर मुस्कुराउँदै निस्किएका जनप्रतिनिधि भित्रको क्रोध सायद जुम्ली जनताले पढ्न सकेनन । त्यसपछिको चार घण्टामा जेजे भयो ती सबै घटना जुम्ला र सारा कर्णाली कै इतिहासमा एउटा कालो धब्बाका रुपमा सदा रहनेछ ।

त्यसपछि जे भयो  .....

सरकारका प्रतिनिधिहरु फर्किएसँगै, माथिको आदेश भन्दै स्थानीयको पहिलो घेरा टोडेर प्रहरी अस्पताल हातामा प्रवेश गर्यो ।

इमेर्जेन्सीकै बाहिर सबैभन्दा अघि ६-७ जना सिस्टरहरु हुनुहुन्थ्यो । प्रहरीको सबैभन्दा पहिले कुटाइ खानेमा उहाँहरु नै पर्नुभयो । हात खोलेर उहाँहरु माथी लाठी बजारियो । कसैको टाउकोमा लाग्यो, कसैको खुट्टामा , कसैलाइ कपालमा समातेर पछारियो कोही यसै भुइमा लडेर मुर्छा पर्नुभयो । ढोका छेउमै रहनु भएका एक चिकित्सक माथी दुई प्रहरी खनिए । उहाँको टाउको, ढाड र खुट्टामा चोट लागेको छ

त्यसपछी प्रहरीहरु सम्पुर्ण रुपमा अस्पताल भित्र प्रवेश गरे । बर्दी धारी प्रहरीहरु त्यसरी अस्पतालमा प्रवेश गरेर स्वास्थ्यकर्मीलाइ नै कुटपिट गरेको सायद यो नै पहिलो घटना थियो होला ।

आफ्ना साथीहरुले कुटाइ खान थालिसकेपछी विद्यार्थीहरु  थप आक्रोशित भए । नाराबाजी गर्दै , कुर्सी र बेन्चहरु प्रहरी तर्फ प्रहार गर्न लागे ।
पश्चिम तर्फको गेट र सिलबन्दी तोड्न प्रहरीहरु सफल भए । छात्र-छात्रा केहि नभनिकन निर्ममतापुर्वक लाठी प्रहार भयो ।

विद्यार्थीहरुले बेन्च र कुर्सीले प्रतिकार गर्न थाले । यसैबिच प्रहरीले टियर ग्यासको प्रयोग गर्यो । वार्डमा रहेका बिरामी र कुरुवाहरुको भागाभाग भयो । टियर ग्यासको धुवाले अस्पतालमा रहेको फायर अर्लाम बज्न थाल्यो ।

एक समय यस्तो थियो कि अस्पताल भरी प्रहरी , टियर ग्यासका धुवाँ , ड्याङ र डुङ आवाज , फायर अर्लामको साइरन र चिच्याइरहेका विद्यार्थी । सायद रणभुमिमा यस्तै हुन्छ होला ।

विद्यार्थीहरु धमाधम घाइते भइरहेका थिए । कोही सिधै प्रहरीको पिटाइ खाएर , कोही अश्रुग्यासको प्रभावले त कोही त्यहाँको माहोलले  धमाधम बेहोस भइरहेका थिए । एक समय त यस्तो आयो कि , बेहोस भएको एउटा विद्यार्थीलाई एकजनाले टाउको र अर्काले खुट्टा तर्फ बोकी रहेका थियौँ , तब खुट्टा तर्फ बोक्ने आफै बेहोस भए । जब बल्लतल्ल घिस्स्याएर दुवैलाइ इमेर्जेन्सिमा पुर्याइयो, इमेर्जेन्सी पुरै प्याक ।

डा.केसीको आन्दोलन मै सरिक भइरहदा, लोकमानले खटाएका प्रहरीको लौरी पनि खाइयो , बालुवाटरमा लखेटिएर पिटाइ पनि खाइयो, बानेश्वरमा प्रहरीसँग हातापाइ पनि भयो तर यत्तिको ज्याजती आजसम्म देखेको थिएन ।

करिब १२ बजे

प्रहरीहरुको जोस र आक्रोश देख्दा त्यसदिन अनशन मै रहनुभएका डा.केसी माथी पनि हातपात हुने सम्भावना देखियो । त्यसैले हामी केही साथिहरु डा.केसीको आडमै गयौँ । उहाँ रहनु भएको वार्डको ढोका भित्रबाट ढ्याप्प लगायौँ । साँचो लगाउने ठाउँमा तार बाध्यौँ अनि सम्पुर्ण झ्यालका चुकुल पनि लगायौँ ।

बाहिर विद्यार्थी र प्रहरी बिच भएको झडपका कारण डा.केसी सम्मै चर्का चर्का आवाजहरु आइरहेकै थिए । उहाँ मौन हुनुन्थ्यो तर उहाँको मनको भाव मनिटरमा दुरुस्तै देख्न सकिन्थ्यो , अत्याधिक बढेको मुटुको गतिले ।

केही क्षणमा बाहिर के भइरहेको छ, हामीले सब बतायौँ । त्यसपछाडी हो उहाँ भावुक हुन लाग्नु भयो । विद्यार्थी र प्रहरी घाइते भएको कुराले उहाँलाइ विक्षिप्त बनायो । एकछिन त बेकार भनिएछ जस्तो लाग्यो तर लुकाएर पो कसरी लुक्थ्यो र ! अस्पताल धुँवा-धुँवा भइसकेको थियो, अप्रिय  आवाजहरु निरन्तर आइरहेका थिए ।

डा.केसीले रुदै यो सब रोक्न भन्नु भयो । आफू काठमाडौ जान तयार भएको कुरा पनि बताउनुभयो । तर भन्ने कसलाइ । हुँदै गरेको नरसंहार रोक्ने कसरी ?

सिडियो समक्ष डा.केसीको सन्देश पुर्याइयो । काठमाडौमा फोन गरेर शिक्षा मन्त्री समेतलाइ आग्रह गरियो । तर धेरै समयसम्म पनि कसैको केही चलेन ।

जस्तो किसिमको वातावरण बाहिर थियो, जस्ता आवाजहरु कोठा भित्र हाम्रा कानसम्म आइरहेका थिए , हामीले सोच्यौँ आज यहाँ ठुलै जनधनको क्षति भइसकेको छ । भाग्यवश कसैको ज्यान गएन !

दिनको २ बजे

डा.केसी काठमाडौ जान राजी भइसकेपछी २ बजेसम्ममा सम्पुर्ण  प्रहरीहरु अस्पताल बाहिर गइसकेका थिए । प्रहरीहरू तर्फ पनि केही साथिइहरु घाइते हुनुभयो । एस.पिको हातमा चोट लागेको थियो, एक जवान छातिमा गम्भीर चोट लाग्यो भनेर इमेर्जेन्सिमै पुग्नुभयो ।

जति नै कुटाइ खाएपनी चिकित्सकहरुले आफ्नो धर्म भने छाडेनन् । त्यसैदिन मलाइ आफ्नो पेशाप्रति झन प्रघाढ माया बस्यो । आफ्नै टाउकोमा टाँका लगाएका चिकित्सकले घाइते प्रहरीको छातीमा टाँका लगाए । निर्घात कुटाइ खानु भएको सिस्टरले आफ्नै ब्लड दिएर प्रहरीको ज्यान बचाउनु भयो । आफैलै लाठी चार्ज भनेर आदेश दिएका एसपि साबलाई "डाइक्लोफिन्याक"को सुइ लगाउन तिनै चिकित्सकले भ्याए ।

डा.केसीले काठमाडौ जान्छु भनेसँगै भित्र त स्थिति सामान्य बन्दै थियो तर बाहिर भने जुम्ला वासीहरु झनझन आक्रोशित बनिरहेका थिए । उनीहरुले अब भन्न थालेका थिए , हामीले प्रहरीको यत्ती कुटाइ खायौँ अब कुनै पनि हालतमा डा.केसीलाइ यहाँबाट जान दिदैनौ । उहाँको माग हामी जुम्लाबाटै पूरा गराउनेछौँ ।

यसै बिच डा.केसीले अडान लिनुभयो , म काठमाडौ त जान्छु तर सरकारले ल्याएको हेलिकप्टरबाट होइन आफ्नै तरिकाले भोलि स्थिती सामान्य भएपछि मात्रै  । बाहिर जम्मा भएका मानिस डा.केसीको यस प्रस्तावले कन्भिस्ड देखिन्थे ।

तर सरकार डा.केसीका कुनै पनि कुरा सुन्न तयार थिएन । सरकारका सबै निकायहरु नेकपाको अघिल्लो रात बसेको आक्स्मिक बैठकमा भएको निर्णयको शिरोधार्य गर्न तत्पर थिए । अर्थात जसरी हुन्छ त्यसदिन डा.केसीलाइ काठमाडौ उडाउनु थियो ।

त्यसपछी प्रशासनले नयाँ जुक्ति निकाल्यो । डिएसपिले एउटा माइकिङ गरे," हाम्रो एकजना साथी डाउन भइसकेका छन, हामी चुप बस्न हुदैन ।" प्रहरीहरु यो सुन्नासाथ आक्रोशित भए । तिनै डिएसपिले यता डा.केसीको कमजोरी माथी खेल्ने काम गरे ।

प्रशासनले राम्रोसँग बुझेको थियो, अस्पतालका विद्यार्थी वा स्थानीयलाई प्रहार गर्न सकियो भने डा.केसी गल्नेछ्न । त्यसैले डिएसपिले दस मिनेटको अल्टिमेटम दिए । "डा.साब तपाईं दस मिनेट भित्र जान तयार हुनु भएन भने हामी जम्मा भएका भिडमाथी फायर ओपन गर्नेछौँ ।"

यो भन्दा ज्यादा डा.केसीले सहन सकेनन् । अन्तत रुदै रुदै काठमाडौ जान राजी भए । पत्रकार सम्मेलन गर्दै जम्मा भएका स्थानीयलाइ उनले सम्झाए ," तपाइहरुले प्रहरीसँग लडेर मलाइ यहाँबाट जान त रोक्नु होला तर के को 'एक्स्पेन्समा' ? कति जनाको ज्यानको ज्यानको बलिदानिमा ? म कदापी चहान्न कि मेरो आन्दोलन हिंसात्मक होस ।"

दिनको ३ बजे

जति नै हिम्मतिला भएतापनी जुम्लीको मन भने सार्है कमलो रहेछ । डा.केसीलाइ विदाइ गर्ने बेला सबैको गहभरी आँसु थियो । केहिले त तुरुन्तै सयपत्रीको माला पनि गाँस्न भ्याए । अन्तमा कसैले पनि डा.केसीको माग पूरा गर भनेनन् । यतिका दिन सँगै बसिसकेपछी सत्याग्रहको चुरो कुरो सबैले बुझिसकेका थिए ।

त्यसैले त अस्पतालदेखि एरपोर्टसम्म डा.केसीलाइ विदाइ गर्न जाँदा सबैले एउटै नारा लगाइरहे ," हाम्रो माग पूरा गर , पूरा गर ।" !

***

आज घटना घटेको तीन दिन बितिसक्दा पनि जुम्ला विक्षिप्त छ । चिकित्सकहरु प्रशासनले अस्पताल हाता भित्र छिरेर गरेको ज्याजतीको माफी नमागेसम्म काममा नफर्किने बताइरहेका छन् । विद्यार्थीहरु अझै कति बेहोस नै छन् , कति घटना सम्झदै तर्सिरहेका छ्न । नर्सिङ महाविद्यालय लेखेको हलमा ताल्चा लागिरहेको छ । मुख्यमन्त्री घटना सुनियोजित भएको ठान्दछ्न , सबलाइ कार्वाही गर्ने धम्की दिइरहेका छन् ।
अन्तमा यस्तो भयो कि , कुटाइ खाने पनि नर्स र चिकित्सक अनि कार्वाहीको धम्की पाउने पनि बिचरा तिनै नर्स र चिकित्सक !