Search This Blog

Tuesday, November 29, 2016

माग अनेक तर सपना एक


एउटी बुढी आमालाइ जिवनमा धेरै थोक चाहिएको थियो। तर उनले यस्तो वरदान पाइन जसअनुरुप उनले एकथोक भन्दा बढ्ता माग्न पाउँदिन थिइन। त्यसैले बढो चलाखीपुर्ण रुपमा उनले यसो भनिन - " चारतल्ले घरको कौसीमा बसेर वरिपरि धान खाने खेत हेर्दै नातीलाइ सुनको थालमा बुहारीले खाना खुवाको हामी बुढा-बुढिले हाँस्दै हेर्न पाउँ"।माग जम्मा एउटै थियो तर उनले यसरी मागिन कि त्यसभित्र सम्पत्ति थियो, घर-जग्गा थियो, सन्तान थिए अनि खुसी थियो।
डा.गोविन्द केसीले स्वास्थ्य र चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रह प्रारम्भ गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो। यसबिच उनी १०० दिनभन्दा बढि बडो कष्टपुर्ण निर्जल-निराहार अनशनमा बसिसकेका छन् । संयोगवश दशौँ सत्याग्रह थाल्दै गर्दा उनले मागेका कुराहरु पनि दशवटा नै छन् । अनि आजसम्म आउँदा सतहमा देखिने मुद्दाहरु पनि दशौँ किसिमका छन् ।कहिले लोकमान त कहिले मनमोहन मेडिकल कलेज , कहिले वरिष्ठ डिन त कहिले चिकित्सा शिक्षा ऎन। सबैले प्रश्न गर्छन् : के यस्तै झिनामसिना कुराका लागि डा.केसीले प्राणकै आहुती दिन लागेका हुन् ?
यो प्रस्नको उत्तर जान्नु नै साच्चै डा.केसीलाइ बुझ्नु हो, उनको सत्याग्रहलाइ बुझ्नु हो।
प्रसङ्ग करिब दुई वर्ष अघिको हो, वरिष्ठ पत्रकार बिजय कुमारले एक टेलिभिजन अन्तर्वार्तामा सोधेका थिए - गोविन्दजी तपाइका जिवनका तीन प्राथमिकताहरु के-के हुन। डा. केसीले जवाफ दिए- एक बिरामी, दुई विद्यार्थी । मेरो जिवनमा तेस्रो प्राथमिकता नै छैन । बिजय कुमार आफैँ अवाक भए।
यसअर्थ , डा. केसीका हरेक मागहरु विद्यार्थी र बिरामीलाइ बिचमा राखेर छलफल गरियो भने बुझ्न सजिलो हुन्छ।
काठमाडौलाई पुगिसको
गाउँ ठाउँमा पुग अब।
यो माग विशेषत बिरामीका लागि हो।चिकित्सक भएका ठाउँमा बिरामी जान्छन् यो सामान्य कुरा हो। तर बिरामी भएका ठाउँमा चिकित्सक पुग्छन् त्यो असामान्य कुरा हो। डा.गोविन्द केसी आफ्नै खर्चमा औषधि बोकेर कुना-काप्चाका बिरामी खोज्दै जान्छन् । झन्डै पच्चीस वर्ष भयो रे, यसरी बिरामी खोज्दै हिँड्न थालेको। यो क्रममा अनेकौं सरकार फेरिए, दुई-चार वटा त व्यव्स्थै फेरियो तर जुन जोगी आएपनि कानै चिरेका। न जाजरकोटमा कुनै अस्पताल बन्यो न हुम्ला जुम्लामा डाक्टर पुग्ने वातावरण नै । 
जाजरकोटमा त एकपटक आफुले सकिनसकी काठमाडौदेखि लगेको औषधि बिचमै सकिएछ। आधा बिरामी लाइनमै थिए रे। त्यसपछि उनलाइ लागेछ , अजुँलिमा बोकेर हिँडेको पानीले कतिजनाको प्यास मेट्ने?
अनि डा.केसीले नयाँ प्रयोग थाले गाविस गाविसमा पुगेर त्यहिँ उपलब्ध स्वास्थ्य कर्मिको सीप बिकास गर्ने। त्यसैले उनी आफ्नो हरेक तीन दिने क्याम्पमा दुई दिन बिरामी जाँच्छ्न र तेस्रो दिन कुन रोगसम्बन्धि बिरामी धेरै छन् त्यसैअनुरुप स्वास्थ्य कर्मिलाई ट्रेनिङ दिन्छन् । हाडजोर्नी सम्बन्धि तालिम त झन् छुटाउदै छुटाउदैनन।
यसो गर्दा सानोतिनो समस्या त गाउँ-ठाउँमै ठिक हुने भयो। तर गम्भीर प्रकृतिमा बिरामी? यस कुराले धेरैपटकसम्म डा.केसीको मथिङ्गल हल्लाइरह्यो। अन्त्यमा उनले निष्कर्ष निकाले काठमाडौ केन्द्रित चिकित्सकलाई गाउँ-ठाउँमा पुग्ने वातावरण बनाउनुपर्छ ।
उनको सपना छ : हेल्थ पोस्ट लेभलमा एम.बि.बि.एस , प्राथमिक स्वास्थ्य केन्द्रमा जि.पि (General Practioner) अनि जिल्ला जिल्लामा विशेषज्ञ चिकित्सक ।
डा.केसीको यो सपना पूरा भए सच्चा मानेमा स्वास्थ्य क्षेत्रको विकेन्द्रीकरण हुनेछ। आहा! घर छेउमै सुत्केरी सुविधा , अपरेसन गर्नुपरे अलि पर स्वास्थ्य केन्द्र अनि क्यान्सर नै भए पनि आफ्नै जिल्लामा उपचार।
एक प्रदेश
एक सरकारी मेडिकल कलेज
यो माग बिरामी र विद्यार्थि दुवैका लागि हो। अहिलेको स्थिति कतिसम्म नमिल्दो छ भने , काठमाडौमा बगरल्ती खुलेका प्राइभेट मेडिकल कलेजहरुमा बिरामी नै आउँदैनन् । कोहि फाट्टफुट्ट पुगिहाल्यो भने , सयौंका संख्यामा आएर विद्यार्थिले घेरीहाल्छ्न।
अब दुर्गम जिल्लाको एउटा दृश्य सम्झनुस जहाँ स्वास्थ्यकर्मी नै जाँदैनन् । कोहि फाट्टफुट्ट पुगिहाल्यो भने हजारौंको संख्यामा आएर बिरामीले घेरा हाल्छ्न।
यहाँनेर डा.केसीले मध्यमार्गी बाटो सुझाएका छन् , काठमाडौमा मेडिकल कलेज खोल्न रोक लगाउने अनि थप्न चहानेलाइ विभिन्न जिल्लामा पुर्याउने। मेडिकल कलेज सँगै कम्तीमा ३-४ सय शैयाको अस्पताल खुल्छ, विशेषज्ञ चिकित्सक हुन्छन् , औषधालय हुन्छ, ल्याब हुन्छ।"बिरामी खुशी , विद्यार्थि झनै खुशी "।
उनको सपना छ - एउटा दाङमा खुलोस जसले सल्यान, रोल्पा जस्ता ठाउँका जनतालाइ पनि सुविधा होस। अर्को धनगढीमा खुलोस ताकि कैलाली-कन्चनपुरका जनता उपचार गराउने नाममा सिमा पारी नठगिउन। पुर्वमा उदयपुरमा खुलोस जसले तराइका सिराहा, सप्तरीलाई मात्रै होइन पुर्वी पहाडका सोलुखुम्बु र ओखलढुंगाका जनता लाई पनि एकै ठाउँमा बाँध्नेछ।
के डा.केसीले यस्तो सपना देख्नु नाजायज हो?
सरकारको लगानी होस
चिकित्सा शिक्षा निशुल्क होस!!
झट्ट हेर्दा यो मुद्दा विद्यार्थि केन्द्रित देखिएपनि यसले कालन्तरमा फाइदा पुग्ने भनेको बिरामीलाई नै हो। लाखौं-लाख मोलमोलाइ गरि तयार पारिएका चिकित्सक के गाउँ-गाउँमा गएर सुविधा दिन तयार हुन्छन् ?
फेरि यति महङ्गो चिकित्सा शिक्षा कति प्रतिशत नेपालीले अफोर्ड गर्ने हैसियत राख्छन् ?
त्यसैले यसमा सरकारले लगानी गर्नुपर्छ।
डा केसीको सपना छ : सरकारले हरेक प्रदेशमा खोलेको मेडिकल कलेजहरुमा पुर्ण छात्रवृत्ति सिट होस। रुकुम, रोल्पा र जाजरकोट अनि सिराहा, सप्तरी र तिलाठीका छोराछोरीले पनि निशुल्क डाक्टर पढ्न पाउन।अनि तिनीहरू नै आफ्नो गाउँ-ठाउँमा गएर सुविधा प्रधान गरून्। पोस्ट ग्र्याजुएट पढाई निशुल्क होस अनि उत्पादन भएका विशेषज्ञ चिकित्सक जिल्ला जिल्लामा पुगुन।
दशौँ सत्याग्रह प्रारम्भ गर्दै गर्दा , मैले डा.केसीलाइ यसो भनेको थिएँ - सर कति धेरै माग भएछ है , फ्लेक्स पनि ठूलो छाप्नु पर्ने भयो।
यसो भन्दै गर्दा   , डा.केसी फिस्स हाँसे अनि उहि बुढी आमाको कथा सुनाउदै मलाइ सम्झाए। बाबु मैले मागेको के हो थाह छ -" हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज खुलोस। त्यसको सुविधासम्पन्न अस्पताल होस। त्यहाँ मेडिसिनको निशुल्क पढाइ होस अनि त्यहाँबाट उत्पादन भएका गुणस्तरीय चिकित्सक गाउँ-गाउँ गएर स्वास्थ्य सुविधा प्रधान गरुन, अरु केही छैन , बस यत्ती हो।"
आफुले देखेको सपना पूरा गर्न डा.केसी जस्तोसुकै मुल्य चुकाउन पनि तयार छन् । निशुल्क पढाउ भन्दै गर्दा , शिक्षा मन्त्री ७० लाखको कालोबजारीलाई प्रोत्साहन दिन्छन् । धनगढी र उदयपुरमा मेडिकल कलेज खोल भन्दै गर्दा, डिन काठमाडौका लाई सम्बन्धन दिन दौडधुप गर्छन् ।अरु त अरु प्रधानमन्त्री समेत सरकारीलाइ धरासायी बनाउँदै, निजि व्यवसायीलाई फाइदा हुने निर्णय गराउँछ्न।
"सर, बूढो शरीर कतिन्जेल को-कोसँग लडिरहनुहुन्छ"
"बाबु मैलै देखेको सपना पूरा गर्न म फटाह , दुष्टसँग मात्र होइन , आफ्नै परम मित्र र आफू स्यमसँग पनि निरन्तर लडिरहनेछु"।

Sunday, November 20, 2016

यस अर्थ वरिष्ठ नै हुन पर्छ IOM को डिन:

आठौं अनशनको आठौं या नवौँ दिन, सभामुख ओनसरी घर्तीसँग डा.गोविन्द केसीको वार्ताको एउटा अंश यस्तो थियो:
सर : तपाईं कुन क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुन्छ?
सभामुख : रोल्पा।
सर : तपाईं त बिरामी परे उपचार गर्न बिदेश जानुहोला। तर रोल्पाका जनता कहाँ जान्छन् ? 

के त्यहाँका जनतालाई गुणस्तरीय स्वास्थ्य सुविधा पाउने अधिकार छैन??

***
आज दशौँ अनशनको आठौं दिनमा आउँदा एउटा बहस चुलिदो छ। कहिले लोकमान भन्छन् , कहिले मनमोहन कलेजका कुरा , अहिले आएर फेरि वरिष्ठ डिन चाहियो रे ! के यसरी आफ्नो माग थप्दै / परिवर्तन गर्दै लैजानु जायज हो?
हो, अब सबैले बुझ्न पर्ने कुरा के छ भने - सतहमा माग लोकमान या डिन जे भएपनी; डा.केसीको अहिलेसम्मका हरेक सत्याग्रह ,माथि सभामुखलाई सोधेकै प्रश्नको सेरोफेरोमा घुमिरहेको छ। "तपाइ त उपचार गर्न विदेश जानुहोला तर तपाइको क्षेत्रका जनता नि?"
फेरि सबैको मनमा अर्को प्रस्न उब्जियो होला - दुर्गम क्षेत्रका जनताले पाउने स्वास्थ सुविधा र वरिष्ठ डिन नियुक्ति बिच के सम्बन्ध छ?
हो यो सम्बन्ध बुझ्नु नै डा.केसीलाइ बुझ्नु हो। उनको हरेक सत्याग्रहलाइ बुझ्नु हो।
***
तर्क गर्नेहरु गगन थापा र कुलमान घिसिङको उदाहरण तेर्साएर कार्यक्षमताको वकालत गरिरहेका छ्न। झन कोही-कोही त जापानमा ३१ वर्षे प्रोफेसरले युनिभर्सिटी हाँकिरहेको तर्क पनि प्रस्तुत गर्छन् । यो सब सुनिरहदा मलाइ बारम्बार एन्टन चेकभको एउटा भनाइ याद आउँछ - " दुई चार उदाहरण पेश गरेर कुनै विषयलाइ नै जेनरलाइज्ड गर्नु मुर्खता हो। हरेक वस्तुलाइ इन्डिभिजुयल्ली टृट गर्नुपर्छ।"
यस अर्थमा, के गगन थापाको मन्त्री पद र डिनको पदलाइ एउटै पोल्टामा राखेर दाँज्न मिल्छ??
अझ, के जापानमा जस्तै यहाँ हामीसँग पनि कार्यक्षमता र कार्यदक्षताको कुनै चित्तबुझ्दो परिभाषा छ?
छैन भने कृपा गरेर यो कार्यक्षमता बाला तर्क अघि नसारिदिनुहोला। अन्यथा यहि तर्कलाई आधार बनाइ आइ.वो.एम लाई राजनैतिक कार्यकर्ता भर्ती गर्ने थलो बनाउनेछ्न।
***
आइ.वो.एम मा डिन बन्ने व्यक्ती भनेको , त्यहिँ भित्र काम गर्ने चिकित्सक हो , जो बिशुद्द प्राज्ञिक व्यक्तित्व हुन्छ। अर्थात हिजोसम्म बिरामीको नाडी समातिरहेको वा अपरेसन थिएटर भित्र स्काल्पेल समातिरहेको व्यक्तिले भोलिबाट हठात प्रशासनिक दाइत्व निभाउन पर्ने हुन्छ। एकाध-दुइ लाई छाडेर मेडिसिनमा डिन बन्ने व्यक्तिसँग कुनै पुर्व प्रशासनिक अनुभव हुँदैन।
यस्तो अवस्थामा के हो त उसको कार्यक्षमता- कति बिरामीलाइ निको पार्यो वा उसको सर्जरीमा सक्सेस रेट कति छ? वा अहिलेको भिसी कार्यलयको बुझाइ जस्तै कुन राजनैतिक दलप्रती बफादार छ??
यस अर्थमा जबसम्म सरकारले आइ.वो.एम लाई कार्यक्षमताको उचित परिभाषा दिन सक्दैन र यहि कार्यक्षमताको नाममा पटकपटक चलखेल गरिरहन्छ, तबसम्म हाम्रो डिन वरिष्ठ नै हुनपर्छ। कमसेकम उसले आफ्नो जुनियरले भन्दा बढ्ता देखेको हुन्छ, ज्यादा भोगेको हुन्छ र सबैभन्दा महत्वोपुर्ण कसैको निगाहाले नभइ सिस्टमले नै डिन बनेको व्यक्ती उसको पोलिटिकल मास्टरप्रती नभइ आफ्नो संस्थाप्रती जिम्मेवार हुन्छ।
****
अब कुरा आउँछ, डा.केसीले सभामुखलाइ सोधेको प्रश्न को के भयो?
यस कुरालाई व्याख्या गर्न यसैपटकको उदाहरण हेरौँ। सबैभन्दा वरिष्ठ मानिएका डा.जगदीश अग्रवाललाई ठूलो हथकन्डा अपनाएर डिन हुन दिइएन र उनको साटोमा वरिष्ठता मिच्दै डा.केपी सिंहलाइ डिन नियुक्त गरियो। नियुक्तिसँगै उहाँले एक त जारीरहेको भर्ना प्रक्रिया व्यवस्थित गर्न र सरकारले तोकेको ३५ लाख शुल्क लागु गराउन तदारुकता देखाउनु भएको छैन अर्को उहाँ आफुलाइ नियुक्त गर्नेप्रती वफादार रहदै काठमाडौमा रहेको एक पुर्वाधार बिहिन मेडिकल कलेजलाइ सम्बन्धन दिने दाउमा हुनुहुन्छ। जब ,फेरि यहि काठमाडौमै मेडिकल कलेज खोलिन्छन अनि लाखौं-लाख पैसाको मोलमोलाइ गर्दै चिकित्सक उत्पादन गरिन्छ्न तबसम्म सभामुखका क्षेत्रका जनता सिटामोल पनि नपाएर मरि नै रहन्छन् ।
***

Saturday, November 19, 2016

अरे बाफ रे डा.साब तो जवान छि


****
झुस्स सेता दारी , चिल्लो तालु अनि मुसुक्क मुस्काउने हँसिलो मुहार। अनशनका बेला पत्र- पत्रीका र टेलिभिजनमा छाइरहने डा. गोविन्द केसीलाइ सायद कसैले सम्झन पर्दा यहि चित्र मानसपटलमा सुरुमै आउँछ। आज दशौँ अनशनको पाचौं दिन, हल्का दारी बढ्न थालेका छन् , सास फेर्न समस्या भएर अक्सिजन माक्स लगाइएको छ र मुटुको चाल निरन्तर मनिटर गर्न अनेकथरी तार झुन्डाइएको छ। समग्रमा भन्नुपर्दा उहाँ अब ठ्याक्क पत्रपत्रिकामा देखिने गोविन्द केसीको अवतारमा हुनुहुन्छ । तर अनशन बस्नु ठिक पुर्व उहाँको जीवनचर्या अति नै सामान्य हुन्छ। यतिसम्म सामान्य कि यति परिचित अनुहार तपाईंको अगाडिबाटै निस्कन्छ्न तर तपाइले उनी डा.केसी हुन भनेर लख पनि काट्न सक्नु हुन्न।
****
गोविन्द सर आफ्नो आठौं अनशनबाट बल्लतल्ल तङग्रदै हुनुहुन्थ्यो, अचानक सप्तरीमा भारतीय पक्षले बाधेको बाँधका कारण तिलाठी जलमग्न भएको घटना खरमा सल्केको आगो झैँ देश भरि नै फैलियो। सायद डा.केसी पनि लाइब्रेरीमा यहि समाचार पढ्दै हुनुहुन्थ्यो, जुरुक्क उठेर सरासर हिँड्नुभयो। यसपटक साथ लाग्नेमा हामी केही थान विद्यार्थी पनि भयौँ। सप्तरीका लागि चढेको नाइट बसमा एकजना वयस्कको गतिविधि हामीलाइ निकै संकास्पद लाग्यो। उनी अगाडिको सिटमा थिए तर घरीघरी हामी भएतिर पछाडी आउँथे र सरतिर पुलुक्क हेर्थे। नौबिसेमा गाडी रोकियो तर पनि उनको शंकालु हेराइ भने जारी नै थियो। रात छिप्पिदै जाँदा ती ब्यक्तिलाइ अचाक्लै भएछ क्यार, हेटौंडामा खाना खान ओर्लिदा उनी हामी नजिकै आए -
"हजुर डा.गोविन्द केसी हैन?"
सर : हाहा, भनेपछि तपाई पनि झुक्किनु भयो है! डा. केसी त अनशन बस्दा-बस्दा कति दुब्ला भएका होलान् । हेर्नुस म त कति मोटो घाटो छु"
ती व्यक्ति : अँ है साच्चै ,उनी त दुब्ला होलान् नि।
सर : यसमा तपाईंको केही गल्ती छैन, म उनी जस्तै देखिन्छु। धेरै मान्छे झुकिन्छ्न।
त्यसपछि यात्रा भरी नै ती व्यक्ति कहिलै हाम्रा तिर आएनन् सायद उनी विस्वस्त भए कि , अनशन बसिरहने डा.केसी त निकै दुब्ला छन् ।
****
राजबिराजमा ओर्लिदा, हामीसँग दुई फुल प्याकेट त्रिपाल अनि ३-४ कार्टुन औषधि थिए । सायद ती सामान बोकिदिने ठेलावाला दाइले सरलाइ काठमाडौंबाट आएका कुनै एनजिवो/आइएनजिवो का प्रतिनिधि ठानेछ्न क्यार (बाटोमा कुरा पनि त्यस्तै गर्दै थिए) हामीलाइ त्यहाँको तीन-तारे होटलमा पुर्याइदिए। सामान बिसाएर नुहाइ-धुवाइ गर्न थालियो। एकछिन पछि यसो विचार गर्छौ त सर नै हुनुहुन्न। हतार-हतार फोन घुमाएँ- सर कता निस्कनु भयो??
" बाबू म त अलि सस्तो होटल पाइन्छ कि भनेर खोज्न पो निस्किएँ। यहाँ बाढीपिडितलाई सेवा गर्न आएको , बरु जति पैसा बच्छ, सबै उनीहरुलाइ नै खर्च गरौँ"।
त्यसपछि तीन दिनको होटलको एक्स्ट्रा खर्च कटाएर हामीले वृद्ध-वृद्दालाई फलफूल अनि केटाकेटीलाई कापीकलम किनिदियौँ। खाना- खाजा पनि मितव्ययिता अपनाएर नै खाने निर्णय भयो।
अर्को बिहान, खाजा खान एउटा पसलमा छिरेका थियौँ। त्यहाँका साउझी एकटक लाएर हामीलाइ हेरेको हेरै गर्न थाले। हामी जेरी-पुरीले अघायौँ तर उनको जिज्ञासाको भोक अझै मेटिएको थिएन। पैसा तिर्नै लाग्दा उनले पैसा लिन मानेनन् तर एउटा प्रश्न गरे - हजुरलाई मैले देखेको हो तर कहाँ देखेको यादै भएन??
सर : टिभीमा हो?
साउझी : हो , टिभीमै हो। बल्ल याद आयो।
सर : अँ त नि , म धेरै टेलिसिरियलहरुमा खेलिरहन्छु सायद कुनैमा देख्नु भयो होला।"
साउझी टेलिसिरियलको नाम सम्झिन थाले। तर उनको दिमागमा नाम आउनु अगाडी नै हामी त्यहाँ पैसा राखिदिएर धेरै अगाडि बढिसकेका थियौँ।
***
राजबिराजबाट तिलाठी करिब १३ किलोमिटरको दुरिमा छ। चाँडै सामान बोकेर लैजान एउटा मोटरसाइकलको व्यवस्था गरियो। हामीले को-के खासै परिचय नखुलाइ जित दाइलाई यसो भनेका थियौँ -
" काठमाडौँबाट एकजना डाक्टर आउनुभएको छ उहाँ तिलाठी पुग्नु अगाडि नै औषधि लिएर त्यहाँ जानुपर्ने भयो, तपाईं बाइकमा लगिदिनुस न है!"
तर सरले हामीलाइ गाडीमा पठाएर आफूले नै अट्ने जति औषधि बोकेर जानुभयो। जित दाइ निकै रमाइला मानिस थिए, बाटोमा पनि सायद सरसँग ठट्टा गर्दै गए होलान् ।
हामी त्यहाँ पुग्दा , साउनको मधेसको घाममा सर असिनपसिन भएर बिरामी जाच्दै हुनुहुन्थ्यो। कसैलाई औषधि दिनुहुन्थ्यो, कसैलाइ सुइ लगाइदिनुहुन्थ्यो, कसैलाई फिजियोथेरापी सिकाइदिनुहुन्थ्यो। खाजा पनि खान नपर्ने, शौचालय पनि जान नपर्ने , बिचबिचमा यसो एक-दुइ घुट्की पानी खायो अनि बस बिरामी जाँचिरह्यो। यो क्रम साझँ हुनेबेलासम्म चलिरह्यो।
साँझतिर तिनै जित दाइ हस्याङफस्याङ गर्दै आइपुगे। डा.गोविन्द केसी तिलाठी पुगेको खबर पुरै राजबिराज भरी फैलिसकेको रहेछ।जब उनी सरले बिरामी जाँचिरहेको कोठामा पुगे, बल्ल उनको होस खुलेछ। बिहान आफुले बाइकमा ल्याएको व्यक्ति त सामान बोक्ने मानिस होइन रहेछन् बिरामी जाच्न आएका डाक्टर नै रहेछन् । त्यो पनि राजबिराजमा चर्चा गरिएको डा.गोविन्द केसी।
सायद उनको दिमागमा तिनै पत्रपत्रिकामा देखिने , झुस्स दारी भएको, अनि निकै गलेर सुतिरहेका अनशनकारी डा.गोविन्द केसी थिए होलान् । त्यसैले त उनको मुखबाट हठात फुस्कियो -
"अरे बाफ रे, डा.साब तो जवान छि!!"

**