सपना त्यति भयानक त थिएन तर रहस्यमय भने अवस्य थियोः
‘डोराका बुबा अत्तालिँदै कोठाभित्र प्रवेश गर्छन् अनि मस्त निदाइरहेकी डोरालाई झक्झक्याउँछन्। जब डोरा आफ्नो सपनाभित्रको सपनाबाट बिउँझन्छे तब उसको घरमा आगो लागिरहेको हुन्छ।
चारैतिरबाट उसको नाकमा धुवाँको गन्ध आइरहेको छ। ऊ झटपट लुगा लगाउँछे अनि भाग्नका लागि तम्तयार हुन्छे। तब अचानक उसकी आमाले आफ्नो ‘गहनाको बक्सा’ सम्झिन्छिन् र डोराका पितालाई त्यो ल्याइदिन अनुरोध गर्छिन्। यस्तो अवस्थामा पनि आफ्नी श्रीमतीको गहना मोह देखेर अचम्मित अनि क्रोधित भएर भन्छन्, ‘जाबो गहनाका लागि म मेरो परिवारको जीवन सङ्कटमा पार्न सक्दिन।’ जसै उसका स–परिवार घरबाहिर आइपुग्छन् डोराको सपना पनि भङ्ग हुन्छ।’
***
सिग्मन्ड फ्रायडका लागि डोराको यो केस झन्झन् जटिल बनिरहेको थियो। करिब एक साताअघि ती १८ वर्षकी युवतिलाई उनका पिताले फ्रायडको क्लिनिकमा ल्याएका थिए। हो, फ्रायडसामु आइपुग्दा सम्म डोराको अवस्था अत्यन्त जटिल बनिसकेको थियो। अचानक उसले आवाज गुमाएकी थिई। उसलाई सास फेर्न अफ्ठ्यारो भइरहेको थियो। बेस्सरी टाउको दुखेको कुरा इसाराले बताउँथी र उसका हाउभाउ हेर्दा ऊ निकै आत्तिएकी जस्तो भान हुन्थ्यो।
लक्ष्यण देख्नासाथ, डोरालाई ‘हिस्टेरिया’ नामक समस्याले गाँजेको हो भनेर पत्ता लगाउन फ्रायडलाई कत्ति पनि समय लागेन। तर, रोगको मूल कारण थाहा नपाई, कसरी पो सही उपचार हुन सक्थ्यो र? अझ डोराकै जस्ता समस्या भएका अरु बिरामी पनि फ्रायडले प्रशस्तै देखिसकेका थिए। यसैकारण फ्रायडले रोगको जरैसम्म पुग्ने उद्देश्यका साथ एक–एक गर्दै डोराका सम्पूर्ण जीवनकथा खोतल्न थाले।
डोराको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनका बुबा नजिकैको कपडा उद्योगमा काम गर्थे भने आमा गृहिणी थिइन् जसलाई पटक–पटक भान्छा सफा गरिरहनुपर्ने अचम्मको समस्या थियो। डोरा र उनका दाजु ओटो सँगै विद्यालय जान्थे। तर, त्यस समय अस्ट्रियाको समाज छोरीहरुप्रति त्यति उदार थिएन। त्यसैले त डोराको विद्यालय र साथीभाइसँगको सामिप्यता त्यति लामो हुन पाएन। ऊ घरै बस्थी।
घरमा पनि डोरा कहिल्यै आमाको नजिक भइन। बरु उसलाई बुबासँगैको निकटता बिस्तारै रमाइलो लाग्न थाल्यो। झन् उनका बुबा टिभी लागेर थल्लिएपछि त, सम्पूर्ण स्याहार–सुसारको जिम्मा डोराकै थियो। त्यसले पनि ऊ बुबासँग अझ नजिक थिई।
टिभीको उपचार लामो समयसम्म चल्ने भएकाले चिकित्सकको सुझाव अनुसार उनीहरुको परिवार सहरबाट अलि टाढाको बस्तीमा स्थानतरण भयो। नयाँ ठाउँमा भने डोराले आफ्नो मन मिल्दो साथी भेट्टाई– हेर के र उनकी पत्नी फ्राउ के। के दम्पत्ती मिलनसार थिए। त्यसैले त दुई परिवारबीचको मित्रता झन् घनिष्ठ बन्दै गयो।
पारिवारिक घनिष्ठता बढेसँगै परिवारका सदस्यहरु पनि एक–अर्कासँग नजिक हुन थाले। अझ यसलाई यसरी भनौं, फ्राउ के डोराका पितासँग बिस्तारै आकर्षित हुँदै थिइन् भने हेर के चाहिँ डोरासँग। कहिलेकाहीँ त समीकरण कस्तो भइदिन्थ्यो भने, डोरा आफ्ना पिताको स्याहार गर्न छाडेर हेर केसँग घुम्न जान्थिन् र फ्राउ भने डोराको पितासँग दिनभरि कोठामै बस्थिन्।
बुबाको उमेरको भए पनि हेर केसँग डोराको मित्रता खुब जमेको थियो, किनभने डोराका कोही केटा साथी नै थिएनन्। हेर पनि डोराका लागि मिठामिठा खानेकुरा र उपहार किनेर ल्याइदिन्थे। सायद यत्तिको महत्व डोराले जीवनमा कहिल्यै पाएकी थिइन।
***
त्यस दिन पनि डोरा र हेर के घुम्न निस्किएका थिए। साँझपख, तलाउका छेउमा वातावरण सुनसान थियो। मानिसहरु कोही पनि आवतजावत गरिरहेका थिएनन्। हो, त्यति नै खेर हेरले डोरालाई अचानक आफूतिर ताने अनि जबरजस्ती आफ्नो आलिङ्गनमा बेरेर चुम्बनको प्रयास गरे।
डोराले एकाएक आफूमाथि के भइरहेको छ, ठम्याउनै सकिन। आफ्नै बुबा समान व्यक्तिले किन त्यस्तो हरकत गरे? उसले केही पनि सोच्नै सकिन। खै ! डोरासँग कहाँबाट त्यस्तो शक्ति आयो कुन्नि, उसले आफूलाई एक झट्कामै हेर केको हातबाट मुक्त गराई अनि उसका गालामा कसिलो थप्पड मारेर फटाफट एक्लै बाटो लागी।
घटनाको केही दिनसम्म डोरा मानसिक रुपमा विक्षिप्त थिई। तर, निकै नै हौसला र साहस बटुलेर एकदिन यी सम्पूर्ण कुराको बेलिबिस्तार आफ्ना बुबालाई लगाई र के दम्पत्तीसँगको सम्बन्ध तोड्नका लागि आग्रह गरी। तर, उनका बुबा कुनै पनि हालतमा फ्राउसँग टाढा हुन चहँदैन थिए।
उनले डोराको यो प्रस्ताव मान्ने कुरै भएन। अझ हेर केसँग यस विषयमा बुझ्दा, उनले यसखाले घटना कहिल्यै नभएको भनी जिकिर गरे। डोराको उमेर र कोठामा असरल्ल भेटिएका प्रेम सम्बन्धी किताबका आधारमा उसका बुबा डोराका कथनमा कुनै सत्यता छैन भन्ने निष्कर्षमा पुगे।
हो यिनै घटनापछि डोरा बिरामी परी। केही पटक त घरै छाडेर भाग्ने प्रयास पनि नगरेकी होइन तर बुबाले बारम्बार रोके। मनोविश्लेषक फ्रायडका अनुसार यी सबै कुरा त गौण हुन्। मुख्य रहस्य त उसका सपनाभित्रै लुकेका छन्।
***
सिग्मन्ड फ्रायडले डोराको सपनाको जसरी रहस्य उद्घाटन गरे, त्यसले सारा संसारलाई नै एकपटक तरङ्गित तुल्याइदियो। फ्रायडले ती किशोरीको सपनाका एक–एक घटनालाई ‘सेक्स’सँग तुलना गरे। घरमा आगो लाग्नुको मतलब हो कि, डोराको परिवार ठूलो सङ्कटमा छ। उसलाई अत्तालिँदै उठाउन उसको बुबा आउनुको मतलब यो हो कि, संसारमा डोरालाई सबैभन्दा माया गर्ने व्यक्ति उसकै बुबा हुन्।
उठ्दा उसको नाकमा धुँवाको गन्ध आइरहेको थियो, जसले हेर केको चुरोट पिउने आचरणका बारे जनाउ दिन्छ। केही दिन अगाडि हेर केले डोरालाई चुम्बन गर्ने प्रयास गरेका थिए, जतिखेर उसको मुखमा बसेको चुरोटको गन्ध डोराका नाकले ठम्याएको थियो। सबैभन्दा चकित त ‘गहनाको बक्साले’ तुल्यायो जतिखेर फ्रायडले त्यो बक्सालाई डोराको ‘भर्जिनिटी’सँग तुलना गरे।
डोराको कुमारित्व संकटमा परेको थियो र त्यो भावना उनी आमाको मुखबाट सपनामा प्रतिध्वनित भएको थियो। तर उसको बुबालाई त्यसप्रति खासै दिलचस्पी थिएन। त्यसैले त बाहिर आउँदा पनि उनले त्यो गहनाको बक्सालाई त्यति महत्व दिएनन्।
यसैबीच डोराले आफूले बारम्बार देखिरहने अर्को सपना बारे पनि बताइन् जसले यस केसलाई अझ रहस्यमय बनाँउदै लगिरहेको थियो।
***
दोस्रो सपनामा डोरा एउटा अञ्जान सहरमा पुग्छे। अञ्जान सडक र अञ्जान गल्लीहरु। त्यसपछि ऊ अचानक एउटा घरभित्र पुग्छे जहाँ उसका लागि एउटा चिठी छाडिएको हुन्छ। चिठी उसकी आमाले डोरालाई लेखेकी हुन्छिन्, जसमा भनिएको छ कि, ‘पुरानै बिमारीका कारण डोराको पिताको मृत्यु भएको छ र यदि आफ्ना बुबाको मुख हेर्न मन भए, अन्तिम संस्कार अगाडि नै घर आइसक्नु।’
पत्र पढ्नासाथ डोरा अत्तालिँदै घर जान रेलवे स्टेसन खोज्न थाल्छे। बाटोमा जति जनालाई सोध्यो ‘अब रेलवे स्टेसन कति टाढा छ?’ सबैले एउटै जवाफ दिन्थे, ‘साढे दुई घन्टा। अन्त्यमा उसले रेलवे स्टेसन त देख्छे तर त्यहाँ पुग्न सक्दिन। त्यसपछि ऊ सिधै घरमा हुन्छे, तर घरमा पनि कोही हुँदैनन्। सबैजना उसको बुबाको अन्तिम संस्कारका लागि गइसकेका हुन्छन्।
सपनामा भएको मोटामोटी घटना यति नै हुन्छ। तर, फ्रायडले यसबाटै हजारौं तथ्यको पर्दाफास गरिदिन्छन्। झन् दोस्रो सपना सुनिसकेपछि त फ्रायड के कुरामा विश्वस्त हुन्छन् भने ती किशोरीमा हिस्टेरियाको लक्षण देखिनुको पछाडि उसको भित्री मनमा दबिएर बसेको यौनइच्छा नै हो।
हो, हेर केलाई थप्पड लगाए पनि डोरा चहान्थी कि उसले त्यस दिन पूरा गर्न नसकेको काम कुनै दिन पूरा गरोस्। भौंतारिँदै रेलवे स्टेसन खोज्नुले डोराभित्र तीव्र रुपमा बढिरहेको यौन चहानालाई दर्शाउँछ। उसले रेलवे स्टेसन त देख्छे तर त्यहाँ पुग्न सक्दिन। त्यस दिन तलाउमा हेरसँग त्यस्तो घटना भएपछि ऊ एक्लै घर आएकी हुन्छे र बाटोमा कसैले उसलाई घरसम्म पुग्नका लागि साढे दुई घन्टा लाग्ने कुरा बताएको हुन्छ र तिनै प्रसंग कहीँ–कतै सपनामा मिसिएको हुन सक्ने फ्रायडको अनुमान छ।
बुबाको मृत्युको चिठी डोराले यसकारण सपनामा देख्छे कि, उसलाई भित्री मनमा डर थियो, कतै उसको अनुपस्थितिमा हेरचाह कम भएर उसका बुबाको मृत्यु पो हुने हो कि। यो सपना देख्नुपूर्व, उसले आवेगमा आएर पटक–पटक पत्र लेख्दै घर छाड्ने धम्की दिएकी थिई। फ्रायडका अनुसार यो धम्कीको पछाडि उसको बुबाले फ्राउ केसँग हुर्कंदै गरेको प्रेम सम्बन्ध त्यागिदिउन् भन्ने डोराको भित्रि मनसाय थियो। यसलाई व्याख्या गर्न फ्रायडले ‘ओइडिपस कम्प्लेक्स थेउरी’को सहारा लिएका छन्।
ओइडिपस पाचौं शताब्दीका ग्रिकका राजकुमार थिए, जसले आफ्नै पिताको हत्या गरी आफ्नी आमासँग विवाह गर्छ। अर्थात् कुनै पनि बच्चाले जन्मदै आफ्नो विपरित लिङ्गी अभिभावकसँग आकर्षित हुने गुण लिएर जन्मिएको हुन्छ। डोरा पनि आफ्नो पिताप्रति आकर्षित थिई र आफ्नै आखाँ अगाडि अरुसँग सम्बन्धमा रहेको हेर्न चहान्न थिई। कतिसम्म भने, यही गुणका कारण डोरा आफ्नी आमालाई पनि धेरै हदसम्म हेयको दृष्टिले हेर्थी।
के दम्पत्तीसँगको घनिष्ठताका कारण डोराको जीवन बिस्तारै अस्तव्यस्त बन्दै थियो। आफूले मन पराउने आफ्ना पितालाई फ्राउले खोसेर लगेकी थिइन्। हेर केसँग तलाउमा भएको घटनापछि उसमा झन् तीव्र रुपमा यौन इच्छा त बढिरहेको थियो तर त्यस घटनालाइ हेरले मनगढन्ते भनेर डोराबाट टाढिएपछि उसका चहाना पूरा हुने सम्भावना क्षीण हुँदै थिए।
त्यसैल त ऊ कहिले चुरोट पिउने हेरसँगको चुम्बनको कल्पना गर्दै घरभरि धुवाँ भरिएको सपना देख्थी, त कहिले कुमारित्व (गहनाको बक्सा) गुमेको। फ्रायडले बताए अनुसार, यदि त्यो दिन तलाउमा डोराले हेरलाई नरोकेकी भए, उसमा यस्ता खाले समस्या नै आउने थिएन। यौनका चाहना किशोर–किशोरीहरु दुवैमा हुन्छ, तर स्वभावतः महिलाले त्यस्ता चाहना ज्यादा दबाउने भएकै कारण उनीहरुमा धेरै जसो यी चाहनाहरु विभिन्न शारीरक समस्यका रुपमा प्रस्फुटित हुन्छन् भन्ने फ्रायडको ठम्याइ हो।
फ्रायडको यो ‘हाइपोथेसिस’ले ठूलै खैलाबैला मच्चाएको छ। कतिपय देशका महिला अधिकारवादीहरु फ्रायडको यो तर्कसँग सहमत छैनन्। कतिले त डोराले रेप गर्न रोक्नु उसको गल्ती थियो भन्ने आशय फ्रायडको अनुसन्धानमा देखिएको भन्दै उनको पुत्ला दहन गरे। तर, जे होस् सपना पढ्ने फ्रायडको यो प्रयास साँच्चै गजबको छ।
(सिग्मन्ड फ्रायडको किताब ‘इन्टरप्रेटेसन अफ ड्रिम’मा आधारित)
प्रस्तुतिः विशद दाहाल
No comments:
Post a Comment