Search This Blog

Saturday, September 23, 2017

इन्द्रावतीको शिरानमा पाँचपोखरी


‘अबिरल बग्दछ इन्द्रावती’ । रमेश विकलको यो चर्चित कृति जहाँ जन्मियो, त्यसैको सेरोफेरोमा हाम्रो यात्रा अगाडि बढ्ने छ । अर्थात, इन्द्रावती नदिको किनारै–किनार ।

यात्राको प्रारम्भ करिब १२०० मिटर उचाइमा अवस्थित मेलम्ची बजारबाट हुन्छ । त्यसो त सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौताराबाट पनि पाँचपोखरी पुग्न सकिन्छ तर त्यताबाट जानुका आफ्नै प्रशस्त फाइदा र बेफाइदाहरु छन् ।

हिउँदको समयमा हो भने गाडी धेरै माथि भोताङ गाउँसम्म पुग्छ तर बर्खामा जाने सोच बनाउनु भएको छ भने मेलम्ची बजार वा त्यहाँ भन्दा एक घण्टा माथिको गाउँ टिपेनीबाटै पैदल यात्राको थालनी हुन्छ ।

टिपेनी हुँदै थाङपाल धाप (१३०० मि) र भोताङ (१६०० मि) सम्मको बाटो त्यति कठिन छैन । बिहान सबेरै काठमाडौँबाट गाडी चढे , अलि कस्सेर हिँड्दा भोताङ नभए धापसम्म त त्यसदिन अवस्य पुगिन्छ । बाटोमा गाउँ–बस्ती , चिया पसल , धारा र होटलहरु पनि प्रशस्तै छन् । भूकम्पले क्षतबिक्षत बनाएका ती गाउँहरु बिस्तारै उठ्दै छन् । भत्किएका भग्नावशेषहरु अझै बाँकी नै छन । तर त्यसले भने तपाइको यात्रामा कुनै पनि प्रभाव पार्दैन । आखाँमा आँसु लुकाएरै भएपनि सिन्धुपाल्चोक बासीहरु मिठो मुस्कान पस्किन खप्पिस छन् । आफ्ना गाउँमा आएका पर्यटकलाइ सक्दो माया गरिरहेकै छन् ।


भोताङ गाउँपछि बल्ल कठिन यात्राको प्रारम्भ हुन्छ । त्यसपछि भने गाउँ–बस्ती , चिया पसल , धारा र होटलहरु भेटिदैनन् । छन त केवल , वन–जङ्गल , खोला–नाला , बडेबडे झरना, पुल–पुलेसा र खर्कमा बस्तु चराउन खडा गरिएका गोठहरु । बाटो पनि उकालै मात्रै । अझ बस्तु हिँड्ने बाटोमा ठडिएर बसेका लेकाली जुकाहरुले  यात्रालाइ झन रोमान्चक बनाउन मदत गर्छन् ।

कहिलेकाहिँ त घण्टौ हिँड्दा पनि मानिस, बस्तु वा गोठ केहि भेटिदैनन् । बाटो बिराइएछ कि जस्तो भान हुन्छ । तर आत्तिनु पर्दैन इन्द्रावती नदिले जबसम्म तपाइको कानमा सुसेलीरहन्छ तबसम्म तपाइ ठिक बाटोमा हुनुहुन्छ ।

“ताङ्गुमा छुर्पि सुकाउने , माया मनको कुरा मनमै लुकाउने” ।

मानेखर्क , टुप्पी डाँडा , ताङ्गुखर्क , याकखर्क , छिम्ती आदिमा रहेका हरएक गोठहरुले यस्तै सुरिला भाका र गितहरु जन्माएका छन् । दिनभर बस्तुका चरनसँगै लिरिक्सहरु लेखिन्छन् र रातभर तिनै गाइवस्तुका घाँटीमा झुण्डिएका घण्टहरुका ट्याङ–ट्याङ, टुङ–टुङसँगै सुमधुर सङ्गितको जन्म हुन्छ । सायद यसरी नै सदिऔँदेखि लेकमा गितहरु बनिरहेका छन् ।


तिनै गोठहरुमा ८–१० वर्षका कलिला साङ्गे तामाङहरु पनि भेटिन्छन् जो काखीमै किताब च्यापेर गाइ–बाखा्र चराउन जान्छन् अनि कहिले–काहिँ यसो फुर्सद मिल्यो भने ३–४ घण्टा तलको विद्यालय धाउँछन् । विद्यालयमा पनि कहाँ दिनभर बस्न पाउनु । साँझ गोठमा नपुगिएला भनेर दिउँसै निस्कन्छन् अनि त्यहि बाटो ठसठस गर्दै बेलुका आफ्ना बायस्तै/दाजुलाइ सघाउन गोठमै आइपुग्छन् ।

यदि भोताङबाट तपाइ नसिमपाटी (३७०० मिटर) सम्म पुग्न सक्नुभएन भने यस्तै गोठहरुमा बस्ने अवसर पाउनुहुनेछ जहाँ साङ्गेले तातो भात र स्वायबिन पकाएर खुवाउँछ अनि गाइ, बाख्रा र कुखुराहरुका  बिचमा रहेको उसको प्यारो ओछ्यानमा नै तपाइलाइ सुत्ने व्यवस्था मिलाउँछ ।

नसिमपाटीमा भने केहि घरहरु छन् जुन पर्यटकहरुको न्यानो आतिथ्यका लागि वर्षौदेखि पर्खि बसेका  छन् । नसिमपाटीले विशेष केहि दिन नसकेपनि तपाइलाइ एक छाक दाल–भात र सुत्नका लागि न्याना राडी–गुन्द्री भने अवश्य दिनेछ ।

स्थानीयले बताएअनुसार , कात्तिक पछि त्यहाँ हिँउ पर्छ र हिँउ परेसँगै सबैजना तल गाउँ झर्छन् । त्यसपछिको ५–६ महिनासम्म ती घर/गोठहरुमा न  आगो बल्छ न त चौरीका घण्टहरुबाट ट्याङ–ट्याङ, टुङ–टुङ नै । पूरा सन्नाटा ।


नासिमपाटीबाट पाँचपोखरी पुग्न ३ घण्टा लाग्छ । करिब ३५०० मिटर भन्दा माथिको उचाइमा पुगिसकेपछि अक्सिजनको कमि भइ अल्टिच्यूड सिकनेस (लेक लाग्ने) हुनाले यात्रा अलि कठिन बन्दै जान्छ । उकालाहरु अप्ठ्यारा लाग्छन् । झन त्यस माथि ठाउँ–ठाउँमा खसेका पहिरोहरुले बाटो साघुँरो बनाइदिएका छन् । तल त मात्र कहालिलाग्दो भिर छ । पाँच पोखरी नपुगन्जेलसम्म नै मौसम बदलिरहन्छ । कहिले डम्म हुस्सु लागेर अगाडिको बाटो केहि देखिदैन त कहिले सिमसिम पानी पर्छ ।

करिब ४३०० मिटर उचाइमा रहेको पाँचपोखरी आफैमा अद्भूत छ । वरिपरि अग्ला टाकुराहरु र विचमा पोखरीहरुको उपत्यका । १–२–३–४–५ । गनेरै टपक्क मिलेर बसेका पाँच पोखरीहरु । तिनै अग्ला टाकुराका काप–कापबाट पानीका मूल फुटेका छन् र पोखरी बनेका छन् । फेरि पोखरीहरु भरिएर झरना अनि झरनाहरु  बग्दै बग्दै इन्द्रावती ।


पोखरीका वरिपरि फूलका बगैँचाहरु पनि छन् । अनेकन प्रजातिका ती रङ्गी–चङ्गी फूलहरु पाँच पोखरीका देवताले रोपेका हुन रे । सायद तिनै देवताले बगैँचामा मलजल गर्दा हुन , गोडमेल गर्दा हुन । त्यसैले त खप्तड उपत्यकालाइ नै बिर्साइदिने गरि त्यहाँ डाँडै भरि फूल फुलेका छन् ।

अरुबेला प्रायः शान्त रहने पोखरीहरु जनै पूर्णिमाका मेलामा भने भरिभराउ हुन्छन् । भगवान शिवको दर्शन गर्ने र पोखरीमा स्नान गरि जनै फेर्न भक्तालुहरुको घुँइचो लाग्छ । स्थानीयले बताएअनुसार गत वर्ष मात्र करिब दश हजार तिर्थालुहरु पूर्णिमाका दिन पाँचपोखरी पुगेका थिए ।

यस वर्षको जनै पुर्णिामालाई पनि मध्यनजर गर्दै सम्पुर्ण तयारी पूरा भइसकेको छ । ठाउँ-ठाउँमा थर्पुहरु बनिसकेका छन् । होटलहरु थपिएका छन् । साङ्गे तामाङका गोठहरु पनि चिटिक्क बनाइएका छन् । खानेखानेकुराहरु प्रसस्त लगेर राखिएको छ । बाटो सुधार गरिएको छ ।
 कात्तिक अघिसम्म त पोखरी वरपर पनि केहि थान होटलहरु  खुला नै रहन्छन् ।

पाँचपोखरीबाट फर्कदाः

फर्कने मुख्यतः दुइ विकल्पहरु छन् । पहिलो मेलम्ची हुँदै चढेकै बाटो र दोस्रो हिले हुँदै चौतारा तिरबाट । चौतारा हुँदै फर्कने बाटो निकै नै अप्ठ्यारो छ र प्राय मानिसहरु ओहोर–दोहोर पनि गर्दैनन् । तर साँच्चै ‘एडभेन्चरस ट्रेकिङ’ रुचाउनेहरुका लागि दोस्रो विकल्प उत्तम विकल्प हो । त्यस माथि चौतारा तिरको बाटोमा यति धेरै प्राकृतिक भेरियसन छ कि एकै दिनमा तपाइले प्रकृतिका अनेका स्वरुपहरु देख्न पाउनुहुनेछ ।

नासिमपाटीदेखि हिले भञ्ज्याङसम्मको बाटो अग्ला पहाडका टुप्पै–टुप्पो हुँदै अघि बढ्छ जतिखेर तपाइलाइ आफू बादल माथि हिँडिरहको छु जस्तो महशुस हुन्छ । ठिक तल बादलका टुक्राहरु एक–अर्कासँग ठोकिदै ठोकिदै जिस्किरहेका हुन्छन् । माथि हेर्यो छ्याङ्ग निलो आकाश ।

हिलेदेखि पौवाबास सम्मको बाटो अलि ‘ट्रिकी’ छ । एकैछिनमा उकालेर डाँडाको टुप्पोमा पुर्याउँछ र फेरि ओरालेर फेदमा । यो क्रम झर्को नलागुन्जेलसम्म चलिरहन्छ ।

पौवाबासदेखि कामिखर्क पुग्ने बाटोमा भने अचम्मको जङ्गल फेला पर्छ । कहिले ‘एनिमेटेड हलिउड’ चलचित्रमा देखाइने जस्ता लेउ लागेका रुखहरु त कहिले चारकोसे झाडीमा जस्तो निस्पट अन्धकार । वरपर चराका चिरबिर र बेलाबेला रुखका हागाँमा ठोकिदै बहेका बतासका झोकाहरुले यात्रामा कत्ति पनि थकान महशुस हुन दिँदैनन् ।

कामीखर्कबाट ठाडै ओरालो झर्दै गर्दा गजबको उपत्यका फेला पर्छ । समथर भूमिमा हरिया घाँस । छेउमै रहरलाग्दो पोखरी अनि अनेक प्रजातिका रङ्गि–चङ्गि फूलहरु । मिल्ने भए सधैँभरि त्यहि बसिरहौँ जस्तो लाग्ने ।

त्यसपछिको बाटोमा खासै उकालो चढ्नु पर्दैन । खोङ्ज्योबाट अघि लागेपछि माइथानमा अर्को बस्ति भेटिन्छ जहाँसम्म घनाह जङ्गलको बिचैबिच ओरालो झर्नुपर्छ ।

बाटैभरि खानेपानी चाहिँ एकदम सिमित ठाउँमा मात्रै पाइन्छ ।  त्यही भएर भेटिएको ठाउँमा जुगाड गरिहाल्नु पर्छ ।बाटो हराउने सम्भावना त कमै छ तर पनि कतै कतै दोबाटोहरु आउँछन् जसले बेलाबखत झुक्याइरहन्छन् । त्यहि भएर बस्ति भेटिएका ठाउँमा बाटोका बारे उचित सल्लाह लिएर अघि बढ्नु बुद्धिमता ठहरिन्छ ।

माइथान–लामीडाँडा–स्याउले हुँदै चौतारा आइपुगिन्छ जुन बाटोमा घर र मानिसहरु प्रशस्तै भेटिन्छन् र हिँड्न निकै सजिलो पनि छ ।

माथि उल्लेखित चौतारा हुँदै फर्कने बाटोबाट माथि चढ्न पनि सकिन्छ । तर त्यसो गर्दा मोटा–मोटी एकदिन बढ्ता लाग्ने र बाटो पनि कठिन भएकाले प्राय मानिसहरुको रोजाइमा मेलम्ची कै बाटो पर्ने गरेको छ ।


ट्रेकिङका लागि उचित समय ः चैतदेखि असोजसम्म ।
ट्रेकिङका लागि छुट्याउनुपर्ने दिन ः ४ देखि ६ ।
बोक्नै पर्ने सामाग्रीहरु ः रेनकोट÷घुम÷ ओढ्ने प्लास्टिक , टर्च लाइट , पानीको बोतल , चाउचाउ÷बिस्कुट, प्रशस्त चकलेट , जीवनजल , आवश्यतmा र चिकित्सकको सल्लाह बमोजिम लेकबाट बच्नका लागि एसिटाजोलामाइड , सिटामोल , फस्ट एड बक्स , दुखाइ कम गर्ने , ग्यास्ट्रिक र एलर्जिका औषधी । ट्रेकिङ जुत्ता र केहि न्याना कपडाहरु ।
अनुमानित खर्च : व्यक्तीमा भर पर्ने । तर पनि यो रुट खासै खर्चिलो छैन । मेलम्चीसम्मको बस भाँडा १६० र फर्कदा चौताराबाट २२० । खाएको र बसेको हेरि–हेरि २०० देखि ५०० सम्म  (जति माथि गयो त्यति बढि लाग्ने) ।

पुनस्च : यात्राका दौरान नासिमपाटीमा एकजना दिदिको घरमा बास बसेका थियौँ । हिँड्ने बेलामा हामीसँग भएको क्यामेरा देखेर , दिदिको सानो छोरोले फोटो खिच्ने औधी रहर गर्यो । हामीले फोटो खिच्यौँ । साथै दिदिले एउटा वाचा पनि गराएकी थिइन , "आर्को साल जनैपूणिर्मामा यहाँ थुप्रो मान्छे आउँछ, कसैको साथ लाएर फोटो पठाइदिनुन है ।"

त्यति माथिको गाउँमा , त्यस्तो हार्दिकताका साथ अनुरोध गरेकी दिदीलाइ निराश बनाउन पटक्कै मन छैन । जनैपूणिर्मा आउनै लाग्यो । विचरी फोटो कुर्दै बसेकी होलिन ।

कोही यसवर्ष पाँचपोखरी जाँदै हुनुहुन्छ भने ,  कृपया  सम्पर्क गरी दिदी र उनको छोराको उक्त फोटो नासिमपाटीसम्म पुर्याइदिनुस न है !

साँझमा अँगेनामा आगो जोड्दै तिनै दिदीले भनेकी थिइन :

पहाडका कापकापबाट उम्रिएको ‘पाँचपोखरी’ जब भरिएर पोखिन्छ तब कयौँ गाउँ–बस्तीसँग मितेरी गाँस्दै गाँस्दै अघि बढ्छ । पाँचपोखरी लाखौँ वर्षदेखि यस्तै हजारौँ इतिहासहरुको साक्षी बन्दै आएको छ । आखिर पाँचपोखरी छ र त ‘अबिरल बग्दछ इन्द्रावती ’ ।

फोटोहरु : नारायण कडेल



No comments:

Post a Comment