Search This Blog

Saturday, October 24, 2020

फोक्सुन्डो

 ”हजारौँ माइल दुरी पार गरेर आएका लाखौँ सलह किरालाइ हाम्रो फोक्सुन्डो तालले कर्लप्पै निलिदियो नि सर” । २० घण्टाको अनवरत हिँडाइ पछिको थकानले शरिर फत्रक्कै गलेको थियो , लठ्ठीलाइ यसो कुना पट्टी टेको लगाएर झोला बिसाउने तरखर मात्र गर्दै थिएँ , फोक्सुन्डो गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष निमा लामाको यो कुराले एक्कासी कान ठाडो बनाइदियो ।

स्थानीयले बताएअनुसार फोक्सुन्डो तालले दिनमा तिन पटक आफ्नो रङ बदल्छ (जुन कुरा एक दिने फोक्सुन्डो बसाइका क्रममा हामीले पनि महशुस गर्यौँ) । बिहान झिसमिसेमा एउटा रङ , दिउँसो घाम लाग्दै जाँदा अर्को रङ अनि साँझपख अर्को । रुकुम , जाजरकोट, मुगु,जुम्ला हुँदै उडेका सलह जब डोल्पा पुगे , फोक्सुन्डो पूरै हरियो बनेर बसेको थियो । झट्ट माथीबाट पहिलोपटक हेर्दा सलह त के सबैभन्दा बौद्धिक मानिएको मानिसले समेत फोक्सुन्डोलाइ पानी भरिएको सबैभन्दा गहिरो ताल नभइ भर्खरै लहलहाउँदै गरेको धान खेत नै भन्ने थिए ।

कुनै स्वादिष्ट बाली खान पाइने आशमा उड्दै गरेका सलह एक एक गर्दै तालमा गएर जाकिए । अन्तत संसारका मै हुँ भन्ने राष्ट्रहरुलाइ समेत हायल कायल बनाइदिएको लाखौँ सलहलाइ फोक्सुन्डोले यसरी निमेष भरमै कर्लप्पै निलिदियो ।


डोल्पा घुम्ने मन

पहिलोपटक क्याराभान फिल्म हेर्दा डोल्पाको सौन्दर्यताले मन औधी लोभ्याएको थियो । कालान्तरमा डोल्पासँगै सिमाना जोडिएको पालिकामा जागिर खाने संयोग मिल्यो । समयसँगै क्याराभानका सम्झनाहरु फिका भइसकेका थिए । तर एक साँझ जुन घटना घट्यो त्यसले मेरो मथिङ्गल पूरै हल्लाइदियो ।

रुकुम पश्चिममा अवस्थित आठबिसकोट नगरपालिकाको नगर अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्य गरेको ६ महिना पुग्न पुग्न लागेको थियो । राडी बजारका नामले प्रख्यात यो ठाउँ जाजरकोट , रुकुम र डोल्पा (तल्लो भाग) का मानिसहरुको लागि सबैभन्दा ठूलो व्यापारिक केन्द«विन्दु हो ।

त्यस रात म सुत्ने तरखर गर्दै थिएँ । कोही लडेको बिरमीलाइ इमर्जेन्सिमा ल्याएको छ तुरुन्तै आउन पर्यो भन्ने खबर आयो । अन्दाजी १२ ÷ १३ वर्षको बच्चा रुखबाट लडेर ल्याएका रहेछन । दिउँसोतिर लडेको बच्चालाइ डोल्पाबाट राडी ल्याइपुर्याउँदा रातको १० बजिसकेको थियो । ड्युटिमा रहनुभएकी सबिता सिस्टर अघिदेखि भेन खोल्ने प्रयास गर्दै हुनुहुन्थ्यो । छेउमै उभिएकी आमा अघिसम्म अया अया भनिरहेको मेरो बाबु किन बोल्दैन भनेर रोइरहेकी थिइन ।

शंका लागेर हतपत मैले बच्चाको नाडी छामेँ , धड्कन भेटिएन । घाँटीमा पनि छामे , सास बाँकी नै रहेको कुनै प्रमाण फेला पार्न सकिन । इसिजिका तारहरु शरिर भरि जोडेर पनि हेरेँ , कुने उताड–चढाभहरु थिएनन् । यतिन्जेल सायद बच्चाको आमाले सबै बुझिसकेकी थिइन , घोप्टो परेर रुन थालिहालिन । यस्ता घटनाहरुसँग अभ्यस्त नै थिएँ तर अर्ध मुर्छित मृत बच्चाको आमाले जे भनिन त्यस वाक्यले मलाइ नराम्रैसँग झस्काइदियो ।

“यत्रो राडी ल्याउँदा पनि मेरो बच्चालाइ बचाउन सक्नुभएन” मेरो अनुहारतिर हेरेर ती आमाले धरर आँसु खसालिन । 

म रातभर सुत्न सकिन । दोहोर्याइ , तेहेर्याइ त्यहि वाक्य मेरो कानमा बजिरहेको थियो , “यत्रो राडी ल्याउँदा पनि ” ।

हे भगवान हामी कस्तो युगमा बाँचिरहेका छौँ । राडी बजार जहाँ विधुतको केन्दि«य लाइन जडान भएको छैन । राम्रोसँग घाम नलागे सोलारको पावर नपुगेर रातभर अस्पताल अन्धकार रहन्छ , अक्सिजन चल्दैन । फोनको नेटवर्क टिप्न माथी डाडाँमा उक्लिन पर्छ । अस्पताल जसले आजसम्म विशेषज्ञ चिकित्सकको अनुहार समेत देखेको छैन र अझै केहि वर्ष देख्ने सम्भावना पनि छैन ।

त्यस्तो राडी बजार डोल्पा र जाजरकोटका मानिसहरुका लागि सपनाको शहर हो । हामीले सोच्ने गरेको यूरोप , अमेरिका जस्तै हो उनीहरका लागि राडी बजार । त्यसैले त अर्धमूर्छित अवस्थामा समेत उनी भन्दै थिइन “यत्रो राडी ल्याउँदा पनि ” । त्यसैदिनदेखि मलाइ डोल्पा जाने हुटहुटी चलेको थियो । ती मानिसको घरसम्म जान मन थियो जसले राडी बजारलाइ सपनाको शहर सोच्दथे ।

सडक सन्जालले नछोएको सदरमुकाम

फोक्सुन्डो ताल तर्फको पैदल यात्रा डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारबाट प्रारम्भ हुन्छ । जाजरकोट , रुकुम या आसपासका जिल्ला बाहेकका मानिसहरुका हकमा दुनै पुग्ने सबैभन्दा सहज माध्यम भनेको हवाइ यात्रा नै हो । जुफाल विमानस्थलबाट दुनै एकाध घण्टामा सजिलै पुग्न सकिन्छ तर सडक मार्गबाट दुनै पुग्नु सानोतिनो युद्ध जिते बराबर नै हो ।

नेपालगंजबाट एउटै गाडी चढेर दुनै पुगिदैन । बिचमा धेरै ठाउँ पुलहरु बनिसकेका छैनन् , सडकहरु बन्ने क्रममै छन् । तसर्थ विचमा ओर्लदै तिन या चारवटा गाडी बदल्नु बाध्यता हो । सबेरै नेपालगंजबाट गाडी चढ्नु भयो भने त्यसदिनको तपाइको बास राडी बजारमा हुनेछ । जाजरकोट जिल्लाको सदरमुकाम खलंगासम्म टालटुल पारेका पिच बाटो भेटिएपनि त्यसपछि भने चिल्लो कालो सडक देख्न माथी तिब्बत नै पुग्न पर्छ ।

राडीबाट तल्लुबगर एउटा जिपले पुर्याइदिन्छ । बिचमा पुल बनिसकेको छैन , त्यसैले तल्लुबाट एकैछिनको पैदल पछि त्रिपुराकोट पुग्ने अर्को जिप भेटिन्छ । फेरि त्रिपुराकोटदेखि दुनैसम्म जान अर्को जिप चढ्नुपर्छ । धुलाम्मे सडक , साँघुरा मोडहरु , अग्ला भिरहरु , तल छ्याङ्गै भेरी त्यसमाथी ठूलाठूला ढुङ्गामा थचारिएर थोत्रिएका जिपहरु । यात्रा कष्टपूर्ण त छँदै छ पाइलै पिछे जोखिमपूर्ण पनि रहेको छ ।

नेपालगंजबाट लोड भएका सामानहरु दश ठाउँमा कहिले मानिसले त , कहिले खच्चडले अनि कहिले ट्याक्टरले उचाल्दै पछार्दै बल्ल दुनै पुग्छन् । पत्याउनोस या नपत्यानोस यसै देशमा एउटा डोल्पा भन्ने यस्तो जिल्ला छ जसको सदरमुकामलाइ समेत राम्रोसँग सडक सन्जालले छुन सकेको छैन ।

यस्तो लाग्छ देश भनेको त फगत काठमाडौँ रहेछ जहाँ चिल्लो बनाइएका दुइ चारवटा सडकका तस्विर देखाएर देश विकास हुँदै छ भनेर प्रचार गरिन्छ । त्यसैले त हाम्रो देशको सरकारलाइ एकपटक भएपनि राडीदेखि दुनैसम्म जिपको हुटमा राखेर यात्रा गराउन औधी मन लागेको छ ।


सुलीगाड टु सालडाङ ः थिन्लेको चौरी हिँड्ने बाटो 

सुलीगाड शे फोक्सुन्डो राष्ट्रिय निकुन्जको प्रवेश द्धार हो । यहिँबाट सुरु हुन्छ उपल्लो डोल्पातिरको यात्रा । थिन्ले अस्कार जित्न सफल चलचित्र क्याराभानका नायक हुन । सालडाङ उपल्लो डोल्पामा पर्ने एउटा गाउँ हो जहाँ थिन्लेको घर छ ।

थिन्ले क्याराभानका नायक हुनुका साथसाथै डा.गोविन्द केसीका मिल्ने साथी पनि हुन । हामी एमबिबिएस पढ्दा कहिलेकसो केसी सरको क्वार्टरमा जान्थ्यौँ अनि घण्टौँसम्म उहाँका यात्रा अनुभूतिहरु सुनिरहन्थ्यौँ । यहि क्रममा थुप्रै पटक सरले थिन्लेसँगका रमाइला किस्साहरु हामीलाइ सुनाउनु भएको थियो । यसर्थ पनि थिन्लेको गाउँ अनि उनी हिँड्ने बाटो हेर्ने मन पहिल्यैदेखि थियो ।

चलचित्रमा नुनको व्यापार गर्न सालडाङबाट आउने क्रममा हिउँले उसको शरिर पूरै गलाउँछ , चिप्लन्छन र आफ्नो इच्छा बमोजिम नै हिमालमै प्राण त्याग गर्छन । केहि वर्ष अगाडि ठ्याक्क सिनेमामा जस्तै दुनैबाट सालडाङ जाने क्रममा भिरबाट लडेर थिन्लेको मृत्यु भएको थियो । 

पैदल यात्रा सुरु गर्नै लाग्दा यस्तो लाग्यो आजसम्म हजारौँ चौरीहरु अनि सयौँ थिन्लेहरु खसिसकेको भिर छिचोल्दै फोक्सुन्डोसम्म पुग्न सानो आँट र साहसले हँुदैन । एकपटक लामो सुस्केरा हालियो अनि फोक्सुन्डो खोलाको तिरै तिर उकालो लागियो ।

बिस्तारै हिँड्नेका लागि पनि पहिलो दिनको बास २५०० मिटरको उचाइमा रहेको  छेप्कामा हुन्छ । ढिलो यात्रा प्रारम्भ गरे बिचमा रहेका कागेनी र स्याङ्टामा पनि राम्रै होटलहरु भेट्टाउन सकिन्छ । हुन त घोडमा जाने वा स्थानीय बासिन्दाहरु बिहान सबेरै हिँडेर फोक्सुन्डो नै बास बस्न पनि पुग्छन् । तर विभिन्न कुराहरुले गर्दा त्यसो गर्नु उपयुतm हुँदैन । पहिलो त २००० मिटरमा रहेको दुनैबाट एकैचोटी ३६०० मिटर पुग्दा लेक लाग्ने सम्भावना रहन्छ । अर्को चाहिँ त्यस्तो भिरको बाटोमा बिस्तारै जोगिएर यात्रा गरेको बेस ।

बाटो अत्यन्त साँघुरो , दुइ जना गफ गर्दै साथै हिँडौ भने पनि नमिल्ने । यसो खुट्टो चिप्लियो भने सिधै तल फोक्सुन्डो खोलामा पुगिने । कतै खोलै माथी ढुङ्गा हालेर बनाइएको बाटो त कतै पहरो काटेर । कतै घनाह जङ्गलको बिचबाट हिँड्न पर्ने त कतै आँखाले भ्याएसम्म खैरो उजाड पहाड मात्र देखिने । 

बाटै भरि दुनैबाट सामान ओसार्दै गरेका घोडा , खच्चड र चौरीका क्याराभानहरु भेटिन्छन् । यिनै क्याराभानहरुलाइ लिएर सदिऔँदेखि सुलिगाड टु सालडाङ अनि सालडाङ टु सुलिगाड गरिरहेका छन् हिमाली थिन्लेहरु । 

ठूली भेरी ब्लुज

बुद्धिसागरको प्रसिद्ध उपन्यास कर्नाली ब्लुजमा कर्णाली नदिको तिरैतिर अवस्थित सुर्खेत , दैलेख , कालिकोटका दुखहरु वर्णन गरिएको छ । तर कर्णाली प्रदेशमै अर्को एउटा त्यस्तो नदि छ —भेरी जसले सयौँ वर्षदेखि जाजरकोट , रुकुम र डोल्पाका उस्तै मर्मस्पर्शी कथाहरु आफ्नो गर्भमा लुकाएर बगिरहेको छ ।

अघिल्लो रात छेप्कामा हामी बास बसेको होटल छेवैको घरमा एकजनालाइ याकले हानेको रहेछ । तिखा याकका सिङले उनको गुप्ताङ्ग र मलद्धार बिचको भागलाइ छेडेछ । निकैबेरसम्म धेरै रगत बगिरहेछ । त्यस ठाउँमा हेलिकप्टर बोलाएर उद्धार गरेको ६ लाख पर्ने स्थानीयहरुले बताए , अझ रातको समयमा केहि कसो अभर परे जति नै पैसा भएपनि हेलिकप्टर आउन नसक्ने । 

ती याकले हानेका मानिसलाइ राती नै भ¥याङ आधा भाँचेर त्यसैलाइ स्ट्रेचर बनाइ ६ जनाले बोकेर दुनै लगेको कुरा साहुनीले सुनाइन । दिनभरिको हिँडाइले शरिर मात्र गरुङ्गो भएको थियो अब त मन पनि भारी भएर आयो ।

उसो त रुकुम बसाइकै दौरान यस्ता तिता नमिठा घटनाहरुसँग साक्षात्कार नभएका होइनन् । सामान्य औषधीले ठिक हुने निमोनिया भएको जाजरकोटको सानो बालक पैसा नभएर आठ दिनसम्म अस्पताल नल्याउँदा आफ्नै हातमा बितेको धेरै भएको थिएन । आन्द«ा प्वाल परेको छ अपेरशन गर्न नेपालगंज लग्नुस भन्दा पैसाकै अभावमा जुरुक्क बोकेर थुप्रै छोराहरुले आफ्ना बा÷आमाहरुलाइ घरतिर लगेको देखेको छु । बिचको खोलो बढेर गाडी रातभर आधा बाटोमा रोकियो , बिहान कोहलपुर मेडिकल कलेज पुग्दा गेटमै फिमर फ्र्याकचर (खुट्टाको हड्डी भाँचिएको) बिरामीको सास पनि रोकियो ।

यी त भए मैले अनुभूति गरेका स्वास्थ्य क्षेत्रका केहि प्रतिनिधि घटना । शिक्षा , रोजगारी , गरिबीका त कुरै नगरम ।

भेरी नदि रातो नबगुन्जेल नेपालमा आजसम्म  कुनै पनि व्यवस्था परिवर्तन भएको छैन । तर अफसोस कुनैपनि व्यवस्थाले यहाँका जनताको जीवनमा भने हरियाली ल्याएको छैन । डा. गोविन्द केसी किन बारम्बार अनशन बस्छन् भन्ने जिज्ञासा मनमा कतै छ भने एकपटक कर्णाली प्रदेशका गाउँहरु पैदल हिँड्नुस । त्यसपछि तपाइ उहाँका हरेक सत्याग्रहमा सारथी बन्नुहुनेछ । 

किन उनलाइ पदक दिदैनौ सरकार ?

छेप्काबाट सबेरै उठेर हिँड्दा बिहानीको खाना खान २७०० मिटर उचाइमा रहेको रियाची पुगिन्छ । भिरालो पाखामा बनेका घरहरु टाढाबाट हेर्दा अलि ढल्किएका पो हुन कि जस्तो देखिने । सबैका घरमा स्याउ , घोडा , चौरी र च्याङ्ग्रा अनिवार्य जस्तै ,त्यसमाथी राता गाला गरेका गाउँलेहरु उस्तै मिजासिला । बिहानीको चार घण्टे कष्टप्रद हिँडाइ रियाचीको सुन्दरताले सब बिर्साइदियो ।

रियाचीबाट दुइ देखि तिन घण्टा हिँडिसकेपछि बोर्डिङ पुगिन्छ । विद्यालय रहेको त्यस ठाउँलाइ स्थानीयहरुले बोर्डिङ भन्दा रहेछन् । ३२०० मिटरको उचाइमा रहेको बोर्डिङ पुग्दा विद्यार्थीहरु किताब कापी च्यापेर बाहिर निस्कदै थिए , बाहिर पुरै कुहिरोले स्कुललाइ ढाकेको थियो । सायद यहि दृश्य देखेर नै गित लेखिएको हुनपर्छ , “लेकका हामी केटा केटी कुहिरो भित्र स्कुल छ”।

यस्तो ठाउँमा कसरी स्कुल चलिरहेको छ भनेर जान्ने हुटहुटिले हामीलाइ त्यस विद्यालयका प्रधानाध्यापक घनश्याम शर्मासम्म पुर्यायो । तापरिजा माध्यमिक विद्याालय खासमा बोर्डिङ नभइ सरकारी विद्यालय रहेछ । विद्यार्थीहरुलाइ होस्टेल राखेर पढाइने भएकाले सबैले यसलाइ बोर्डिङ भनेका रहेछन् ।

दातृ निकायको सहयोगमा चलेको विद्यालयमा हाल साँढे दुइ सय विद्यार्थीहरु अध्ययन गर्दा रहेछन् । डोल्पा मात्र नभइ आसपासका जाजरकोट र रुकुम जिल्लाबाट समेत केहिले आफ्ना बाल बच्चा बोर्डिङमा लगेर भर्ना गराएका रहेछन् । विशेषत चौबिसै घण्टा शिक्षकको निगरानीमा पढाइ हुने , दातृ निकायले दिने सुविधा अनि विद्यालयको आजसम्मको लोभलाग्दो सिइइको नतिजा का कारण अधिकांश अभिभावकले आफ्ना बाल बच्चालाइ बोर्डिङमै भर्ना गर्न खोज्दा रहेछन् ।

कर्णालीमा एमबिबिएस पढाइ हुन सक्दैन भन्नेहरुलाइ एकपटक तापरिजा स्कुल उर्फ बोर्डिङ घुम्न अनुरोध छ । सहि निति , लगानी र व्यवस्थापन भए  दुर्गम भेगका जनताले पनि कसरी आफ्नै घर आँगनमा गुणस्तरीय सुविधा पाउन सक्छन भन्ने अनुकरणीय उदाहरण हो तापरिजा स्कुल ।

चितवन घर भएका प्रधानाध्यपक घनश्याम शर्मा , सरकारी दरबन्दी अन्र्तगत विगत १७ वर्षदेखि त्यसै स्कुलमा कार्यरत रहेछन् । उनी भन्दै थिए , “टेलिफोन टिप्न थालेको भर्खर पोहोरबाट हो नत्र त यता आएपछि घर परिवार , नाता गोता , साथी भाइ कसैसँग पनि पाँच छ महिना सम्पर्क नै नहुने । ” कसैले हामीलाइ दुइ दिन थप त्यहिँ बस भनेको भए नसकिने ठाउँमा उनी सत्र वर्षदेखि काम गरिरहेका थिए ।

उतm स्कुलको अवलोकन पश्चात सरकारसँग मेरो जम्मा दुइ ओटा प्रश्न छ  ः

१. के एउटा दातृ निकायले लगानी गर्ने जत्ति बजेट पनि सरकारसँग छैन ? 

२. सरकारले हरेक वर्ष राम्रा काम गरेका हरुलाइ पदक बाँड्छ । के आजसम्म त्यो पदकको हकदार तपरिजा स्कुल वा त्यहाँका प्रधानाध्यापक छैनन् ?

शे फोक्सुन्डो होइन फोक्सुन्डो 

बोर्डिङबाट लगभग ३ घण्टा जतिको नाक ठोकिने उकालो चढेपछि बल्ल पुगिन्छ फोक्सुन्डो गाउँ जसको छेउमै बहुरङ्गी फोक्सुन्डो ताल अवस्थित छ । फोक्सोको जस्तो आकार भएका कारणले यसलाइ फोक्सुन्डो भनिएको रहेछ । 

ताललाइ शे फोक्सुन्डो भन्दा स्थानीयहरु नाक खुम्च्याउँदा रहेछन् । खासमा फोक्सुन्डो ताल र त्यहाँ भन्दा एकदिन माथी रहेको शे गुम्बा दुवैलाइ जोडेर राष्ट्रिय निकुन्जको नाम शे फोक्सुन्डो रहेतापनि ताललाइ भने फोक्सुन्डो मात्र भनिनुपर्ने स्थानीयहरुको जिकिर रहेको छ ।

अंग्रेजी अक्षर ‘वाइ’ जस्तै तिनवटा चोसा भएको तालको लम्बाइ लगभग पाँच किलोमिटर रहेको छ । सबै ताल एकैपटक हेर्न चाहिँ फोक्सुन्डो गाउँबाट तिन घण्टा माथी रहेको भ्यू पोइन्ट पुग्नु पर्ने रहेछ । 

भ्यू पोइन्ट पुग्न ठसठस उकालो लाग्दै गर्दा , तालले आफ्नो रङ पनि बिस्तारै बदल्दै लगेको प्रस्टै देख्न सकिन्छ । बिहानीमा हल्का सेतो कालो बनेको ताल , हरियो अनि उकालो लागे सँगै झन निलो निलो हुँदै जाँदो रहेछ । एकटकले हेरिरहँदा आँखै तिरमिराउने । उपल्लो डोल्पा हिँडेका चौरीका क्याराभानहरु तालकै डिलैडिल बडो सतर्कताका साथ लम्केका  दृश्यहरु झन कम्ति लोभ लाग्दा हुँदैनन् ।

तालको रङमा झुक्किएर लाखौँ सलह किरा एक क्षणमै नाश भए । सलहलाइ निले जसरी नै सायद फोक्सुन्डोले सदिऔँदेखि कर्णालीका ब्लुजहरु (रोग , भोक , शोक र पिडा)लाइ निल्दै आइरहेको छ । त्यसैले त फोक्सुन्डो निलो (ब्लू) छ । आज पनि भेरी निलै बगिरहेकी छिन् ।