Search This Blog

Wednesday, November 22, 2017

कथा मङगलसेनको घोडा


करिब एक हजार वर्ष पहिलेको कुरा हो, सुनकोसीको किनारमा एउटा ऐतिहासिक सभ्यता मौलाएको थियो – कमलपुर सभ्यता ।

हलेसी महादेवको कोखबाट बगेको दुधकोसी, अहिलेको दोलखा–रामेछापलाइ साँध बनाइ बगेको तामाकोसी र रोसी खोलो सब मिसिएपछि सुनकोसीले एक भिमकाय स्वरुप ग्रहण गर्दछ । हो त्यही सुनकोसी आफ्नो साथमा अमुल्य मणि–माणिक्य र सुनका असर्फीहरु लिएर बग्दथ्यो । त्यसैले त त्यस कमलपुर सभ्यताको कान्ति दिन दुइ गुना र रात चार गुना गर्दै संसारभर फैलिरहेको थियो ।

कमलपुर देशमा मङगलसेन नाम गरेका राजा थिए । आफ्नो युद्ध कौशल र सुशासनका लागि ती राजा दुर–दराजका देशहरुमा समेत कहलिएका थिए । भनिन्थ्यो “मङ्गलसेनको राज्यमा खान नपाएर र अन्यायमा परेर कोही मर्दैन ।” हुन पनि उनि आफ्ना प्रजालाइ सदैव उच्चतम स्थानमा राख्दथे ।

यसरी त्यस राज्यमा राजा प्रजा सबै मिलेर देशको गौरव चुलीमा पुर्याइरहेका थिए ।

तर राजा मङगलसेनको एउटै खोट थियो । उनी निसन्तान थिए ।  त्यस दिनको स्राप यति भयानक थियो कि आजसम्म पनि राजदरबार वर–पर कुनै वृक्षमा फल फल्दैन थियो । तबेलाको घोडा होस या राजगोठका गाइ भैँसी कोही ब्याउन सक्दैन थिए । बुढो हुन्थे र मर्थे तर सन्तान उत्पादन गर्ने क्षमता तिनमा पटक्कै हुँदैन थियो ।

“कौटिल्या”– आज पनि मङगलसेन कहालिदै बिउँझिए ।
कमलपुर राज्यमा त्यो आकाशवाणी सबैले सुनेका थिए “जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ , तबसम्म राजा मङगलसेनको दरबारमा विर्यहरु नाश भइरहने छन् ।”

****

कमलपुरबाट धेरै पश्चिममा अर्को सभ्यता फस्टाउँदै थियो– सिखरापुरा । अन्नपूर्ण हिमशृङ्खला लाइ छिचोल्दै बगेको सेती अनि उस्तै अजङ्गको आँधीखोला जब कालीगण्डकीमा मिसिन्थे तब सुनकोसीको महानता पनि फिका–फिका लाग्द्थ्यो ।

कस्यप राजा त्यस क्षेत्रमा आधिपत्य जमाएर बसेका थिए । कौटिल्यादेवी कस्यप राजाकी जेठी सुपुत्री थिइन जसको सुन्दरता बयान गर्न त्यस समयका कुनै पनि महापुरुषहरु असमर्थ थिए । त्यस्तो हजार सुर्यको जस्तो तेज वर्ण भएकी युवती सायदै कुनै सभ्यताले आजसम्म पैदा गरेको होला ।

कौटिल्याको सुन्दरताको चर्चा पुरै आर्य सभ्यता भरी हर एक युवकको मुक्तकन्ठबाट सुन्न पाइन्थ्यो ।
कस्यप राजाका छोरा थिएनन मात्र दुइ छोरी थिए ,कौटिल्या र बिशाखा ।

****

त्यस दिन घटेको भयावह घटना लाख कोसिसका बाबजुद पनि मङ्गलसेनले बिर्सन सकेका छैनन् । सभामा मङ्गलसेन आफ्ना पिता उग्रसेनका साथ उपस्थित भएका थिए । कमलपुर राज्यबाट मात्रै होइन, लगभग चौधै भुवनका आधिपतिहरु , कौटिल्यालाइ आफ्नो बनाउन त्यहाँ पुगेका थिए ।

सभालाइ सम्बोधन गर्दै कस्यप राजाले भने– “जसले यो स्वयम्बरको औँठीमा पोतिएको तिन रङ्गको अर्थ बताउन सक्ला म उसैलाइ आफ्नो छोरीको हात सुम्पनेछु ।”

****

मङगलसेनले जब कौटिल्यालाइ पहिलोपटक देखेका थिए तब उनी अर्धनग्न अवस्थामा थिइन । सभाको त्यस बिहान मङ्गलसेनले यस्तो कामुक दृश्य देखे जसको परिकल्पनासमेत आजसम्म कसैले गर्न सकेका छैनन् होला ।

 कौटिल्या कालीगण्डकीको किनारमा शालिग्राम पुज्न गएकी थिइन अनि मङगलसेन नयाँ राज्यमा शिकार खेल्न । उनि त्यसबखत त्यहाँ आइपुगे जसबखत कौटिल्या आफ्ना वस्त्र खोलेर नदिमा स्नान गर्न तयार थिइन । हो मङगलसेनले त्यसैबखत कौटिल्याका छातीमा ३ बहुरङगी धर्साहरु देखेका थिए ।

 दुवैका आँखा जुधे अनि नशा–नशामा प्रेमको सन्चार भयो । उनीहरु एकले अर्कालाइ यसरी हेरिरहे कि मानौं उनीहरु त मिलनका निम्ती सात जुनीदेखि टड्पिरहेका छन् ।

****

सभामा निकैबेर खास खुस चल्यो । ठुला–ठुला विद्वान कहलिएकाहरुले आ–आफ्नो तर्क राखे ।

जब मङगलसेनको पालो आयो, उनले सबैले अपेक्षा गरेभन्दा फरक खाले उत्तर दिए । “औँठीमा पोतिएका तिन रङ्गको सिधा सम्बन्ध कौटिल्याको छातीमा रहेका तिन बहुरङ्गी धर्साहरुसँग रहेको छ ।”

 उनको उत्तरले सभामा सन्नाटा छायो । यसको सबैभन्दा ठुलो असर कस्यप राजालाई पर्यो , उनले त केवल बौद्धिकता जाच्नेँ हेतुले यो प्रस्न गरेका थिए ।

तबत उनको क्रोधको सिमा रहेन अनि आफ्नो तरवार झिके र  मङगलसेन माथि जाइ लागे । राजा उग्रसेनले पनि आफ्नो छोरालाइ बचाउन हतियार लिएर कस्यप राजालाइ प्रहार गर्न लागे ।

आफ्नो राजाको रक्षार्थ, अङ्गरक्षकले बिच सभामा राजा उग्रसेनको गर्दन छिनालिदियो ।

मङगलसेनको पनि लगभग त्यही हविगत भइसकेको थियो तर कौटिल्या हतारिदै आएर , मङगलसेनलाइ अङ्कमाल गरिन अनि जिवनरक्षाका लागी याचना गरिन ।

मङ्गलसेनको ज्यान जोगियो तर पनि आफ्नै आँखा अगाडि आफ्ना बाबुको लास लडिरहँदा उनी कत्ति पनि कौटिल्याप्रति कृतज्ञ बन्न सकेनन् । कौटिल्यादेविले रोइ, कराइ गरिन अनि मङगलसेनसँग प्रेमको भिख मागिन तर पनि बाबुको हत्या उनका लागी कौटिल्याको विस्व सुन्दर स्वरुप भन्दा लाखौं गुणा ठुलो चोट थियो ।

मङ्गलसेनले बाबुको छुट्टीएको शिर र धड उठाए अनि कौटिल्यालाइ थु–थु गर्दै त्यस सभाबाट बाहिरिए ।

****

कौटिल्याले आफ्नो चोखो प्रेम मङगलसेनलाइ दिइसकेकी थिइन त्यसैले त्यस घटना पश्चात् उनी आजिवन ब्रम्ह्चर्यमा रहने कठोर निर्णयमा पुगिन ।

यता मङगलसेन आफ्ना पिताका उत्तराधिकारीका रुपमा कमलपुर राज्यका नयाँ राजा बने नयाँ रानी भित्र्याए तर पनि कौटिल्याको स्नेहले भने उनलाइ हरपल हरक्षण पोलिरहन्थ्यो ।

त्यहाँ माथी कौटिल्याको ब्रम्हचर्यको असर यति भयावह भयो कि एकदिन कमलपुर राज्यमा आकाशवाणी भयो – “जबसम्म कौटिल्याको कोख बाँझो रहन्छ , तबसम्म राजा मङगलसेनको दरबारमा विर्यहरु नाश भइरहने छन् ।”

 ****

एकदिन राजाले हठात निर्णय लिए ,म कौटिल्याको ब्रम्हचर्य डगाएरै छाड्छु.......

राजा मङगलसेन भीषण युद्धको तयारीमा जुटे । उनको जिवनमा अब एउटै मात्र लक्ष्य बाँकी रह्यो, शिखरापुरा राज्य हत्याएर आफ्नो पिताको हत्याको बदला लिने अनि कौटिल्याको चिरहरण गरि उसको ब्रम्हचर्य नष्ट गर्ने ।

महिनौ लामो अभ्यासमा आफैँ सम्लग्न भइ, मङगलसेनले एउटा अजङ्गको फौज तयार पारे अनि आवश्यक युद्ध सामाग्री सहित पश्चिम पहाडतिर हानिए ।

****

जति जति पाइला पश्चिम तर्फ लम्कदै थियो उनलाइ त्यती त्यती कौटिल्याको यादले सताउँदै जान थाल्यो । उसको मृगमरिची नयन, कलकलाउँदो केश अनि मस्त कसिएको बदन, सम्झदै मङगलसेनका शरीर काप्न थाल्दथ्यो ।

हिउँ जस्तै कन्चन सेती नदि जब काली न काली गण्डकीसँग मिसिन्थिन , त्यहाँ अदभूत कलाको जन्म हुन्थ्यो । अपत्यारिलो रङ्गको निर्माण हुन्थ्यो ।

हो त्यही सङगम स्थल नजिकै एकजना भयानक साधु उत्पत्ति भए । ती साधुले सारा फौजलाइ रोके अनि राजासँग केही भलाकुसारी गर्न लागे ।

उनी भन्दै थिए –“कौटिल्याले आफ्नो ब्रम्हचर्यको तपस्यामा के पनि वर मागेकी  छिन भने उनिसँग सहवास गर्नेको तत्काल मृत्यु हवोस ।”

 अब भने राजा हतास देखिए । सारा योजना बिफल भएको साथै सम्पूर्ण कमलपुर सभ्यताकै नाश हुने भयले निकै अधैर्य भइ जमिनमा घोप्टो परेर रुन थाले ।

राजाको यस्तो अवस्था देखि साधुको मनमा करुणा पलायो । उनले राजालाई सम्झाउँदै भन्न लागे, “म तिम्रा घोडामा कामवासना भरिदिन्छु जसका प्रभावले कौटिल्या त्यस घोडाप्रति मोहित हुनेछे र त्यस स्त्रीको ब्रम्हचर्य पनि यसै घोडाले तोड्नेछ ।

राजा अवाक भए तर आफ्नो सभ्यताको रक्षार्थ उनिसँग अर्को विकल्प पनि त थिएन । त्यसैले साधुका कुरामा मौन स्वीकृती जनाए । हेर्दा हेर्दै घोडामा अनौठो किसिमको कान्ती प्रज्वलित भयो । साधु फेरि बिलिन भए, राजा अवाकको अवाकै रहे ।

****

गोप्य योजना अनुरुप राजा घोडा ब्यापारीको भेषमा कौटिल्या कहाँ जाने सहमती बन्यो । दरबार बाहिर पुगेपछी सिपाहीले उनलाइ रोक्यो अनि सोधपुछ गर्न लाग्यो । तर मङगलसेन कलाकारितामा निपुण थिए, त्यसैले त सिपाहीले उनलाइ चिन्नै सकेन ।

योजना अनुरुप नै उनले रानीका लागि तिलस्मी घोडा उपहार ल्याएको कुरा दरबारसम्म पुर्याए । 

कस्यप राजाको मृत्यु भइसकेको थियो अनि कौटिल्या उनको उत्तराधिकारीका रुपमा राज्य चलाउँथिन । मङगलसेनले दिउँसो कौटिल्यादेविसँग दर्शनभेट गर्ने समय पाए ।

जब घोडा सहित मङ्गलसेन कौटिल्याका अघि उपस्थित भए दुवैका नजर टक्क अडिए । उस्तै सुन्दर र शालिन चेहरामा मङगलसेन पुनः एकपटक मन्त्रमुग्ध भए । कौटिल्याको आँखामा पनि उस्तै भाव देखेर उनलाइ रानीले आफूलाइ चिनेको भान भयो ।

तर कौटिल्या त घोडाप्रति आकर्षित भएकी थिइन । उनमा त्यस्तै भावनाको जागृत भयो जस्तो धेरै वर्ष पहिले गण्डकीको किनारमा मङगलसेनलाइ देख्दा भएको थियो ।

कौटिल्याले तुरुन्त घोडा किन्ने सहमती जनाइन अनि आफ्नो खोपी भित्र पसेर सानो बालक झैँ रुन थालिन । आज कौटिल्यालाइ मङगलसेनको यादले एकदमै सताउन थाल्यो, किन किन उ आफ्नो निकै नजिक छ कि जस्तो भान रानीलाइ भइरहेको थियो । रातभर उनलाइ निन्द्रा परेन । कहिले उनलाइ मङ्गलसेनको यादले ब्याकुल बनाउँथ्यो त कहिले घोडासँगको सामिप्यताले प्रफुल्लित !

****

कौटिल्या सबेरै तबेलामा पुगिन, जहाँ राजा मङ्गलसेन घोडा ब्यापारीको भेषमा आफ्नो घोडालाइ सिहार्दै थिए । कौटिल्यालाइ त्यहाँ देखेर राजा झस्किए । उनी आफ्नो परिचय नखुलोस भन्नेकुरामा उनि पुर्ण सचेत थिए । तर कौटिल्याले चिन्ने त परैको कुरा उनलाइ वास्ता समेत नगरी सिधै तबेला भित्र पसिन । कौटिल्याका आँखा पुरै सम्मोहनमा परेको मानिसको जस्तो देखिन्थ्यो ।

मङगलसेन एकछिन त पहरेदार जस्तो बाहिरै प्रतीक्षा गरिरहे तर उनको धैर्यताको बाँध धेरै समय अडिन सकेन । कौटिल्या पुरै निवस्त्र भइसकेकी थिइन । राजा अन्तरआत्मादेखी नै कौटिल्यालाइ मन पराउथे त्यसैले त उ आफु बाहेक अरु कसैको नहोस भन्ने चहाना उनिभित्र थियो ।

कौटिल्याको त्यो अवस्था देख्दा राजालाइ असह्य भयो । उनले हठात आफ्नो तरबार निकाले र एकै प्रहारमा घोडाको शिर धडबाट अलग गरिदिए । तब मात्र कौटिल्या होसमा फर्किएको झैँ झसङ्ग भइन ।

त्यसपछि भने राजाले आफ्नो नक्कली दारी जुङ्गा झिकेर आफ्नो असली परिचय दिए ।

धेरै वर्षको प्रतिक्षा पछि जब यी दुइको भेट भयो तब दुवैले आफ्नो आँसु थाम्न सकेनन् । भावविहेल हुँदै एक अर्काको आलिङ्कनमा बाँधिए ।

कौटिल्याको ब्रम्हचर्य त्यसै तबेलामा भङ्ग भयो तर साधुको योजना अनुरुप घोडाबाट होइन ।

 राजा मङगलसेन एकैछिनमा हिक्क हिक्क गर्दै रगत ओकल्न थाले । कौटिल्याले यसको रहस्य बुझिन अनि मङगलसेनको तरबार झिकि आफ्नो प्राण–पखेरु समाप्त गरिन ।

दुइ प्रेमी सदा–सदाका लागी अमर रहे।

****

मङगलसेन रहेनन त के भयो उनको राज्यमा उसैगरि फल फल्न थाले अनि जनावर वृद्धि हुन थाले ।
कालान्तरमा राजा मङगलसेनको सम्झनामा पश्चिम पहाडमा दरबार बनाइयो अनि अझै पनि पुर्वी भुभागमा कौटिल्यादेवीको निकै सत्कार र सम्मान सहित सम्झना हुने गरेको छ ।

****

भन्नेलाइ फुलको माला सुन्नेलाइ सुनको माला, यो कथा बैकुण्ठ जाला!!

No comments:

Post a Comment