परिचय
वि. सं २०६८ मा अलग्गै ऐनद्वारा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल कर्णाली प्रदेशस्थित जुम्लाको चन्दननाथ नगरपालिकामा अवस्थित छ । नेपाल सरकारले गरिरहेको स्वास्थ्य र मेडिकल शिक्षाको विकेन्द्रीकरणको अभ्यास स्वरुप स्थापित यो संस्थामा हाल धेरै विषयहरुमा विशेषज्ञ सेवाहरु उपलब्ध छन् ।
त्यस्तै यहाँ हाल हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र एनेस्थेसिया असिस्टेन्ट कोर्स सञ्चालनमा छन् ।
कर्णाली क्षेत्र र वरपरका नौ जिल्ला (जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालीकोट, अछाम, बझांग, बाजुरा, जाजरकोट) लाई प्राथमिकतामा राखेर स्थापित यो संस्था अब नव निर्मित कर्णाली प्रदेश (थप जिल्लाहरुः दैलेख, सुर्खेत, सल्यान र पश्चिम रुकुम)को एउटै प्रतिष्ठान स्तरको चिकित्सा शिक्षण संस्थाका रुपमा रहेको छ । हालै प्रतिष्ठानअन्तर्गतको अस्पतालको ३०० बेडसहितको आधुनिक भवन सञ्चालनमा आएको छ ।
जुम्लास्थित प्रतिष्ठानको अस्पतालबाट मात्र नभई विभिन्न जिल्ला अस्पतालहरुबाट समेत प्रतिष्ठानसम्बद्ध विशेषज्ञ चिकित्सकहरुले सेवा दिने कामले पछिल्लो वर्षमा थप गति लिएको छ ।
तर अहिले यो प्रतिष्ठान सफलता र असफलताको निर्णायक दोबाटोमा उभिएको छ । एकतिर देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा सिंगो कर्णाली प्रदेशको नेतृत्वदायी शिक्षण र स्वास्थ्य संस्थाका रुपमा यसलाई विकसित गर्ने अवसर प्रदेश र केन्द्रीय सरकारहरुसँग छ भने यसको स्वामित्व र व्यवस्थापन लगायतमा रहेका चुनौतीहरुका कारण यो असफल हुने डर पनि उत्तिकै टड्कारो छ । खास गरी कर्णालीको जुम्लाजस्ता कम जनघनत्व भएका ठाउँहरुमा एमबीबीएस जस्ता कार्यक्रमको औचित्य र सम्भावना दुवै नभएकाले यस्ता ठाउँमा ठूला अस्पताल बनाएर शिक्षणको पाटोलाई सुर्खेत वा नेपालगन्जजस्ता ठूला शहरमा झार्नुपर्छ भन्ने मत पनि खास गरी काठमाडौंमा बलियो छ । त्यो अवस्थामा एमबीबीएस लगायतका कार्यक्रमहरुका लागि भनेर भएको अरबभन्दा बढी लगानीको अवस्था के हुन्छ भन्ने प्रश्न छ ।
हाल खलंगाबजारस्थित परिसर प्रांगणबाहेक चन्दननाथ नगरपालिकाभित्रै र बाहिर गरी बेसिक साइन्स र अन्य भवनहरुका लागि भनेर प्रतिष्ठानले जग्गा निःशर्त अनुदान पाएकोमा तिनमा थप भौतिक संरचना बनाएर समय लगाएर भए पनि जुम्लाभित्रै सबै सुविधा र संकायहरुसहित शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने वा अहिले नै बिरामीको चाप धेरै भएको सुर्खेत क्षेत्रीय अस्पतालसँग कुनै न कुनै रुपमा सहकार्य गरेर सापेक्षतः छिटो एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने भन्ने प्रश्न कायम छ ।
हालको अवस्था
१. स्वास्थ्य सेवा
पतिष्ठानमा उपलब्ध सेवाः
यस क्षेत्रमा सुर्खेतभन्दा माथि विशेषज्ञ तहको सेवाको सख्त अभाव भएको समयमा खुलेको यस प्रतिष्ठानमा हाल नौ विषयका २३ विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् (हेर्नुहोस्, टेबल १)। साथै १२ जना मेडिकल अधिकृतहरुसमेत कुल ३५ जना चिकित्स्कहरुअहिले कार्यरत रहेका छन् । अन्य जनशक्तिको विवरणका लागि हेर्नुहोस्ः टेबल २ ।
टेबल १ः चिकित्सकहरुको संख्या
विषय
चिकित्सक संख्या
हाड जोर्नी
४
एमडीजीपी
२
सर्जरी
३
बाल रोग
३
इन्टरनल मेडिसिन
१
मानसिक रोग
१
स्त्री तथा प्रसुति रोग
३
दन्त रोग
२
एनेस्थेसिया
४
मेडिकल अधिकृत
१२
नोटः रेडियोलोजिस्ट नरहेकाले अल्ट्रासाउण्ड सेवा एमडीजीपी चिकित्सकहरुद्वारा दिइने
टेबल २ः अन्य जनशक्ति
प्रकार
संख्या
नर्सिंग
६४
प्रयोगशाला प्राविधिक
९
फार्मेसी
५
एक्स रे
६
अस्पतालको चारतले भवनमा रहेका ३०० बेडमध्ये हाल पहिलो दुई तलामा इमर्जेन्सी, प्रयोगशाला, विभिन्न वार्डहरु र अपरेशन थिएटर सञ्चालनमा छन् भने बाँकी दुई तला प्रयोगमा आइसकेका छैनन् ।
सामान्य शल्यक्रियाहरुबाहेक केही जटिल प्रकृतिका शल्यक्रियाहरु पनि संस्थानमा भइसकेका छन् जसमध्ये हेमिआथ्रोप्लास्टी (आधा जोर्नी प्रत्यारोपण) र मेरुदण्डको शल्यक्रिया पर्छन् । त्यस्तै प्रसुतिसम्बन्धी जटिलताका कारण ज्यान जोखिममा परेका हुम्लाका दुई बिरामीलाई हेलिकप्टरबाट अन्यत्रको सट्टा प्रतिष्ठानमा ल्याएर सफल उपचार गरिएको छ । प्रसुतिकै एक जटिल रक्तस्रावको बिरामीलाई १४ जना व्यक्तिबाट ताजा रगत निकालेर दिएर समेत ज्यान जोगाउने शल्यक्रिया गरिएको छ ।
1.जिल्लागत सेवा
यसै वर्षदेखि कालीकोट जिल्लामा प्रत्येक महिनाको १५ र २८ गत र मुगुमा प्रत्येक महिनाको २ गते विशेषज्ञ चिकित्सकहरुद्वारा ओपीडी सेवा सञ्चालित हुन्छ । त्यस्तै डोल्पामा ३ वर्षदेखि प्रतिष्ठानले एमडीजीपी चिकित्सक राखेरएकीकृत आकस्मिक मातृ तथा शिशु स्याहार सेवा (सिइओएनसी) सेवा दिंदै आएको छ भने हुम्लामा एक एएसबीए र एक नर्स राखेर सिइओएनसी सेवा दिइरहेको छ ।
त्यस्तै जाजरकोटमा एक स्त्री रोग विशेषज्ञ र एक नर्ससहित सिइओएनसी सेवा उपलब्ध गराएको छ भने सुर्खेतस्थित अञ्चल अस्पतालमा हाल ३ विशेषज्ञ चिकित्सकहरु (सर्जरी, हाडजोर्नी र एनेस्थेसिया विभाग) प्रतिष्ठानबाट खटाइएका छन् । त्यस्तै कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोट र सल्यान जिल्लामा पाठेघर को अपरेशन क्याम्प पनि प्रतिष्ठानले नै सञ्चालन गरेको छ ।
२. शैक्षिक कार्यक्रमहरु
४० सिट क्षमतासहितको हेल्थ असिस्टेन्ट कार्यक्रमको अहिले तेस्रो वर्ष चल्दैछ भने ४० सिटकै नर्सिंग कार्यक्रमको पाँचौं वर्ष चल्दैछ र दुई ब्याचका नर्सहरु यहाँबाट निस्किेसकेका छन् । त्यस्तै यसै वर्षदेखि एनेस्थेसिया असिस्टेन्ट कार्यक्रममा ४ जना विद्यार्थी अध्ययनरत छन् । हालसालै प्रतिष्ठानले नर्सिग काउन्सिलसँग १० सिट ब्याचलर इन मिडवाइफरी कार्यक्रमका लागि समेत अनुमति पाइसकेको छ ।
थप भौतिक सम्पत्ति
चेरिया चौरमा ४२२ रोपनी र धितामा १०० रोपनी जग्गा स्थानीयवासीले प्रतिष्ठानका लागि निःशुल्क अनुदान दिएका छन् जसमध्ये बेसिक साइन्सका लागि आवश्यक भवनहरु चेरिया चौरमा र नर्सिंग तथा अन्य कार्यक्रमहरुका लागि भवन बनाउने अवधारणा ल्याइएको छ । यसबाहेक अरु जग्गा पनि प्रतिष्ठानलाई प्राप्त हुने विभिन्न चरणहरुमा रहेको छ ।
चुनौतीहरुः
१. स्वामित्वको प्रश्न
प्रदेश सरकार गठनसँगै जिल्लाका सबै जिल्ला अस्पतालहरु र सुर्खेतको क्षेत्रीय अस्पतालहरु कर्णाली प्रदेशको स्वामित्वमा आइसकेका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केन्द्रको मातहतमा रहिआएको छ । जबकि माथि उल्लेख गरिएझैं प्रतिष्ठान र यस प्रदेशका बाँकी सबै अस्पतालहरुबीच गहिरो सम्बन्ध र अन्तर्निभरता विकसित भइसकेको छ । स्वास्थ्य सेवा प्रदान गर्न मात्रै नभई शैक्षिक कार्यक्रमहरु चलाउन पनि यी संस्थाहरुबीचको सहकार्य अनिवार्य बनेको छ । जस्तो कि, प्रतिष्ठानले अब चलाउन लागेको ब्याचलर इन मिडवाइफरीको मुख्य सिकाइ केन्द्र सुर्खेत क्षेत्रीय अस्पताल हुनेछ ।
अब प्रतिष्ठानको शैक्षिक स्तरोन्नति गरेर एमबीबीएस लगायतका कार्यक्रम चलाउन पनि त्यस्तो सहकार्यविना सम्भव नभएको सरोकारवालाहरुको बुझाइ छ । तर त्यस्तो सहकार्यमा खास गरी प्रतिष्ठान र क्षेत्रीय अस्पतालको फरक फरक स्वामित्व बाधा हुन सक्ने सम्भावना छ ।
२. व्यवस्थापन र नेतृत्वको प्रश्न
यस अध्ययनका क्रममा संस्थामा कार्यरत सबैजसो चिकित्सकहरुले प्रतिष्ठानको व्यवस्थापनमाथि प्रश्न उठाए । यसमा उनीहरुले उठाएका सवाल यस्ता छन्ः
ड्ड
प्रतिष्ठानको नेतृत्वमा रहेका व्यक्तिहरु (उपकुलपति, रेक्टर, रजिस्ट्रार, डिन र अस्पताल निर्देशक)बीच न्युनतम साझा भिजन र सहकार्यमा रुचिको अभाव
ड्ड
विभिन्न पदाधिकारीहरुका प्राथमिकतामै रहेका भिन्नता
ड्ड
कार्य कुशलता र व्यवस्थापकीय क्षमताको अभाव (उदाहरणः करारमा एमडी पढेका चिकित्सकलाई करार अवधि नपुग्दै डीएम पढाउन अनुमति दिइएको)
ड्ड
सम्बन्धित विज्ञता नै नभएको व्यक्तिलाई जिम्मेवारीमा ल्याउँदा समस्याको बोधको समेत अभाव
ड्ड
एक वर्ष रहेर कार्यकुशलता प्रदर्शन गरेका डिनलाई राखीराख्नमा असफलता
ड्ड
पदाधिकारीहरुबीचको मनमुटावका कारण महत्वपुर्ण कामहरु प्रभावित भएका
ड्ड
विभिन्न खालका नाजायज दबाब खेप्ने क्षमता पदाधिकारीमा नहुँदा सही निर्णयहरु हुन नसकेका
३. भौगोलिक अवस्थिति, जनघनत्व
असहज भुगोल र यातायातको पहुँच अभावका कारण कर्णाली क्षेत्रकै ठूलो जनसंख्यालाई प्रतिष्ठानबाट विशेषज्ञस्तरको सेवा दिन नसकेको प्रष्ट देखियो । हाल डोल्पाका तत्कालीन तीन गाविस र हुम्लाबाट फाटफुट अनि मुगुका े सानो क्षेत्रबाहेक मुख्यतः जुम्ला र कालीकोटबाट मात्रै बिरामीहरु प्रतिष्ठानको अस्पतालमा आउने गर्छन् । त्यसको मुख्य कारण यातायात पुगेको ठाउँमा समेत सडकको दुरावस्थाका कारण प्रतिष्ठान पुग्न लामो समय कष्टकर यात्रा गर्नुपर्ने र त्यसका लागि जहाजमा नेपालगन्ज जानभन्दा पनि निकै महंगो पर्नु देखियो ।
पछिल्लो समय जिल्लाहरुमा प्रतिष्ठानले विशेषज्ञ ओपीडी सञ्चालन गर्न थालेपछि प्रतिष्ठानको अस्पतालमा बिरामीको प्रवाह केही बढे पनि यातायात पूरै सहज नभएसम्म प्रतिष्ठानको अस्पताललाइै क्षमता अनुसारको सेवा दिनसमेत सहज देखिैदैन । त्यस्तै एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम चलाउन बिरामीको चाप पनि अहिलेको अवस्थामा नपुग्ने देखिन्छ ।
४. नियामक निकायको अडान
भौगोलिक अवस्थिति र जनघनत्वका न्युनताका कारण एमबीबीएसजस्ता कार्यक्रम चलाउन नेपाल मेडिकल काउन्सिलले अपवादजन्य व्यवस्था गर्नुपर्ने माग प्रतिष्ठानका पदाधिकारीहरुले गर्दै आएका छन् । प्रतिष्ठानले धेरै जिल्ल अस्पतालहरुसम्म विशेषज्ञ सेवा बिस्तार गरेपछि जिल्लाहरुमा छरिएर रहेका अस्पतालका बेडहरुसमेत प्रतिष्ठानका बेडको रुपमा गन्न पाउनुपर्ने पदाधिकारीको दाबी छ ।मेडिकलकाउन्सिल चाहिं देशभित्र कतै पनि दोहोरो मापदण्ड कायम गर्न नहुने अडानमा छ । सुगम ठाउँहरुमा जति बिरामीको चापलगायतका मापदण्ड पुर्याउन लाग्दा यहाँ कार्यक्रम चलाउन धेरै ढिलो हुने पदाधिकारीहरुको भनाइ छ ।
५. समन्वयको अभावः
विभिन्न सरोकारवालाहरुबीच आवश्यक तहको समन्वय भएको देखिंदैन ।
ड्ड
संघ र प्रदेशमध्ये कुन सरकार अन्तर्गत यो र यस्तै संस्थाहरु रहँदा तिनको अधिकतम विकास हुन्छ भन्नेमा नीतिगत तहमै आवश्यक बहस नभएको देखिन्छ । त्यस्तो बहसपछि मात्रै संघीय र प्रदेश सरकारबीच आवश्यक समन्वय गरेर स्वामित्वको विवाद टुंग्याउनु सम्भव हुन्छ ।
ड्ड
प्रतिष्ठानका पदाधिकारीहरु आफैंबीच समन्वय गरेर प्रतिष्ठानको विकासका लागि साझा खाका तयार पार्ने काम भएको देखिंदैन ।
ड्ड
प्रतिष्ठानका पदाधिकारीहरु र कार्यरत चिकित्सक र कर्मचारीबीच संस्थाको भविष्यका बारेमा प्रभावकारी सम्वाद भएको देखिंदैन
ड्ड
संघ र प्रदेश दुवैले पदाधिकारी लगायतका सरोकारवालाहरुसित समन्वय गरेको पनि देखिंदैन ।
सरोकारवालाका धारणा र अडान
प्रदेश सरकार
ड्ड
प्रदेशका मुख्यमन्त्रीसँग भेटघाट र कुराकानी हुन नसकेको
ड्ड
मन्त्रीहरुसँगको अलग अलग भेटघाटका क्रममा प्रतिष्ठानसम्बन्धी फरक अवधारणाहरु आएकाले यस विषयमा एउटै धारणा बनाउन प्रदेश सरकारले विशेष गृहकार्य र बाँकी सरोकारवालाहरुसँग अन्तर्कि्रया गर्नुपर्ने ।
चिकित्सकहरु
ड्ड
अविलम्ब एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने
ड्ड
त्यसका लागि तत्काल सुर्खेत क्षेत्रीय अस्पतालसँग सहकार्य हुनुपर्ने
ड्ड
डिनको खाली पदमा अविलम्ब योग्य र सक्षम व्यक्ति ल्याउनुपर्ने
ड्ड
साझा भिजन र समुहमा काम गर्ने भावना भएका पदाधिकारीहरुको टिम हुनुपर्ने । त्यसका लागि या त हालका पदाधिकारीहरुको प्रवृत्ति र कार्यशैली फेरिनुपर्ने, नत्र व्यक्तिहरु नै फेर्नुपर्ने ।
उपकुलपति
ड्ड
शैक्षिक कार्यक्रम अपेक्षित गतिमा स्थापित नभए पनि स्वास्थ्य सेवा प्रवाहमा छलांग मार्न प्रतिष्ठान सफल भएको । दुर्गमका धेरै जिल्ला मात्रै नभई सुर्खेत क्षत्रीय अस्पतालमा समेत विशेषज्ञ चिकित्सक पठाएर सेवा प्रवाहमा सहयोग गरिएको
ड्ड
प्रतिष्ठानकै अस्पतालमा बिरामीको चाप सापेक्षतः कम भए पनि हस्पिटल एट होमको अवधारणा अनुसार जिल्ला जिल्लामा विशेषज्ञ तहको सेवा पुर्याइएको, स्वास्थ्य सेवा जस्तै शिक्षणमा पनि विकेन्द्रीकृत शिक्षण गर्न सकिने
ड्ड
कर्णाली क्षेत्रको भौगोलिक विकटता र जनघनत्वको कमीका कारण नेपाल मेडिकल काउन्सिलले यसका लागि अपवादमूलक व्यवस्था गर्नुपर्ने
ड्ड
हालसम्म स्वास्थ्य सेवा र शिक्षा दुवैमा सुर्खेत क्षेत्रीय अस्पतालसँगको समझदारी र सहकार्य गरिएकोमा त्यसलाई थप घनीभुत पार्नुपर्ने
ड्ड
एमडीजीपी कार्यक्रम चलाउन तुलनात्मक रुपमा सहज भएको र त्यसले एमबीबीएस कार्यक्रम ल्याउन सहयोग गर्ने भएकाले तत्काल २ सिट मात्रै भए पनि त्यसको अनुमति पाउनुपर्ने ।
स्थानीय वासी
ड्ड
जुम्लामा सबै विषयका विशेषज्ञ तहका सेवा हुनुपर्ने
ड्ड
स्थानीय विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिने गरी एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने
अगाडिको बाटो
१) तत्काल गर्नुपर्ने कामः
क) नीतिगत
ड्ड
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै नभई सरकारको एक प्रदेश एक मेडिकल शिक्षण संस्था नीति अन्तर्गत खुल्न लागेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा मेडिकल कलेज लगायतका संस्थाहरुको भविष्यबारे केन्द्र सरकारले राम्रो गृहकार्य गर्नुपर्ने । कर्णालीबाहेक राप्ती र पोखरा प्रतिष्ठानमा ठूलो लगानी नभएको तथा अहिलेसम्म ती संस्था अचाक्ली धेरै प्रशासनिक खर्च भएका सेतो हात्तीजस्ता बनेकाले तिनको औचित्यबारे गम्भीर विमर्श हुनुपर्ने । पहिले पनि गम्भीर बहस नभई हतारमा ल्याइएका ती प्रतिष्ठानहरुको विकल्प खोज्नुपर्ने आवश्यकता महसुस भएमा निकै कम प्रशासनिक खर्च हुने गरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका आंगिक मेडिकल कलेजहरु खोल्ने विकल्पमा जाने, जसले कम खर्चमा स्वास्थ्य सेवा र शिक्षा दुवैको बिस्तार हुन्छ ।
ड्ड
दीर्घकालमा कुन प्रतिष्ठान कायम हुने र कुन सरकारी आंगिक मेडिकल कलेज हुने भन्ने निक्र्योल भएपछि तिनको स्वामित्व केन्द्र वा प्रदेश कुन तहमा हुने भन्ने निक्र्योल गर्ने । त्यसो गर्दा संस्थाको स्वामित्व, अपनत्व, जवाफदेहिता र दिगोपन तथा सम्बन्धित सरकारको आर्थिक क्षमतालाई आधार बनाउने ।
ड्ड
एक अर्बभन्दा बढी लगानी भएर कर्णाली क्षेत्रको स्वास्थ्य सेवा प्रवाहमा उल्लेख्य भुमिका खेलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पनि त्यस्तो निक्र्योल भएपछि सुर्खेत क्षेत्रीय अस्पतालसँग सहकार्यको बाटो खोल्ने । भौगोलिक रुपमा सयौं किलोमिटर टाढा रहेका यी संस्थाहरुबीचको सहकार्य मार्फत एमबीबीएस कार्यक्रम चलाउनका लागि नियमनका बाधा अड्चन फुकाउन सरकारले नेपाल मेडिकल काउन्सिलमा पहल गर्ने ।
ख) व्यवहारिक
ड्ड
सुर्खेत क्षेत्रीय अस्पतालसँगको सहकार्यमा सापेक्षतः छिटो एमबीबीएस कार्यक्रम भित्र्याउने वा समय लगाएर भए पनि बेसिक साइन्सलगायतका लागि अलग्गै संरचनाहरु निर्माण गरेर तथा आवश्यक बिरामीको चाप हुने अवस्था पर्खेर जुम्लाभित्रकै संरचना र यहाँ आउने बिरामीको भरमा एमबीबीएस चलाउने भन्ने विषयमा सबै सरोकारवालाहरुले विमर्श गरेर एक मत हुनुपर्ने । हाल अधिकांश सरोकारवालाहरुको बुझाइ सुर्खेतसँगको सहकार्यमार्फत छिटो एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, त्यसो नगर्दा सुर्खेतमा प्रतिस्पर्धी संस्था खुलेको अवस्थामा राज्यलाई अनावश्यक भार पर्ने मात्रै नभई कर्णाली प्रतिष्ठानमा नयाँ कार्यक्रम ल्याउनु भप चुनौतीपूर्ण हुने भन्ने रहेको ।
ड्ड
समग्र बहसमा सबैभन्दा पेचिलो मुद्दा सुर्खेतसँगको सहकार्यको रुप कस्तो हुने भन्ने रहेको । त्यसमा केही विकल्प यस्ता रहेकाः
य
सुर्खेत क्षेत्रीय अस्पताललाई प्रतिष्ठान मातहत ल्याएर सिंगो संस्थालाई केन्द्रको स्वामित्व रहेको तर कर्णाली क्षेत्रको स्वास्थ्य र शिक्षा हेर्ने संस्थामा बदल्ने
य
सुर्खेत क्षेत्रीय अस्पताललाई प्रतिष्ठान मातहत ल्याउने, सिंगो संस्थालाई प्रदेशको स्वामित्वमा ल्याउने र प्रतिष्ठानलाई कर्णाली प्रदेशकै नेतृत्वदायी स्वास्थ्य र शिक्षण संस्थामा बदल्ने
य
क्षेत्रीय अस्पताललाई प्रतिष्ठानको टिचिंग साइटका रुपमा मात्रै प्रयोग गर्ने
य
सहकार्य हुन नसकेको खण्डमा जुम्लामै सबै संरचना बनाएर एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्ने
ड्ड
कुनै पनि विकल्पमा जानु अगाडि माथि भनिए झैं केन्द्र र प्रदेश सरकारको एउटै परिष्कृत नीति र धारणा हुनुपर्ने
ड्ड
पहिलो, दोस्रो, वा तेस्रो विकल्पमा गएर सुर्खेत क्षेत्रीय अस्पतालसँग सहकार्य भएको अवस्थामा जुम्लामा बेसिक साइन्स (एमबीबीएस अन्तर्गत पहिलो र दोस्रो वर्षमा पढाइने आधारभुत विज्ञान) को पढाइ गर्ने र तेस्रो वर्षदेखि शुरु हुने क्लिनिकल पोस्टिंगका हकमा बिरामीको चाप हेरी एक तिहाइको हाराहारी पोस्टिंग जुम्लामै र बाँकी दुई तिहाइ सुर्खेतमा गर्ने व्यवस्था गर्ने । त्यसो गर्दा हाल प्रतिष्ठानमा रहेको नन् प्राक्टिसिंग नीति प्रतिष्ठानअन्तर्गत सुर्खेतमा रहने फ्याकल्टीहरुका लागि समेत कार्यान्वयन गर्ने । हाल शुरु भएको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउने प्रतिष्ठानको अभ्यास यस क्षेत्रका सबै जिल्लामा बिस्तार गर्ने ।
ड्ड
सुर्खेतसँग सहकार्य भएको अवस्थामा बेसिक साइन्सका लागि जुम्लामा अलग्गै भवन बनाउनु पर्ने वा हालकै भवनको प्रयोगमा नआएको भागलाई उपयोग गर्ने भन्नेमा बिस्तृत गृहकार्य हुनुपर्ने । हाल बिरामीको चापलगायतको अवस्था हेर्दा कक्षाकोठाकै लागि नयाँ भवन बनाउनु नपर्ने । तर बिरामीको चाप र सेवा बिस्तार भएको अवस्थामा थप भवन र संरचनाहरु बनाइ पठनपाठनको काम अन्यत्र सारेर अस्पतालको सेवा बिस्तार गर्न सकिने । कक्षाकोठा र प्रयोगशालाबाहेक होस्टेल र फ्याकल्टी क्वार्टरका संरचनाचाहिं तदारुकताका साथ अस्पताल परिसरभित्रै बनाउन सम्भव देखिने । थप लगानी जुटेर अन्यत्र बेसिक साइन्सका सबै संरचना बनेको खण्डमा अस्पताल परिसरका ती संरचना सहजै अस्पतालको बिस्तारित सेवाका लागि उपयोग गर्न सकिने ।
२) मध्यमकालमा गर्नुपर्ने काम
जुम्लास्थित प्रतिष्ठानको अहिलेको प्रथम चुनौती भनेको कर्णाली प्रदेशका धेरैभन्दा धेरै मानिस अस्पताल आएर सेवा लिन सक्ने अवस्था बनाउनु हो । त्यसको मुख्य उपाय भनेको सडकरुको निर्माण र स्तरोन्नति गरेर अस्पतालसम्मको यात्रा सहज बनाउनु हो । अहिलेकै अवस्थामा चाहिं सिंजा वा नाग्मदेखि बिहान बेलुका नियमित अस्पतालसम्मका लागि सस्तो बस सेवा सञ्चालन गर्नु आवश्यक देखिन्छ । त्यसबाहेक टाढाबाट आउने बिरामीको बसाइलाई सहज र कम खर्चिलो बनाउन गेस्ट हाउस निर्माण गर्नुपर्ने देखिन्छ ।
३) दीर्घकालीन र नीतिगत कुराहरु
ड्ड
प्रतिष्ठानको नेतृत्व चयन राजनीतिक प्रकृतिको हुने अवस्था बन्द हुनुपर्ने । अर्को विश्वविद्यालयमा काम गर्दै गरेको प्राध्यापकलाई ल्याउँदा यसै थला परेका नेपालका पुराना विश्वविद्यालयका व्यवस्थापकीय समस्या यहँ पनि देखा पर्ने र संस्थाले छलांग मार्ने सम्भावना नभएकाले सेवा निवृत्त वा अर्को विश्वविद्यालयमा आबद्ध नभएका व्यक्तिलाई नियुक्ति दिनुपर्ने । त्यसो गर्दा कर्णाली क्षेत्रमा विशेष याोगदान वा लगाव भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने । पदाधिकारीलाई तालिकाबद्ध रुपमा निश्चित कार्यभार दिई कार्य सम्पादन सन्तोषजनक नभएको अवस्थामा पदबाट हटाउने व्यवस्था गर्ने ।
ड्ड
प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा शिक्षा र पर्यटनलगायतको प्रवद्र्धन गरेर स्वास्थ्य र शिक्षालाई जनजीविकाका अन्य सवालसँग जोड्ने ।