Search This Blog

Thursday, September 28, 2017

गजल


मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।

काम पर्दा आक्कल-झुक्कल घन्टी बज्थ्यो उसको  (२)
त्यही 'कामका' पाना  भित्र गुलाफ राखिनछु ।

शहर बजार टहलिदै कफी पिइयो कतिकति (२)
एउटै इस्ट्र  कपमा राखी जुठो साटिनछु ।

मध्य रातमा अनलाइन गफले काउकुती लाउँथ्यो (२)
भेट हुँदा गफका कुरा गर्न जानिनछु ।

‘असल मित्र’ मात्रै हामी जाने बेला तिम्ले भन्यौ (२)
दाल–भात खायो भोक टर्यो  ! तर ट्वाक्क बनिनछु ।

मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।



Wednesday, September 27, 2017

शिक्षण अस्पतालमा पहिलो अनशन


(अनशन त्यसमाथि पनि झन शिक्षण अस्पताल भनिसकेपछि त सबैको मनमा एउटै नाम आउँछ , डा. गोविन्द केसी । तर डा.गोविन्द केसी भन्दा पहिले पनि आइओएममा अनशन बस्ने व्यतिm हुन प्रा.डा. भीष्मराज प्रसाई जसको रोचक वर्णन उनको आत्माकथा आफैलाइ फर्केर हेर्दा’ मा पढ्न पाइन्छ ।)

ओहो म त भूतले खाजा खाने बेलामा डिन भएको रहेछु । त्यो बेला २०४६ सालको आन्दोलनको पृष्ठभूमि बन्दै थियो । पञ्चायत विरोधी गतिविधि बढ्दै थियो । क्याम्पसमा कतिपय विद्यार्थी र प्राध्यापकहरु पठनपाठन भन्दा राजनितिमा बढि तल्लीन हुन थालेका थिए । राजनैतिक दलहरु प्रतिबन्धित भएकाले स्वतन्त्र विद्यार्थी युनियनका नाममा पार्टीका भ्रातृ संगठनहरु क्याम्पसमा सक्रिय थिए । प्रतिबन्धित राजनितिक पार्टीको टर्च बोकेर विद्यार्थी संगठनहरु तत्कालिन बेथिति,प्रशासनिक अस्तव्यस्तता र शैक्षिक समस्यालाइ निहुँ बनाएर क्याम्पसमा होहल्ला गरिरहेका थिए ।

२०४६ सालको आन्दोलन अघिका १० वर्षमा मुलुकका क्याम्पसहरुमा विद्यार्थी राजनिति उफानमा थियो । कांग्रेसको नेपाल विद्यार्थी संघ , कम्युनिष्टहरुको अनेरास्ववियू , पञ्चहरुको राष्ट्रिय विद्यार्थी मण्डल आदि । संगठनहरुले क्याम्पसहरुमा विद्यार्थी समस्याका नाममा राजनिति गरिरहेका थिए जसले क्याम्पसको पठनपाठन अवरुद्ध भइरहेको थियो । क्याम्पसहरुमा अस्थिरता , अनुशासनहिनता र अराजकता व्याप्त थियो ।
उता, त्रिविका प्राध्यापकहरुमा पनि राजनिति हावी भइसकेको थियो र उनीहरुको राजनिति हावा शिक्षण अस्पतालमा पनि घुसिसकेको थियो । प्राध्यापकहरु कोहि ‘प्रगतिशिल’ भएका थिए भने कोहि ‘प्रजातान्त्रिक’ । आफू परियो विशुद्ध सेवक । राजनितिको खेलमा नलागेको । त्यसैले भयो के भन्दा , कांग्रेस र कम्युनिष्ट पार्टीका प्राध्यापक र विद्यार्थीहरुले मलाइ यो पञ्चे डिन हो , यसलाइ डिनबाट हटाउनुपर्छ भन्न थाले । शुरुमै मेरो मार्गमा अवरोध खडा गरियो ।

तर त्यसमा पनि मत विभाजन भयो । एकथरीले मलाइ पञ्चे डिन हो निकाल्नुपर्छ भन्ने र अर्काथरीले उहाँ र उत्कृष्ट डिन हो निकाल्नु हुँदैन भन्ने । अन्तत ः मलाइ डिनबाट हटाउने कि राख्ने भन्ने विषयमा भोटिङ भयो । रोचक भनूँ या बिडम्बना , प्रतिनिधिसभाका माननीय सदस्यहरुले भोटिङ गरेर कुनै प्रधानमन्त्री चयन गरेझैँ शिक्षण अस्पतालका सम्पूर्ण डाक्टर र कर्मचारीहरुले मलाइ हटाउने कि राख्ने भन्ने विषयमा मतदान गर्नुपर्यो रे । मतदान हुँदा मेरो विपक्षमा जम्मा ९ मत खस्यो रे । त्यो अनौठो चुनावमा म करिबकरिब सर्वसम्मत रुपले विजय भएँ अरे । त्यसपछि कसैको केहि लागेन , मलाइ हटाउन खोज्नेहरु आफैँ पाखा लागे ।

यो त एउटा अड्चन थियो । यस्ता अड्चनहरु धेरै आए । म डिन भएर गएपछि पनि विभिन्न विद्यार्थी संगठनहरुले विभिन्न माग तेर्साएर घेराउ , तालाबन्दी र धर्ना आदि गर्दै आएका थिए ।

२०४६ साल फागुनको प्रसङ्ग हो ,एक दिन म आफ्नो कार्यलयमा जाँदा विद्यार्थीहरुको असहज गतिविधि पाएँ । करिब एक सय जना जति विद्यार्थी मेरो कार्यकक्ष बाहिर थुप्रिएका थिए । त्यति नै संख्यामा भित्र पनि विद्यार्थी थिए । जब म ती विद्यार्थीलाइ पन्छाउँदै आफ्नो सेक्रेटरीको कोठामा पुगेँ तब मैले आफ्नो कार्यकक्षको ढोका खुल्लै भएको पाएँ । आफ्नो कार्यकक्षमा प्रवेश गर्दा त दर्जनौँ विद्यार्थी फ्लोरमा बसिरहेका थिए र त्यहाँ कार्यलयमा कोहि स्टाफ थिएनन् ।

म सरासर डिनको कुर्सिमा गएर बसेँ ।

“के भो ? के भन्न आएका हौ ? सबै एकैचोटि यसरी आउने ?” , मैले भनेँ ।

“सर हामी आफ्ना माग राख्न आएका हौँ । सरले यी माग पूरा गर्छु भनेर सहि गर्नुपर्यो । सहि नगर्ने हो भने हामी तपाइलाइ घेराउ गर्छौ ।” विद्यार्थीको कुनै नाइकेले भने ।

केहिबेर उनीहरुलाइ फकाउने कोसिस गरेँ । उनीहरुका मागहरु केके हुन् , त्यसबारेमा बुझ्ने कोसिस गरेँ । उनीहरुका मागहरुमध्य ५० प्रतिशत राजनितिक प्रकृतिका थिए जसका बारेमा मैले कुरै गर्न चाहिन । म उनीहरुसँग शैक्षिक कार्यक्रम र प्रशासनिक प्रकृतिका मागहरुका बारेमा मात्र छलफल गर्ने पक्षमा थिएँ तर उनीहरुको उदेश्य अर्कै थियो । उनीहरु डिनलाइ हतोत्साहित पारेर आफ्ना सम्पूर्ण मागमा सहि गराउने योजनाले आएका थिए वा राजनैतिक आन्दोलनकै त्यो एउटा अंग थियो , मलाइ खासै थाहा भएन । जति सम्झाउँदा पनि विद्यार्थीहरु मेरो कार्यलयबाट टसको मस भएनन् ।

तीन घण्टा बित्यो । उनीहरुले इन्स्टिच्युटका अन्य कर्मचारीलाइ पनि भित्र प्रवेश गर्न दिएनन् , मलाइ पनि घेराउ गरिरहे । म गम्भिर अवस्थामा पुगेँ । विभिन्न ठाउँबाट मलाइ फोन आउन थाल्यो । म घेराउमा परेको घटनाका बारेमा चारैतिर खबर फैलियो । मेरो सुरक्षालाइ लिएर मेरा परिवारका सदस्यहरु बडो चिन्तित हुन थाले । मेरा भाइ बेनुपराज प्रसाई त्यतिबेला पञ्चायत तथा स्थानीय सहायकमन्त्री थिए । उनले गृहमन्त्रीलाइ मेरो अवस्थाका बारेमा जानकारी गराइसकेका थिए । सरकार बल प्रयोग गरेर मेरो उद्धार गर्ने भन्ने तयारी गर्दै थियो ।

मलाइ उद्धार गर्न सरकारले कुनै बल प्रयोग गर्नु पर्दैन । उत्पन्न परिस्थितिलाइ म आफ्नै तरिकाले हल गर्नेछु । मैले गृहका अधिकारीलाइ भनिदिएँ र क्याम्पसमा बल प्रयोग गर्न दिइनँ ।

दिउँसोतिर मलाइ लाग्यो कि अब यी विद्यार्थीहरुसँग बहस र वादविवाद गरेर समस्याको समाधान हुनेवाला छैन । अब अर्कै समाधान खोज्नुपर्ला ।

म मुसुक्क हाँसे । केहिबेर उनीहरुलाइ एक–दुइ चोटि जोक पनि सुनाएँ । केहिबेर पछि मैले भने “तिमीहरुको र मेरो सम्बन्ध अब अलिकति परिवर्तन गरुँ है । अब म पनि तिमीहरुसँगै लाग्छु”।

म आफ्नो कुर्सिबाट जुरुक्क उठेँ र विद्यार्थीहरुसँगै तल फ्लोरमा गएर बसेँ । “तिमीहरुलाइ केहि भन्नु छ भने म सुनिरहन्छु तर म तिमीहरुको कुराको कुनै मतलब गर्दिनँ”, मैले भनेँ ।

“हैन सर हाम्रा माग तपाइले सम्बोधन गर्नुपर्यो”, विद्यार्थीहरु कराए । तर म मौन भएँ , केहि बोलिन । कुनै ध्यान साधकझैँ हलचल नगरी चुपचाप दुवै आँखा बन्द गरिरहेँ । त्यसपछि भने बल विद्यार्थीहरुको कोटमा थियो । म उनीहरुको प्रतिक्रियाको प्रतिक्षामा थिएँ ।

साझँको पाँच बज्यो । अब भने विद्यार्थीहरुलाइ छटपटी हुन थाल्यो ।

साँझमा मैले घोषणा गरेँ ,“तिमीहरुले यो घेराउ कार्यक्रम रद्ध गरेर नगएसम्म म तिमीहरुसँग बोल्दिन र केहि खान्न पनि । मेरो प्रजातान्त्रिक हक खोस्ने तिमीहरुको व्यवहार विरुद्ध म भोक हड्ताल गर्छु ।”

मेरो घोषणाले विद्यार्थी , मेरी श्रीमती र अन्य आफन्तहरु आत्तिए । सबैलाइ मेरो चिन्ता हुन थाल्यो । हामी घेराउ गर्न आएको डिन आफैँ भोक हड्ताल गरिरहेको छ भन्दै विद्यार्थीहरुले चारैतिर खबर फैलाए । क्याम्पस हातामा प्रहरी प्रवेश गर्न दिनुपर्यो भनेर मलाइ सरकारबाट दबाब आउन थाल्यो तर पनि मैले क्याम्पस हातामा प्रहरीको प्रवेश हुन दिइन ।

रात परेपछि घेराउमा बसेका करिब ७० प्रतिशत विद्यार्थी त्यहाँबाट गए , तिनका नाइके मात्र बाँकी रहे । त्यसपछि भने इन्स्टिच्युटका अधिकारीहरु मेरो कोठामा मलाइ भेट्न आए । मैले उनीहरुलाइ तत्काल गइहाल्न भने  र उनीहरु पनि चुपचाप गइहाले ।

राति ८ बजे विद्यार्थी नेताहरुले होस्टेलमा मेरा लागी खाना तयार गराएका रहेछन् । त्यो खाना मेरो कार्यकक्षमा ल्याइयो । तर मैले खाना खान अस्विकार गरेँ र आफ्नो अडानमा दृढ रहेँ । मेरा लागी अब त्यो प्रतिष्ठाको विषय भइसकेको थियो ।

पहिलो दिन मैले केहि खाइन । दोस्रो दिन भने विद्यार्थीहरुको व्यवहार केहि नरम भयो । फेरि बिहान उनीहरुले मलाइ ब्रेकफास्टका लागि आग्रह गरे तर मैले मानिन ।

घेराउ कार्यक्रम बन्द भएको लिखित घोषणा गर अनिमात्र खान्छु । मैले भने ।

अब भने विद्यार्थीहरुलाइ बडा संकट पर्यो । उत्पन्न परिस्थितिका बारेमा आफ्ना राजनितिक गुरुहरुसँग सल्लाह गर्न गए । साँझपख विद्यार्थीहरुले आएर भने “सर, हामी यो घेराउ कार्यक्रम रद्ध गर्छौँ । त्यसको लिखित विज्ञप्ति पनि ल्याएका छौँ , तपाइले भोक हड्ताल तोड्नुपर्यो ।”

अन्ततः विद्यार्थीहरुले नै आन्दोलन फिर्ता लिएपछि मैले पनि ३६ घण्टापछि आफ्नो भोक हड्ताल तोडेँ ।

(प्रा.डा. भीष्मराज प्रसाईको किताब आफैलाइ फर्केर हेर्दाबाट )

प्रसाइ आइओएमका पूर्व डिन साथै शिक्षण अस्पतालका प्रथम डाइरेक्टर पनि हुन ।


आधुनिक चिकित्सा विज्ञानका नामुद लापरबाही


१. रिचार्ड स्मिथले पाएको गलत औषधी ः

यो सन् २०१० मा संयुतm राज्य अमेरिकामा घटेको घटना हो । ७९ वर्षिए रिचार्ड स्मिथ किड्नीका बिरामी थिए । उनी केहि वर्षदेखि लगातार रुपमा अस्पताल आएर आफ्नो डायलाइसिस पनि गराइरहेका थिए । अचानक एकदिन उनलाइ सास फेर्न निकै नै अफ्ठ्यारो भयो र चिकित्सकहरुले उनलाइ आइसियूमा राखेर उपचारको थालनी गरे । आइसियूमा राखेको अर्को दिन उनलाइ पेट दुख्यो । ग्यासट्राइटिसको शंका गरि  चिकित्सकहरुले उनलाइ ‘एन्टासिड’ प्रेस्क्राइब गरे । तर भैदियो के भन्दा , एकजना आइसियूमै कार्यरत नर्सले एन्टासिड जस्तै देखिने ‘प्यानक्युरोनियम’ नामको अर्कै औषधी स्मिथलाइ दिइन ।

‘प्यानक्युरोनियम’ मानिसलाइ बेहोस बनाएर इन्ट्युबेट गर्न प्रयोग गरिने दबाइ हो । सो दबाइ पाउनासाथ , स्मिथ बेहोस भए र डाक्टरहरुको लाख कोसिसका बाबजुद पनि एक महिना पश्चात् उनको मृत्यु भयो । सोझो तरिकाले हेर्दा उतm घटनामा उपचारमा संलग्न नर्सले लापरबाही गरेको प्रष्ट देखिन्छ । तर पनि अस्पतालले सो घटनाको अनुशन्धान गर्यो र अन्त्यमा संसारलाइ चकित बनाउने गरि ती नर्सलाइ कुनै पनि कार्वाही गरेन । बरु अस्पतालका सबै डिपार्टमेन्टहरुमा उस्तै–उस्तै देखिने औषधी सँगै नराख्न परिपत्र जारी गर्यो साथै ‘प्यानक्याुरोनियम’ एनेसथेसियाले मात्रै चलाउन पाउने नियम बनायो ।

२. रेजिना टर्नरको गलत सर्जरी ः

लगातार रुपमा स–साना पक्षघातहरु भइरहे पश्चात् , रेजिना टर्नरले आवाज गुमाइन । चिकित्सकहरुको सल्लाहबमोजिम , उनको क्रानियोटोमी बाइपास ( एक किसिमको मस्तिष्कको सर्जरी) गर्नुपर्ने भयो । अपरेशन भन्दा अघि उनी ठमठम हिँड्न सक्थिन , आफ्नो स्याहार पनि आफैले गर्न सक्थिन । तर अपरेशन पश्चात भने उनी सम्पूर्ण रुपमा अपाङ्ग भइन । अलिक पछाडी मात्र चिकित्सकहरुले के पत्ता लगाए भने , टर्नरको देब्र्रे भागको बाइपास सर्जरी गर्नुपर्नेमा भूलवश दाहिने भागको सर्जरी भएको रहेछ ।

तर जब कारण पत्ता लाग्यो , तबसम्म ढिलो भइसकेको थियो । घटनापश्चात् , अस्पतालले उच्चस्तरीय छानबिन समिति गठन गर्यो  जसले सर्जन र नर्सलाइ मात्र दोषी देखाएर अस्पताललाइ उन्मुतिm दिएन । बरु त्यस अस्पतालमा दैनिक रुपमा हुने सर्जरीको संख्यादेखि स्वास्थ्यकर्मीलाइ लगाइने ड्युटि हावर्स माथि पनि प्रश्न उठायो । साथै सोही घटना पश्चात् नै संसारभर हुने सर्जरी पूर्व पूरा गर्नुपर्ने प्रोटोकललाइ अझ परिस्किृत र शसतm बनाइयो ।

३. एन्डी वारहोलको रहस्यमय मृत्यु ः

सन् १९९० को घटना हो । अस्पताल र स्वास्थ्यकर्मीहरुसँग भयङ्कर डराउने एन्डी वारहेल पनि आफ्नो पित्त थैलिमा देखापरेको जटिल समस्याका कारण अन्तत्तोगत्वा अपरेशन गर्न राजी भए । चिकित्सकहरुले पनि सफलतापूर्वक उनको सर्जरी गरे । प्रोटोकलअनुसार उनलाइ केहि दिन अस्पतालमै  भर्ना गरेर राखियो । बिस्तारै स्वास्थ्यलाभ गरिरहेका वारहोलको अचानक अस्पतालमै केहि दिन पश्चात् मृत्यु भयो ।
पोस्टमार्टम गर्दा उनको फोक्सो र शरिरका अन्य भागमा समेत पानी भरिएको थियो । कारण खोतल्दै जाँदा पत्तो लाग्यो कि वारहोललाइ दिइनुपर्ने फ्ल्युडको(स्लाइन पानी) मात्रा भुलबश डबल पर्न गएछ । त्यत्रो जोखिमपूर्ण सर्जरीबाट जोगिएका वारहोलले अति नै सानो गल्तिका कारण संसारकै प्रतिष्ठित अस्पतालमा मृत्युवरण गर्नुपर्यो ।

४. सिबिएसले गरेको सनसनीपूर्ण खुलासा ः

३४ वर्षिका रोड्नी इङ्गलिस जन्मजात स्पाइना बाइफिडा नामक समस्याबाट ग्रसित थिए । नियमित उपचार गराइरहेका इङ्गलिस यसपटक पनि सामान्य सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए । सामान्य शल्यक्रिया पश्चात् उनी स्वास्थ्यलाभ गर्दै थिए तब अचानक उनी बेहोस भए र त्यसपछि कहिल्यै आँखा खोलेनन् । अस्पतालले स्पष्ट रुपमा मृत्युको कारण बताउन सकेन तर मर्ने बेलामा उनलाइ एनेमिया भएको तथ्य बाहिर ल्यायो ।

बिरामीका आफन्तको उजुरीका आधारमा , सिबिएस, अमेरिकाले बृहत अनुशन्धान गर्यो जसले मृत्युको कारण उनलाइ दिइएको गलत रगत भनेको छ । आखिर रेडक्रस सोसाइटिले त्यत्रो होसीयारीपूर्वक तयार गरेको ब्लड जो पुनः १०–१२ ठाउँमा राम्रोसँग परिक्षण गरिन्छ , कसरी गलत भयो त ? जून आजसम्म पनि रहस्यपूर्ण नै रहेको छ ।


कि सबथोक रोबटले संचालन गर्नपर्यो , अन्यथा मानिसले नै गर्ने भएपछि कहिँ कतै गल्ति त भइहाल्छ । यस्ता गल्तिहरु पुरै निमिट्यान्न त बनाउन सकिदैन तर यिनलाइ न्युनिकरण गर्नेतिर सबैको ध्यान जानु वाञ्छनीय छ ।
पुनश्च ः माथि प्रस्तुत गरिएका दृश्टान्तहरु संसारभर लापरबाही हुन्छन् तसर्थ हामीले पनि लापरबाही गर्न पाउनुपर्छ भन्ने आशयका पक्कै होइनन् । बरु संसारका बिकसित भनिएका देशहरु र प्रतिष्ठित मानिएका अस्पताल र स्वास्थ्यकर्मीहरुबाट समेत त्रुटीहरु हुन्छन् भन्ने भाव प्रस्तुत गर्न खोजिएको हो । आखिर डाक्टर पनि मानव हो र मानिसले जान अन्जानमा अनेक गल्तिहरु गरिरहेको हुन्छ ।


 

Saturday, September 23, 2017

इन्द्रावतीको शिरानमा पाँचपोखरी


‘अबिरल बग्दछ इन्द्रावती’ । रमेश विकलको यो चर्चित कृति जहाँ जन्मियो, त्यसैको सेरोफेरोमा हाम्रो यात्रा अगाडि बढ्ने छ । अर्थात, इन्द्रावती नदिको किनारै–किनार ।

यात्राको प्रारम्भ करिब १२०० मिटर उचाइमा अवस्थित मेलम्ची बजारबाट हुन्छ । त्यसो त सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौताराबाट पनि पाँचपोखरी पुग्न सकिन्छ तर त्यताबाट जानुका आफ्नै प्रशस्त फाइदा र बेफाइदाहरु छन् ।

हिउँदको समयमा हो भने गाडी धेरै माथि भोताङ गाउँसम्म पुग्छ तर बर्खामा जाने सोच बनाउनु भएको छ भने मेलम्ची बजार वा त्यहाँ भन्दा एक घण्टा माथिको गाउँ टिपेनीबाटै पैदल यात्राको थालनी हुन्छ ।

टिपेनी हुँदै थाङपाल धाप (१३०० मि) र भोताङ (१६०० मि) सम्मको बाटो त्यति कठिन छैन । बिहान सबेरै काठमाडौँबाट गाडी चढे , अलि कस्सेर हिँड्दा भोताङ नभए धापसम्म त त्यसदिन अवस्य पुगिन्छ । बाटोमा गाउँ–बस्ती , चिया पसल , धारा र होटलहरु पनि प्रशस्तै छन् । भूकम्पले क्षतबिक्षत बनाएका ती गाउँहरु बिस्तारै उठ्दै छन् । भत्किएका भग्नावशेषहरु अझै बाँकी नै छन । तर त्यसले भने तपाइको यात्रामा कुनै पनि प्रभाव पार्दैन । आखाँमा आँसु लुकाएरै भएपनि सिन्धुपाल्चोक बासीहरु मिठो मुस्कान पस्किन खप्पिस छन् । आफ्ना गाउँमा आएका पर्यटकलाइ सक्दो माया गरिरहेकै छन् ।


भोताङ गाउँपछि बल्ल कठिन यात्राको प्रारम्भ हुन्छ । त्यसपछि भने गाउँ–बस्ती , चिया पसल , धारा र होटलहरु भेटिदैनन् । छन त केवल , वन–जङ्गल , खोला–नाला , बडेबडे झरना, पुल–पुलेसा र खर्कमा बस्तु चराउन खडा गरिएका गोठहरु । बाटो पनि उकालै मात्रै । अझ बस्तु हिँड्ने बाटोमा ठडिएर बसेका लेकाली जुकाहरुले  यात्रालाइ झन रोमान्चक बनाउन मदत गर्छन् ।

कहिलेकाहिँ त घण्टौ हिँड्दा पनि मानिस, बस्तु वा गोठ केहि भेटिदैनन् । बाटो बिराइएछ कि जस्तो भान हुन्छ । तर आत्तिनु पर्दैन इन्द्रावती नदिले जबसम्म तपाइको कानमा सुसेलीरहन्छ तबसम्म तपाइ ठिक बाटोमा हुनुहुन्छ ।

“ताङ्गुमा छुर्पि सुकाउने , माया मनको कुरा मनमै लुकाउने” ।

मानेखर्क , टुप्पी डाँडा , ताङ्गुखर्क , याकखर्क , छिम्ती आदिमा रहेका हरएक गोठहरुले यस्तै सुरिला भाका र गितहरु जन्माएका छन् । दिनभर बस्तुका चरनसँगै लिरिक्सहरु लेखिन्छन् र रातभर तिनै गाइवस्तुका घाँटीमा झुण्डिएका घण्टहरुका ट्याङ–ट्याङ, टुङ–टुङसँगै सुमधुर सङ्गितको जन्म हुन्छ । सायद यसरी नै सदिऔँदेखि लेकमा गितहरु बनिरहेका छन् ।


तिनै गोठहरुमा ८–१० वर्षका कलिला साङ्गे तामाङहरु पनि भेटिन्छन् जो काखीमै किताब च्यापेर गाइ–बाखा्र चराउन जान्छन् अनि कहिले–काहिँ यसो फुर्सद मिल्यो भने ३–४ घण्टा तलको विद्यालय धाउँछन् । विद्यालयमा पनि कहाँ दिनभर बस्न पाउनु । साँझ गोठमा नपुगिएला भनेर दिउँसै निस्कन्छन् अनि त्यहि बाटो ठसठस गर्दै बेलुका आफ्ना बायस्तै/दाजुलाइ सघाउन गोठमै आइपुग्छन् ।

यदि भोताङबाट तपाइ नसिमपाटी (३७०० मिटर) सम्म पुग्न सक्नुभएन भने यस्तै गोठहरुमा बस्ने अवसर पाउनुहुनेछ जहाँ साङ्गेले तातो भात र स्वायबिन पकाएर खुवाउँछ अनि गाइ, बाख्रा र कुखुराहरुका  बिचमा रहेको उसको प्यारो ओछ्यानमा नै तपाइलाइ सुत्ने व्यवस्था मिलाउँछ ।

नसिमपाटीमा भने केहि घरहरु छन् जुन पर्यटकहरुको न्यानो आतिथ्यका लागि वर्षौदेखि पर्खि बसेका  छन् । नसिमपाटीले विशेष केहि दिन नसकेपनि तपाइलाइ एक छाक दाल–भात र सुत्नका लागि न्याना राडी–गुन्द्री भने अवश्य दिनेछ ।

स्थानीयले बताएअनुसार , कात्तिक पछि त्यहाँ हिँउ पर्छ र हिँउ परेसँगै सबैजना तल गाउँ झर्छन् । त्यसपछिको ५–६ महिनासम्म ती घर/गोठहरुमा न  आगो बल्छ न त चौरीका घण्टहरुबाट ट्याङ–ट्याङ, टुङ–टुङ नै । पूरा सन्नाटा ।


नासिमपाटीबाट पाँचपोखरी पुग्न ३ घण्टा लाग्छ । करिब ३५०० मिटर भन्दा माथिको उचाइमा पुगिसकेपछि अक्सिजनको कमि भइ अल्टिच्यूड सिकनेस (लेक लाग्ने) हुनाले यात्रा अलि कठिन बन्दै जान्छ । उकालाहरु अप्ठ्यारा लाग्छन् । झन त्यस माथि ठाउँ–ठाउँमा खसेका पहिरोहरुले बाटो साघुँरो बनाइदिएका छन् । तल त मात्र कहालिलाग्दो भिर छ । पाँच पोखरी नपुगन्जेलसम्म नै मौसम बदलिरहन्छ । कहिले डम्म हुस्सु लागेर अगाडिको बाटो केहि देखिदैन त कहिले सिमसिम पानी पर्छ ।

करिब ४३०० मिटर उचाइमा रहेको पाँचपोखरी आफैमा अद्भूत छ । वरिपरि अग्ला टाकुराहरु र विचमा पोखरीहरुको उपत्यका । १–२–३–४–५ । गनेरै टपक्क मिलेर बसेका पाँच पोखरीहरु । तिनै अग्ला टाकुराका काप–कापबाट पानीका मूल फुटेका छन् र पोखरी बनेका छन् । फेरि पोखरीहरु भरिएर झरना अनि झरनाहरु  बग्दै बग्दै इन्द्रावती ।


पोखरीका वरिपरि फूलका बगैँचाहरु पनि छन् । अनेकन प्रजातिका ती रङ्गी–चङ्गी फूलहरु पाँच पोखरीका देवताले रोपेका हुन रे । सायद तिनै देवताले बगैँचामा मलजल गर्दा हुन , गोडमेल गर्दा हुन । त्यसैले त खप्तड उपत्यकालाइ नै बिर्साइदिने गरि त्यहाँ डाँडै भरि फूल फुलेका छन् ।

अरुबेला प्रायः शान्त रहने पोखरीहरु जनै पूर्णिमाका मेलामा भने भरिभराउ हुन्छन् । भगवान शिवको दर्शन गर्ने र पोखरीमा स्नान गरि जनै फेर्न भक्तालुहरुको घुँइचो लाग्छ । स्थानीयले बताएअनुसार गत वर्ष मात्र करिब दश हजार तिर्थालुहरु पूर्णिमाका दिन पाँचपोखरी पुगेका थिए ।

यस वर्षको जनै पुर्णिामालाई पनि मध्यनजर गर्दै सम्पुर्ण तयारी पूरा भइसकेको छ । ठाउँ-ठाउँमा थर्पुहरु बनिसकेका छन् । होटलहरु थपिएका छन् । साङ्गे तामाङका गोठहरु पनि चिटिक्क बनाइएका छन् । खानेखानेकुराहरु प्रसस्त लगेर राखिएको छ । बाटो सुधार गरिएको छ ।
 कात्तिक अघिसम्म त पोखरी वरपर पनि केहि थान होटलहरु  खुला नै रहन्छन् ।

पाँचपोखरीबाट फर्कदाः

फर्कने मुख्यतः दुइ विकल्पहरु छन् । पहिलो मेलम्ची हुँदै चढेकै बाटो र दोस्रो हिले हुँदै चौतारा तिरबाट । चौतारा हुँदै फर्कने बाटो निकै नै अप्ठ्यारो छ र प्राय मानिसहरु ओहोर–दोहोर पनि गर्दैनन् । तर साँच्चै ‘एडभेन्चरस ट्रेकिङ’ रुचाउनेहरुका लागि दोस्रो विकल्प उत्तम विकल्प हो । त्यस माथि चौतारा तिरको बाटोमा यति धेरै प्राकृतिक भेरियसन छ कि एकै दिनमा तपाइले प्रकृतिका अनेका स्वरुपहरु देख्न पाउनुहुनेछ ।

नासिमपाटीदेखि हिले भञ्ज्याङसम्मको बाटो अग्ला पहाडका टुप्पै–टुप्पो हुँदै अघि बढ्छ जतिखेर तपाइलाइ आफू बादल माथि हिँडिरहको छु जस्तो महशुस हुन्छ । ठिक तल बादलका टुक्राहरु एक–अर्कासँग ठोकिदै ठोकिदै जिस्किरहेका हुन्छन् । माथि हेर्यो छ्याङ्ग निलो आकाश ।

हिलेदेखि पौवाबास सम्मको बाटो अलि ‘ट्रिकी’ छ । एकैछिनमा उकालेर डाँडाको टुप्पोमा पुर्याउँछ र फेरि ओरालेर फेदमा । यो क्रम झर्को नलागुन्जेलसम्म चलिरहन्छ ।

पौवाबासदेखि कामिखर्क पुग्ने बाटोमा भने अचम्मको जङ्गल फेला पर्छ । कहिले ‘एनिमेटेड हलिउड’ चलचित्रमा देखाइने जस्ता लेउ लागेका रुखहरु त कहिले चारकोसे झाडीमा जस्तो निस्पट अन्धकार । वरपर चराका चिरबिर र बेलाबेला रुखका हागाँमा ठोकिदै बहेका बतासका झोकाहरुले यात्रामा कत्ति पनि थकान महशुस हुन दिँदैनन् ।

कामीखर्कबाट ठाडै ओरालो झर्दै गर्दा गजबको उपत्यका फेला पर्छ । समथर भूमिमा हरिया घाँस । छेउमै रहरलाग्दो पोखरी अनि अनेक प्रजातिका रङ्गि–चङ्गि फूलहरु । मिल्ने भए सधैँभरि त्यहि बसिरहौँ जस्तो लाग्ने ।

त्यसपछिको बाटोमा खासै उकालो चढ्नु पर्दैन । खोङ्ज्योबाट अघि लागेपछि माइथानमा अर्को बस्ति भेटिन्छ जहाँसम्म घनाह जङ्गलको बिचैबिच ओरालो झर्नुपर्छ ।

बाटैभरि खानेपानी चाहिँ एकदम सिमित ठाउँमा मात्रै पाइन्छ ।  त्यही भएर भेटिएको ठाउँमा जुगाड गरिहाल्नु पर्छ ।बाटो हराउने सम्भावना त कमै छ तर पनि कतै कतै दोबाटोहरु आउँछन् जसले बेलाबखत झुक्याइरहन्छन् । त्यहि भएर बस्ति भेटिएका ठाउँमा बाटोका बारे उचित सल्लाह लिएर अघि बढ्नु बुद्धिमता ठहरिन्छ ।

माइथान–लामीडाँडा–स्याउले हुँदै चौतारा आइपुगिन्छ जुन बाटोमा घर र मानिसहरु प्रशस्तै भेटिन्छन् र हिँड्न निकै सजिलो पनि छ ।

माथि उल्लेखित चौतारा हुँदै फर्कने बाटोबाट माथि चढ्न पनि सकिन्छ । तर त्यसो गर्दा मोटा–मोटी एकदिन बढ्ता लाग्ने र बाटो पनि कठिन भएकाले प्राय मानिसहरुको रोजाइमा मेलम्ची कै बाटो पर्ने गरेको छ ।


ट्रेकिङका लागि उचित समय ः चैतदेखि असोजसम्म ।
ट्रेकिङका लागि छुट्याउनुपर्ने दिन ः ४ देखि ६ ।
बोक्नै पर्ने सामाग्रीहरु ः रेनकोट÷घुम÷ ओढ्ने प्लास्टिक , टर्च लाइट , पानीको बोतल , चाउचाउ÷बिस्कुट, प्रशस्त चकलेट , जीवनजल , आवश्यतmा र चिकित्सकको सल्लाह बमोजिम लेकबाट बच्नका लागि एसिटाजोलामाइड , सिटामोल , फस्ट एड बक्स , दुखाइ कम गर्ने , ग्यास्ट्रिक र एलर्जिका औषधी । ट्रेकिङ जुत्ता र केहि न्याना कपडाहरु ।
अनुमानित खर्च : व्यक्तीमा भर पर्ने । तर पनि यो रुट खासै खर्चिलो छैन । मेलम्चीसम्मको बस भाँडा १६० र फर्कदा चौताराबाट २२० । खाएको र बसेको हेरि–हेरि २०० देखि ५०० सम्म  (जति माथि गयो त्यति बढि लाग्ने) ।

पुनस्च : यात्राका दौरान नासिमपाटीमा एकजना दिदिको घरमा बास बसेका थियौँ । हिँड्ने बेलामा हामीसँग भएको क्यामेरा देखेर , दिदिको सानो छोरोले फोटो खिच्ने औधी रहर गर्यो । हामीले फोटो खिच्यौँ । साथै दिदिले एउटा वाचा पनि गराएकी थिइन , "आर्को साल जनैपूणिर्मामा यहाँ थुप्रो मान्छे आउँछ, कसैको साथ लाएर फोटो पठाइदिनुन है ।"

त्यति माथिको गाउँमा , त्यस्तो हार्दिकताका साथ अनुरोध गरेकी दिदीलाइ निराश बनाउन पटक्कै मन छैन । जनैपूणिर्मा आउनै लाग्यो । विचरी फोटो कुर्दै बसेकी होलिन ।

कोही यसवर्ष पाँचपोखरी जाँदै हुनुहुन्छ भने ,  कृपया  सम्पर्क गरी दिदी र उनको छोराको उक्त फोटो नासिमपाटीसम्म पुर्याइदिनुस न है !

साँझमा अँगेनामा आगो जोड्दै तिनै दिदीले भनेकी थिइन :

पहाडका कापकापबाट उम्रिएको ‘पाँचपोखरी’ जब भरिएर पोखिन्छ तब कयौँ गाउँ–बस्तीसँग मितेरी गाँस्दै गाँस्दै अघि बढ्छ । पाँचपोखरी लाखौँ वर्षदेखि यस्तै हजारौँ इतिहासहरुको साक्षी बन्दै आएको छ । आखिर पाँचपोखरी छ र त ‘अबिरल बग्दछ इन्द्रावती ’ ।

फोटोहरु : नारायण कडेल



Saturday, September 9, 2017

डोराका रहस्यमय सपना, जसलाई फ्रायडले यसरी व्याख्या गरे

सपना त्यति भयानक त थिएन तर रहस्यमय भने अवस्य थियोः
‘डोराका बुबा अत्तालिँदै कोठाभित्र प्रवेश गर्छन् अनि मस्त निदाइरहेकी डोरालाई झक्झक्याउँछन्। जब डोरा आफ्नो सपनाभित्रको सपनाबाट बिउँझन्छे तब उसको घरमा आगो लागिरहेको हुन्छ।
चारैतिरबाट उसको नाकमा धुवाँको गन्ध आइरहेको छ। ऊ झटपट लुगा लगाउँछे अनि भाग्नका लागि तम्तयार हुन्छे। तब अचानक उसकी आमाले आफ्नो ‘गहनाको बक्सा’ सम्झिन्छिन् र डोराका पितालाई त्यो ल्याइदिन अनुरोध गर्छिन्। यस्तो अवस्थामा पनि आफ्नी श्रीमतीको गहना मोह देखेर अचम्मित अनि क्रोधित भएर भन्छन्, ‘जाबो गहनाका लागि म मेरो परिवारको जीवन सङ्कटमा पार्न सक्दिन।’ जसै उसका स–परिवार घरबाहिर आइपुग्छन् डोराको सपना पनि भङ्ग हुन्छ।’
***
सिग्मन्ड फ्रायडका लागि डोराको यो केस झन्झन् जटिल बनिरहेको थियो। करिब एक साताअघि ती १८ वर्षकी युवतिलाई उनका पिताले फ्रायडको क्लिनिकमा ल्याएका थिए। हो, फ्रायडसामु आइपुग्दा सम्म डोराको अवस्था अत्यन्त  जटिल बनिसकेको थियो। अचानक उसले आवाज गुमाएकी थिई। उसलाई सास फेर्न अफ्ठ्यारो भइरहेको थियो। बेस्सरी टाउको दुखेको कुरा इसाराले बताउँथी र उसका हाउभाउ हेर्दा ऊ  निकै आत्तिएकी जस्तो भान हुन्थ्यो।
लक्ष्यण देख्नासाथ, डोरालाई ‘हिस्टेरिया’ नामक समस्याले गाँजेको हो भनेर पत्ता लगाउन फ्रायडलाई कत्ति पनि समय लागेन। तर, रोगको मूल कारण थाहा नपाई, कसरी पो सही उपचार हुन सक्थ्यो र? अझ डोराकै जस्ता समस्या भएका अरु बिरामी पनि फ्रायडले प्रशस्तै देखिसकेका थिए। यसैकारण फ्रायडले रोगको जरैसम्म पुग्ने उद्देश्यका साथ एक–एक गर्दै डोराका सम्पूर्ण जीवनकथा खोतल्न थाले।
डोराको जन्म एक मध्यम वर्गीय परिवारमा भएको थियो। उनका बुबा नजिकैको कपडा उद्योगमा काम गर्थे भने आमा गृहिणी थिइन् जसलाई पटक–पटक भान्छा सफा गरिरहनुपर्ने अचम्मको समस्या थियो। डोरा र उनका दाजु ओटो सँगै विद्यालय जान्थे। तर, त्यस समय अस्ट्रियाको समाज छोरीहरुप्रति त्यति उदार थिएन। त्यसैले त डोराको विद्यालय र साथीभाइसँगको सामिप्यता त्यति लामो हुन पाएन। ऊ घरै बस्थी।
घरमा पनि डोरा कहिल्यै आमाको नजिक भइन। बरु उसलाई बुबासँगैको निकटता बिस्तारै रमाइलो लाग्न थाल्यो। झन् उनका बुबा टिभी लागेर थल्लिएपछि त, सम्पूर्ण स्याहार–सुसारको जिम्मा डोराकै थियो। त्यसले पनि ऊ बुबासँग अझ नजिक थिई।
टिभीको उपचार लामो समयसम्म चल्ने भएकाले चिकित्सकको सुझाव अनुसार उनीहरुको परिवार सहरबाट अलि टाढाको बस्तीमा स्थानतरण भयो। नयाँ ठाउँमा भने डोराले आफ्नो मन मिल्दो साथी भेट्टाई– हेर के र उनकी पत्नी फ्राउ के। के दम्पत्ती मिलनसार थिए। त्यसैले त दुई परिवारबीचको मित्रता झन् घनिष्ठ बन्दै गयो।
पारिवारिक घनिष्ठता बढेसँगै परिवारका सदस्यहरु पनि एक–अर्कासँग नजिक हुन थाले। अझ यसलाई यसरी भनौं, फ्राउ के डोराका पितासँग बिस्तारै आकर्षित हुँदै थिइन् भने हेर के चाहिँ डोरासँग। कहिलेकाहीँ त समीकरण कस्तो भइदिन्थ्यो भने, डोरा आफ्ना पिताको स्याहार गर्न छाडेर हेर केसँग घुम्न जान्थिन् र फ्राउ भने डोराको पितासँग दिनभरि कोठामै बस्थिन्।
बुबाको उमेरको भए पनि हेर केसँग डोराको मित्रता खुब जमेको थियो, किनभने डोराका कोही केटा साथी नै थिएनन्। हेर पनि डोराका लागि मिठामिठा खानेकुरा र उपहार किनेर ल्याइदिन्थे। सायद यत्तिको महत्व डोराले जीवनमा कहिल्यै पाएकी थिइन।
***
त्यस दिन पनि डोरा र हेर के घुम्न निस्किएका थिए। साँझपख, तलाउका छेउमा वातावरण सुनसान थियो। मानिसहरु कोही पनि आवतजावत गरिरहेका थिएनन्। हो, त्यति नै खेर हेरले डोरालाई अचानक आफूतिर ताने अनि जबरजस्ती आफ्नो आलिङ्गनमा बेरेर चुम्बनको प्रयास गरे।
डोराले एकाएक आफूमाथि के भइरहेको छ, ठम्याउनै सकिन। आफ्नै बुबा समान व्यक्तिले किन त्यस्तो हरकत गरे? उसले केही पनि सोच्नै सकिन। खै ! डोरासँग कहाँबाट त्यस्तो शक्ति आयो कुन्नि, उसले आफूलाई एक झट्कामै हेर केको हातबाट मुक्त गराई अनि उसका गालामा कसिलो थप्पड मारेर फटाफट एक्लै बाटो लागी।
घटनाको केही दिनसम्म डोरा मानसिक रुपमा विक्षिप्त थिई। तर, निकै नै हौसला र साहस बटुलेर एकदिन यी सम्पूर्ण कुराको बेलिबिस्तार आफ्ना बुबालाई लगाई र के दम्पत्तीसँगको सम्बन्ध तोड्नका लागि आग्रह गरी। तर, उनका बुबा कुनै पनि हालतमा फ्राउसँग टाढा हुन चहँदैन थिए।
उनले डोराको यो प्रस्ताव मान्ने कुरै भएन। अझ हेर केसँग यस विषयमा बुझ्दा, उनले यसखाले घटना कहिल्यै नभएको भनी जिकिर गरे। डोराको उमेर र कोठामा असरल्ल भेटिएका प्रेम सम्बन्धी किताबका आधारमा उसका बुबा डोराका कथनमा कुनै सत्यता छैन भन्ने निष्कर्षमा पुगे।
हो यिनै घटनापछि डोरा बिरामी परी। केही पटक त घरै छाडेर भाग्ने प्रयास पनि नगरेकी होइन तर बुबाले बारम्बार रोके। मनोविश्लेषक फ्रायडका अनुसार यी सबै कुरा त गौण हुन्। मुख्य रहस्य त उसका सपनाभित्रै लुकेका छन्।
***
सिग्मन्ड फ्रायडले डोराको सपनाको जसरी रहस्य उद्घाटन गरे,  त्यसले सारा संसारलाई नै एकपटक तरङ्गित तुल्याइदियो। फ्रायडले ती किशोरीको सपनाका एक–एक घटनालाई ‘सेक्स’सँग तुलना गरे। घरमा आगो लाग्नुको मतलब हो कि, डोराको परिवार ठूलो सङ्कटमा छ। उसलाई अत्तालिँदै उठाउन उसको बुबा आउनुको मतलब यो हो कि, संसारमा डोरालाई सबैभन्दा माया गर्ने व्यक्ति उसकै बुबा हुन्।
उठ्दा उसको नाकमा धुँवाको गन्ध आइरहेको थियो, जसले हेर केको चुरोट पिउने आचरणका बारे जनाउ दिन्छ। केही दिन अगाडि हेर केले डोरालाई चुम्बन गर्ने प्रयास गरेका थिए, जतिखेर उसको मुखमा बसेको चुरोटको गन्ध डोराका नाकले ठम्याएको थियो। सबैभन्दा चकित  त ‘गहनाको बक्साले’ तुल्यायो जतिखेर फ्रायडले त्यो बक्सालाई डोराको ‘भर्जिनिटी’सँग तुलना गरे।
डोराको कुमारित्व संकटमा परेको थियो र त्यो भावना उनी आमाको मुखबाट सपनामा प्रतिध्वनित भएको थियो। तर उसको बुबालाई त्यसप्रति खासै दिलचस्पी थिएन। त्यसैले त बाहिर आउँदा पनि उनले त्यो गहनाको बक्सालाई त्यति महत्व दिएनन्।
यसैबीच डोराले आफूले बारम्बार देखिरहने अर्को सपना बारे पनि बताइन् जसले यस केसलाई अझ रहस्यमय बनाँउदै लगिरहेको थियो।
***
दोस्रो सपनामा डोरा एउटा अञ्जान सहरमा पुग्छे। अञ्जान सडक र अञ्जान गल्लीहरु। त्यसपछि ऊ अचानक एउटा घरभित्र पुग्छे जहाँ उसका लागि एउटा चिठी छाडिएको हुन्छ। चिठी उसकी आमाले डोरालाई लेखेकी हुन्छिन्, जसमा भनिएको छ कि, ‘पुरानै बिमारीका कारण डोराको पिताको मृत्यु भएको छ र यदि आफ्ना बुबाको मुख हेर्न मन भए, अन्तिम संस्कार अगाडि नै घर आइसक्नु।’
पत्र पढ्नासाथ डोरा अत्तालिँदै घर जान रेलवे स्टेसन खोज्न थाल्छे। बाटोमा जति जनालाई सोध्यो ‘अब रेलवे स्टेसन कति टाढा छ?’ सबैले एउटै जवाफ दिन्थे, ‘साढे दुई घन्टा। अन्त्यमा उसले रेलवे स्टेसन त देख्छे तर त्यहाँ पुग्न सक्दिन। त्यसपछि ऊ सिधै घरमा हुन्छे, तर घरमा पनि कोही हुँदैनन्। सबैजना उसको बुबाको अन्तिम संस्कारका लागि गइसकेका हुन्छन्।
सपनामा भएको मोटामोटी घटना यति नै हुन्छ। तर, फ्रायडले यसबाटै हजारौं तथ्यको पर्दाफास गरिदिन्छन्। झन् दोस्रो सपना सुनिसकेपछि त फ्रायड के कुरामा विश्वस्त हुन्छन् भने ती किशोरीमा हिस्टेरियाको लक्षण देखिनुको पछाडि उसको भित्री मनमा दबिएर बसेको यौनइच्छा नै हो।
हो, हेर केलाई थप्पड लगाए पनि डोरा चहान्थी कि उसले त्यस दिन पूरा गर्न नसकेको काम कुनै दिन पूरा गरोस्। भौंतारिँदै रेलवे स्टेसन खोज्नुले डोराभित्र तीव्र रुपमा बढिरहेको यौन चहानालाई दर्शाउँछ। उसले रेलवे स्टेसन त देख्छे तर त्यहाँ पुग्न सक्दिन। त्यस दिन तलाउमा हेरसँग त्यस्तो घटना भएपछि ऊ एक्लै घर आएकी हुन्छे र बाटोमा कसैले उसलाई घरसम्म पुग्नका लागि साढे दुई घन्टा लाग्ने कुरा बताएको हुन्छ र तिनै प्रसंग कहीँ–कतै सपनामा मिसिएको हुन सक्ने फ्रायडको अनुमान छ।
बुबाको मृत्युको चिठी डोराले यसकारण सपनामा देख्छे कि, उसलाई भित्री मनमा डर थियो, कतै उसको अनुपस्थितिमा हेरचाह कम भएर उसका बुबाको मृत्यु पो हुने हो कि। यो सपना देख्नुपूर्व, उसले आवेगमा आएर पटक–पटक पत्र लेख्दै घर छाड्ने धम्की दिएकी थिई। फ्रायडका अनुसार यो धम्कीको पछाडि उसको बुबाले फ्राउ केसँग हुर्कंदै गरेको प्रेम सम्बन्ध त्यागिदिउन् भन्ने डोराको भित्रि मनसाय थियो। यसलाई व्याख्या गर्न फ्रायडले ‘ओइडिपस कम्प्लेक्स थेउरी’को सहारा लिएका छन्।
ओइडिपस पाचौं शताब्दीका ग्रिकका राजकुमार थिए, जसले आफ्नै पिताको हत्या गरी आफ्नी आमासँग विवाह गर्छ। अर्थात् कुनै पनि बच्चाले जन्मदै आफ्नो विपरित लिङ्गी अभिभावकसँग आकर्षित हुने गुण लिएर जन्मिएको हुन्छ। डोरा  पनि आफ्नो पिताप्रति आकर्षित थिई र आफ्नै आखाँ अगाडि अरुसँग सम्बन्धमा रहेको हेर्न चहान्न थिई। कतिसम्म भने, यही गुणका कारण डोरा आफ्नी आमालाई पनि धेरै हदसम्म हेयको दृष्टिले हेर्थी।
के दम्पत्तीसँगको घनिष्ठताका कारण डोराको जीवन बिस्तारै अस्तव्यस्त बन्दै थियो। आफूले मन पराउने आफ्ना पितालाई फ्राउले खोसेर लगेकी थिइन्। हेर केसँग तलाउमा भएको घटनापछि उसमा झन् तीव्र रुपमा यौन इच्छा त बढिरहेको थियो तर त्यस घटनालाइ हेरले मनगढन्ते भनेर डोराबाट टाढिएपछि उसका चहाना पूरा हुने सम्भावना क्षीण हुँदै थिए।
त्यसैल त ऊ कहिले चुरोट पिउने हेरसँगको चुम्बनको कल्पना गर्दै घरभरि धुवाँ भरिएको सपना देख्थी, त कहिले कुमारित्व (गहनाको बक्सा) गुमेको। फ्रायडले बताए अनुसार, यदि त्यो दिन तलाउमा डोराले हेरलाई नरोकेकी भए, उसमा यस्ता खाले समस्या नै आउने थिएन। यौनका चाहना किशोर–किशोरीहरु दुवैमा हुन्छ, तर स्वभावतः महिलाले त्यस्ता चाहना ज्यादा दबाउने भएकै कारण उनीहरुमा धेरै जसो यी चाहनाहरु विभिन्न शारीरक समस्यका रुपमा प्रस्फुटित हुन्छन् भन्ने फ्रायडको ठम्याइ हो।
फ्रायडको यो ‘हाइपोथेसिस’ले ठूलै खैलाबैला मच्चाएको छ। कतिपय देशका महिला अधिकारवादीहरु फ्रायडको यो तर्कसँग सहमत छैनन्। कतिले त डोराले रेप गर्न रोक्नु उसको गल्ती थियो भन्ने आशय फ्रायडको अनुसन्धानमा देखिएको भन्दै उनको पुत्ला दहन गरे। तर, जे होस् सपना पढ्ने फ्रायडको यो प्रयास साँच्चै गजबको छ।
(सिग्मन्ड फ्रायडको किताब ‘इन्टरप्रेटेसन अफ ड्रिम’मा आधारित)
प्रस्तुतिः विशद दाहाल