Search This Blog

Friday, October 20, 2017

पल्पसा मरेकी छैन –Palpasa is not yet dead !


दृश्यलाई के लाग्यो, पल्पसा त्यति सजिलै मारिइन ? के पल्पसा त्यति कमजोर भाग्य भएकि केटि थिइ जसको जीवन एक पलमै सकियो ?

सधैँ देखिएका र लेखिएका कुरा मात्र सत्य हुँदैनन् ।

 हो , पल्पसा मरेकी छैन । उसले त अझ धेरै बाच्नु छ । धेरै भोग्नु छ । र मर्नु भन्दा अघि यो पनि जान्नु छ कि दृश्य उसको लागि लायक नै थिएन ।

पल्पसाले दृश्यलाइ चिन्न सकिन अनि दृश्यले पल्पसालाइ बुझ्न सकेन । पल्पसा जो सानैदेखि पश्चिमि रहनसहन र “इस्टे टुगेदर” को संस्कृतिमा हुर्केकी थिइ , बोल्ड थिइ । के उ  हिन्दी फिलिमको सत्य सावित्री झै सदा दृश्यको यादमै सारा जिवन व्यतित गर्ने सोचमा थिइ ?

कदापी होइन , दृश्यले महिनौ वास्ता नगरिसकेको पृष्ठभुमिमा पल्पसा जो “ पोलिग्यामस रिलेसनशिप” देखेर हुर्केकी थिइ, चुप बस्ने मनस्थिति मै थिइन । त्यो रात पनि पल्पसा मसँग थिइ, जुन रात दृश्यले सोच्यो, पल्पसा मारिइन । अझ साचो भन्नुपर्दा , उ एक्लै पश्चिम पहाडको द्वन्द्वग्रस्त क्षेत्रमा डकुमेन्ट्री बनाउन गएकै थिइन । हामी दुवै त्यो प्रोजेक्टमा सँगै थियौँ ।

****
दृश्य उहि चित्रकार थियो, जसको बारेमा पल्पसाले मलाइ हाम्रो सम्बन्ध सुरु हुनुभन्दा पहिले नै बताइसकेकी थिइ । उ हरायो भन्ने कुरा सुनिसकेपछि मैले करिब २÷३ महिना विभिन्न स्रोतबाट उसको खोजी गरे तर उ कतै फेला परेन । मनमनै लाग्यो, द्वन्द्वको बेला छ , कतै क्रसफायरिङमा मरिसक्यो ।

 तर त्यो रात जब डकुमेन्ट्री सकेर हामी फर्कदै थियौँ, दृश्य हामी चढेकै बसमा आएर चढ्यो । सुरुमा त पल्पसा आत्तिएकी थिइ पछि मसँग अनुमती मागेर उसैको समिपमा गएर बसि । त्यस घटनाले मलाइ ठुलो बज्रपात भयो । लामो समय हराएर अचानक भेटिएको दृश्यप्रति पल्पसाले देखाएको आशक्ती मेरा लागी सानो चोट थिएन ।

****
पल्पसाको सुन्दरता, उसको व्यवहार, उसको सोच्ने तरिका ! ओहो ! मेरा लागि उ अक्सिजन भन्दा कम महत्वपूर्ण थिइन । हाम्रो पहिलो भेट न्युयोर्कमै भएको थियो । देशमा भविष्य नदेखेपछी म फिजिक्स पढ्न अमेरिका हानिएको थिएँ । पढ्दै सानो–तिनो जागिर पनि गर्थे ।

यसपटक भने धेरै दिनको कसरत पछि एउटा खैरेको आर्ट ग्यालरीमा जागिर पाएको थिएँ । चित्र बनाउन नजानेकाले नै बायोलोजी छाडेर फिजिक्स रोजेको मेर ालागी क्यानभास भन्नु कालो अक्षर भैसी बराबर नै थियो । तर दुइ÷चार दिनका पट्यारलाग्दा पलहरुपछी , मैले त्यस ग्यालरीमा जे देखे त्यो मेरालागी सानो खुसीको बहाव थिएन ।

एसियाली वर्णकै एक सुन्दर युवती घन्टौ त्यस ग्यालरीमा आएर घोत्लिरहन्थी । लामो कालो कपाल, हसिलो मुहार अनि फरासिलो स्वभाव, सायद “लभ एट फस्ट साइट” भन्ने कुरो सुनेको मात्रै थिएँ तर त्यसदिन आफैले महशुस गर्ने मौका पाएँ । आफ्नो धैर्यतालाइ मैले धेरैदिन कायम राख्न सकिन । फटाफट उसको समिपमा गएँ र मित्रताको हात अघी बढाएँ ।

“ हाइ आइ एम बिशाल फ्रम नेपाल, आइ वोर्क एट डिस ग्यालरी ।” मेरो वाक्य टुंगिन नपाउदै उसको मुहारमा कान्ति प्रज्वलित भैसकेको थियो । “ओ माइ गड, तपाईं नेपाली हो ? सो लक्की टु सी अ नेपालिज गाइ हेअर ।” मेरो नाम पल्पसा हो ।

मैले हात बढाएको थिएँ, उसले हग गर्न खोजी । मलाइ निकै अप्ठ्यारो लाग्यो ।

****
उ साझसम्म ग्यालरीमा बसेर चित्र हेर्थी । म भने उसलाइ मौका मिलेसम्म हेरिरहन्थे । पछि पछि हुदै गएपछी, हाम्रो मित्रता ग्यालरी भित्र मात्रै सिमित रहेन । न्युयोर्कका रेस्टुरेन्ट, पार्क अनि स्ट्रीटहरुमा हामी घन्टौ गफिन्थयौँ । वास्तमा हाम्रो सम्बन्ध झ्याङिदै थियो ।

आफ्नो कलाप्रतिको आशक्ती, घर परिवारसगँको टकराव, उसले लगभग सबैकुरा मलाइ नलुकाइ भन्थी । घरमा छोरीको विवाह पि.एच.डी गरेको केटासँग गरिदिने निर्णय भएको रहेछ तर पल्पसा आफ्नो स्वतन्त्रता चहान्थी । म मनमनै सोच्थे “फिजिक्समा पि.एच.डि सकेकै दिन तिम्रो हात माग्न तिम्रै घर आउनेछु मैया”। सायद फलाम तातिसकेको थियो, मौका बखत बिचार गरेर प्रहार गर्न मात्र बाकी थियो ।

अर्थात म संसारलाइ बताउन चहान्थेँ पल्पसा र मेरो सम्बन्धको बारेमा । उसलाइ पल्पसाबाट “मेरी पल्पसा” बनाउन चहान्थेँ, मात्र मेरी ।

****
 आज ग्यालरी जानु अघि सानो पत्र लेखेँ साथमा केही गुलाफहरु । सदाझै आज पनि ठिक ११ बजे ग्यालरी पुगे, पल्पसा २ बजे आउथिन । तर आजको दिन अरु दिनहरु भन्दा निकै फरक थियो, मुटुको गति बढिरहेको थियो तर समयले आफ्नो धर्म पट्क्कै छाडेको थिएन, मन्द मन्द आफ्नै गतिमा घडीको सुइ चलिरहेको थियो ।

४ बज्यो तर पनि पल्पसा आइपुगिन, लाग्यो केहि काम पर्यो होला । उसको मोबाइलमा सम्पर्क हुनसकेन । दिनहरु बिते, गुलाफ मुर्झायो, पत्रका मसि सुके तर किन हो पल्पसा आइन ।

सात दिनपछी आफुलाइ जेनि बताउने एकजना महिला ग्यालरीमा मलाई खोज्दै आइ । हस्याङ–फस्याङ गर्दै आफ्नो ब्यागबाट पत्र निकालेर मेरो हातमा थमाइदिइ अनि हावाको बेग जस्तैगरी त्यहाबाट अलप भइ । पल्पसाको पत्र रहेछ, एकै सासमा खामबाट झिके अनि पढ्न थालेँ ।

 आत्मीय मित्र भनेर सम्बोधन गरेकी रहिछ, जब पत्र सकियो म पुरै गले । करङको कापबाट रगत बगेर सिधै पैतालामा पुगेको भान भयो, हातगोडा लल्याक–लुलुक भए । उसले लेखेकी थिइ “घरमा धेरै नै टर्चर भएपछि नयाँ सिराबाट जिवन सुरु गर्न सदाका लागी नेपाल जादैछु । यो पत्र तिम्रो हातमा पर्दा सायद म काठमाडौमा ल्यान्ड गरिसकेकी हुनेछु । पछिल्ला दिनयता तिमिले हाम्रो मित्रतालाइ बिल्ड अप गरेर अर्कै नाम दिन लागेको मलाइ भान भइरहेछ । प्लिज मलाइ बिर्सिदेउ ।” निमेष भरमै मेरा सारा सपना भताभुङ्ग भए, मेरो प्रेम एकतर्फी मात्र रहेछ भन्ने प्रमाणित भयो । कयौं दिनसम्म निदाउन सकिन .

****
 एक बिहान मेरो मनमा अनौठो उर्जा जागृत भयो । नयाँ सोचले जन्म लियो । अमेरिकामै स्थायी रुपमा बस्न पाउँ भनी लिएको “पि.आर” को आवेदन फारम च्यातेर फालिदिए । म पल्पसालाइ फलो गर्न चहान्थे, मित्र भएरै सहि उसँग नजिक हुन चहान्थे किनभने मलाइ अर्कि पल्पसा फेरि कहि मिल्नेबाला थिएन । पढाइ र करिअरको पर्वाह गरिन अनि कसैलाइ सुइँकोसम्म पनि नदिइ म काठमाडौ फर्किए ।

****

 पल्पसा र म बिचको ग्याप महिनौको भइसकेको थियो । उपन्यासमा भनिए जस्तै यो बिचमा पल्पसा र दृश्य एक–अर्कासग नजिक भएका रहेछन् जसको सुइको मैले धेरै पछि मात्र पाएको थिएँ ।

तर भावीको लेखा पनि अचम्मको हुदोरहेछ । मैले काठमाडौ आएर फेरि पल्पसालाइ एपरोच गरेको समय त्यस्तो समय थियो जतिखेर दृश्यले पल्पसालाइ छाडेर अन्यन्त्र कतै हिंडेको थियो। उ पुन एक्लिएर अनि न्यास्रीएर फेरि अन्यत्र सिफ्ट हुने योजनामा थिइ । म काठमाडौ आएको थाह पाउनसाथ उ भक्कानिदै आएर मेरो अङ्गालोमा बाँधिइ । दृश्यसँगको सम्बन्ध अनि उसले दिएको धोका सब बेलिबिस्तार लगाइ । मैले पनि उसलाइ च्याप्प अङगालोमा बाँधे अनि तिमि एक्लो छैनौ भनेर ठुलो ढाडस दिँए । आखिरमा हाम्रो सम्बन्धले त्यही नाम पायो जसका लागी मैले आफ्नो करियर अनि भविस्य सब दाउमा लगाएको थिएँ ।

 एकदिन बिहानै पल्पसाले फोन गरी र झट्टै भेट्नु छ भनेर बोलाइ । अजङ्गको क्यामरा किनेकी रहिछ, द्वन्द्वको विषयमा डकुमेन्ट्री बनाउन लागेको र एकजना साथीको खाँचो भएको कुरो सुनाइ । म पल्पसासँग केहि समय बिताउन चहान्थँे, उसँग अझै नजिक हुन चहान्थँे । त्यसैले यस्तो सुनौलो मौका मैले खेर जान दिइन । अनि लाग्यौँ पश्चिम पहाडतिर ।

 ****

त्यस भयानक रात पल्पसा र उसको प्रिय चित्रकार दृश्य अगाडि सिटमा बसेका थिए, म भने अलि पछाडी थिएँ । गाडी टक्क रोकियो । कन्डक्टर भन्दै थिए, पिसाब फेर्न ओर्लनुस फेरि अगाडि गाडी रोकिदैन । दृश्य उठेर पिसाब फेर्न गयो ।

पल्पसा त्यसैबेला म निर आइ अनि अघि किनेको पानीको बोतल मागी । पानी सक्किएकाले मैले रित्तो बोतल थमाइदिएँ । उ बोतल लिएर पानी भर्न तल झरी ,म पनि पल्पसालाइ पछ्याउँदै बाहिर निस्किएँ । गाडीको एकातर्फ पिसाब फेर्नेको लर्को थियो, अर्कातर्फ पल्पसा र म धारामा पानी भरिरहेका थियौँ ।

त्यसपछिको घटनाक्रम उपन्यासमा वर्णन गरिए जस्तै थियो । प्रहरीको जिपलाइ लक्षित गरि थापिएको एम्बुसमा हामी चढेको गाडी पर्यो । त्यस्तो भयानक बिस्फोट मैले सायद चलचित्रमा पनि देखेको थिइन ।

दृश्यलाइ लाग्यो, पल्पसा बस भित्रै रहेका कारणले उ मारिइ । पल्पसालाइ लाग्यो दृश्य मर्यो, मलाइ लाग्यो ‘जार’ सक्कियो अनि “पल्पसा क्याफे” पढ्ने पाठकलाइ लाग्यो चोखो प्रेम मर्यो । तर वास्तमा हामी सबै भ्रममा बाँचिरहेका थियौँ ।

****
 अनेक प्रयत्न गरेर दृश्य मरिसकेको कुरा पल्पसालाइ सम्झाएँ । गुहेश्वोरीलाइ साक्षी राखी उसको सिहुदोमा सिन्दुर भरेँ । अमेरिका त्यागिदिएँ अनि शान्त र सौम्य जिन्दगी बिताइरहेको थिएँ ।

अचानक मेरो जिन्दगी एक उपन्यासले तहस नहस पारिदियो, सिर्फ एक झट्कामा । नारायण वाग्लेको कृती पल्पसा क्याफे आउनासाथ मैले त्यो पढेँ अनि दृश्य जिउँदै रहेको कुरा थाह पाएँ । पछि पुस्तकले मदन पुरस्कार पायो, अनि त पल्पसाबाट जति लुकाउन खोजेपनि सत्य लुकेन ।

 आज यो लेखिरहदा म टिचिङ अस्पतालको मानसिक रोग उपचार कक्षमा छु । पल्पसा बिक्षिप्त छिन् । डाक्टरहरु भन्छन् ,गहिरो सद्मा परेको छ, यस्तो बिरामीको बर्षौसम्म पनि होस नफर्किएका रेकर्डहरु छ्न । कति वर्ष कुर्नु हुन्छ विशाल जि ?

म फिस्स हास्दै भन्छु, म पल्पसालाइ वर्षौ त के, जुनि जुनि कुर्न सक्छु डाक्टर साब!

(नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेमा आधारित)