Search This Blog

Saturday, June 9, 2018

Medicos संसार

त्यो संसारमा के भइरहेछ
म यो संसारको एउटा कुनामा 
बसेर सब थाहा पाइरहेछु ।
त्यहाँका हाँसो/रोदन
सब मेरा कानमा गुन्जन्छ्न
त्यहाँका खुसी/पिडा 
सब मेरा आँखै अगाडि नाच्दछ्न ।
अनि त्यो संसारको अवस्थाले
यो संसारको व्यस्तता निर्धारण गर्दछ ।

जब खुसीले झुम्दछ त्यो संसार
हाँसोका खित्काहरु छुट्दछ्न 
तब यो संसार रित्तो-रित्तो हुँदै जान्छ
अनि रित्तिएको यो संसारका भित्तोहरुमा
ती हाँसोहरु जोडजोडले गुन्जन्छ्न 
तब एक भुल्को हाँसो 
मेरो दिलमा पनि फुट्दछ ।

तर त्यो संसार अचेल
उत्तिसारो हाँस्दैन
बिचरो मुर्झाएको छ
छ्ट्पटाइरहेको छ ।

जब यो संसारमा
तल हेर्नुस भन्दै
पहेँलिएका आँखाहरु जाचिन्छ्न
लामो-लामो सास फेर्नुस भन्दै 
सुन्निएका पेटहरु छामिन्छ्न
तब म बुझ्दछु 
कि त्यो संसारमा 
कान्छी दिदिका भट्टिहरुले
मालोमाल व्यापार गर्दै छन्  ।

जब यो संसारका भुइँहरु
रक्ताम्य बन्दछ्न
टुटेका खुट्टा र हातहरुमा प्लास्टर लाग्दछ्न
फुटेका टाउकोहरुमा सियो-धागो दौडन्छ्न
तब म बुझ्दछु 
कि त्यो संसारमा 
दिनदहाडै ट्राफिक नियमको
धज्जी उडिरहेको छ ।

जब यो संसारका
भुइँ अनि बरान्डाहरुसमेत
भरिभराउ बन्दछ्न
जताततै सलाइनका
बोतलहरु टागिन्छ्न
तब म बुझ्दछु कि
त्यो संसारका मानिसहरु
अशिक्षाको लेदो मिसिएको
पानी पिइरहेका छन्  
गरिबिको ढल
तिनका बस्तीमा फुटेको छ ।


हरेक साता त्यो संसारमा
गुड फ्राइडे आउँछ
र त्यही गुड फ्राइडेले 
यो संसारसम्म ल्याइपुर्याउँछ
अग्ला हिलले थाम्न नसकेर
मर्काएका खुट्टाहरु
खुकुरी र खुँडाले 
चर्काएका टाउकाहरु
अनि कोकेन र हिरोइनका नसाले 
सर्काएका रगतहरु ।

अफसोस गरिबका गुड फ्राइडे हुदैनन् 
तर ती पनि 
बिना चेत यो संसारसम्म आइपुग्छ्न ।
जब सबेरै ओखलढुंगा 
रामेछाप र दोलखाबाट छुटेका सुमोहरु
साँझसम्म पनि यहाँ आइपुग्दैनन नि
तब तिनले बोकेका
सुत्केरी र एपेन्डिक्सका 
इसिजिहरु सिधा/सम्म भइसकेका हुन्छन् ।
कास 
तिनले हिँड्ने बाटो
त्यस्तै सम्म हुदो हो त
यहाँसम्म आइपुग्दा ती इसिजिमा
केही खाल्डाखुल्डी बाँकी नै रहने थिए ।

कहिलेकाही यो संसार 
बडो उदेकलाग्दो बन्दछ ।
जताततै टोलाइरहने 
कलिला बहिनीहरु देख्दछु
छिनमै बर्बराउने छिनमै मुर्छा पर्ने
आमा-हजुरामाहरु भेट्दछु
पुरै जलेर धुँवाइरहेका
दिदीहरुका शरीर छाम्दछु
तब 
दुष्ट त्यो समाजलाइ
एक भाइल फुल 
मानवताको इन्जेक्सन लगाइदिन मनलाग्छ ।

समाजले पिलाएको विष 
कहाँ त्यति सजिलै निष्क्रिय हुन्छ र ?
नाकबाट पाइप जोडिन्छ्न
बिस्तार बिस्तार 
पेटका बिकारहरु छदाइन्छ्न
त्यतिले नभएर
हजारौं हजारका ओखती
नसाबाट दौडाइन्छ्न
आखिरमा आमाले छोरालाइ
श्रीमानले श्रीमतीलाई 
एम्बु ब्याग थिचेर 
केहिबेर बचाइरहन्छ्न
हो मात्र केहिबेर ।

हरेकदिन यसरी नै
यो संसारमा 
भरिएका बेडहरुले 
छरिएका सुइहरुले 
निचोरिएका औषधिहरुले
कराइरहेका भेन्टिलेटरहरुले 
छट्पटाइरहेका मानिसहरुले 
त्यो संसारमा घटिरहेको 


हर एक घटना बताइरहेछ्न ।