Search This Blog

Sunday, June 4, 2017

इख

अहँ तिमी साहैं राम्री त पक्कै होइनौ
जति म सोच्दछु
तनमा पनि र सायद मनमा पनि !
तिमी भन्दा सयौँ गुणा राम्रा त
ती नगरबधुहरु छन्
जसलाई म हरेकदिन
‘गर’ या ‘नगरको’ द्धिविधामा हेरिरहन्छु र
सम्पूर्ण चहानाहरुको ‘बध’ गर्दै
आफ्नै ‘नगर’ तर्फ फर्कन्छु ।
तिमी भन्दा धेरै मनकारी,
तिमी भन्दा धेरै दयालु त
मेरो घरै छेउमा बस्ने ‘नयना’ छिन्
उसका पनि तिम्रा जस्तै  घण्टौँ चलाइरहुँ लाग्ने
घनाह बाल छन् ।
अग्ला जुत्तामा लरक्क लर्किदा
क्या गजबका चाल छन् ।
टपक्क कसिएको कुर्तामा  देखिने
एकजोडि रहरलाग्दा उछाल छन् ।
आखिर यी सबै कुराका निम्ति
मैले तिमीलाइ चाहेको हुँ भने
नयनाका पनि यी एक जोडि ‘नयन’ बाहेक
सबथोक बबाल छन् ।
तर मलाइ
नगरबधुुका नगर–रस पनि चाहिएन
नयनाहरुका नजर–वश पनि चाहिएन ।
बस मलाइ त तिमी चाहियो
मात्र तिमी ।।
००००
जून दिन मैले तिमीलाई पहिलोपटक देखेको थिएँ
हो ठिक त्यहि दिन मैले उसलाई पनि देखेको थिएँ ।
जून दिन मैले तिमीलाई पहिलोपटक
चियाको लागि प्रस्ताव गरेको थिएँ ,
त्यहि दिन हामीले क्यान्टिनमा चिया खाइरहेको
उसले परबाट ‘चियाइ’रहेकि थिइ ।
चिया भन्दा  गुलियो
हाम्रो वार्तालाप थियो सायद ,
त्यहि भएर त तिमीले हरेक चुस्की लिनुभन्दा पहिलै
उ घुटुक्क थुक निल्दथी ।
उसका तिनै थुकहरुसँग
मैले मेरा आफ्ना थुकहरु
सयौँपल्ट साटिसकेँ ।
पार्कमा , रेष्टुुरामा अनि
रेष्टुराका बन्द च्यामबरहरुमा
कयाँै प्रेमिल पलहरु काटिसकेँ ।
तर अहँ
न’त ती थुकहरुले मेरो आँत भर्दथ्यो ,
न’त ती पलहरुले तिम्रो साथको लागि
उम्लिएको उन्मात मर्दथ्यो ।
शरिर उसको तर सम्झना तिम्रो
साथ उसको तर ‘झन–झन’ याद तिम्रो ।
त्यहि भएर त मलाइ तिमी नै चाहियो
मात्र तिमी ।।
००००
 आखिर किन हुन्छ माया ?
विज्ञानले भन्छ ,
यहाँ हर–मनलाइ जोड्ने एउटा ‘ हर्मन ’ हुन्छ ।
तर त्यो के हो जसले
यो मनलाइ मात्र त्यो मनसँग जोड्दछ ?
धर्मले प्रेमलाई
दुइ पवित्र आत्माको मेल ठान्दछ
त्यहि भएर होला
मेरो आत्मा मेरो हातमा होइन
तिम्रो आत्माको साथमा बस्न खोज्दछ ।
आखिर के–का लागि गर्ने प्रेम
यौनका लागि ?
ती त आजकाल गल्लिगल्लिमा
सरकारी रेटमा नि पाइन्छ ।
कि प्रेम वियोगमा देवदास बनी
आँसुको स्वाद चाख्न गर्ने हो प्रेम ?
सायद त्यति नै त
चुलेसी र प्याजको भेटमा नि पाइन्छ ।
तर मलाइ
न त यौनको योग चाहिएको छ
 न त बिछोडको वियोग
मलाइ त तिमी चाहिएको छ
मात्र तिमी ।
००००
त्यस दिन ,
प्रेम पत्रको साथमा
गुलाफको एक पत्र पनि थियो ।
“ प्यारी माया मिठो सम्झना
सम्झेर ल्याउँदा, मलाइ
तिम्रो हाँसो पनि मिठो लाग्दछ ,
अनि तिम्रो साथ पनि मिठो लाग्दछ ,
तिमीसँगको हरक्षण , हरपल मिठो लाग्दछ ।
नमिठा त केवल ती बाडुल्कीहरु होलान् है
जून मैले तिमीलाइ बारम्बार सम्झिरहँदा ,
तिमीलाइ हिक्क–हिक्क गराइरहन्छन् ।
आइ लफ यू मेरी पियारी ” ।

मेरा यि ‘लभ’का लब्जहरु
धेरैदिनसम्म त आफ्नै जिन्सका गोजिमा रहे
केहिदिनसम्म तिमी  सधैँ हिँड्ने बाटोमा
तिम्रै खोजीमा रहे
र केहिदिन अनुत्तरित प्रश्नको प्रतिक्षामा
तिम्रै मनमौजिमा रहे।
त्यसदिनसम्म म तिमीलाइ चहान्थे
तर त्यसदिनपछि,
 म तिमीलाइ मात्र चहान्छु ।
किनकि
त्यसदिन तिमीले मलाइ चाहिनौ ।
 त्यसैले त
आजसम्म पनि मलाइ तिमी नै चाहियो
मात्र तिमी ।।

Saturday, May 20, 2017

उसको मृत्यु शैयामा भेटिएको रहस्य


उ आज पनि त्यसैगरि नै आएको थियो जसरी अरुदिन आउँथ्यो , चार घोडे ठूलो बग्गीमा आफ्ना दुइ सहयोगीहरुका साथ । घोडाहरु सकिनसकि बग्गीलाई तानिरहेका थिए । बाहिर सडकमा बिस्तारै बिस्तारै मानिसहरुको ठूलो भिँड जम्मा भइरहेको थियो अनि जम्मा भएका सबैजना एकै स्वरमा भनिरहेका थिए – “च्यामर्बलेन आउ ज्यान बचाउ ।”

उ च्यामर्बलेन परिवारको कान्छो सदस्य , हुग च्यामर्बलेन । करिबन १०० वर्ष हुन लाग्यो जब–जब च्यामर्बलेनहरु बग्गी लिएर यसरी सडकमा निस्कन्छन् तब–तब लन्डनका गल्लिहरुमा उनिहरुको चर्चा हुन थाल्छ । चर्चा बग्गीको हुन्थेन न’त त्यस बग्गीलाई तान्ने घोडाहरुको नै । चर्चा त केवल त्यस बग्गीभित्र रहेको त्यो बाकसको हुन्थ्यो जसको रहस्य जान्न हरएक लन्डनवासीहरु उत्सुक थिए ।

त्यो बाकस हुगका जिजुबुवा पिटर च्यामर्बलेनले ल्याएका थिए । च्यामर्बलेनका अनुसार उनीहरुलाई त्यो बाकस भगवान जिजस क्राइस्टले दिनु भएको हो र त्यसभित्र चामत्कारीक औजारहरु छन् । उनिहरुले के पनि भन्ने गरेका थिए भने यदि ती औजारहरुको  रहस्य आम मानिसलाई थाह दिए ती स्वतः निस्क्रिय भएर जान्छन् ।

हुन पनि हो , त्यो बाकस आफैँमा चामत्कारीक थियो किनभने त्यसले  हजारौेँको ज्यान बचाइसकेको थियो । पिटर च्यामर्बलेनले त्यो बाकस ल्याउनु भन्दा अघि ब्रिच अर्थात् उल्टो फर्किएर बसेको बच्चालाई ज्यूँदो जन्माउने कार्य असम्भव नै ठानिन्थ्यो । त्यति मात्र होइन बच्चा जन्माउँदा कुनै कारणवश यदि बच्चा अड्किएमा के गर्ने कसैलाई थाह थिएन ।

सामान्य डेलिभरिहरु त अरुले पनि गराउँथे । तर शहरमा जब–जब आमा र बच्चाहुरु मृत्युको मुखमा पुगेका हुन्थे तब–तब च्यामर्बलेनहरु इश्वरका अवतार झैँ झुल्कन्थे अनि सकुशल डेलिभरि गराएर फर्किन्थे ।
त्यसैले त आजपनि जम्मा भएका मानिसहरु भनिरहेका थिए – “च्यामर्बलेन आउ ज्यान बचाउ ।”

भिँडमा गाइँगुइँ सुनिन थाल्यो , के आजपनि च्यामर्बलेनले आमा र बच्चा दुवैलाई बचाउन सफल होलान् ? के होला त्यस बाकसमा ??

कसैले लख काटे , “त्यस बाकस भित्र जिजसको काटिएको हात छ , जसको स्पर्श मात्रैले पनि बच्चा सकुशल जन्मन्छ ।” कसैले भने , “होइन त्यो बाकस खाली छ । बच्चा जन्माउने त च्यामर्बलेनको सिपले गर्दा हो । जिजस नै भइदिएको भए त गत साता मार्थाको बच्चा त्यसै मर्न थिएन ।”

एकाध दुइ घटना बाहेक , च्यामर्बलेनहरुले जनताहरुका मनमा अमिट छाप छोड्न सफल भइसकेका थिए । पिटर च्यामर्बलेनले त त्यो बाकस ल्याएको साल राजपरिवारमै लगालग दुइ जटिल डेलिभरिहरु गराए । त्यसपछि त के चाहियो र ,  उनिहरुको यश एक कान दुइ कान गर्दै मैदान भयो ।

बाकसको रहस्य परिवार भन्दा बाहिर नजावोस भन्ने कुरामा च्यामर्बलेनहरु एकदमै सचेत थिए । कतिसम्म भने , डेलिभरि गराउन जाँदा उनिहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैनथिए ताकि बिहे गरेर जाँदा उनिहरुका साथ रहस्य अर्काको घरमा नपुगोस् ।

आज पनि बडो सतर्कताका साथ हुग च्यामर्बलेन बग्गीबाट ओर्लिए । उनका पछि–पछि दुइ सहयोगीहरु थिए जसको हातमा निकै नै उज्यालो र ठूलो बाकस थियो । बाकसको बाहिरी आवरणमा अनेक मणि–माणिक्यहरु जणित थिए । घामको प्रकाश ती आभूषणहरुबाट यसरी आँखामा फर्कन्थे कि जो कसैले पनि त्यस बाकसमा एक झलक भन्दा बढि हेर्नै सक्दैनथ्यो ।

चामत्कारीक बाकस लिएर जब उनिहरु घरभित्र प्रवेश गरे , तब घरका बाकीँ सदस्यहरु बहिर निस्किए । हुग च्यामर्बलेन भित्र पसे र ढ्याप्प ढोका लगाए । उनका सहयोगीहरु भने बाहिर बसेर अनेकथरि आवाजहरु निकाल्न थाले । कहिले ठूलो आवाजमा बेल बजाइदिन्थे त कहिले विभिन्न धूनहरु निकाल्थे ताकि बाहिर बसेका मानिसहरुको ध्यान केन्द्रिकित नहोस । कहिले–काहिँ भने भित्रबाट रोएको र चिच्चाएको आवाजहरु आउँथ्यो जसले परिवारका सदस्यहरुलाई चाहिँ क्रसित बनाइदिन्थ्यो ।

भित्र प्रवेश गर्नासाथ सर्वप्रथम हुगले ती महिलाको आँखामा कालो पट्टि बाँधिदिएका थिए ताकि गर्वधारण गर्ने माहिलालाई पनि त्यस बाकसको रहस्य थाह नहोस । त्यसपछि भने उनले बाकस खोले । बच्चाको टाउको बाहिर देखिइसकेको थियो तर पनि पूूरै शरिर निस्किन सकिरहेको थिएन । परिवारजनको चिन्ता झनै बढिरहेको थियो । उता बाहिर जम्मा भएका मानिसहरु चाहिँ आज भने च्यामर्बलेन असफल हुने भए भनेर कानेखुसी गरिरहेका थिए ।

त्यत्तिकैमा अचानक भित्रबाट बच्चा रोएको आवाज सुनियो । आफ्नो सन्तानको मुख हेर्ने हतारोले बाबु भित्र पस्न खोजे । तर उनलाई  पनि च्यामर्बलेनका सहयोगीहरुले रोके । हुगले बाकसमा पुनः ती सामानहरु राखे , राम्रोसँग त्यसमा साँचो–ताल्चा कसे , महिलाको आँखाबाट पट्टि हटाइदिए अनि मात्र परिवारका सदस्यहरुलाई भित्र आउन जनाउ दिए ।

बाहिर उनको कारनामा हेर्न थुप्रै मानिस जम्मा भएका थिए । भिँडतर्फ फर्किएर उनले एकपल्ट हात हल्लाए अनि सरासर बग्गीमा चढेर आफ्नो बाटो लागे ।

च्यामर्बलेनको यस कार्यको चर्चा लन्डनमा मात्र होइन बिस्तारै–बिस्तारै सारा यूरोप भरि हुन थालिसकेको थियो । फ्रान्स , जर्मनी लगायतका देशहरुमा लाख कोसिसका बाबजुद पनि त्यस्ता जटिल डेलिभरिहरु सफलतापूर्वक गर्न सकिएको थिएन । त्यसैले त सबै च्यामर्बलेनहरुलाई महान ठान्दथे ।

यता हुग च्यामर्बलेनको उमेर दिन–प्रतिदिन ढल्कदै थियो तर उनले छोरा पाउन सकेका थिएनन् । पहिलो श्रीमतीबाट लगातार तीन छोरी जन्मिएपछि उनले दोस्रो विवाह गरे । तर दोस्री श्रीमतीले पनि उनलाई छोरा दिन सकिनन् । त्यसपछि भने १०० वर्षदेखि चल्दै आएको च्यामर्बलेनको इतिहास कसलाई हस्तानतरण गर्ने भन्ने कुराले उनलाई निकै नै पिरलिरह्यो ।

यत्तिकैमा एकदिन उनिमाथि अर्को समस्या आइलाग्यो । च्यामर्बलेनहरुलाई चुनौती दिँदै फ्रान्सका एकजना फिजिसियन त्यस्तै बाकस लिएर आए । ती फिजिसिएनले के पनि दावा गरे भने आफूले त्यस्ता बाकसहरु हजारौँको संख्यामा उत्पादन गरेर विभिन्न ठाउँहरुमा पु¥याउने र त्यसले अझै धेरै मानिसहरुलाई फाइदा पुग्नेछ ।

हुग च्यामर्बलेन निकै चलाख थिए । उनले ती फिजिसियनलाई आफूले भनेको एउटा महिलामा सफल डेलिभरि गरेर देखाउन चूनौति दिए । हुगलाई थाहा थियो कि ती फिजिसियनले बनाएको औजारले एउटी होची महिला जसको पाठेघर र बच्चाको टाउकोको अनुपात मेल खाँदैन , त्यस्तोमा सफलता हाँसिल गर्न सक्दैन । आखिरमा हुन पनि त्यस्तै भयो , नयाँ बाकसले ती महिलाको बच्चा जोगाउन सकेन ।

त्यस घटना पश्चात् त च्यामर्बलेनप्रति मानिसहरुको विश्वास झन–झन प्रगाढ भयो । तर च्यामर्बलेन एकैचोटि सबै ठाउँमा पुग्न सक्दैनथिए । एकपटक त उनलाई एकैतालि चार ठाउँबाट बोलावट भयो । कहाँ पहिले जाने भनेर निर्णय गर्दा–गर्दै सबेतिर ढिला भयो। कालान्तरमा यस घटनाले उनलाई निकै ठूलो चोट पु¥यायो ।
भनिन्छ मृत्युको अघिल्लो क्षणसम्म पनि हुग च्यामर्बलेन द्घिविधामा बाँचिरहे ः  आफ्नो परिवारको बिरासत आफैँसँग लिएर जाने कि , त्यो रहस्य संसारलाई बताएर जाने ?? आखिरमा भने उनले दोस्रो बाटो रोजे ।

उनको मृत्यु शैयाको अघितिर एउटा बाकस खुला लडिरहेको थियो । बाकस भित्र फलामका औजारहरु थिए । दुइ छुट्टा छुट्टै फलामका लाम्चा ब्लेड । ब्लेडहरु हल्का घुम्रिएका थिए जसले बच्चालाई च्याप्प अठ्याउँथ्यो । ती ब्लेडहरुमा लक सिस्टम पनि थियो जसले गर्दा ती एक अर्कामा लक्ड हुन्थे र बच्चा तान्न सजिलो हुन्थ्यो । यसरी समग्रमा ती फलामे औजारहरु फोरसेप्स अथात् चिम्टाको स्वरुपमा ढल्दथे जसले गर्दा अड्किएको बच्चालाई सजिलै तान्न सकिँथ्यो ।

सुन्दा सामान्य लागेपनि च्यामर्बलेनहरुको यो बाकस करिबन ३०० पछाडी अर्थात आजको दिनमा पनि उत्तिकै महत्वका साथ प्रयोग  गरिन्छ । त्यसैले त त्यो बाकस साँच्चै चामत्कारीक छ ।

(सेक्रेसी अफ च्यामर्बलेन्सू को नेपाली अनुवाद)

Saturday, May 13, 2017

Dream : एक सपना

Dream  एक सपना एउटा यस्तो कथा हो जसले ती तमाम विध्यार्थीहरुको प्रतिनिधित्व गर्छ जो आफ्नो घरदेखी कोसौँ टाढा अनि परिवारदेखि हजारौँ माइल परको एक अन्जान शहरमा आएका छन् ,आफ्नो सपनाको खातिर । आफ्ना इच्छा, चहाना र खुसीहरुलाई आफ्नै प्रिय कोठाको एउटा  छेउमा रहेको बाकस भित्र बन्द गरेर अनि हजारौँ हजार प्रतिस्पर्धिहरुलाइ उछिन्ने अठोटका साथ, फगत एउटा सपनाको लागी अर्थात डाक्टर बन्ने सपना ।

यो सपना एक दिन, एक रात, वा एक पलमा अचानक जन्मिएको सपना होइन । यो सपनासँग त ती सम्पूर्ण विध्यार्थीहरुको बाल्यकाल जोडिएको छ । उनीहरुलाइ कखरा चिन्न सिकाउने गूुरुहरु र विध्यालयको पहिचान जोडिएको छ । “ रत्नबहादुर सरको छोरो त डाक्टर भएछ ” भनेको सुन्दा धक्क छाती फुलाउने ती तमाम बाबुहरुको मान , प्रतिष्ठा र सम्मानसँग जाडिएको छ । अनि अगेँनामा आगो फुक्दै गर्दा पधेँरामा पानी लिन जम्मा भएका आफ्ना सँगीहरुले डाक्टरकी आमा भनेको सम्झिएर सुँक्क सुँक्क गर्ने ती सबै आमाहरुका खुसीको आँसुसँग जोडिएको छ ।

त्यहि भएर पो यो सपना एकदम खास छ । अनि यसको बेग्लै महत्व र स्थान छ ।

यस्तो सपना सुदेशको छ । यस्तै सपना नरेशको छ , दिनेशको छ । अन्जनको छ , रन्जनको छ  । अन्जलीको छ ,गंगा , जमुना अनी सरस्वतीको पनि छ । यस्तै सपना करिब करिब पच्चिस हजारको जतिको छ । तर के ती सबैको सपना पूरा हुन्छ त ? के सबैलाइ आफ्नो नामको अगाडि डाक्टर लेखाउने सुवसर जुर्छ त ?

के कस्ता कारणहरु छन् जसले केहि सयलाई मात्र त्यो अवसर प्रदान गर्छ ? के त्यो सपनासँग मात्र लगन र परिश्रम जोडिएको छ ? कि त्यससँग लक अर्थात भाग्यको पनि उत्तिकै हात रहन्छ ?

हो यस्तै यस्तै प्रश्नहरुसँग जोडिएको कथा हो “ड्रिम ः एक सपना ”।

यस कथामा यस्ता दुइ युवक छन् जो हरबखत सपना देखिरहन्छन् ।

हरेक रात जस्तै आज पनि रविले त्यहि सपना देख्यो ः

सपनामा उसकी दिदि सुत्केरी ब्यथा लागेर छट्पटाइरहेकी हुन्छिन् । उनलाई डोकोमा हालेर कसैले बोकिरहेको हुन्छ । सारा वातावरण दिदिकै रुवाई र चित्कारले गुञ्जायमान छ । वरपर तिन चार जना भरिया हतार हतार गरेर दिदिलाई लग्दैछन् । ब्याकग्राउन्ड धूमिल अनि कालो छ । स्वास्थ्य चौकी पुग्नासाथ एकजना स्वास्थ्यकर्मी अत्तालिँदै कराउँछिन् “छिट्टो सदरमुकाम लानुस यहाँ डाक्टर छैनन् । ” दिदि झन् झन् पिडाले छट्पटाउन थाल्छिन् , वातावरण कोलाहलमय हुन्छ र यस्तैमा कोही कराउँछ दिदि ।

आज पनि दिदि भन्ने यहि आवाज सुन्नासाथ रवि जुरुक्क उठ्छ । उसको मुटु ढक ढक ढक गरिरहेको छ अनि त्यसमाथि स्वाँ स्वाँ गर्दै लामो लामो सास लिन थाल्छ ।

वातावरण एकैछिनका लागि शान्त हुन्छ र यसैबिच जब उसले आफ्नो छेउकै खाटमा आँखा डुलाउँछ तब उसको रुममेट किरण पनि उसैगरि निन्द«ाबाट बिउँझिएर स्वाँ स्वाँ गर्दै लामो लामो सास फेरिरहेको हुन्छ ।

अगाडि राखिएको भित्ते घडिमा बिहानिको पाँच बजेको छ । दुवैलाई आ–आफ्नो सपनाले जुरुक्कै उठाउँछ । रवि र किरण नित्यकर्म तर्फ लाग्छन् । ट्वाइलेट जान्छन् , ब्रस गर्छन् , मुख धुन्छन् अनि आ–आफ्नो टेबलमा बसेर किताब खोल्छन् ।

ब्याकग्राउन्ड फेरि अध्याँरो हुन्छ अर्थात कथा पछाडी फर्कन्छ । सम्झनामा बाल्यकालका दिनहरु देखापर्छ । कक्षामा जुरुक्क उठेर उत्तर दिएको, हाजीरी जवाफ प्रतियोगितामा प्रथम भएको । सबैले वाही वाही गरेको अनि विद्यालयमा सरले “ ठूलो भएपछि के बन्छौ भनेर सोध्दा– डक्टर बन्छु भनेर जोडले चिच्चाएको ।”

उता डक्टर बन्छु भनेर चिच्याइरहदा यता रवि र किरणको ढोकामा कसैले ढकढक गर्छ । दुवैजना किताबमा अढेस लागेर निदाइरहेको अवस्थामा झसङ्ग हुन्छन् । तिन चार जना साथी कोठा भित्र प्रवेश गर्छन् । “उठ छिटो कोचिङ जान ढिला भयो ।” सबैजना तयार हुन्छन र कोचिङका लागी निस्कन्छन् ।

बाहिर निस्कदै गर्दा रवि आफ्नो ब्याग बोकेर ठमठम अगाडि बढ्छ । यता किरण भने होस्टेल बाहिरको चौरिमा बिहानै जम्मा भएर क्रिकेट खेलिरहेका केटाकेटिहरुलाई हेर्छ एकैछिन टोलाउँछ अनि मात्र अगाडि लाग्छ ।

कोचिङ क्लास जाने बाटोमा ठूलो भिँडभाड छ । रवि र किरणको आँखामा जस्तै सबैसँग एउटा अठोट छ, एउटा सपना छ । दिनभरि क्लासमा , लाइब्रेरीमा कहिले सरले पढाएको सुन्दै त कहिले एक आपसमा छलफल गर्दै उनीहरु निरन्तर मिहेनत गरिरहेका छन् । रवि कक्षामा १०० प्रतिशत ध्यान दिइरहेको हुन्छ भने किरण चाहिँ बेलाबखतमा झ्यालबाट तल केटाकेटीहरु खेलेको हेरेर मुस्कुराइरहन्छ ।

ब्याकग्राउन्ड फेरि अध्ँयारो हुन्छ अर्थात कथा पछाडी फर्कन्छ । सम्झनामा घरबाट निस्कने बेलाको रवि देखा पर्छ । आमाले थाली भरि अक्षता लिएर आर्शिवाद दिदै भन्नुहुन्छ ः “ हामीले तेरा लागी धेरै दुख गरेका छौँ , बाटो नबिराएस् , यता उती नबरालियस् । मन लगाएर पढेस् ।” त्यही भएर त उनीहरुको सपनासँग उनीहरुको परिवारको मान, प्रतिष्ठा र खुसीसँग पनि जोडिएको छ । गाडीमा अढेस लागेर रवि अनेकथरि कुरा मनमा खेलाउदै काठमाडौँका लागी आइरहेको हुन्छ । गाडीमा गित बजिरहेको छ “ नयाँ सपना नयाँ शहर , मनमा लिएर नयाँ रहर ।” उता गाडीमा ध्याच्च ब्रेक लाग्छ यता रवि झसङ्ग भएर बिउँझन्छ ।

कोचिङ क्लासमा छुट्टी भएर सबैजना गइसकेका छन् । रविले वरिपरि यसो आफ्नो नजर डुलायो, क्लास खाली थियो । फेरी उसले छेउको बेन्चमा हेर्यो । त्यहाँ भने किरण थियो । उसैगरी भर्खर सपनाबाट बिउँझिएर यता उता नजर डुलाइरहेको अवस्थामा ।

साझमा सबैजना होस्टेलमा जम्मा भएर आइपिएल हेर्न थाल्छन् । किरण बिचमा छ , रवि छेउमा टुसुक्क बसेको छ । यसपटक भने रविले एक्लै सपना देख्छ किनभने किरण टिभिमा मस्त रमाइरहेको छ । छक्का, किरण लगायत साथीहरु एक स्वरमै चिच्याउँछन् । जुन आवाजले गर्दा रवि झसङग भएर बिउझन्छ र बिउझिएसँगै तुरुन्तै आफ्नो कोठामा जान्छ र पढ्न सुरु गरिहाल्छ । यता रविलाई पछ्याउँदै बिस्तार–बिस्तार एक एक गर्दै सबै निस्कन्छन् तर किरण भने अन्तिमसम्म पनि त्यहि कोठामा टिभी हेरेर बसिरहन्छ ।

दिनहरु बित्दैछन् । सबैजना दिनरात – घामपानी केहि नभनी कडा मिहेनत गरिरहेका छन् । होस्टेलका कोठाहरुमा रात–रातसम्म बत्ति बलिरहन्छ । कोठाका सबै भित्ताहरु मोरफोलोजी चार्ट , पेरीवडिक टेबल र स्टिकि नोटहरुले भरिभराउ छन् । खाना खादैँ गर्दा कोइसन – आन्सरको छलफल हुन्छ । कसैकसैले त ट्वाइलेट जाँदासमेत किताब–कापी बोकेर जान थालेका छन् । समग्रमा माहोल एकदम कोलाहालमय छ ।

आज होस्टलमा विशेष चहलपहल छ किनभने कोचिङ इन्सटिच्यूटले लिने मोडल टेस्टको नतिजामा किरणले अप्रत्यासित ढङ्गले टप गरेको छ । ऊ सबैलाई वरिपरि राखेर गफ दिइरहेको छ । नाम निस्कनुमा भाग्यको पनि उत्तिकै हात रहने कुरामा उसको जोड छ । “ आखिर कोइसन पनि त्यहिँ हुन्छ आन्सर पनि त्यहिँ ।” मात्र दशवटा गेस मिल्यो भने त ठ्याक्कै नाम निस्कन्छ ।

रविलाई भने यस्ता कुराले खासै दिलचस्वी छैन । ऊ त बेलाबखतमा फुर्सद पाउनासाथ सपना देख्न थाल्छ अनि बिउँझनासाथ आफ्नो कोठामा पुगिहाल्छ ।

आज आइओयमको इन्ट्रान्स परीक्षाको दिन । आज पनि मोबाइलमा अर्लाम लाग्नुपूर्व नै रविले सपना देख्यो । स्वाँ–स्वाँ गरेर लामो सास तान्दै छेउको खाटतिर हे¥यो । किरण पनि ठिक त्यसैगरि बिउँझिएर लामो लामो सास फेर्दै थियो ।
दुवैजना जुरुक्क उठे , अनि एक–अर्कालाई धाप मार्दै परीक्षाकेन्द« तर्फ जान तयारी गरे ।
अर्को राति रिजल्ट आयो । सबैजनाको आँखा कम्प्यूटरको स्क्रिनमा छ । रिजल्ट लोडिङ पनि हुँदै थियो । तर अचानक बत्ति निभ्छ अनि दृश्यमा सबथोक अध्ँयारो हुन्छ ।

उज्यालो हुँदा घण्टी लागिरहेको छ र घण्टीसँगै रवि निन्द«ाबाट पुनः बिउझन्छ र आँखा मिच्दै अघि पछि दाया–बाया सबैतिर हेर्न थाल्छ ।

उसले सेतो एप्रोन लगाएको छ , घाँटीमा स्टेथेसकोप भिरेको छ र क्लासरुमको भित्तामा त्रिवि शिक्षण अस्पताल लेखिएको छ ।

ऊ हतार हतार गर्दै आफ्नो आँखा छेउको बेञ्चमा लान्छ । तर अहँ यसपटक भने किरण त्यहाँ हुँदैन ।

दृश्य नं एक ः किरण बिहानै रविसँगै बिउँझिएको थियो तर दुइले हरेक बिहान देख्ने सपना नितान्त फरक थियो । रविले त हरेक बिहान आफूले कुनै गेममा बिजयी छक्का हानेको देख्थ्यो र जुरुक्क उठेर लामो लामो सास फेथ्योै ।

दृश्य नं दुइ ः किरण हरेक दिन साथीहरुसँग इन्सटिच्यूटबाट बाहिर निस्कदै गर्दा , केटाकेटीहरु क्रिकेट खेलेको देखेर मुस्कुराउँथ्यो ।

दृश्य नं तिन ः कोचिङ इन्सटिच्यूटको झ्यालबाट क्रिकेट  खेल्दै गरेको हेरेर किरण टोलाइरहन्थ्यो ।

दृश्य नं चार ः होस्टलमा आइपिएल हेर्न बस्दा अन्तिमसम्म किरणले मात्र प्यासनका साथ गेम हेरेको थियो ।

दृश्य नं पाँच ः कोचिङ इन्सटिच्यूटको मोडल टेस्टमा टप गर्दा किरणले मोबाइलमा हेरेर आन्सर टिक गरेको थियो ।

रवि आज दरबारमार्गको कुनै रेष्टुरामा साथीहरुसँग एमबिबिएस ग्राजुयट भएको सेलिब्रेसन गर्दै छ । रेष्टुरामा एउटा ठूलो टिभी छ जसमा त्यहाँ उपस्थित सबैजसोको आँखा अडेको छ । सबैजना नेपाल नेपाल भन्दै हुटिङ गरिरहेका छन् । यत्तिकैमा अलि ठूलो आवाजमा रवि कराउँछ –“ किरण कुमार खत्री ओपनिङ ब्याट्सम्यान नेपाली क्रिकेट टिम , मेरो इन्ट्रान्स पढ्दाको रुममेट हो यार ” ।