Search This Blog

Saturday, April 25, 2026

छि दुर्गन्धितहरु

छि दुर्गन्धितहरु

 



यो सुकिला मुकिला बस्ने शहरमा

उफ ! तिम्रो पसिना कस्तो डुङ्डुङ्ति गन्हाएको

एक डब्बा अत्तर किनेर छर्कन नसक्ने  तिमी

पितिक्क स्याम्पु हालेर कपाल धुन नसक्ने

आङ्को मयल हप्तौ नपखाल्ने

कुन हैसियतमा वर्षौदेखि मेरो समिपमा बसिरहेथ्यौ ?

 

लाग्थ्यो हिजोसम्म यो शहर पुरै निस्सासिएको थियो

तिम्रो दुर्गन्धले दुरदुरसम्म नाक छोप्न हामी विवश थियौँ

तिम्रा बस्तीहरुका कारण

वर्षौँसम्म हाम्रा केटाकेटिहरु ढुक्कले उफ्रन  पाएनन

हाम्रा बुल्डगहरुले मजाले बिस्ट्याउन पाएनन

करोडौ खर्चिएर गाडी त किनियो

तर यो शहरमा सिसा खोलेर कुदाउन सकिएन । 

 

वा जनताको असली सरकार

मुरीमुरी धन्यवाद छ तिमीलाइ

वर्षौदेखि हामीले सहदै आएको यस दुर्गन्धलाइ

निमेष भरमै बडारिदियौ ,

चिरिच्याट्ट पारिदियौ शहरलाइ ।

 

सरकार ,

अब आइन्दा यस शहरलाइ सदासर्वदा सुगन्धित राख्नुपर्नेछ

त्यसका लागी एउटा सिमारेखा कोर्नपर्नेछ

ह्वास्स गन्ध आउनेलाइ  धेरै पर पुर्याउ

मगमग बसाउनेलाइ मात्रै शहर भित्र छिराउ

बरु सिमामा पङ्खाहरु आफै राखौला

तर तिनका दुरगन्ध हाम्रो महलसम्म नआइपुगोस ।

 

ए जनताको असली सरकार

तिमीलाइ हाम्रो अन्तिम दरखास्त छ

ती दुर सारिएका बस्तीहरुमा

कम्तिमा बिहान-बेलुका चल्ने बस चाहिँ पुर्याइदेउ

ताकी बिहानै त्यताका मानिसहरु यता आइपुगुन

हाम्रा भवन , पुल-पुलेसा बनाउन मजदुरी गरुन

हाम्रा घरका जुठा भाँडा, मैला कपडा धोइपखाली गरिदिउन

हामीले अर्हाएको गरुन

अनि हामीले नै तोकिदिएको ठाउँमा गएर बसुन ।

 

हेल्लो

गरिब र दुर्गन्धित जन्मिएकाहरु हो

सरकारले यतिबिघ्न निगाह गरिदिदा पनि

तिमीहरु यदि गरिब नै मर्छौ भने

दोष तिमीहरु आफ्नैको होइन र ?

 

 

 

 


No comments:

Post a Comment