उ आज पनि त्यसैगरि नै आएको थियो जसरी अरुदिन आउँथ्यो , चार घोडे ठूलो बग्गीमा आफ्ना दुइ सहयोगीहरुका साथ । घोडाहरु सकिनसकि बग्गीलाई तानिरहेका थिए । बाहिर सडकमा बिस्तारै बिस्तारै मानिसहरुको ठूलो भिँड जम्मा भइरहेको थियो अनि जम्मा भएका सबैजना एकै स्वरमा भनिरहेका थिए – “च्यामर्बलेन आउ ज्यान बचाउ ।”
उ च्यामर्बलेन परिवारको कान्छो सदस्य , हुग च्यामर्बलेन । करिबन १०० वर्ष हुन लाग्यो जब–जब च्यामर्बलेनहरु बग्गी लिएर यसरी सडकमा निस्कन्छन् तब–तब लन्डनका गल्लिहरुमा उनिहरुको चर्चा हुन थाल्छ । चर्चा बग्गीको हुन्थेन न’त त्यस बग्गीलाई तान्ने घोडाहरुको नै । चर्चा त केवल त्यस बग्गीभित्र रहेको त्यो बाकसको हुन्थ्यो जसको रहस्य जान्न हरएक लन्डनवासीहरु उत्सुक थिए ।
त्यो बाकस हुगका जिजुबुवा पिटर च्यामर्बलेनले ल्याएका थिए । च्यामर्बलेनका अनुसार उनीहरुलाई त्यो बाकस भगवान जिजस क्राइस्टले दिनु भएको हो र त्यसभित्र चामत्कारीक औजारहरु छन् । उनिहरुले के पनि भन्ने गरेका थिए भने यदि ती औजारहरुको रहस्य आम मानिसलाई थाह दिए ती स्वतः निस्क्रिय भएर जान्छन् ।
हुन पनि हो , त्यो बाकस आफैँमा चामत्कारीक थियो किनभने त्यसले हजारौेँको ज्यान बचाइसकेको थियो । पिटर च्यामर्बलेनले त्यो बाकस ल्याउनु भन्दा अघि ब्रिच अर्थात् उल्टो फर्किएर बसेको बच्चालाई ज्यूँदो जन्माउने कार्य असम्भव नै ठानिन्थ्यो । त्यति मात्र होइन बच्चा जन्माउँदा कुनै कारणवश यदि बच्चा अड्किएमा के गर्ने कसैलाई थाह थिएन ।
सामान्य डेलिभरिहरु त अरुले पनि गराउँथे । तर शहरमा जब–जब आमा र बच्चाहुरु मृत्युको मुखमा पुगेका हुन्थे तब–तब च्यामर्बलेनहरु इश्वरका अवतार झैँ झुल्कन्थे अनि सकुशल डेलिभरि गराएर फर्किन्थे ।
त्यसैले त आजपनि जम्मा भएका मानिसहरु भनिरहेका थिए – “च्यामर्बलेन आउ ज्यान बचाउ ।”
भिँडमा गाइँगुइँ सुनिन थाल्यो , के आजपनि च्यामर्बलेनले आमा र बच्चा दुवैलाई बचाउन सफल होलान् ? के होला त्यस बाकसमा ??
कसैले लख काटे , “त्यस बाकस भित्र जिजसको काटिएको हात छ , जसको स्पर्श मात्रैले पनि बच्चा सकुशल जन्मन्छ ।” कसैले भने , “होइन त्यो बाकस खाली छ । बच्चा जन्माउने त च्यामर्बलेनको सिपले गर्दा हो । जिजस नै भइदिएको भए त गत साता मार्थाको बच्चा त्यसै मर्न थिएन ।”
एकाध दुइ घटना बाहेक , च्यामर्बलेनहरुले जनताहरुका मनमा अमिट छाप छोड्न सफल भइसकेका थिए । पिटर च्यामर्बलेनले त त्यो बाकस ल्याएको साल राजपरिवारमै लगालग दुइ जटिल डेलिभरिहरु गराए । त्यसपछि त के चाहियो र , उनिहरुको यश एक कान दुइ कान गर्दै मैदान भयो ।
बाकसको रहस्य परिवार भन्दा बाहिर नजावोस भन्ने कुरामा च्यामर्बलेनहरु एकदमै सचेत थिए । कतिसम्म भने , डेलिभरि गराउन जाँदा उनिहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैनथिए ताकि बिहे गरेर जाँदा उनिहरुका साथ रहस्य अर्काको घरमा नपुगोस् ।
आज पनि बडो सतर्कताका साथ हुग च्यामर्बलेन बग्गीबाट ओर्लिए । उनका पछि–पछि दुइ सहयोगीहरु थिए जसको हातमा निकै नै उज्यालो र ठूलो बाकस थियो । बाकसको बाहिरी आवरणमा अनेक मणि–माणिक्यहरु जणित थिए । घामको प्रकाश ती आभूषणहरुबाट यसरी आँखामा फर्कन्थे कि जो कसैले पनि त्यस बाकसमा एक झलक भन्दा बढि हेर्नै सक्दैनथ्यो ।
चामत्कारीक बाकस लिएर जब उनिहरु घरभित्र प्रवेश गरे , तब घरका बाकीँ सदस्यहरु बहिर निस्किए । हुग च्यामर्बलेन भित्र पसे र ढ्याप्प ढोका लगाए । उनका सहयोगीहरु भने बाहिर बसेर अनेकथरि आवाजहरु निकाल्न थाले । कहिले ठूलो आवाजमा बेल बजाइदिन्थे त कहिले विभिन्न धूनहरु निकाल्थे ताकि बाहिर बसेका मानिसहरुको ध्यान केन्द्रिकित नहोस । कहिले–काहिँ भने भित्रबाट रोएको र चिच्चाएको आवाजहरु आउँथ्यो जसले परिवारका सदस्यहरुलाई चाहिँ क्रसित बनाइदिन्थ्यो ।
भित्र प्रवेश गर्नासाथ सर्वप्रथम हुगले ती महिलाको आँखामा कालो पट्टि बाँधिदिएका थिए ताकि गर्वधारण गर्ने माहिलालाई पनि त्यस बाकसको रहस्य थाह नहोस । त्यसपछि भने उनले बाकस खोले । बच्चाको टाउको बाहिर देखिइसकेको थियो तर पनि पूूरै शरिर निस्किन सकिरहेको थिएन । परिवारजनको चिन्ता झनै बढिरहेको थियो । उता बाहिर जम्मा भएका मानिसहरु चाहिँ आज भने च्यामर्बलेन असफल हुने भए भनेर कानेखुसी गरिरहेका थिए ।
त्यत्तिकैमा अचानक भित्रबाट बच्चा रोएको आवाज सुनियो । आफ्नो सन्तानको मुख हेर्ने हतारोले बाबु भित्र पस्न खोजे । तर उनलाई पनि च्यामर्बलेनका सहयोगीहरुले रोके । हुगले बाकसमा पुनः ती सामानहरु राखे , राम्रोसँग त्यसमा साँचो–ताल्चा कसे , महिलाको आँखाबाट पट्टि हटाइदिए अनि मात्र परिवारका सदस्यहरुलाई भित्र आउन जनाउ दिए ।
बाहिर उनको कारनामा हेर्न थुप्रै मानिस जम्मा भएका थिए । भिँडतर्फ फर्किएर उनले एकपल्ट हात हल्लाए अनि सरासर बग्गीमा चढेर आफ्नो बाटो लागे ।
च्यामर्बलेनको यस कार्यको चर्चा लन्डनमा मात्र होइन बिस्तारै–बिस्तारै सारा यूरोप भरि हुन थालिसकेको थियो । फ्रान्स , जर्मनी लगायतका देशहरुमा लाख कोसिसका बाबजुद पनि त्यस्ता जटिल डेलिभरिहरु सफलतापूर्वक गर्न सकिएको थिएन । त्यसैले त सबै च्यामर्बलेनहरुलाई महान ठान्दथे ।
यता हुग च्यामर्बलेनको उमेर दिन–प्रतिदिन ढल्कदै थियो तर उनले छोरा पाउन सकेका थिएनन् । पहिलो श्रीमतीबाट लगातार तीन छोरी जन्मिएपछि उनले दोस्रो विवाह गरे । तर दोस्री श्रीमतीले पनि उनलाई छोरा दिन सकिनन् । त्यसपछि भने १०० वर्षदेखि चल्दै आएको च्यामर्बलेनको इतिहास कसलाई हस्तानतरण गर्ने भन्ने कुराले उनलाई निकै नै पिरलिरह्यो ।
यत्तिकैमा एकदिन उनिमाथि अर्को समस्या आइलाग्यो । च्यामर्बलेनहरुलाई चुनौती दिँदै फ्रान्सका एकजना फिजिसियन त्यस्तै बाकस लिएर आए । ती फिजिसिएनले के पनि दावा गरे भने आफूले त्यस्ता बाकसहरु हजारौँको संख्यामा उत्पादन गरेर विभिन्न ठाउँहरुमा पु¥याउने र त्यसले अझै धेरै मानिसहरुलाई फाइदा पुग्नेछ ।
हुग च्यामर्बलेन निकै चलाख थिए । उनले ती फिजिसियनलाई आफूले भनेको एउटा महिलामा सफल डेलिभरि गरेर देखाउन चूनौति दिए । हुगलाई थाहा थियो कि ती फिजिसियनले बनाएको औजारले एउटी होची महिला जसको पाठेघर र बच्चाको टाउकोको अनुपात मेल खाँदैन , त्यस्तोमा सफलता हाँसिल गर्न सक्दैन । आखिरमा हुन पनि त्यस्तै भयो , नयाँ बाकसले ती महिलाको बच्चा जोगाउन सकेन ।
त्यस घटना पश्चात् त च्यामर्बलेनप्रति मानिसहरुको विश्वास झन–झन प्रगाढ भयो । तर च्यामर्बलेन एकैचोटि सबै ठाउँमा पुग्न सक्दैनथिए । एकपटक त उनलाई एकैतालि चार ठाउँबाट बोलावट भयो । कहाँ पहिले जाने भनेर निर्णय गर्दा–गर्दै सबेतिर ढिला भयो। कालान्तरमा यस घटनाले उनलाई निकै ठूलो चोट पु¥यायो ।
भनिन्छ मृत्युको अघिल्लो क्षणसम्म पनि हुग च्यामर्बलेन द्घिविधामा बाँचिरहे ः आफ्नो परिवारको बिरासत आफैँसँग लिएर जाने कि , त्यो रहस्य संसारलाई बताएर जाने ?? आखिरमा भने उनले दोस्रो बाटो रोजे ।
उनको मृत्यु शैयाको अघितिर एउटा बाकस खुला लडिरहेको थियो । बाकस भित्र फलामका औजारहरु थिए । दुइ छुट्टा छुट्टै फलामका लाम्चा ब्लेड । ब्लेडहरु हल्का घुम्रिएका थिए जसले बच्चालाई च्याप्प अठ्याउँथ्यो । ती ब्लेडहरुमा लक सिस्टम पनि थियो जसले गर्दा ती एक अर्कामा लक्ड हुन्थे र बच्चा तान्न सजिलो हुन्थ्यो । यसरी समग्रमा ती फलामे औजारहरु फोरसेप्स अथात् चिम्टाको स्वरुपमा ढल्दथे जसले गर्दा अड्किएको बच्चालाई सजिलै तान्न सकिँथ्यो ।
सुन्दा सामान्य लागेपनि च्यामर्बलेनहरुको यो बाकस करिबन ३०० पछाडी अर्थात आजको दिनमा पनि उत्तिकै महत्वका साथ प्रयोग गरिन्छ । त्यसैले त त्यो बाकस साँच्चै चामत्कारीक छ ।
(सेक्रेसी अफ च्यामर्बलेन्सू को नेपाली अनुवाद)
No comments:
Post a Comment