Search This Blog

Friday, December 30, 2016

आमिर खान- जसले एउटा सिङ्गो जेनेरेसनको सेन्टिमेन्टसँग खेलिरहे

घटना म १० क्लास पढ्दा ताकाको हो। मेरा अरु समकक्षीलाई जस्तै मलाइ पनि एस.अल .सी परीक्षा भनेको ठुलै हाउगुजी हो भन्ने परिसकेको थियो। त्यसमाथि मेरा अभिभावक र विद्यालयका गुरुहरुले नजाने म-मा के खुबी देख्नु भयो, यो केटाले नब्बे प्रतिशत कटाउँछ भनेर पहिलै भविष्यवाणी गर्नु भएको थियो। अनि सुरु भयो मेरो जिन्दगीको रेस ।

घरबाट आउ-जाउ गर्दा टाइम वेष्ट हुन्छ भनेर म होस्टेल बसेँ। बिहान उठ्दा चार दस भयो भने पनि मेरो नब्बे प्रतिशत आउँदैन कि भनेर चिन्ता लाग्थ्यो। टिफिन टाइममा पनि खाजा खाउन्जेल मात्र फुर्सद। छुट्टी भएपछी सबैजना टि-टि, बास्केटबल , स्विमिङ खेल्थे । तर टेन क्लासको स्टुडेन्टले त्यता हेर्नू पनि पाप हो जस्तो लाग्थ्यो किनभने सबै एउटै कुरा भन्थे - जिवन कतातिर मोडिने हो एस.अल.सीले नै निर्धारण गर्छ। सहि - गलत छुट्टाउने फुर्सद हामीसँग हुँदैन थियो किनकी त्यतिखेर मिनेटमिनेटको महत्व हुन्थ्यो।

संयोगवश म छुट्टिमा घर आएको दिन, नजाने कसरी मैले एउटा फिलिम हेर्ने मौका पाएँ । त्यो हेर्नू अघि म तिनलाइ "लगानको" हिरो भनेर मात्र चिन्थेँ तर त्यसदिनदेखि उनी मेरा लागि आमिर खान मात्र रहेनन् , ठुलै रोलमोडल बने।

त्यस दिन घरमा  मलाइ पनि 'इशान नन्द किशोर अवस्थीलाइ ' जस्तै होस्टेल राखेर टर्चर दिन खोज्नु भयो भनेर झगडा गरेँ। फिल्ममा देखाइएको इशानको दाइ आफैँ हुँ जस्तो लाग्थ्यो।

राम शंकर निकुमले बोलेका हेरेक डायलग कन्ठस्थ थिए - " खुद तो अपने सपने पूरा कर नहि पाते अर अप्ने बचे पे थोपर दे'ते हेँ। "
यो नेपालीमा उल्था गरेर घरमा सुनाएँ । त्यसैका कारण दुई-चार दिन त बोलीचाली पनि बन्द भयो।

आफुलाइ इन्टेरेस्ट भएको चिज गर्नुपर्छ भनेर लुकी लुकी नोभेल पढ्न थालेँ। एकदिन क्लासमा बस्दा "लाइफ एन्ड एड्भेन्चर्स अफ रबिन्सन क्रुसो" लुकाएर पढ्दै थिएँ , सर आएर झपाट गाली गर्नु भयो। त्यतिनैखेर, राम शंकर निकुम ढोकाबाट छिरेर मेरो पक्षमा बोलिदिन्छ्न जस्तो लागेको थियो । तर कोहि आएन।

"बाबु आफुलाइ मन लागेका यस्ता कामहरु एस.अल.सी पछि पनि गर्न सकिन्छ , अहिले छाडिदेउ।"

तर मलाइ फिल्मको छाप यत्ती बेजोडसँग परिसकेको थियो कि, निकुम सर जत्तिको जान्ने हाम्रो सर छैनन् भन्ने मलाइ धेरै पछिसम्म पनि लागिरह्यो।

रबिन्सन क्रुसो पढेर पनि मेरो सेकेन्ड ट्रमको जाँचमा नब्बे प्रतिशात कट्यो। अनि त अब झन प्रेसर बढन थाल्यो। एस.एल.सी एउटा आइरन गेट हो भने, त्यो भन्दा उता के छ, न मलाइ कसैले बतायो न मैले कसैलाइ सोध्ने जरुरत नै ठानेँ । मलाइ त नब्बे प्रतिशत ल्याउनु थियो किनभने त्यसो गर्दा, मेरो मम्मी-बुवा खुशी हुनुहुन्थ्यो अनि प्रीन्सिपल सरले धाप मारेर 'स्याबास' भन्नूहुन्थ्यो। बस, यत्तिका लागि म रणभुमिमा उत्रीएँ, सबथोकको बलि चढाएर।
***
एस.अल.सी पछि पढाइबाट अलिक  दिन मात्र के छुट्टी मिलेको थियो, एकजना बुज्रुक घरमा आइपुगे। "केटा केटीहरु बिग्रने भनेकै यहि ३ महिनामा हो । बाबू अलिक मेहेनत गरे, राम्रो कलेजमा साइन्स पढ्न पाइन्छ, नत्र भए जिन्दगी बर्बाद हुन्छ"।

संयोगवश , मेरा एक वर्ष अघिका रोल मोडल निकुम सरलाइ मैले त्यसैदिन मात्र टिभिमा हेरेको थिएँ तर अर्कै अवतारमा। आज मलाइ "रन्चोड दास चाँचडका" एक-एक डायलग कन्ठस्थ थिए।

 ती बुज्रुकका कुरा सुन्नासाथ मेरो दिमाग १८० डिग्रीले घुम्यो । मैले साइन्स , कमर्सबारे केही पनि बुझेको थिइन तर मैले निहुँ खोजेँ - "मैले के पढ्दा राम्रो हुन्छ, त्यो तपाइलाइ थाह हुन्छ कि मलाइ? साइन्स पढ्ने भाको भए म स्कुलदेखी नै साइन्समा फोकस्ड हुने थिएँ।" 

कतिसम्म भने , " यदि मैले साइन्स पढ्न नसकेर मलाइ केही भइहाल्यो भने, त्यसको सम्पुर्ण दोषी तपाइहरु हुनुहुनेछ"।
त्यस दिन कसैले  मेरो विरोधमा चुइक्क समेत बोल्न सकेन।

आमाबाबुले भनेको भन्दा फरक गरेर पनि सफल हुने कथाहरु धेरै कममात्र हुन्छ्न । त्यस्तै मध्यको हजारौंमा एक कथा 'फरान कुरेसी' को पनि हो। तर त्यतिखेर मेरो दिमागले त्यो कुरा पटक्कै बुझेन। मैले सोचेँ- मानिसलाइ आफुलाइ लागेको गर्यो भने मात्र सफल भइन्छ , अर्काले देखाएको अझ विशेषत आमाबाबुले देखाएको बाटो हिँड्यो भने अवस्य दुर्घटना हुन्छ। उमेर झन अर्लि टिनमा चढ्दै थियो, आफुँभन्दा जान्ने कोही छैन जस्तो लाग्थ्यो।

कालन्तरमा फिलिमको मेमोरी डिम हुँदै गयो । मलाइ पनि साइन्स पढे, राम्रो मोबाइल किनिदिनेदेखि , साइन्स पढे संस्कृतसमेत पढन पाइने अवसरको लोभ देखाइयो। अब मेरो जिन्दगीमा नयाँ टार्गेट कायम भयो, साइन्स पढेर राम्रो मार्क्स ल्याउने।
***
"प्रोफेसनल करिअर छुट्टिने मुख्य द्वार प्लस टु हो, जसले आजसम्म एस.अल.सी लाई आइरन गेट भने ती सबै गलत थिए।" करिअर काउन्सिलिङ गर्न भनी आएका अर्का नयाँ बुज्रुकले यसो भने।

ब्याचलर ज्वाइन गर्ने बेलातिर आएपछि बल्ल आयुर्वेदिक मेडिसिन पढौँकि जस्तो जिवनमा पहिलोपटक लागेको थियो। तर परिवारलाई दुखी बनाएर, म आफुलाइ खुसी बनाउन चाहिन र मेरो जिवनमा नयाँ, अध्याय सुरु भयो- एम.बि.बि.एसको"।
***
हाम्रा जेनेरेसनका प्राय सबैजना, कहिले निकुम सरलाइ त कहिले फुङ्सुक वाङगडु लाई रोल मोडल मान्दै हुर्कियौँ।

संयोगवश हिजो मात्रै  हाम्रा ब्याचका धेरै जना ग्राजुएट भए। अब छिट्टै विवाह गर्छन् होला र केही वर्ष भित्रै आमाबाबु पनि ।


म आफैं पनि आफ्ना सन्तानको कल्पना गर्ने उमेरमा पुगिसकेको छु। र हरेकपल्ट सन्तानको बारे सोच्दा, स्कुल लेभलसम्म निकुम सरका कुरा सुन्ने र स्कुल पछिका दिनमा रयान्चोका भनेर मन दरो बनाउँछु।बाल्यकाल अनि आफ्नो पूरा युवा अवस्था भरी बाबुआमा लिबेरल हुनपर्छ भनेर लडिरहियो, धेरैपटक त झगडा पनि गरियो। तर जब अहिले  आफू नै बाबु बन्ने बेला आएको छ, मलाइ यहि समाज एक क्रुर पिता बन्न प्रेरित गरिरहेको छ। मेरो माइन्डसेट परिवर्तन गर्न खोज्दै छ। सायद , फेरि एकपटक म यो समाजको बिपरित दिशामा जान असक्षम हुनेछु। सन्तानका भविष्यका लागि  अनि उनिहरुको खुसीका लागि मैले मेरो धार परिवर्तन गर्नुपर्नेछ। 

कथा काल्पनिक, बायोपिक जे पनि हुन सक्छन् । तर त्यसले दिने म्यासेज कहिलै काल्पनिक हुनसक्दैनन् ।

मेरा रोलमोडल आफ्नै सिदान्तको बिपरित गएर कसरी महाविर सिंह पोगट बन्न सके होलान् ? एक अभिनेताका रुपमा निकुम सर बनेर आफ्नो सपनाको भारी आफ्नो बच्चालाई नबोकाउ भन्दा जत्ती  उनलाइ  सुहाएको छ, त्यो भन्दा कयौं गुणा बढी एक क्रुर बाबु बनेर आफ्नो सपनाको भारी आफ्ना छोरीहरुलाइ बोकाउदा  सुहाएको छ। सायद त्यही भएर उनलाइ कलाकारिताको दुनियामा सेहेनसाह मानिन्छ, पर्फेक्सनिस्ट भनिन्छ।

यति भनिरहँदा, एउटा कलाकारले जीवनभर एकै किसिमको काम गरिरहनुपर्छ भन्ने पनि छैन र एउटा कथाकारले खाली एउटै सन्देश दिने कथा मात्रै लेखिरहनुपर्छ भन्ने पनि छैन।
सायद यहि रहेछ फरक, अभिनेता र अभियन्तामा।
***
जनावरले त आफ्ना सन्तानको बारे सोच्छ  भने मानिसले त झन राम्रो चिताएर यसो गर, उसो गर भन्न किन नपाउने?

शिक्षाविद केदार भक्त माथेमालाई मान्ने हो भने, बच्चाहरुको फाउन्डेसन ब्रोड बनाइदिन पर्छ। १८ वर्षको उमेरसम्म सबैथोक पढाउनु पर्छ, सबैथोक सिकाइनु पर्छ अनि बल्ल साइन्स पढने कि मोडलिङ गर्ने, कमर्स पढ्ने कि एथलेट बन्ने भनेर  छान्न दिइनुपर्छ ।
तर हाम्रोमा त्यस्तो हुँदैन। बच्चादेखि नै रोबोटिक्स बनाइन्छ। एउटै कुरा रिपिटेड्ली दिमागमा हालिदिएर,अरु कुरा पनि एक्जिस्ट गर्छ भन्ने नै थाह दिइदैन। 
बाबू आमाले भनेको छोराछोरीले गर्नै पर्छ, किनभने या 'त उनिहरुले कहिलै आफ्ना सन्तानप्रती गलत चिताउँदैनन वा आफ्ना सन्तानले आफ्नो सपना पूरा गरिदिवोस भनेर सोच्छ्न।

 हुन'त टिचर, अभिभावक र समाजको लहैलहैमा लागेर पछुताउनु परेको छैन, जिन्दगीमा कहिलै पछाडी फर्किएर हेर्नू परेको छैन। आउँदा दिनमा'नी धेरै राम्रो नगरेपनी, धेरै नराम्रो पनि नहुने विश्वास  पलाइसकेको छ। यदि चिताएको सबैथोक पाउनु सफलता हो भने   गोल्ड नै नजितेपनि  एक हिसाबले म पनि गिता-बबिता झैँ  सफल भएँ  जस्तो लाग्छ र यसको जस फेरि घर परिवार र समाजलाई नै जान्छ।

सायद बालक अवस्थामा निकुम सरको  अनि युवा अवस्थामा रयान्चोको सेन्टिमेन्ट हावी भइदिएको भए आज म डाक्टर बन्ने लाइनमा नहुन पनि सक्थेँ, वा यो भन्दा अझ राम्रो पनि  गरिरहेको हुन सक्थेँ , यो मेरालागि सधैँ रहस्य नै रहनेछ।

अझ यो भन्दा ठूलो सस्पेन्स त मेरा जन्मने वाला सन्तानलाइ छ, मेरा बाबू आखिर कुन चाहिँ आमिर खान बन्ने हो, सपना देख्न सिकाउने कि सपनाको भारी बोकाउने?

3 comments: