Search This Blog

Friday, March 17, 2017

डाक्टर'साबको भुँडी।।


"जिन्दगीमा यो भुँडी र बुढी भन्ने कुरा एकपटक लागेपछी लाग्यो लाग्यो, कसैगरेपनि उन्मुक्ति नपाइदोरहेछ।"
डाक्टर साब झसङ्ग बिउँझिए । उनलाई आफ्नै तस्वीर बोलेजस्तो लाग्यो।अँध्यारोमा  निकैबेर छामछुम गरे अनि आफ्नो सामसुङ ग्यालाक्सी जे-सेभेनको पावर बटन दबाए। रातको एक बजेको रहेछ। छेवैमा म्याडम घुरिरहनु भएको थियो,त्यसैले  डिस्टर्ब होलाकी भनेर डराउँदै डराउँदै, डाक्टर साब सरक्क कोल्टे फर्किए।
 सरक्क के भन्नु , पन्चानब्बे किलोको भिमकाय शरीर , नौबिसेको उकालोमा ठसठस कन्दै टर्निङ लिइरहेको फुल लोडेड मालबहाक ट्रक
जसरी बल्लतल्ल घुमाए। निकैबेर सम्म आँखा चिम्म गरिरहे तर पनि निन्द्रा परेन। बिचरा निदाउन पनि कसरी, हिजो दिनभरि घटेको घटना उनको दिमागले रिवाइन्ड गर्दै प्ले गरिरहेको थियो। त्यो पनि दोहोर्‍याइ, तेहेर्‍याइ, इन्डियन च्यानलहरुले ब्रेकिङ न्युज दिएजसरी।

एकाबिहानै एकजना पत्रकारले फोन गरेका थिए,' डाक्टर साब आजको अंकमा तपाईसँग मिल्दोजुल्दो स्तम्भ लेखेको छु है, पढेपछि कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला।'
 कहिल्यै पत्रीका नपढ्ने मान्छे, त्यति सुनेपछि चाहिँ डाक्टर साब घरमै पत्रीका मगाएर लेख पढ्न तम्सिए। भित्री पृष्ठमा कतै उनको
आँखा झ्याट्ट पर्यो- " गान्धीको चिनी र नेपालाका इन्डोक्राइनोलोजिस्ट"। ओ इन्ट्रेस्टिङ , चियाको चुस्की लगाउँदै डाक्टर साब पेपरमा घोत्लीए :
महात्मा गान्धीको छिमेकमा एकजना बच्चा बस्दोरहेछ जो हरेकदिन चिनी चोरेर खाँदोरहेछ। जति गर्दा पनि आफ्नो छोराको यो आदत छुटाउन नसकेपछि त्यो बच्चाकि आमा गान्धीजीको शरणमा पुगीछ्न। गान्धीजीले पनि सबैकुरा सुनिसकेपछी , अर्को साता उनकै घरमा आएर छोरालाइ सम्झाइदिने वाचा गरेछन् । दुई हप्ता बित्यो , तेस्रो पनि बित्यो तर पनि गान्धीजी उनको घर नआएपछि ती आमा रिसाउँदै पुनः गान्धीजी कै पुगिछ्न - 'हैन तपाईंले मेरो लागि त्यत्ति पनि गरिदिन सक्नुहुन्न?'
प्रतिउत्तरमा गान्धीजीले भनेछन् - हेर्नुस, कसैलाइ कुनै काम नगर भनेर सम्झाउन पहिला आफू त्यो कामबाट टाढा रहेको हुनपर्छ । मेरो आफ्नै चिनी चोरेर खाने आदत छ, जुन छुटाउन म प्रयासरत छु अनि त्यसपछि बल्ल तपाईको घर आउनेछु। अन्यथा, आफैले त्यो आदत बोकेर, अर्कालाइ त्यो नगर भन्नुको कुनै तुक रहदैन।"

त्यति पढ्नासाथ डाक्टर  साबले के बुझे कुन्नी, बाँकीको लेख पढ्दै पढेनन। जुरुक्कै उठे, अनि मुर्मुराउँदै भान्छातिर लागे -' हैन, मेरो भुँडीले तीनको के बिगार्देको छ हँ ? बडा रिस गर्छन् । सक्ने भए तिनले पनि बनाएर देखाउन।" डाक्टर साब रन्थनिदै भान्छामा पुगे अनि सपाट अर्डर गरे -" म्याडम खाना, हस्पिटल जान अबेर भो।"

सायद बाथरुमबाट आवाज आइरहेको थियो - " आज खाना खान ममिले बोलास्याछ, ओपीडी सक्काएर उतै धोबीघाट आइस्यो। त्यत्रो भुँडी छ, दुईचार घन्टा नखाँदा केही पनि हुँदैन।" डाक्टर साब वाल्ल परे।

कोल्टे सुतिरहेका डाक्टर साब बिस्तार उत्तानो फर्किए अनि टाइम हेर्न फेरि मोबाइल थिचे, बल्ल एक-दश भएको रहेछ।

यता घरबाट निस्किएको दश मिनेटमा उनी अस्पताल पुगिसकेका थिए । आज शनिबार भएकाले  डाक्टर साब खासै धेरैबेर अस्पतालमा बस्न पर्दैनथ्यो, २ घन्टा जति ओपीडीमा बिरामी हेर्यो अनि छुट्टी। अरु स्टाफ पनि कम नै हुन्थे । तर आज भने डाक्टर साबलाइ अलि ज्यादा नै सुनसान जस्तो फिल भयो। काउन्टरबाट धोबाल दाइलाइ बोलाएरै सोधे- ' आज अरु डाक्टर साबहरु नआउने हो'की कसो? खाली खाली छ त सबै क्याबिन।"
" ए साँच्चै भन्नै बिर्सिएछु, आज सबैजना हाइकिङ जानुभाको छ शिवपुरी । सरलाइ चाहिँ हिँड्न नसक्ने भनेर नभनेका होलान् । के गर्नु फेरि हिँड्ने-हिँड्नेका ग्रुपमा, एउटा नहिँड्ने पर्यो भने सबैलाइ अप्ठ्यारो ।" डाक्टर साब प्रतिक्रिया बिहिन भए अनि वाल्ल परिरहे।

सायद घडीमा एक- बीस भएको हुनपर्छ, डाक्टर साबले खाटैमा सुतिसुती प्रतीज्ञा गरे - भोलिदेखि सबेरै एक घन्टा मर्निङ वाक जान्छु, १५ दिनमा यो सब तौल घटाउँछु अनि अर्को महिना फेरि सबैलाइ हाइकिङ लिएर जान्छु। को हिँड्न सक्ने , को हिँड्न नसक्ने दुधको दुध , पानीको पानी हुन्छ।"

"बिहान खाली पेटमा दूध चाहिँ खान हुन्छ कि हुँदैन डाक्टर साब?" यता ओपीडीमा बिरामीले के खान हुने, के खान नहुने सोधेर उकालो लागिरहेको डाक्टर साबको पारोलाइ झनझन तताइरहेका थिए। उनको यसमा अक्सर एउटै जवाफ हुन्थ्यो- ' तपाईंको यो बिमारीमा , डाक्टरको दिमाग बाहेक सबैथोक खान हुन्छ।'
एकजना डाइबेटिजका पुराना  बिरामी, फलोअपमा आएका थिए । डाक्टर साबले तिनलाइ थोरोल्ली जाँचे, रिपोर्टहरु हेरे अनि पहिलेकै औषधि कन्टिनिउ गर्ने भन्दै सुझाव दिए- " अरु सबैथोक नर्मल नै छ, लगातार एक्सरसाइज गर्ने अनि तौल चाहिँ बढ्न नदिने।"
 यति भनिसक्दा अघिसम्म डाक्टर साबको आँखामै हेरिरहेको बिरामीले अचानक आफ्नो नजर अलि तलतिर डुलायो अनि मुसुक्क हाँस्यो। फेरि डाक्टर साबले के बुझे कुन्नी, कुर्सीबाट जुरुक्कै उठे अनि नाकको पोरा फुल्लाउँदै हप्काए -" तपाई जानोस, गइहाल्नोस यहाँबाट। कस्ता कस्ता मान्छे आउँछन् यार।"

अब भने डाक्टर साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे , भोलि बिहान पाँच बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।

त्यसपछि उनी ओपीडीमा खासै धेरैबेर बसेनन। आफ्नो प्यारो मारुतीको अल्टो के-टेन लिएर ससुराली तर्फ हानिए। एफ.एममा सुमधुर गित बजिरहेको थियो,डाक्टर साब स्लो स्पिडमा गाडी हाँकिरहेका थिए, अचानक एफएममा गित बज्न रोकिएर विज्ञापन आयो - "के तपाईं अत्याधिक तौल बढ्ने अनि मोटोपनको समस्याबाट ग्रसित हुनुहुन्छ? हुनुहुन्छ भने आजै हामीकहाँ
आउनुहोस् । विस्वको सबभन्दा पुरानो रिकाचु-क्षय पद्धतिबाट ग्यारेन्टीका साथ मात्र दस दिनमा तपाईंको सम्पुर्ण तौल घटाइदिने छौँ। 

डाक्टर साबले यसो कान ठाडो मात्र के बनाएका थिए, अचानकनै पछाडिबाट एउटा ट्याक्सीले आएर उनको कलेजोको टुक्रामा ड्याङ्ग ठोकिदियो। 'आज म यसलाइ छाड्दिन' डाक्टर साब जङ्गिए । ह्यान्ड ब्रेक ताने अनि बाहिर निस्कन जुरुक्क मात्र के उठेका थिए, उनले लगाएको टाइट पाइन्टको बटन स्वाट्टै टुट्यो, फस्नर धरर खुल्यो अनि पाइन्ट कम्मरबाट सलल तल बग्न थाल्यो।बिचरा डाक्टर साब पुरै निरीह भए, अनि पाइन्ट सम्हाल्दै गाडी भित्रै बसिरहे,फेरि रिकाचु-क्षय पद्धति बारे विज्ञापन बजिपोहाल्छ कि भनेर कुर्दै।

कसो गाडीमा म्याडमका सेप्टी पिनहरु रहेछन् । डाक्टर साबले बटनको ठाउँमा सेप्टी पिन लगाए, फस्नर अलि माथी सारे अनि सर्टलाई अलि तलसम्म तानेर ससुराली जाने निधो गरे।

डाक्टर साबले कतै पढेका थिए, राती निन्द्रा परेन भने, उल्टो गन्न पर्छ रे। के खोज्छ्स कानो आँखो,सुरु गरिहाले ,उनानसय, अन्ठानब्बे , सन्तानब्बे ....
नब्बे पुगेपछि मोबाईलमा अर्लाम लाग्यो कि लागेन पुनः कन्फर्म गरे अनि फेरी उनान्नब्बे , अठ्ठासी, सतासी...

डाक्टर साबको दिमागले ससुरालीको पिक्चर खासै राम्रोसँग प्ले गर्न सकिरहेको छैन सायद उल्टो गन्तीको प्रभाव हुनपर्छ। कता कता उनलाइ कान्छी साली बोलेको तर्कना आइरहेको छ। डाक्टर साब गएर सोफामा मात्र के बसेका थिए, कान्छी सालीले किचेनबाटै आफ्नी सानी छोरीलाई कराइरहेकी थिइन -"या धेरै छुकछुक नगर, ठुलोबाबा आउनु भयो जस्तो छ जाउ गएर भुँडीमा काउकुती लगाइदेउ"।
घरै पिँडालु, वनै पिँडालु, ससुराली गयो झन बार्ह हात लामो पिँडालु।"

सतचालीस गनिसक्दा भने  डाक्टर साब भुस भइसकेका थिए।

भोलि बिहान,
मोबाइलले आफ्नो धर्म बिर्सिएन,  पाँच बजे नै अर्लाम बज्यो। अर्लाम टोन बजिसकेपछी डाक्टर साब पनि सल्बलाए, मोबाइललाई आफ्नो हातमा ताने अनि एकएक गरि फेरि हिजोको घटनाहरु सम्झिन थाले। पत्रकार महोदयलाइ सम्झिए,हाइकिङ गएका साथीहरूलाई सम्झिए, आफ्नो गाडीलाइ ठ्क्कर दिने ट्याक्सीलाइ सम्झिए, साली र भतिजीलाई सम्झिए, नजर पेटतिर दौडाउने बिरामीलाइ सम्झिए अनि एकचोटि मागको ठन्डीमा खाटबाटै पर्दा उघारेर झ्याल तिर हेरे। त्यसपछि डाक्टर साबले अर्को प्रतिज्ञा गरे -"आज अलि चिसो छ जस्तो छ, भोलिदेखी चाहिँ पक्का मर्निङ वाक जान्छु।"


Wednesday, February 22, 2017

यस्तो सर्जन मैले देखेको छैन।

एकपटक भगवान गौतम बुद्ध , एउटा सुन्दर बस्तीमा पुग्नु भएछ जहाँ तीनजना मजदुर, दिन-रात , घाम-पानी केही नभनी निर्माणको काममा निरन्तर खटिएका थिए । गौतम बुद्धले तिनैजनालाइ पालैपालो बोलाएर एउटै प्रश्न गर्नुभएछ - "बालक
तिमी के गरिरहेका छौ?" पहिलोले उत्तर दियो - मेरो घरमा बालबच्चा छन् , श्रीमती छे , त्यसैले जिविकोपार्जनका लागि मजदुरी गर्दैछु। दोस्रोले भन्यो - देख्नुभएन, म धमाधम इँटा थपिरहेको छु। तर तेस्रो व्यक्तिले दिएको जवाफले गौतम बुद्धलाई
सोच्न बाध्य बनाइदियो। उसले भन्यो - म यहाँ एउटा सुन्दर र ऎतिहासिक स्तम्भ ठड्याउने काममा लागेको छु।

आखिर तिनैजनाले गरिरहेको काम एउटै थियो तर पनि हरेकले आफ्नो कामप्रती राख्ने दृष्टिकोण र सोच्ने दायरा भिन्न थियो। यसरी नै जिवनमा सकारात्मक सोचाइ राख्ने र फराकिलो एटि-टिउड भएका व्यक्ति अति नै दुर्लभ हुन्छन् । मेरो नजरमा यस्तै दुर्लभ मध्यका एक हुन, डा.रमेश सिंह भण्डारी ।

करिब एक वर्ष अघिको कुरा हो, हाम्रो टिम व्हीपल्स सर्जरी (प्यानक्रीयाज वा पित्त थैलीमा हुने ट्युमरको अपरेसन)गरिरहेको थियो, अचानक रक्त नलिहरु जेलिएर अपरेसन थिएटर भित्रै कोलाहलको वातावरण बन्यो। यस्तो अवस्थामा प्राय सर्जनहरु अगाडि बढ्दैनन। तर रमेश सर बिगतमा यस्तो अवस्थामा के हुन्थ्यो भनेर सोच्नेतिर भन्दा पनि बिरामीलाई कसरी राम्रो गर्न सकिन्छ भन्नेतिर केन्द्रित हुनुभयो। शल्यक्रिया निकै लामो समयसम्म चल्यो, भास्कुलरका डाक्टरहरुलाइ बोलाएर रक्त नलिहरुको रिकन्स्ट्रक्सन गरियो र अन्ततोगत्वा हामी सबैले असम्भव ठानेको शल्यक्रिया पनि सफलता पुर्वक सम्म्पन्न भयो। सायद एक चिकित्सकका रुपमा डा.भण्डारीलाई सम्झनुपर्दा म
अत्यन्त धैर्यवान र कुइक डिसिजन गर्न सक्ने कुशल सर्जनका रुपमा सदैव सम्झ्नेगर्छु।

पहिलोपटक सरलाइ झट्ट हेर्दा, जो-कोही पनि झुकिन्छन्  । सधैं फ़ुर्तिलो र इनर्जेटिक देखिनुहुन्छ ।बिहानीको राउन्डमा होस् या टिचिङ परिसरमा यताउती हिँड्दा नै , उहाँको सारमा हिँड्नुपर्दा हामी भर्चुअल्ली दौडिरहेका हुन्छौं । त्यही भएर होला कसैलाई उहाँको उमेर अन्दाज गर्न भन्यो भने, ३० भन्दा बढ्ता भनेको मैले आजसम्म सुनेको छैन। तर उहाँ भित्र जति परिपक्वता र नलेज छ, त्यो अक्सर मानिसहरुले गेस गर्ने उहाँको उमेर भन्दा तीन गुणा ज्यादा नै छ भन्दा फरक नपर्ला। जिवनको यति छोटो अवधिमै अनेकन इन्टर्नेसनल्ली रिकगनाइज्ड फेलोसिप र जटिल शल्यक्रियाहरु गर्ने अवसर निकै कम सर्जनहरुलाइ मात्र जुर्ने गर्छ। उहाँ बिरलै आफ्नो एकेडेमिक एक्सेलेन्स र राष्ट्रिय तथा अन्तराष्ट्रिय एक्सेपेरिन्सका बारे हामीलाइ बताउनुहुन्छ। तर उहाँले बिहानीको कन्फ्रेन्समा हामीलाइ सोध्ने प्रश्न, दिउँसो क्लासमा दिने नलेज अनि अपरेसन थिएटर भित्र चलाउने स्कालपेलले नै उहाँ भित्र रहेको अभुतपुर्व क्षमता र प्रतिभालाइ छताछुल्ल बनाइदिन्छ।

डा.भण्डारी प्रायजसो टिचिङ् अस्पतालमा नै भेटिनुहुन्छ।अस्पताल नै प्रदान गरेको क्वाटरमा बस्दै आउनुभएको सर, बेलाबखत हामीसँग भन्नुहुन्छ एम.एस यहिँ गरियो, एम.सि.एच यहीँबाट सक्काइयो अनि आफ्नो करिअरको सुरुवात पनि यसै अस्पतालबाट गरियो, त्यही भएर होला टिचिङ अस्पताल आफ्नै घर जस्तो लाग्छ। एक रेजिडेन्ट चिकित्सक वा बिरामीका रुपमा हेर्दा , ट्वाइन्टी फोर आवर्स अभाइलेबल सर्जन अस्पताल परिसरमै पाउँदा चाँही हामी आफैले आफुलाइ भाग्यमानी ठान्ने गरेका छौँ।

व्हिपल्स सर्जरी र लिभर ट्रान्सप्लान्ट सरको विशेष इन्टेरेस्टको विषय भएतापनी आजको दिनमा आउँदा उहाँ सम्पुर्ण सर्जरी बिभागकै एउटा महत्वपूर्ण स्तम्भका रुपमा स्थापित भइसक्नुभएको छ।

बिभागकै त्यस्तो अग्रणी सर्जन भएतापनी सरसँग समय बिताउँदा कहिलेपनि हामी गुरु-चेला हौं भन्ने भान हुँदैन बरु सधैं उहाँले हामीलाइ एउटै सर्कलको असल मित्र जस्तो फिल गराइरहनु हुन्छ। भनिन्छ नि 'जति फल्छ वृक्ष, त्यति नुघ्छ हाँगो।' सायद सरको यहि आचरणले नै उहाँप्रती हाम्रो सम्मान झनझन चुलिदै गएको छ। कहिलेकाही सर  आफुले अष्ट्रेलियामा फेलोसिप गर्दैगर्दाका रमाइला किस्साहरु सुनाउनुहुन्छ, हामी त्यसलाइ चाख दिएर सुन्छौँ। कहिलेकाही , फेलोसिप गर्दाखेरी नै आफुले गरेका शल्यक्रियाहरुका बारेमा सुनाउनुहुन्छ। अनि हामी त्यसबाट प्रेरणा लिन्छौँ।

यतिसब भनिराख्दा डा.रमेश सिंह भण्डारीलाई एक सर्जनका रुपमा मात्र चित्रण गरियो भने, त्यो आलेख सधै अपुरो नै रहनेछ । अझ यसलाइ यसरी भनौँ, सरका धेरै प्रेमीकाहरु छन् जसमध्य सर्जरी उहाँको फस्ट लभ हो र फस्ट लभको मात्र चर्चा गरेर बाँकी प्रेमहरुका बारे मौन रहन कदापि पाइदैन।खेलकुद अझ बिशेषगरि फुटबल उहाँको सेकेन्ड लभ हो।रनिङ , ड्रीबलिङ , बल होल्डिङ , उहाँले फुटबलमा पस्कने कुनै पनि स्किलहरु एउटा प्रोफेसनल प्लेअरको भन्दा कम छैनन् । हस्पिटल भित्रै बेलाबखत हुने टुर्नामेन्टहरुमा त सर एक्लैले
९-१० गोल गरेका रेकर्डहरु छन् ।

सायद स्पोर्ट्सबाटै सिकेर होला, सरको जिवनका धेरै प्राथमिकताहरु मध्य डिसिप्लेन पनि एक हो। उहाँ आफ्ना विद्यार्थी र समकक्षीलाई पनि आफुजस्तै अपटुडेट र डिसिप्लेन्ड भएको हेर्न चहानुहुन्छ। त्यहिभएर होला बेलाबखत उहाँलाई सर्ट-टेम्पर्ड भएको आरोप लगाउने गरिन्छ। तर मैले भने सरको यो आचरणलाई सदैव पोजिटिभ्ली नै लिने गरेको छु।

सरले एकपटक मलाइ भन्नुभएको थियो- 'हेर आशिक, जिवनमा सधै सकारात्मक सोच राख्नुपर्छ , दिमागलाइ चौडा बनाएर सोच्नुपर्छ अनि मनको दौरालाइ फराकिलो बनाउनुपर्छ ।'

सायद सरका यिनै कुराहरुले सधैं मलाइ प्रभावित बनाइराखेका छन्। सरको चौडा दिमाग जसभित्र अथाह ज्ञानको भन्डार छ, फराकिलो मन  जसभित्र हजारौं बिरामी र विद्यार्थीहरु अटाएका छन् अनि सकारात्मक सोच जसका कारण हार मान्नु र हरेश खानु जस्ता शब्दहरु उहाँको शब्दकोषमा नै छैन। त्यही भएर होला गौतम बुद्धले तेस्रो मजदुरबाट सिकेको जस्तै , डा.रमेश सिँह भण्डारीबाट हामीले
जिवनमा सिक्नुपर्ने कुराहरु पनि अथाह छन् । हो मैले यस्तो सर्जन कहिलै देखेको छैन।

Saturday, February 11, 2017

राजनीति राजनैतिक पार्टीले गरून्, आउनुहोस् हामी विद्यार्थी नीति गरौं


आफ्नो कार्यकाल सकिदै गर्दा, निबर्तमान कार्यलय प्रमुखले भर्खरै नियुक्ति पाएका नयाँ प्रमुखलाइ दुइवटा खाम दिदै भनेछन्- तिम्रो कार्यकालका दौरान जब पहिलो मुख्य समस्या आउनेछ  , पहिलो खाम खोल्नु अनि जब दोस्रो मुख्य समस्या आउनेछ, दोस्रो खाम खोल्नु। नभन्दै एक वर्षपछि ठूलो समस्या आयो र ती नयाँ प्रमुखले पहिलो खाम खोले। खाम भित्रको चिठीमा लेखिएको थियो "यो
समस्या आउनुमा मुख्य हात अघिल्लो कार्यलय प्रमुखको छ।" अर्को वर्ष फेरि नयाँ समस्या आयो अनि तिनले दोस्रो खाम खोले। दोस्रो
चिठीमा लेखिएको थियो -" नयाँ आउने प्रमुखका लागि यस्तै दुइवटा चिठी तयार पार्नु।"
***
धेरै दिनको कसरत पछि हालसालै मात्र विस्वको प्रतिष्ठित हार्डवर्ड मेडिकल स्कुल बाट एम.बि.बि.एस सक्काएका एक जुझारु नेपाली भाषी डाक्टरलाई भेट्ने मौका जुर्यो। दुई जनाले आठ कप कफि सुर्क्याउन्जेल हामीले हार्डवर्डमा हुने विद्यार्थी राजनीति बारे छलफल गर्यौँ।
त्यहाँको मेडिकल स्कुल अरु संकायको तुलनामा अलि भिन्न रहेछ। विभिन्न पुर्व विशिष्ट व्यक्तिहरुका नामबाट क्लबहरु खोलिएका रहेछन् । ती क्लबहरुले युनिभर्सिटी कै पुर्व डिन वा प्राध्यापकहरुको प्रत्यक्ष निगरानीमा अनेकन विद्यार्थी सेन्ट्रीक कामहरु गर्दा रहेछन् ।अनि विद्यार्थीहरु पनि आ-आफ्नो फिल्ड अफ इन्टेरेस्टका आधारमा, ती क्लबहरुमा आबद्द हुँदा रहेछन्  । उदाहरणका लागि खेलकुदमा बढ्ता चासो हुने स्टुडेन्ट स्पोर्ट्स क्लबको सदस्य बन्छ, साहित्यमा इन्ट्रेस्ट हुने लिटेररी क्लबको। ती क्लबहरुको छुट्टाछुट्टै विधिवत चुनाव हुँदोरहेछ अनि त्यसैअनुसार कार्यसमितिको गठन पनि।

यो बाहेक त्यहाँ हुने अर्को चुनाव भनेको क्लास रिप्रेजेनटेटिभ अर्थात् सि.आर को रहेछ। सि.आर हरुलाइ नै युनिभर्सिटीले विद्यार्थीको असली प्रतिनिधि मान्दोरहेछ अनि तिनिहरुसँगै मासिक रुपमा बैठक बसेर, विद्यार्थीहरुका समस्या र गुनासो सुन्दोरहेछ।

अनि त्यसो भए के हार्डवर्डका विद्यार्थीहरु देशको मेनइस्ट्रीम पोलिटिक्ससँग कनेक्टेड नै हुँदैनन् त?

विश्वविद्यालयले सर्टिफिकेट धारी विद्यार्थी मात्र होइन , सक्षम नेतृत्व पनि उत्पादन गर्नुपर्छ र यो कुरामा हार्डवर्ड पुर्णरुपमा कन्भिन्स्ट
रहेको देखिन्छ। उदाहरणका लागि एउटा पब्लिक हेल्थ स्टुडेन्ट भविष्यमा जिल्ला जनस्वास्थ्य अधिकृत बन्छ र जिल्ला कै स्वास्थ्यको नेतृत्व गर्छ। त्यसैगरी एउटा मेडिसिन पढेको विद्यार्थीले भविष्यमा डिन, डाइरेक्टर आदि बन्नुपर्ने हुन्छ र त्यसका लागि उसमा नेतृत्व लिनसक्ने खुबी बेलैदेखी विकास गर्नु अति नै वान्छनीय छ।

तसर्थ तिनै मध्यका एक क्लबले , रिपब्लिकन इन्फर्मेसन सेन्टर र डेमोक्र्याटिक इन्फर्मेसन सेन्टर भनेर भिन्नाभिन्नै सबकमिटी गठन गरिदिएका रहेछन् । ती इन्फर्मेसन सेन्टर्हरुको काम भनेको विद्यार्थीहरुलाइ मेनइस्ट्रीम पोलिटिक्सका बारेमा बुझाउने मात्र नभएर, तिनलाइ सेन्ट्रल्ली लिन्क गर्ने पनि रहेछ तर माथिबाट प्रत्यक्ष हस्तक्षेप बिना नै।

अब हेरौं , हाम्रोमा के चलन छ।

हाम्रा कलेजहरुमा क्लबहरु छैनन् बरु विद्यार्थी संगठनहरु खडा गरिएका छन् । यस्ता संगठनहरु जुन राष्ट्रिय मुलधारका राजनैतिक पार्टीसँग सिधै आबद्ध हुन्छन्, तिनिहरुबाट फन्डिङ प्राप्त गरेका हुन्छन् अनि तिनै पार्टीका सिदान्तहरु हुबहु लागू गराउँछन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको , क्याम्पसका विद्यार्थीहरु आफ्नो फिल्ड अफ इन्टेरेस्ट जस्तै खेलकुद, लिटेरेचर आदिको आधारमा होइन आफ्नो सिदान्तका आधारमा बिभाजित हुन्छन् । ती सिदान्तका बारे ब्रीफिङ गर्ने पनि कहाँ छुट्टै क्लब हुन्छन् र, आफ्नो निकटतम साथी वा सिनियर जता छ, उ पनि त्यतै लाग्छ।
हो, यसै कुराले हामीलाइ हार्डवर्ड भन्दा फरक बनाएको छ अनि हार्डवर्ड भन्दा पत्रु पनि।उनिहरु विद्यार्थी नीति गर्छन् , हामी राजनीति । हुन त यस व्यवस्थाका पनि आफ्नै फाइदाहरु हुनसक्छन् जुन सधैं एउटा राम्रो बहसको विषय हरदम बनिनैरहेको छ।

राजनीति कि विद्यार्थी निति ?

राजनैतिक पार्टीको भातृसंगठनका रुपमा चुनाव लडेको व्यक्तिलाई कालान्तरमा पार्टीले रिकग्नाइजड गर्छ।अनि हाम्रो जस्तो जतासुकै राजनैतिक भागबन्डाले चल्ने देशमा त झन ती उमेदवारहरु भविष्यका स्वास्थ्य प्रतिष्ठान वा एकेडेमिका प्रबल दाबेदार आजैबाट बन्दछ्न। यस कोणबाट विश्लेषण गर्ने हो भने, राजनैतिक आवरणमा चुनाव लड्दा, उमेदवार अर्थात् व्यक्तिलाई बढ्ता
फाइदा हुन्छ।

यसको ठिक बिपरित , जब कोही विद्यार्थी  कुनै पार्टीको झन्डा नबोकी स्वतन्त्र ढंगले अगाडि आउँछ तब उ आफ्नो मास्टर्स प्रती बफादार रहन पर्दैन र सचा अर्थमा विद्यार्थीको प्रतिनिधि बन्दछ। यसो गर्दा व्यक्तिलाइ भन्दा बढि विद्यार्थीलाइ फाइदा हुन्छ र यसैलाइ नै विद्यार्थी नीति भन्न खोजिएको हो।

अन्त्यमा, पटकपटक फ्लप साबित भइसकेको सिस्टमलाइ हामी अगाल्छौँ अनि हरबार त्यसै सिस्टमबाट राम्रो नतिजा आउने अपेक्षा गरि बस्छौँ। तसर्थ जबसम्म फ्लप सिस्टम लाई बदलेर विस्वमा सुपरहिट बनिसकेका मोडलहरुलाइ हामीले अगाल्दैनौ, तबसम्म नयाँ आउने नेतृत्वलाई दुईवटा बन्द खामहरु हस्तान्तरण भइनैरहनेछन् ।
अस्तु।