Search This Blog

Friday, March 17, 2017

डाक्टर'साबको भुँडी।।


"जिन्दगीमा यो भुँडी र बुढी भन्ने कुरा एकपटक लागेपछी लाग्यो लाग्यो, कसैगरेपनि उन्मुक्ति नपाइदोरहेछ।"
डाक्टर साब झसङ्ग बिउँझिए । उनलाई आफ्नै तस्वीर बोलेजस्तो लाग्यो।अँध्यारोमा  निकैबेर छामछुम गरे अनि आफ्नो सामसुङ ग्यालाक्सी जे-सेभेनको पावर बटन दबाए। रातको एक बजेको रहेछ। छेवैमा म्याडम घुरिरहनु भएको थियो,त्यसैले  डिस्टर्ब होलाकी भनेर डराउँदै डराउँदै, डाक्टर साब सरक्क कोल्टे फर्किए।
 सरक्क के भन्नु , पन्चानब्बे किलोको भिमकाय शरीर , नौबिसेको उकालोमा ठसठस कन्दै टर्निङ लिइरहेको फुल लोडेड मालबहाक ट्रक
जसरी बल्लतल्ल घुमाए। निकैबेर सम्म आँखा चिम्म गरिरहे तर पनि निन्द्रा परेन। बिचरा निदाउन पनि कसरी, हिजो दिनभरि घटेको घटना उनको दिमागले रिवाइन्ड गर्दै प्ले गरिरहेको थियो। त्यो पनि दोहोर्‍याइ, तेहेर्‍याइ, इन्डियन च्यानलहरुले ब्रेकिङ न्युज दिएजसरी।

एकाबिहानै एकजना पत्रकारले फोन गरेका थिए,' डाक्टर साब आजको अंकमा तपाईसँग मिल्दोजुल्दो स्तम्भ लेखेको छु है, पढेपछि कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला।'
 कहिल्यै पत्रीका नपढ्ने मान्छे, त्यति सुनेपछि चाहिँ डाक्टर साब घरमै पत्रीका मगाएर लेख पढ्न तम्सिए। भित्री पृष्ठमा कतै उनको
आँखा झ्याट्ट पर्यो- " गान्धीको चिनी र नेपालाका इन्डोक्राइनोलोजिस्ट"। ओ इन्ट्रेस्टिङ , चियाको चुस्की लगाउँदै डाक्टर साब पेपरमा घोत्लीए :
महात्मा गान्धीको छिमेकमा एकजना बच्चा बस्दोरहेछ जो हरेकदिन चिनी चोरेर खाँदोरहेछ। जति गर्दा पनि आफ्नो छोराको यो आदत छुटाउन नसकेपछि त्यो बच्चाकि आमा गान्धीजीको शरणमा पुगीछ्न। गान्धीजीले पनि सबैकुरा सुनिसकेपछी , अर्को साता उनकै घरमा आएर छोरालाइ सम्झाइदिने वाचा गरेछन् । दुई हप्ता बित्यो , तेस्रो पनि बित्यो तर पनि गान्धीजी उनको घर नआएपछि ती आमा रिसाउँदै पुनः गान्धीजी कै पुगिछ्न - 'हैन तपाईंले मेरो लागि त्यत्ति पनि गरिदिन सक्नुहुन्न?'
प्रतिउत्तरमा गान्धीजीले भनेछन् - हेर्नुस, कसैलाइ कुनै काम नगर भनेर सम्झाउन पहिला आफू त्यो कामबाट टाढा रहेको हुनपर्छ । मेरो आफ्नै चिनी चोरेर खाने आदत छ, जुन छुटाउन म प्रयासरत छु अनि त्यसपछि बल्ल तपाईको घर आउनेछु। अन्यथा, आफैले त्यो आदत बोकेर, अर्कालाइ त्यो नगर भन्नुको कुनै तुक रहदैन।"

त्यति पढ्नासाथ डाक्टर  साबले के बुझे कुन्नी, बाँकीको लेख पढ्दै पढेनन। जुरुक्कै उठे, अनि मुर्मुराउँदै भान्छातिर लागे -' हैन, मेरो भुँडीले तीनको के बिगार्देको छ हँ ? बडा रिस गर्छन् । सक्ने भए तिनले पनि बनाएर देखाउन।" डाक्टर साब रन्थनिदै भान्छामा पुगे अनि सपाट अर्डर गरे -" म्याडम खाना, हस्पिटल जान अबेर भो।"

सायद बाथरुमबाट आवाज आइरहेको थियो - " आज खाना खान ममिले बोलास्याछ, ओपीडी सक्काएर उतै धोबीघाट आइस्यो। त्यत्रो भुँडी छ, दुईचार घन्टा नखाँदा केही पनि हुँदैन।" डाक्टर साब वाल्ल परे।

कोल्टे सुतिरहेका डाक्टर साब बिस्तार उत्तानो फर्किए अनि टाइम हेर्न फेरि मोबाइल थिचे, बल्ल एक-दश भएको रहेछ।

यता घरबाट निस्किएको दश मिनेटमा उनी अस्पताल पुगिसकेका थिए । आज शनिबार भएकाले  डाक्टर साब खासै धेरैबेर अस्पतालमा बस्न पर्दैनथ्यो, २ घन्टा जति ओपीडीमा बिरामी हेर्यो अनि छुट्टी। अरु स्टाफ पनि कम नै हुन्थे । तर आज भने डाक्टर साबलाइ अलि ज्यादा नै सुनसान जस्तो फिल भयो। काउन्टरबाट धोबाल दाइलाइ बोलाएरै सोधे- ' आज अरु डाक्टर साबहरु नआउने हो'की कसो? खाली खाली छ त सबै क्याबिन।"
" ए साँच्चै भन्नै बिर्सिएछु, आज सबैजना हाइकिङ जानुभाको छ शिवपुरी । सरलाइ चाहिँ हिँड्न नसक्ने भनेर नभनेका होलान् । के गर्नु फेरि हिँड्ने-हिँड्नेका ग्रुपमा, एउटा नहिँड्ने पर्यो भने सबैलाइ अप्ठ्यारो ।" डाक्टर साब प्रतिक्रिया बिहिन भए अनि वाल्ल परिरहे।

सायद घडीमा एक- बीस भएको हुनपर्छ, डाक्टर साबले खाटैमा सुतिसुती प्रतीज्ञा गरे - भोलिदेखि सबेरै एक घन्टा मर्निङ वाक जान्छु, १५ दिनमा यो सब तौल घटाउँछु अनि अर्को महिना फेरि सबैलाइ हाइकिङ लिएर जान्छु। को हिँड्न सक्ने , को हिँड्न नसक्ने दुधको दुध , पानीको पानी हुन्छ।"

"बिहान खाली पेटमा दूध चाहिँ खान हुन्छ कि हुँदैन डाक्टर साब?" यता ओपीडीमा बिरामीले के खान हुने, के खान नहुने सोधेर उकालो लागिरहेको डाक्टर साबको पारोलाइ झनझन तताइरहेका थिए। उनको यसमा अक्सर एउटै जवाफ हुन्थ्यो- ' तपाईंको यो बिमारीमा , डाक्टरको दिमाग बाहेक सबैथोक खान हुन्छ।'
एकजना डाइबेटिजका पुराना  बिरामी, फलोअपमा आएका थिए । डाक्टर साबले तिनलाइ थोरोल्ली जाँचे, रिपोर्टहरु हेरे अनि पहिलेकै औषधि कन्टिनिउ गर्ने भन्दै सुझाव दिए- " अरु सबैथोक नर्मल नै छ, लगातार एक्सरसाइज गर्ने अनि तौल चाहिँ बढ्न नदिने।"
 यति भनिसक्दा अघिसम्म डाक्टर साबको आँखामै हेरिरहेको बिरामीले अचानक आफ्नो नजर अलि तलतिर डुलायो अनि मुसुक्क हाँस्यो। फेरि डाक्टर साबले के बुझे कुन्नी, कुर्सीबाट जुरुक्कै उठे अनि नाकको पोरा फुल्लाउँदै हप्काए -" तपाई जानोस, गइहाल्नोस यहाँबाट। कस्ता कस्ता मान्छे आउँछन् यार।"

अब भने डाक्टर साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे , भोलि बिहान पाँच बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।

त्यसपछि उनी ओपीडीमा खासै धेरैबेर बसेनन। आफ्नो प्यारो मारुतीको अल्टो के-टेन लिएर ससुराली तर्फ हानिए। एफ.एममा सुमधुर गित बजिरहेको थियो,डाक्टर साब स्लो स्पिडमा गाडी हाँकिरहेका थिए, अचानक एफएममा गित बज्न रोकिएर विज्ञापन आयो - "के तपाईं अत्याधिक तौल बढ्ने अनि मोटोपनको समस्याबाट ग्रसित हुनुहुन्छ? हुनुहुन्छ भने आजै हामीकहाँ
आउनुहोस् । विस्वको सबभन्दा पुरानो रिकाचु-क्षय पद्धतिबाट ग्यारेन्टीका साथ मात्र दस दिनमा तपाईंको सम्पुर्ण तौल घटाइदिने छौँ। 

डाक्टर साबले यसो कान ठाडो मात्र के बनाएका थिए, अचानकनै पछाडिबाट एउटा ट्याक्सीले आएर उनको कलेजोको टुक्रामा ड्याङ्ग ठोकिदियो। 'आज म यसलाइ छाड्दिन' डाक्टर साब जङ्गिए । ह्यान्ड ब्रेक ताने अनि बाहिर निस्कन जुरुक्क मात्र के उठेका थिए, उनले लगाएको टाइट पाइन्टको बटन स्वाट्टै टुट्यो, फस्नर धरर खुल्यो अनि पाइन्ट कम्मरबाट सलल तल बग्न थाल्यो।बिचरा डाक्टर साब पुरै निरीह भए, अनि पाइन्ट सम्हाल्दै गाडी भित्रै बसिरहे,फेरि रिकाचु-क्षय पद्धति बारे विज्ञापन बजिपोहाल्छ कि भनेर कुर्दै।

कसो गाडीमा म्याडमका सेप्टी पिनहरु रहेछन् । डाक्टर साबले बटनको ठाउँमा सेप्टी पिन लगाए, फस्नर अलि माथी सारे अनि सर्टलाई अलि तलसम्म तानेर ससुराली जाने निधो गरे।

डाक्टर साबले कतै पढेका थिए, राती निन्द्रा परेन भने, उल्टो गन्न पर्छ रे। के खोज्छ्स कानो आँखो,सुरु गरिहाले ,उनानसय, अन्ठानब्बे , सन्तानब्बे ....
नब्बे पुगेपछि मोबाईलमा अर्लाम लाग्यो कि लागेन पुनः कन्फर्म गरे अनि फेरी उनान्नब्बे , अठ्ठासी, सतासी...

डाक्टर साबको दिमागले ससुरालीको पिक्चर खासै राम्रोसँग प्ले गर्न सकिरहेको छैन सायद उल्टो गन्तीको प्रभाव हुनपर्छ। कता कता उनलाइ कान्छी साली बोलेको तर्कना आइरहेको छ। डाक्टर साब गएर सोफामा मात्र के बसेका थिए, कान्छी सालीले किचेनबाटै आफ्नी सानी छोरीलाई कराइरहेकी थिइन -"या धेरै छुकछुक नगर, ठुलोबाबा आउनु भयो जस्तो छ जाउ गएर भुँडीमा काउकुती लगाइदेउ"।
घरै पिँडालु, वनै पिँडालु, ससुराली गयो झन बार्ह हात लामो पिँडालु।"

सतचालीस गनिसक्दा भने  डाक्टर साब भुस भइसकेका थिए।

भोलि बिहान,
मोबाइलले आफ्नो धर्म बिर्सिएन,  पाँच बजे नै अर्लाम बज्यो। अर्लाम टोन बजिसकेपछी डाक्टर साब पनि सल्बलाए, मोबाइललाई आफ्नो हातमा ताने अनि एकएक गरि फेरि हिजोको घटनाहरु सम्झिन थाले। पत्रकार महोदयलाइ सम्झिए,हाइकिङ गएका साथीहरूलाई सम्झिए, आफ्नो गाडीलाइ ठ्क्कर दिने ट्याक्सीलाइ सम्झिए, साली र भतिजीलाई सम्झिए, नजर पेटतिर दौडाउने बिरामीलाइ सम्झिए अनि एकचोटि मागको ठन्डीमा खाटबाटै पर्दा उघारेर झ्याल तिर हेरे। त्यसपछि डाक्टर साबले अर्को प्रतिज्ञा गरे -"आज अलि चिसो छ जस्तो छ, भोलिदेखी चाहिँ पक्का मर्निङ वाक जान्छु।"


No comments:

Post a Comment