Search This Blog

Saturday, June 24, 2017

गोसाइकुण्ड–मेलम्ची यात्रा र मेडिकल स्टुडेन्ट सिन्ड्रम–१

काठमाडौँको धुवाँ–धुलो र कोलाहललाई छल्दै हाम्रो जिप ऐतिहासिक शहर बेत्रावतीमा खाना खान रोकिएको थियो। बिहानैबाट भोकले चाउरिएको पेटमा जब दुई गाँस दालभात पर्‍यो तब दिवाकरको दिमागमा फेरि उट्पट्याङ प्रश्नहरुको सञ्चार हुन थालिहाल्यो । ‘जाँदा पनि ऊ कालो आउँदा पनि ऊ कालो के हो?’ प्रश्न स्वभाविक रुपमा प्रशान्ततर्फ नै तेर्सिएको थियो किनभने हाम्रो १० जनाको टोलीमा ऊ सबैको प्यारो थियो अर्थात् सबैले जिस्काइरहने पात्र । अझ त्यसमाथि भर्खर–भर्खर निस्किएको हाम्रो बेसिक साइन्सको रिजल्टमा उसले टियू टप गरेको थियो । बस, अनि त के चाहियो र ? पाइला–पाइलामा उसको परीक्षा चलि नै रह्यो।
‘आउँदा अर्कै बाटो फर्कियो होला त्यहि भएर उकालो भयो,’ प्रशान्तको यो उत्तरलाई सबैले एकै स्वरमा हाँसेर उडाइदिए । त्यसपछि पनि उसले हरेश भने खाएन बरु अरु तीन चारवटा सम्भाव्यता बताइरह्यो । तर अहँ कुनै पनि मिलेनन् । बरु हाँसोका लहरहरु अझ गाढा हुँदै थिए।
यता राजुलाई भने यस्ता प्रश्नहरुप्रति खासै दिलचस्पी नै थिएन । ऊ त केहि औषधि छुट्यो कि भनेर आफ्नो ब्याग अन्तिमपल्ट हेदैै थियो, ‘क्रेप ब्यान्डेज छ , प्यारासिटामोल छ, डाइक्लोफिनाक जेल पनि छ र केहि परिहाल्यो भने अन्तिम रिजोर्टको रुपमा स्टेरोइड पनि छ।’ तर, उसलाई यतिले मात्र पुग्दैन । “केटाहरु थाहा छ नि हामी अराउन्ड ४५०० मिटर माथि जाँदै छौँ, अल्टिच्यूड लाग्न सक्छ । त्यहि भएर आज बेलुकैदेखि नै एसिटाजोलामाइड खानपर्छ । बोकेको छ नि ?’ राजुको वाक्य टुङ्गिन नपाउँदै परबाट गोपालले भन्यो– ‘अँ अँ, मैले बोकेको छु त्यो झोलामाइड।’

जिप कालिकास्थानबाट माथि लागिसकेपछि भने परिवेश पूरै बदलियो । गणेश र लाङटाङ हिमालमा सिधै ठोक्किएर आएका सिरेटोले हाम्रो मुटु लगलग काप्न थाले । मुस्किलले एउटा गाडी अटाउने साँघुरो बाटो, तल त्रिशुलीको खोँच अनि वरपर सेताम्मे हिमाल । अघिसम्म भमिट नहोस् भनेर मुखमा सिक्का च्यापेर सुतेको शक्ति अहिले भने बाहिरको परिवेश देखेर अक्क न बक्क भयो । अनि अघिसम्म बन्द रहेका उसका मुख अब भने आश्चर्यतामा खुलाका खुला नै रहे।
करिब २००० मिटर उचाईमा रहेको रसुवा जिल्लाको सदरमुकाम धुन्चे आइपुग्दा दिनको दुई बजिसकेको थियो। कसैले माथि पानी पर्ने र हावा चल्ने एकैपल्ट हुन्छ भनेर घुम किनेर ब्यागमा हाले । कसैले हिँड्दा डिहाइड्रेसन हुन्छ भन्दै ओआरएस (जीवनजल) किनेर बोके, कसैले हाइपोग्लाइसेमियासँग (रगतमा चिनिको मात्रा कम हुने) डराएर चकलेट बोके त कसैले शेर्पिनी दिदीले बनाएको तातो चाउचाउ सुपलाइ नै प्यारो ठाने।
भट्टे खोलाको आडमै रहेको ‘हिमालय बिसिलेरी’ बाटै स्याप्रुवेशी र गोसाइकुण्ड जाने बाटो छुट्टियो । फागुनको पहिलो साता, चिटिक्क परेका एकहुल बहिनीहरु जङ्गलबाट दाउरा खोजेर आउँदै थिए । यता बिसिलेरीको पाले घरमा झुण्डिएको रेडियो भने अघिदेखि नै गाइरहेको थियो, ‘कान्छीको गाला के बिधि रातो स्याप्रुको स्याउ जस्तो हो, स्याप्रुको स्याउ जस्तो ।’ त्यसपछि भने हामी पनि गीतकै तालमा रातोपिरो हुँदै उकालो लाग्यौँ।

पहिलो दिनको हाम्रो लक्ष्य भनेको २९०० मिटर उचाइमा रहेको देउरालीमा गएर बास बस्नु थियो । म सानो छँदा बुवाको जागिर रसुवामै भएकाले केही वर्ष धुन्चे बसेको थिएँ । त्यातिखेर हाम्रो क्वाटर अगाडि बिहान झिसमिसेमा भारीको मोलतोल गर्दै गरेका शेर्पा दाइहरु त्यसैदिन गोसाइकुण्ड पुगेर फर्किन्थे । त्यही भएर मलाई हामी देउराली भन्दा अझ माथि पुग्न सक्छौं जस्तो लागेको थियो । तर, सुरजले फिजियोलोजी किताबमा लेखेको कुरा सम्झायो, ‘एक दिनमा ५०० मिटर भन्दा धेरै अल्टिच्युड गेन गर्नु हुँदैन ।” आखिर सुरज पर्‍यो राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा फिजियोलोजीमा तहल्का पिटेको मान्छे । उसको कुरा कसले काट्ने । अन्ततः हाम्रो त्यस दिनको बास देउरालीमा नै भयो ।

भूकम्पले गर्दा सबै होटलहरु भत्किएका रहेछन् । बल्लतल्ल एउटा टेन्ट फेला पर्‍यो । टेन्ट के भन्नु सानो–तिनो ओडार नै थियो । बसेको चाहिँ प्रति ब्यक्ति पचास रुपैयाँ अनि खाएको चाहिँ ३५० रुपैयाँ । त्यो पनि दाल, भात र आलु । तरपनि कसैले दुईपटक सोचेन, किनभने हाम्रो ब्यागमा रहेको सिटामोलले रात कट्ने वाला थिएन । खाना खाइसकेपछि हामीलाई एउटै इन्सट्रक्सन थियो, ‘राति पिसाब फेर्न एक्लै दुक्लै ननिसक्कनु, यहाँ खुब चितुवा लाग्छन् ।'
पूर्व सम्झौता अनुसार भोलि लेक नलागोस् भनेर सबैले एसिटाजोलामाइड खाइयो – (गोपालका शब्दमा झोलामाइड) । खान त खाइयो आफ्नै खुशीले तर सायद हामीले यसको साइडइफेक्ट चाहिँ पढ्न भुलेछौँ । जब झोलामाइडले आफ्नो काम गर्न सुरु गर्‍यो तब सबैलाई जोडजोडले पिसाब लाग्न थाल्यो त्यो पनि छिनछिनमा । तर अहँ जुरुक्क उठेर बाहिर निस्कने आँट कसैको थिएन । त्यहाँ माथि चितुवाको डर थपिएपछि त झन कतिन्जेल थाम्न सकिन्थ्यो र ?  
धेरैबेरको छलफल पश्चात् प्रज्वल एक्लै भएपनि बाहिर निस्कने भयो । ‘खोइ टर्च देऊ केटा हो । म जान्छु । यसरी डराएर पनि हुन्छ,’ उसले साहसका साथ भन्यो। टर्च शब्दले पो सबैलाइ एकैपटक झस्काइदियो  । प्यारासिटामोल र आइबुप्रोफिन सम्झने साथीहरुले टर्च चाहिँ बिर्सिएछन् । यस्तो अनकन्टार ठाउँमा ट्रेकिङ आएको छ, त्यहाँमाथि अघि नै सबैको मोबाइल स्विच अफ। एकछिन त पूरा सन्नाटा नै छायो।
आखिरमा धेरैबेरसम्म आफ्नो ब्यागमा छामछुम गरिसकेपछि सागरले एउटा मसिनो बत्ति बाल्यो । धत्, तेस्रो वर्षको पोस्टिङका लागि भनेर किनेको बिरामीका आँखा–घाँटी जाँच गर्ने पेन टर्च पो रहेछ । तर, त्यहि पेन टर्च पनि त्यतिखेर हाम्रा लागि चाहिँ नाइटभिजन हेलिकप्टरको सर्च लाइट भन्दा पनि चहकिलो थियो।

भोलिपल्ट बिहान देउरालीबाट देखिने दृश्य कम्ति मनमोहक थिएन । दायैँ हिमाल, बायैँ हिमाल । कता मात्रै हेर्नु र कति मात्रै हेर्नु । एकोहोरो टोलाइरहेको मेरो ध्यान पछाडीबाट आइरहेको ठ्याक–ठ्याक, ठ्याक–ठ्याकको आवाजले भङ्ग गरिदियो । एकछिन त चितुवा नै आएछ कि जस्तो लाग्यो तर आवाजको नजिक गएको त प्रशान्त रहेछ । भएछ के भन्दा बिहानै चर्पी लागेर उठेको पानी त कतै छैन । धेरै बेरको अनुशन्धान पश्चात् पानी ड्रममै जमेको कुरा पत्ता लागेपछि ऊ बरफ फोर्न ठ्याक–ठ्याक पारिरहेको रहेछ । त्यसपछि त जो–जो उठ्छन्, पालैपालो ठ्याक–ठ्याक।
देउराली पछि त एकघण्टा जति ठाडै उकालै मात्र, भूतियाको उकालो । त्यहाँमाथि उराठलाग्दो सल्लाको जङ्गल । धन्न बिहानीको समय थियो र झर्को मान्दा मान्दै पनि काटियो । अलिकति केसम्म बाटो आएको थियो सबैजना थच्याक–थुचुक बसियो । सुरजले ओआरएस बनायो । एक लिटर पानीमा एक प्याकेट नवजीवन हालेर, पूरा नियमपूर्वक। राजुले ब्याग खोतल्न थाल्यो । खानेकुरा निकाल्ला भनेको त एक पाता औषधि निकालेर पालैसित छोडाउन पो लाग्यो ।’ यस्तो उचाईमा आउँदा स्ट्रेसका कारण पेटमा धेरै एसिड प्रोड्युस हुन्छ, त्यही भएर एन्टासिड खाइरहनुपर्छ।’ हो, आखिर जी.आई –(ग्यास्ट्रो इन्टेसटाइनल) टपरले भनेको कुरा कसले काट्ने । सबैजनाले एक एउटा डाइजिन खाइयो र चन्दनबारीतर्फ लागियो।
करिब ३२०० मिटर उचाइमा रहेको चन्दनबारी विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको चिज फ्याक्ट्रीका लागि प्रसिद्ध रहेछ । अत्याधिक चिसोका कारण चौरी धपाउने दिवाकरका इच्छा त पूरा भएनन् तर तिनै चौरीहरुबाट उत्पादित केही टुक्रा स्वादिला चिजहरु चपाउँदै हाम्रो यात्रा अगाडि बढ्यो।
अबको गन्तब्य लौरीबिना थियो । सायद हामी स्नो लाइन भन्दा धेरै माथि आइसकेका थियौँ, त्यहि भएर साना साना घाँस र कतै कतै नफुलेका गुँरास बाहेक केहि देखिदैन थियो । लौरीबिना पुग्ने बाटो पूरै उकालो । दश जनाको हाम्रो टोली आ–आफ्नो हिँड्ने क्षमता अनुसार छरपष्ट भइसकेका थियौँ । म र राजु सबैभन्दा पुछारमा थियोँ। अगाडिको साथीसँग सम्पर्क गर्ने एउटै माध्यम भनेको जोडजोडले कराउनु मात्र थियो । जति जति माथि गयो  त्यति त्यति सास फुल्दै आइरहेको थियो।
अचानक राजु थ्याच्च बस्यो । दुईटै हातले आफ्नो छाती बेस्सरी समात्यो अनि अलि–अलि निस्किएको सास जम्मा पारेर भन्न थाल्यो, ‘मलाई त एम.आई भयो ।' एम.आई अर्थात् हर्टयाट्याक।  क्रमशः

सरस्वतीको सर्को


सरस्वती मया दृष्टा विणा पुस्तक धारिणी
ह्ंसबहानश्यामयुतm विद्या दान करो तुमे

ए दान, त्यो पनि को सरस्वतीसँग ?
सरस्वती जो चारैतिरबाट दानवले घेरिएकि छिन्
उसैसँग दान ,
दानव ब्रम्हा हुन् , दानव महेश्वर हुन्
दानव उनैका सँगी कुमार–गणेश पनि हुन ।
अनि कोसँग माग्ने त दान ?
ती बिचरी सरसोतीसँग
जो दानवरुपी मानवले घेरिएकि छिन् ।
ए एकैछिन है ,
यहाँ एकदम फरक छ , सरस्वती र सरसोती बिचमा,
ती देवि सरस्वती र यी सरसोती देवि ।
Ò

सरस्वतीका चार हात
दुइटामा विणा , एउटामा पुस्तक अनि अर्कोमा सिगार ।
अहँम , अहँम , के खोकी लाग्यो ?
सरस्वतीलाइ पनि यस्तै होकी–होकी जस्तै खोकी लागेको थियो ,
जब धेरै सानैमा पहिलो सर्को तानिन् ।
तान्न सिकाउने मित्र कुमार–गणेश ।
ती पार्वतीका अाँखा छलि
अनि शिवजीका न् र सिगारहरु
कुमार ल्याउँदथे
तिन छाक पुग्ने लौका जत्रो गणेशका नाक मुन्तिर
सिँगान बस्ने उमेरका सिगार बस्दथ्यो ।
एउटै खिली तिनजना मिलि–मिलि ।
Ò

जिहागे्र तसते वश्य ब्रम्ह रुप सरस्वती 

ब्रम्हा , दानव ब्रम्हा पनि हुन ,
जसका अनेक रुप मध्य एक रुप अत्यन्त कुरुप थियो ।
त्यहि रुप जसले आफ्नै पुत्रि सरस्वतीलाइ
श्रीमती बनाउन खोज्यो ।
हो त्यस्तै दानव
सरसोती देविका बा , ठूलाबा र काकाबा पनि थिए ,
जसले पुस्तक बोक्ने उसको उमेरमा
पुस्ता बोक्ने जिम्मेवारी थमाइदियौ
हो सरसोती देविको विवाह भयो ।
Ò

सरसोती ए सरसोती विणा ले भनेको सुनिनस
उनका श्रिमानलाइ सबैरै विणा चाहिन्छ
विणा बज्दैनन् , विणा बल्दछन् ।
विणामा तार होइनन् , पाइप हुन्छन् ।
विणा तान्दा सा रे ग म धुन निस्कदैनन्
विणा तान्दा सा ले तँ म (टूँट) भावना जन्मन्छन् ।
सरसोती सबेरै चराले घ्यार–घुर नगर्दै
उठेर ठेकिका दहि घ्यार–घुर पार्थिन् र
उनका खसम छेउमै बसेर हुक्कामा चिलिम घ्यार–घुर पार्थे ।
उनीले उनीको लुगा उन्दै गर्दा
उनी चाहिँ पातमा सूर्ती बुन्दै हुन्थे ।
उनको शरिरका हर एक छिद«बाट पुत–पुत धुँवा निस्कन्थ्यो,
अनि त्यसै धुँवामा सरसोती दनदनी बल्दथिन्
तनैभरि अनि मनैभरि ।
Ò

सरस्वती गर–गहना मणि–माणिक्य केहि पनि नभएकि
एक मात्र देवि ,
सरसोती देविका पनि एउटै गहना थिएनन् ,
जति थिए , उनकै श्रिमानले सिध्याए
जुवा तास र तमाखुमा ।
 सरस्वती सेतो कमलको फूल माथि
सेतै सारीमा सजिएकि देवि ।
सरसोती देविले पनि एक रात ,
आफूले सेतै सारी लगाएको सपना देखिन ।
सेतो धुवाँमा रमाउने उहाँलाइ
सेतै कात्रोमा लपेटिएको देखिन ।
जुरुक्क उठेर तिनै खसमसँग कसम माग्न खोजिन ,
तर हात चले पो , शरिर चले पो ।
त्यस सपनाले उनलाइ यस्तरी ऐँठन भयो ,
धेरैदिनसम्म त न उठ् न बैठन भयो ।
झार–फुक , तन्त्र–मन्त्र, जप–ध्यान ः
  या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा पूजिता
सा मां पातु सरस्वति भगवती निःशेषजाड्यापहा

निशेष भरमै सरस्वतीले सर्को तानेको
चर्को–चर्को स्वरमा देवराज इन्द«को सभामा गुञ्जियो
शिव गर्जिए तर पार्वती बोलिनन्
विष्णु बोले तर लक्ष्मी बोलिनन्
दक्षप्रजापति जङ्गिए तर प्रसूति मौन बसिन ।
“मौनम सम्मती लक्षणम् ”
आखिरमा सरस्वतीले सर्को तानेको पुष्टि भयो ।
अझ उनी त नेपाली सरस्वती
यस्तो देशकी सरस्वती जहाँ
विश्वका सबैभन्दा धेरै फिमेल स्मोकरहरु छन् ।
अँ त नेपाली सरस्वती
अँ के , सरस्वती नेपाली ।
Ò

भित्रबाट डाक्टरले नाम बोलाए ,
सरसोती देवि नेपाली ।
अस्पतालमा उनका घाँस काट्न जाने सँगीहरु
कुमार र गणेश पनि लमतान्न लडिरहेका थिए ।
डा अश्विनीकुमारको हातमा केहि कागजात थियो ः
बिरामी ः सरसोती देवि नेपाली
समस्या ः खोक्दा रगत आउने
शंका ः फोक्सोको क्यान्सर ।

Saturday, June 10, 2017

डायरी

मितिः २०३०÷०६÷०२

आज मेरो जन्मदिन हो । म आजबाट १४ वर्षको भएँ । 
यो डायरी मलाई मेरो बड्डाले ल्याइदिनुभएको हो, च्यानमको हाट बजारबाट । जुठे मास्टरले भनेको बच्चामा लेखेको डायरी, बुढेसकालमा पढ्दा आँसु आउँछन रे । तर मलाई जुठे मास्टर फिटिक्कै मनपर्दैन । त्यसले हाम्रो घरमा आएर घिऊ खाइदिन्छ । बड्डासँग पैसा लान्छ । अनि दिदिहरूलाई गट्टा खेल्न पनि दिँदैन । आजलाई यत्ति है ।

मितिः २०३०÷०६÷०३, सोमबार

हाम्रो बड्डा हाम्रो घर
प्राण भन्दा प्यारो छ ।
हामी सुत्ने कोठामा
माकुरा र छेपारो छ ।।

आज मलाई बड्डाले कविता लेख भन्नुभयो । म बड्डाले भनेको जे पनि मान्छु । बड्डा पनि मैले जे भन्यो त्यहि ल्याइदिनुहुन्छ । बड्डाले भन्नुभएको, बडो कष्टले व्रत बसेर अनि हरिवंश पुराण लगाएपछि बल्ल म जन्मेको रे । 

म जन्मेको साल बड्डाले देशमै गएर राजालाई भेट्नु भाको रे । अनि हाम्रो बड्डा नभइदिएको भए, उहिले काङ्रेजले हाम्रो गाउँ खाइसक्थे रे ।

मितिः २०३०÷०६÷०७, शुक्रबार

आज मैले बल्ल थाहा पाएँ सबैको आमा हुने तर मेरो चाहिँ किन नहुने भनेर । 

साइली दिदिले भनेकि, अर्की आमा आइन भने मेरो भागको सबै तर खाइदिन्छिन् रे । त्यहि भएर बड्डाले नयाँ आमा नल्याएको रे । 

तुलेका बाले पोहोर नयाँ आमा ल्याएको । त्यहि भएर तुले कति दुब्लो छ । जहिले मलाइ सानोबाबु तपाईको घरमा ओलन छ भने ल्यादिनुस न भन्छ । तर जति ओलन चोरेर खान दिएपनि कहिल्यै मोटाउँदैन ।

मितिः २०३०÷०८÷०८

आज हाम्री जेठी दिदिलाई दिक्तेल लगे । दिक्तेलमा झन् ठूला बड्डा छन् रे । हो तिनै बड्डाको छोरासँग हाम्री दिदिको बिहे भयो । 

माइली दिदिको चाहिँ कहिल्यै बिहे नगर्ने रे । त्यो हिँड्न पनि सक्दिन । अनि सधैँ बड्डा र मसँगै घरमै बसिरहने रे । साइली दिदिलाई लिन पनि कोहि नआए हुन्थ्यो । त्यसले मलाई कत्ति माया गर्छे ।

मितिः २०३२÷०२÷२६, आइतबार

तुलेले भनेको आज बेलुकासम्म जसरी पनि हामीले सुनकोशी काटिसक्नु पर्छ रे, नत्र मान्छेहरूले समातेर हामीलाइ पुलिस कहाँ बुझाइदिन्छन् रे । 

सुनकोशी काटे पछि त हामीलाई कसैले चिन्दैनन् । त्यसपछि हामी मटियानी जाने । हामीलाई त्यहाँको गुरुकुलमा खान, बस्न अनि पढ्न दिन्छन् रे । 

मैले हाम्रो कक्षामा भएको राजाको फोटोमा जुगाँ बनाउँदै गरेको जुठे मास्टरले देख्यो । अनि मेरो कान बेस्मारी तानेर घिसार्न लाग्यो । धन्न त्यति नै बेला तुले आइपुग्यो । सानोवावुको कान समात्ने भनेर पछाडीवाट चिर्पटोले डढाल्नुमा बजार्यो । जुठे मास्टरले रन्थनिएर मेरो कान छोड्यो अनि हामी दुबैजना भाग्यौँ ।

तुलेले भनेको अब हामी गाउँ फर्कियौँ भने राजाको पुलिसले हामीलाई गोली हानिदिन्छन् रे । बड्डाले पनि हामीलाई जोगाउन सक्नु हुन्न रे ।

 मटियानी निकै तल मधेशमा पर्छ । त्यहाँ धेरै गर्मी हुन्छ । औलो पनि लाग्छ ।


मितिः २०३६÷०१÷०१, सोमबार

देशमा अब बहुदल आउनुपर्छ । राजाको शासनमा जनताले धेरै दुःख पाइसकेका छन् । मेरा बड्डाले पनि गाउँमा धेरै थिचोमिचो गरेका छन् । 
गोकुल कान्छाको त उठिबास नै भयो । बहुदल आयो भने त्यस्ता निमुखाहरूको पनि आवाज सुनिनेछ । अर्को वर्ष त मेरो पूर्व मध्यमाको परीक्षा पनि सकिदैछ । त्यसपछि म मेरो गाउँ जान्छु । 
बड्डा कस्ता भए होलान् ? साइली दिदीको बिहे पो भयो कि ? कान्छी हजुरामाको लप्सीको रुख मासे कि छ होला ? यी सब सम्झँदा पनि कत्ति आनन्द आउँछ ।

मितिः २०३७÷०३÷०६, मंगलबार

भोलि म दोस्रोपटक आफ्नो गाउँ छाडेर जाँदैछु । जाँदैछु पनि के भन्नु, पुन: भाग्दै छु । तर यसपटक भने कहिल्यै नफर्किनेगरि, सदाका लागि । 

हाम्रा बड्डा बुढो भएछन्, जति सम्झउँदा पनि नसम्झिने । आज म घर आएको तिन महिना भइसक्यो तर म हरेक दिन असफल प्रयास गरिरहेको थिएँ, बड्डालाई आफ्ना कुरा बुझाउन ।

 मलाई उत्तर मध्यमा अनि शास्त्री पनि पढ्नु छ । तर बड्डा भने बिहे गरेर गाउँमै बस भन्नुहुन्छ ।

 बड्डालाई के थाहा सुनकोशी पारी अर्कै संसार छ भनेर । 

बेसीको जलजले खेत, गाउँको घर र बड्डाको उदेकलाग्दो राजनीति, यो सब चटक्क छाडेर म भोलि सबेरै काठमाडौँ जाँदैछु । बड्डाले ल्याइदिएको यो डायरी सा¥है सानो रहेछ, सायद उनको मन जत्रै । त्यही भएर होला यसको अन्तिम पाना भर्दै गर्दा बल्ल मेरो जीवन सुरु हुँदै छ ।

मितिः २०३७÷०६÷०२, सोमबार

आजबाट म २१ वर्षको भएँ । तर यो जन्मदिनमा मलाई डायरी किनेर ल्याइदिने कोही पनि छैन । यो नयाँ डायरी मैले आफै किनेर ल्याएको हुँ ।

 काठमाडौँ आएको यत्तिका दिनपछि बल्ल मैले बाल्मीकी क्याम्पसमा भर्ना पाएँ । अब म मन लगाएर पढ्नेछु । सके आचार्य, नसके शास्त्रीसम्म त जसरी पनि पढ्ने लक्ष्य छ ।

ए ! काठमाडौँ आएर मैले सिनेमा खेलेको कुरा त झन्डै बिर्सिएछु । रोल पनि कति सजिलो । रानीपोखरी अगाडि किताब पढे जसरी उभिने,अनि हिरोनीलाई लखट्दै आएको गुण्डालाई छिर्केनी हानेर लडाइदिने । त्यसको बदलामा गुण्डाले उठेर एक झापड हान्नुपर्ने । बस्, त्यति एक झापड खाएको १५ रुपैयाँ पाइदोरहेछ ।

मितिः २०४५÷०१÷०५, बिहिबार

बड्डा, आज मैले विवाह गरेँ । यस्तो महत्वपूर्ण दिनमा पनि मैले चाहेर पनि तपाईलाई बोलाउन सक्दिन । 

आज मसँग शास्त्री उत्तिर्ण भएको सर्टिफिकेट छ । श्री ५ को सरकारको थाइ जागिर छ, सानो झुपडी बनाउँदै छु । तर यी सब भइरहँदा पनि म नितान्त एक्लो छु बड्डा । जीवनमा परिवार, गाउँ–ठाउँ र अभिभावकको महत्व आज आएर बुझ्दै छु । सायद यहि कुराले मलाई जीवनभरि नै पिरोलिरहनेछ ।

सिमालाई आफ्नी श्रीमती बनाउन पाउँदा आज म निकै खुसी छु । पद्यकन्या क्याम्पस भरिकै सबैभन्दा सुन्दर र शुसिल कन्या आज मैले पाएको छु , फणिन्द्र, नरेश र होमनाथ हात धोएर सिमाका पछि लागेका थिए । अब सबैभन्दा पहिलो काम भनेको तिनीहरूलाई बोलाएर धुमधामसित बिहेको भोज खुवाउनपर्नेछ ।

मितिः २०४६÷१२÷२६, आइतबार

हेर्दा हेर्दै आजवाट म पनि छोराको बाउ बने । सिमालाई बिहानै बाट सुत्केरी व्यथा लाग्न सुरु भएको थियो । 

तर शहरको ठाउँ, त्यहाँमाथि प्रजातन्त्र पुनःस्थापनाका लागि चलेको आन्दोलनका कारण लागेको कर्फ्यु । म पुरै आत्तिएको थिएँ । धन्न हाम्रो छिमेकमा डि.एस.पी. साब हुनुहुन्थ्यो, जसले तुरुन्तै आफ्नो भ्यान मगाएर टिचिङ अस्पताल पु¥याइदिनुभयो । 

बच्चा मलाई दिँदै गर्दा, लेबर वार्डकी नर्सले भनेकि थिइन्, “तपाईको छोरा त कस्तो क्रान्तिकारी दिनमा जन्मिएको, नाम चाहिँ बिप्लब राख्नुस् है ।” 

सायद दैव संयोग हुनुपर्छ उता प्रजातन्त्र आएर बड्डाको शासन ढल्यो,यता क्रान्तिकारी नाती बिप्लब जन्मियो ।

मितिः २०६०÷१२÷२६, आइतबार

आजवाट बिप्लब १४ वर्षको भयो । उसको बर्थ डेमा, मैले उसलाई ठूलो र फराकिलो डायरी गिफ्ट दिएको छु । 

उसले पनि त्यो डायरीमा आफ्ना सम्पूर्ण कथाहरू लेखोस्, भोगाइहरू व्यक्त गरोस्, आफ्नोबाबुको लागि कविता लेखोस् । आज म संसारमा सबैभन्दा बढी कसैलाइ माया गर्छु भने, त्यो मेरो छोरा नै हो ।

जुठे मास्टरका कारण म गायब भएँ भन्ने थाह पाएपछि, किन जुठे मास्टरलाई बड्डाले गाउँ निकाला गरे भन्ने कुरा बल्ल आज म बुभ्दैछु ।

 भागेको ६ वर्षपछि म घर फर्कदा, त्यसरी मलाई च्याप्प समातेर बड्डा, किन भकानिएका हुन भन्ने कुरा बल्ल आज चाल पाउँदै छु । 

पृथ्वी गोलो छ भनेर थाह पाउन सायद अन्तरीक्षमा पुगेर हेर्नु नपर्ने रहेछ ।



मितिः २०७३÷१०÷२८, शुक्रबार

आज मेरो छोरो ग्राजुयट हुँदैछ । 

ग्रयाजुयट के भन्नु, शरिरमा पखेँटा जोड्दै छ, एउटा यस्तो उडानको लागि जसको कल्पना मात्रैले पनि मेरो मन सिरिङ्ग गर्छ । 

बिप्लबको अमेरिका जाने कुराले सिमाका आँखा सुन्निएका निकै दिन हुन लागे । मैले अनिदो रात काटेको कति भो कति । तर चुपचाप मौन स्वीकृती जनाउनु बाहेक मसँग अर्को कुनै विकल्प पनि त छैन ।


म काठमाडौँ हिँडेको दुइ दिनपछि, मेरो बड्डाले पनि सदाका लागि यस संसारबाट बिदा लिनु भएको थियो । सायद म पनि बड्डा जस्तै........

(डायरी समाप्त) 

"ओइ बिप्लब तँ अझै यहि होस्टलमै छस् । के यस्तो थोत्रो डायरीहरू पढेर बसेको ? २ बजे एम्बेसिमा इन्टरभ्यू भनेको होइन ?? छिटो जा !!"

साथीको बोलाइले उ झसङग हुन्छ ।

होस्टेलबाट त उ  ठमठम बाहिर निस्कन्छ तर त्यसपछी भने उ निकै अलमलमा पर्छ ।

होस्टेल गेटबाट  बायाँतिर एम्बेसी छ अनि दायाँ उसको घर ।