मितिः २०३०÷०६÷०२
आज मेरो जन्मदिन हो । म आजबाट १४ वर्षको भएँ ।
यो डायरी मलाई मेरो बड्डाले ल्याइदिनुभएको हो, च्यानमको हाट बजारबाट । जुठे मास्टरले भनेको बच्चामा लेखेको डायरी, बुढेसकालमा पढ्दा आँसु आउँछन रे । तर मलाई जुठे मास्टर फिटिक्कै मनपर्दैन । त्यसले हाम्रो घरमा आएर घिऊ खाइदिन्छ । बड्डासँग पैसा लान्छ । अनि दिदिहरूलाई गट्टा खेल्न पनि दिँदैन । आजलाई यत्ति है ।
मितिः २०३०÷०६÷०३, सोमबार
हाम्रो बड्डा हाम्रो घर
प्राण भन्दा प्यारो छ ।
हामी सुत्ने कोठामा
माकुरा र छेपारो छ ।।
आज मलाई बड्डाले कविता लेख भन्नुभयो । म बड्डाले भनेको जे पनि मान्छु । बड्डा पनि मैले जे भन्यो त्यहि ल्याइदिनुहुन्छ । बड्डाले भन्नुभएको, बडो कष्टले व्रत बसेर अनि हरिवंश पुराण लगाएपछि बल्ल म जन्मेको रे ।
म जन्मेको साल बड्डाले देशमै गएर राजालाई भेट्नु भाको रे । अनि हाम्रो बड्डा नभइदिएको भए, उहिले काङ्रेजले हाम्रो गाउँ खाइसक्थे रे ।
मितिः २०३०÷०६÷०७, शुक्रबार
आज मैले बल्ल थाहा पाएँ सबैको आमा हुने तर मेरो चाहिँ किन नहुने भनेर ।
साइली दिदिले भनेकि, अर्की आमा आइन भने मेरो भागको सबै तर खाइदिन्छिन् रे । त्यहि भएर बड्डाले नयाँ आमा नल्याएको रे ।
तुलेका बाले पोहोर नयाँ आमा ल्याएको । त्यहि भएर तुले कति दुब्लो छ । जहिले मलाइ सानोबाबु तपाईको घरमा ओलन छ भने ल्यादिनुस न भन्छ । तर जति ओलन चोरेर खान दिएपनि कहिल्यै मोटाउँदैन ।
मितिः २०३०÷०८÷०८
आज हाम्री जेठी दिदिलाई दिक्तेल लगे । दिक्तेलमा झन् ठूला बड्डा छन् रे । हो तिनै बड्डाको छोरासँग हाम्री दिदिको बिहे भयो ।
माइली दिदिको चाहिँ कहिल्यै बिहे नगर्ने रे । त्यो हिँड्न पनि सक्दिन । अनि सधैँ बड्डा र मसँगै घरमै बसिरहने रे । साइली दिदिलाई लिन पनि कोहि नआए हुन्थ्यो । त्यसले मलाई कत्ति माया गर्छे ।
मितिः २०३२÷०२÷२६, आइतबार
तुलेले भनेको आज बेलुकासम्म जसरी पनि हामीले सुनकोशी काटिसक्नु पर्छ रे, नत्र मान्छेहरूले समातेर हामीलाइ पुलिस कहाँ बुझाइदिन्छन् रे ।
सुनकोशी काटे पछि त हामीलाई कसैले चिन्दैनन् । त्यसपछि हामी मटियानी जाने । हामीलाई त्यहाँको गुरुकुलमा खान, बस्न अनि पढ्न दिन्छन् रे ।
मैले हाम्रो कक्षामा भएको राजाको फोटोमा जुगाँ बनाउँदै गरेको जुठे मास्टरले देख्यो । अनि मेरो कान बेस्मारी तानेर घिसार्न लाग्यो । धन्न त्यति नै बेला तुले आइपुग्यो । सानोवावुको कान समात्ने भनेर पछाडीवाट चिर्पटोले डढाल्नुमा बजार्यो । जुठे मास्टरले रन्थनिएर मेरो कान छोड्यो अनि हामी दुबैजना भाग्यौँ ।
तुलेले भनेको अब हामी गाउँ फर्कियौँ भने राजाको पुलिसले हामीलाई गोली हानिदिन्छन् रे । बड्डाले पनि हामीलाई जोगाउन सक्नु हुन्न रे ।
मटियानी निकै तल मधेशमा पर्छ । त्यहाँ धेरै गर्मी हुन्छ । औलो पनि लाग्छ ।
मितिः २०३६÷०१÷०१, सोमबार
देशमा अब बहुदल आउनुपर्छ । राजाको शासनमा जनताले धेरै दुःख पाइसकेका छन् । मेरा बड्डाले पनि गाउँमा धेरै थिचोमिचो गरेका छन् ।
गोकुल कान्छाको त उठिबास नै भयो । बहुदल आयो भने त्यस्ता निमुखाहरूको पनि आवाज सुनिनेछ । अर्को वर्ष त मेरो पूर्व मध्यमाको परीक्षा पनि सकिदैछ । त्यसपछि म मेरो गाउँ जान्छु ।
बड्डा कस्ता भए होलान् ? साइली दिदीको बिहे पो भयो कि ? कान्छी हजुरामाको लप्सीको रुख मासे कि छ होला ? यी सब सम्झँदा पनि कत्ति आनन्द आउँछ ।
मितिः २०३७÷०३÷०६, मंगलबार
भोलि म दोस्रोपटक आफ्नो गाउँ छाडेर जाँदैछु । जाँदैछु पनि के भन्नु, पुन: भाग्दै छु । तर यसपटक भने कहिल्यै नफर्किनेगरि, सदाका लागि ।
हाम्रा बड्डा बुढो भएछन्, जति सम्झउँदा पनि नसम्झिने । आज म घर आएको तिन महिना भइसक्यो तर म हरेक दिन असफल प्रयास गरिरहेको थिएँ, बड्डालाई आफ्ना कुरा बुझाउन ।
मलाई उत्तर मध्यमा अनि शास्त्री पनि पढ्नु छ । तर बड्डा भने बिहे गरेर गाउँमै बस भन्नुहुन्छ ।
बड्डालाई के थाहा सुनकोशी पारी अर्कै संसार छ भनेर ।
बेसीको जलजले खेत, गाउँको घर र बड्डाको उदेकलाग्दो राजनीति, यो सब चटक्क छाडेर म भोलि सबेरै काठमाडौँ जाँदैछु । बड्डाले ल्याइदिएको यो डायरी सा¥है सानो रहेछ, सायद उनको मन जत्रै । त्यही भएर होला यसको अन्तिम पाना भर्दै गर्दा बल्ल मेरो जीवन सुरु हुँदै छ ।
मितिः २०३७÷०६÷०२, सोमबार
आजबाट म २१ वर्षको भएँ । तर यो जन्मदिनमा मलाई डायरी किनेर ल्याइदिने कोही पनि छैन । यो नयाँ डायरी मैले आफै किनेर ल्याएको हुँ ।
काठमाडौँ आएको यत्तिका दिनपछि बल्ल मैले बाल्मीकी क्याम्पसमा भर्ना पाएँ । अब म मन लगाएर पढ्नेछु । सके आचार्य, नसके शास्त्रीसम्म त जसरी पनि पढ्ने लक्ष्य छ ।
ए ! काठमाडौँ आएर मैले सिनेमा खेलेको कुरा त झन्डै बिर्सिएछु । रोल पनि कति सजिलो । रानीपोखरी अगाडि किताब पढे जसरी उभिने,अनि हिरोनीलाई लखट्दै आएको गुण्डालाई छिर्केनी हानेर लडाइदिने । त्यसको बदलामा गुण्डाले उठेर एक झापड हान्नुपर्ने । बस्, त्यति एक झापड खाएको १५ रुपैयाँ पाइदोरहेछ ।
मितिः २०४५÷०१÷०५, बिहिबार
बड्डा, आज मैले विवाह गरेँ । यस्तो महत्वपूर्ण दिनमा पनि मैले चाहेर पनि तपाईलाई बोलाउन सक्दिन ।
आज मसँग शास्त्री उत्तिर्ण भएको सर्टिफिकेट छ । श्री ५ को सरकारको थाइ जागिर छ, सानो झुपडी बनाउँदै छु । तर यी सब भइरहँदा पनि म नितान्त एक्लो छु बड्डा । जीवनमा परिवार, गाउँ–ठाउँ र अभिभावकको महत्व आज आएर बुझ्दै छु । सायद यहि कुराले मलाई जीवनभरि नै पिरोलिरहनेछ ।
सिमालाई आफ्नी श्रीमती बनाउन पाउँदा आज म निकै खुसी छु । पद्यकन्या क्याम्पस भरिकै सबैभन्दा सुन्दर र शुसिल कन्या आज मैले पाएको छु , फणिन्द्र, नरेश र होमनाथ हात धोएर सिमाका पछि लागेका थिए । अब सबैभन्दा पहिलो काम भनेको तिनीहरूलाई बोलाएर धुमधामसित बिहेको भोज खुवाउनपर्नेछ ।
मितिः २०४६÷१२÷२६, आइतबार
हेर्दा हेर्दै आजवाट म पनि छोराको बाउ बने । सिमालाई बिहानै बाट सुत्केरी व्यथा लाग्न सुरु भएको थियो ।
तर शहरको ठाउँ, त्यहाँमाथि प्रजातन्त्र पुनःस्थापनाका लागि चलेको आन्दोलनका कारण लागेको कर्फ्यु । म पुरै आत्तिएको थिएँ । धन्न हाम्रो छिमेकमा डि.एस.पी. साब हुनुहुन्थ्यो, जसले तुरुन्तै आफ्नो भ्यान मगाएर टिचिङ अस्पताल पु¥याइदिनुभयो ।
बच्चा मलाई दिँदै गर्दा, लेबर वार्डकी नर्सले भनेकि थिइन्, “तपाईको छोरा त कस्तो क्रान्तिकारी दिनमा जन्मिएको, नाम चाहिँ बिप्लब राख्नुस् है ।”
सायद दैव संयोग हुनुपर्छ उता प्रजातन्त्र आएर बड्डाको शासन ढल्यो,यता क्रान्तिकारी नाती बिप्लब जन्मियो ।
मितिः २०६०÷१२÷२६, आइतबार
आजवाट बिप्लब १४ वर्षको भयो । उसको बर्थ डेमा, मैले उसलाई ठूलो र फराकिलो डायरी गिफ्ट दिएको छु ।
उसले पनि त्यो डायरीमा आफ्ना सम्पूर्ण कथाहरू लेखोस्, भोगाइहरू व्यक्त गरोस्, आफ्नोबाबुको लागि कविता लेखोस् । आज म संसारमा सबैभन्दा बढी कसैलाइ माया गर्छु भने, त्यो मेरो छोरा नै हो ।
जुठे मास्टरका कारण म गायब भएँ भन्ने थाह पाएपछि, किन जुठे मास्टरलाई बड्डाले गाउँ निकाला गरे भन्ने कुरा बल्ल आज म बुभ्दैछु ।
भागेको ६ वर्षपछि म घर फर्कदा, त्यसरी मलाई च्याप्प समातेर बड्डा, किन भकानिएका हुन भन्ने कुरा बल्ल आज चाल पाउँदै छु ।
पृथ्वी गोलो छ भनेर थाह पाउन सायद अन्तरीक्षमा पुगेर हेर्नु नपर्ने रहेछ ।
मितिः २०७३÷१०÷२८, शुक्रबार
आज मेरो छोरो ग्राजुयट हुँदैछ ।
ग्रयाजुयट के भन्नु, शरिरमा पखेँटा जोड्दै छ, एउटा यस्तो उडानको लागि जसको कल्पना मात्रैले पनि मेरो मन सिरिङ्ग गर्छ ।
बिप्लबको अमेरिका जाने कुराले सिमाका आँखा सुन्निएका निकै दिन हुन लागे । मैले अनिदो रात काटेको कति भो कति । तर चुपचाप मौन स्वीकृती जनाउनु बाहेक मसँग अर्को कुनै विकल्प पनि त छैन ।
म काठमाडौँ हिँडेको दुइ दिनपछि, मेरो बड्डाले पनि सदाका लागि यस संसारबाट बिदा लिनु भएको थियो । सायद म पनि बड्डा जस्तै........
(डायरी समाप्त)
"ओइ बिप्लब तँ अझै यहि होस्टलमै छस् । के यस्तो थोत्रो डायरीहरू पढेर बसेको ? २ बजे एम्बेसिमा इन्टरभ्यू भनेको होइन ?? छिटो जा !!"
साथीको बोलाइले उ झसङग हुन्छ ।
होस्टेलबाट त उ ठमठम बाहिर निस्कन्छ तर त्यसपछी भने उ निकै अलमलमा पर्छ ।
होस्टेल गेटबाट बायाँतिर एम्बेसी छ अनि दायाँ उसको घर ।
No comments:
Post a Comment