सरस्वती मया दृष्टा विणा पुस्तक धारिणी
ह्ंसबहानश्यामयुतm विद्या दान करो तुमे
ए दान, त्यो पनि को सरस्वतीसँग ?
सरस्वती जो चारैतिरबाट दानवले घेरिएकि छिन्
उसैसँग दान ,
दानव ब्रम्हा हुन् , दानव महेश्वर हुन्
दानव उनैका सँगी कुमार–गणेश पनि हुन ।
अनि कोसँग माग्ने त दान ?
ती बिचरी सरसोतीसँग
जो दानवरुपी मानवले घेरिएकि छिन् ।
ए एकैछिन है ,
यहाँ एकदम फरक छ , सरस्वती र सरसोती बिचमा,
ती देवि सरस्वती र यी सरसोती देवि ।
Ò
सरस्वतीका चार हात
दुइटामा विणा , एउटामा पुस्तक अनि अर्कोमा सिगार ।
अहँम , अहँम , के खोकी लाग्यो ?
सरस्वतीलाइ पनि यस्तै होकी–होकी जस्तै खोकी लागेको थियो ,
जब धेरै सानैमा पहिलो सर्को तानिन् ।
तान्न सिकाउने मित्र कुमार–गणेश ।
ती पार्वतीका अाँखा छलि
अनि शिवजीका न् र सिगारहरु
कुमार ल्याउँदथे
तिन छाक पुग्ने लौका जत्रो गणेशका नाक मुन्तिर
सिँगान बस्ने उमेरका सिगार बस्दथ्यो ।
एउटै खिली तिनजना मिलि–मिलि ।
Ò
जिहागे्र तसते वश्य ब्रम्ह रुप सरस्वती
ब्रम्हा , दानव ब्रम्हा पनि हुन ,
जसका अनेक रुप मध्य एक रुप अत्यन्त कुरुप थियो ।
त्यहि रुप जसले आफ्नै पुत्रि सरस्वतीलाइ
श्रीमती बनाउन खोज्यो ।
हो त्यस्तै दानव
सरसोती देविका बा , ठूलाबा र काकाबा पनि थिए ,
जसले पुस्तक बोक्ने उसको उमेरमा
पुस्ता बोक्ने जिम्मेवारी थमाइदियौ
हो सरसोती देविको विवाह भयो ।
Ò
सरसोती ए सरसोती विणा ले भनेको सुनिनस
उनका श्रिमानलाइ सबैरै विणा चाहिन्छ
विणा बज्दैनन् , विणा बल्दछन् ।
विणामा तार होइनन् , पाइप हुन्छन् ।
विणा तान्दा सा रे ग म धुन निस्कदैनन्
विणा तान्दा सा ले तँ म (टूँट) भावना जन्मन्छन् ।
सरसोती सबेरै चराले घ्यार–घुर नगर्दै
उठेर ठेकिका दहि घ्यार–घुर पार्थिन् र
उनका खसम छेउमै बसेर हुक्कामा चिलिम घ्यार–घुर पार्थे ।
उनीले उनीको लुगा उन्दै गर्दा
उनी चाहिँ पातमा सूर्ती बुन्दै हुन्थे ।
उनको शरिरका हर एक छिद«बाट पुत–पुत धुँवा निस्कन्थ्यो,
अनि त्यसै धुँवामा सरसोती दनदनी बल्दथिन्
तनैभरि अनि मनैभरि ।
Ò
सरस्वती गर–गहना मणि–माणिक्य केहि पनि नभएकि
एक मात्र देवि ,
सरसोती देविका पनि एउटै गहना थिएनन् ,
जति थिए , उनकै श्रिमानले सिध्याए
जुवा तास र तमाखुमा ।
सरस्वती सेतो कमलको फूल माथि
सेतै सारीमा सजिएकि देवि ।
सरसोती देविले पनि एक रात ,
आफूले सेतै सारी लगाएको सपना देखिन ।
सेतो धुवाँमा रमाउने उहाँलाइ
सेतै कात्रोमा लपेटिएको देखिन ।
जुरुक्क उठेर तिनै खसमसँग कसम माग्न खोजिन ,
तर हात चले पो , शरिर चले पो ।
त्यस सपनाले उनलाइ यस्तरी ऐँठन भयो ,
धेरैदिनसम्म त न उठ् न बैठन भयो ।
झार–फुक , तन्त्र–मन्त्र, जप–ध्यान ः
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा पूजिता
सा मां पातु सरस्वति भगवती निःशेषजाड्यापहा
निशेष भरमै सरस्वतीले सर्को तानेको
चर्को–चर्को स्वरमा देवराज इन्द«को सभामा गुञ्जियो
शिव गर्जिए तर पार्वती बोलिनन्
विष्णु बोले तर लक्ष्मी बोलिनन्
दक्षप्रजापति जङ्गिए तर प्रसूति मौन बसिन ।
“मौनम सम्मती लक्षणम् ”
आखिरमा सरस्वतीले सर्को तानेको पुष्टि भयो ।
अझ उनी त नेपाली सरस्वती
यस्तो देशकी सरस्वती जहाँ
विश्वका सबैभन्दा धेरै फिमेल स्मोकरहरु छन् ।
अँ त नेपाली सरस्वती
अँ के , सरस्वती नेपाली ।
Ò
भित्रबाट डाक्टरले नाम बोलाए ,
सरसोती देवि नेपाली ।
अस्पतालमा उनका घाँस काट्न जाने सँगीहरु
कुमार र गणेश पनि लमतान्न लडिरहेका थिए ।
डा अश्विनीकुमारको हातमा केहि कागजात थियो ः
बिरामी ः सरसोती देवि नेपाली
समस्या ः खोक्दा रगत आउने
शंका ः फोक्सोको क्यान्सर ।
No comments:
Post a Comment