प्रधानमन्त्री ज्यू सर्वप्रथम यहाँलाइ धेरै धेरै धन्यवाद । २७ दिन लाग्यो तपाइलाइ कुरा बुझाउन । तर ढिलै भएतापनि तपाइ हामीले उठाउँदै आएका मुद्धामा सकारात्मक हुनुभएको छ । यसपटक त झन मलाइ जुस खुवाउन सुवाष नेम्वाङ र विष्णु पौडेल पनि आउनु भएको थियो । तसर्थ म यसपटक धेरै नै आशावादी छु । त्यस घटनालाइ मैले , यो हाम्रो समग्र अभियानलाइ नै तपाइले ‘ओन’ गर्नु भएको रुपमा बुझेको छु ।
तर यति हुँदा–हुँदै पनि एउटा कुरा स्मरण गराउन चाहेँ । मैले आठौँ अनशन सुरु गर्नु पहिले पनि तपाइलाइ भेटि हाम्रो अभियानका बारे सम्पूर्ण कुराहरु बताएका थिएँ । तर कहिँ कतैबाट पनि सुनुवाइ नभइसकेपछि मैले अनशन बस्नु परेको थियो ।
यति मात्र होइन तपाइ समेत गरि मैलै यसै बैठक कक्षमा नेपालका छ जना प्रधानमन्त्रीहरुसँग भेट गरिसकेको छु । सबैजनाले मसँग उसैगरि माग पूरा गरिदिने प्रतिवद्धता पनि जनाउनु भएको छ । तर मैले पटकपटक धोका पाइसकेको छु ।
तपाइसँग समय छ भने प्रधानमन्त्री ज्यू आज म तपाइलाइ बताउँछु किन म यसरी पटकपटक अनशन बसिरहेछु । रहरले वा लहडले म अनशन बसेको होइन प्रधानमन्त्री ज्यू, कति छाती पोलिरहेछ भन्ने कुरा त मलाइ मात्र थाह छ ।
नेपालमा कुनै पनि जिल्ला छैनन् जहाँ म तिन पटक भन्दा कम गएको छु । मुगु र डोल्पा हुन सबैभन्दा कम गएका त्यो पनि तिनतिन पटक । अन्त त म धेरैपटक गएँ । दुर्गम पहाडी जिल्लामा जन्मिएपनि दक्षिण एसियाको सुविधा सम्मन्न अस्पतालबाट चिकित्सकीय पढाइ सम्पन्न गर्ने मौका पाएँ । युरोप र अष्ट्रेलियामा गएर आफ्नो सिप तिखार्ने मौका पाएँ ।
तसर्थ विश्वका विकसित भनिएका देशहरुमा के हुन्छन् र हाम्रो देशको शहर बजारदेखि कुना कन्दरासम्म स्वास्थ्य क्षेत्रमा के हुन्छ मैले नजिकबाट देख्ने मौका पाएको छु ।
मौका मिलेसम्म म देशका विभिन्न ठाउँहरु डुलेर त्यहाँका बिरामीहरुको सेवा गर्ने प्रयास गर्छु । गाउँ–गाउँ पुगेर त्यहाँका स्वास्थ्यकर्मीहरुलाइ आफूले जानेका सिप सिकाउने प्रयास गर्छु । तर प्रधानमन्त्री ज्यू अँजुलिमा भरेर लगेको पानीले कति नै जनाको तिर्खा मेट्न सकिँदो रहेछ र ! हो यसै कुराले हो मलाइ सबैभन्दा बढ्ता पोल्ने ।
सन् २०१२ को युनिसेफको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष चौबिस हजार भन्दा बढि ५ वर्ष मुनिका बालबालिकाले अकालमै ज्यान गुमाइरहेका छन् । हरेक चारदेखि छ घण्टाको विचमा एकजना सुत्केरी महिलाको मृत्यु हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा त यी सबै घटनाहरु देशका ग्रामिण भेगमा घटिरहेका छन् जहाँ कुल जनसंख्याको असि प्रतिशत मानिसहरुको बसोबास रहेको छ ।
यता बिस प्रतिशत जनसंख्या मात्र शहर बजारमा बस्छन् जसका लागि भने अनेकन सुविधासम्पन्न अस्पतालहरु खुलेका छन् । यति हुँदा हुँदै पनि तिनै शहर बजारका मध्य र निम्न वर्गीय जनताहरु समेत गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाबाट बन्चित हुँदै आएका छन् ।
हामी यतिन्जेल लड्दै आएको तिनै ग्रामिण भेगमा बस्ने मध्य र निम्न वर्गीय मानिसहरुका लागि हो । स्वास्थ्य क्षेत्र सेवा मुलक हुनपर्यो र देशै भरि तिनको न्यायोचित वितरण हुनपर्यो भन्नका लागि हो ।
हरेक सरकारले स्वास्थ्य क्षेत्रमा छुट्टाएको बजेटलाइ खर्चका रुपमा लिँदै आएको छ । तर त्यो त खर्च होइन प्रधानमन्त्री ज्यू लगानी हो । सरकारको दायित्व हो । अझ अहिले त दुइ तिहाइ बहुमतको कम्युनिस्ट सरकार छ । समाजवाद उन्मुख संविधान छ । संविधानमै स्वास्थ्य सबैको नैसर्गिक अधिकार भनेर लेखिएको छ । यस्तो अवस्थामा पनि सरकारले स्वास्थ्यलाइ उद्योगकै रुपमा हेर्नु अत्यन्त दुखद कुरा हो ।
स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनेको मेडिकल कलेज हो । तर यसैलाइ अहिले स्वाथ्यमा व्यापार गर्ने सबैभन्दा ठूलो अस्त्र बनाइएको छ । अस्पताल खोलेको एक वर्ष भएको हुँदैन सबैलाइ मेडिकल कलेज नै खोल्न हतार हुन्छ । अपोलो, एस्कर्ड, मेदान्त जस्ता प्रतिष्ठित अस्पतालहरु मेडिकल कलेज होइनन् । तर पनि तिनले गुणस्तरीय स्वास्थ्य सेवा दिनुका साथै नाफा नै गरिरहेका छन् ।
हाम्रो देशमा विचित्र छ । श्रिलंका दक्षिण एसियामै गुणस्तरीय स्वास्थ्य शिक्षाका लागि कहलिएको देश हो । साढेँ दुइ करोड जनसंख्या रहेको उक्त देशमा जम्मा आठ वटा मेडिकल कलेज छन् ती पनि जम्मै सरकारी । हाम्रोमा तिन करोड जनसंख्या छ जसका लागि २२ वटा मेडिकल कलेज संचालनमा छन् । त्यसमा पनि जम्मा तिन वटा सरकारी । आठ वटा मेडिकल कलेज त बनेपा समेत गरी काठमाडौ उपत्यकामा मात्रै छन् ।
प्रधानमन्त्री ज्यू अहिलेको अवस्थामा भए त म डाक्टर नै बन्न सक्ने थिइन । एमबिबिएस पढ्न ५०–६० लाख । एम.डी एम.एस का लागि अर्को ५०–६० लाख । अझ डि.एम एम.सिएच अध्ययनका लागि त झन करोडसम्म लिइन्छ रे । यत्ति पैसा तिर्न सक्ने मानिस नेपालमा कति होलान , ५ प्रतिशत ? तपाइ त देशकै अभिभावक । त्यसो हुदा बाँकी ९५ प्रतिशत जनसंख्यको हित हुने गरी कानुन निर्माण गर्नुहुनेछ मलाइ विश्वास छ । त्यसका लागि सरकारी मेडिकल कलेजहरु खोलिनुपर्छ ।
अन्यथा नलिनुहोला तर आजसम्म जो–जो प्रधानमन्त्री बन्नुभयो उहाँहरुले नै आफ्ना भेगका जनतालाइ उपेक्षा गरिरहनुभएको छ ।
तपाइको जन्मथलो तेह्रथुम तर त्यहाँ एउटा पनि ठूला स्वास्थ्य संस्थाहरु खुलेका छैनन् । त्यस भेगका जनताहरु स्वास्थ्य उपचार गराउन कि त भारतको सिलगुढि पुग्छन् या त धरान नभए काठमाडौँ नै आउनु पर्ने बाध्यता रहेको छ । त्यसैले हामी पटकपटक भनिरहेका छौँ , पूर्वका ताप्लेजुङ, पाँचथर , इलाम , संखुवासभा लगायतका जिल्लाहरुलाइ सुविधा हुनेगरी इलाम या त पाँचथरमा एउटा मेडिकल कलेज खोलौँ ।
देउवाजीको जन्मथलो भनेपनि कर्मथलो भनेपनि डडेलधुरा । तर उहाँ चार–चार पटकसम्म प्रधानमन्त्री बनिसक्दा पनि सुदुरपश्चिममा एउटा पनि सरकारी मेडिकल कलेज खुल्न सकेको छैन । डोटी र डडेल्धुराका जनता अझै पनि स्वास्थ्य उपचारका लागि भारत जान बाध्य छन् । हामीले नै अनशन बसेर गेटा मेडिकल कलेज खोल्न दबाब दियौँ । सुदुरपश्चिमका नौ जिल्ला समेटिने गरी खुल्ने भनेको त्यस कलेज पनि एकजना निजि मेडिकल कलेज संचालकको प्रभावमा परी अलपत्र परेको छ ।
यता प्रचण्डजीको उद्गम थलो नै रोल्पा । तर उहाँ स्वयम प्रधानमन्त्री हुँदा हामीले पटकपटक भेटि राप्तीमा मेडिकल कलेज खोल्न आग्रह गर्यौँ । तर उहाँले त सुनेको नसुनै गर्नुभयो । दाङमै पुगेर अनशन सुरु गर्न लागेपछि बल्ल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने सहमति बन्यो । उहाँले त रोल्पाका जनताका लागि वकालत गर्न पथ्र्योा तर उहाँ त एक जना व्यापारीको निजि फाइदाका लागि वकालत गरिरहनु भएको छ ।
यता सरकारी स्तरमा संचालनमा आइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्ने भनिएको पनि आठ वर्ष भइसक्यो तर आजसम्म कुनै सुरसार नै छैन ।
यत्तिका वर्ष भयो हामी लडेको । यो अन्तरालमा चिकित्सा शिक्षाका बारेमा धेरै रस्साकस्सीहरु भए । जुन ऐन आज संसदमा प्रस्तुत भएको छ , त्यसमा हामीले धेरै कम्प्रमाइज गरिसकेका छौँ । अझ यो भन्दा बढि कम्प्रमाइज गरे सो ऐन कुनै कोणबाट पनि विद्यार्थीमुखि र जनतामुखी बन्न सक्दैन र यो सरासर तिन करोड नेपालीका लागि धोका हुनेछ ।
यसपटकको सत्याग्रह प्रारम्भ गर्नु पहिले पनि हामीले शिक्षा मन्त्रीलाइ भेटि यसबारेका सबै कुरा बताएका थियौँ । तर उहाँले झुक्याउनु भएछ । हामीले नै भनेअनुसार संसदमा ऐन प्रस्तुत गर्छुृ भन्नु भएको थियो तर पेश गर्ने बेलामा त उहाँले त्यसमा यति धेरै तोडमोड गर्नुभयो कि हामीले जसका लागि लड्दै आएका थियौँ तिनको त अस्तित्व नै नामेट हुनेभयो ।
अन्तत यहाँको सरकारले ढिलै गरेर भएपनि सम्पूर्ण बुँदाहरुमा सहमति जनाएको छ । यो स्वागतयोग्य काम हो ।
म संसदीय मर्यादा र प्रक्रियाको सम्पूर्ण रुपमा सम्मान गर्छु । जनताहरुबाट निर्वाचित सांसदज्यूहरु प्रति मेरो अथाह विश्वास छ । थप छलफलका लागि विधेयक सायद संसदीय समितिमा गएको छ । छलफल होस । विचार विमर्श होस ।
तर दुइ तिहाइको सरकारले जुन सहमति हामीसँग गरेको छ, त्यसबाट व्याक हुनेछैन । र प्रधानमन्त्री ज्यू , मलाइ विश्वास छ यसपटक चिकित्सा शिक्षा ऐनले दिनको घाम देख्नेछ ।
( प्रधानमन्त्रीसँगको भेटमा डा.केसीले बताउनुभएको कुराको सम्पादित अंश )

No comments:
Post a Comment