साउन ३, बिहिवार बिहान ६ बजे
सदाझै आज पनि जुम्लामा हलुका पानी छिट्याइरहेको छ । डाँफे लेक भन्दा माथी बिस्तारै बादल फाट्दै छ । बिहानीमा चरा चुरुङ्गीहरु चिर्बिराउदै छन् । आज तीन दिन , तीन रात भयो जुम्लाबाट डा.केसीलाइ जबरजस्ती उडाउन हेलिकप्टर आउँदैछ भन्ने हल्ला चल्न थालेको । त्यही भएर पनि आज राती हामी ढोका लक गरेर सुतेका थियौँ । नारायण र म बडो चनाखो भएर सुत्थ्यौँ, कतै राती नै पो लैजाने होकी । दिउँसो त त्यहाँ पढ्ने विद्यार्थीहरु र भेट्न आउने शुभचिन्तकहरु भइहाल्थे , हलुका डर रातकै रहन्थ्यो ।
करिब साढे ६ बजेतिर काठमाडौबाट फोन आयो; गएराति नेकपाको आकस्मिक बैठक बसेको थियो रे जसमा डा.केसीलाइ जसरी हुन्छ काठमाडौ ल्याउने निर्णय भएको छ रे , तयारी अवस्थामा बस्नु ! खासै विश्वास लागेन किनभने दुई दिन अघि पनि यस्तै फोन काठमाडौबाट आएको थियो अनि हामी हतास हुँदै अस्पतालमा सयौँको संख्यामा जम्मा भएका थियौँ ।
डा.केसीको 'इन्स्टिन्क्ट' भने साह्रै गजबको छ । फोनमा भएको कुरा सुनाउनासाथ हामीलाइ भन्नुभयो , "आज मलाइ लिन हेलिकप्टर पक्का आउँछ तर म जान्न , म यहिँ बसेर लड्ने हो ।"
बिहान ७ बजे
हामीले सरको अडियो बनायौँ । बोल्दा उत्तेजित भएर मुटुको धड्कन बढ्ने भएकाले हामीसँग पनि उहाँ खासै बोल्नु भएको थिएन । जसो तसो अडियो त बन्यो तर जुम्लामा इन्टरनेट कहाँ त्यति सजिलै टिप्थ्यो र ! त्यति अडियो पठाउन माथी डाँडासम्म उक्लिन पर्यो ।
अडियो सम्बोधनमा डा.केसीले प्रष्टसँग आफ्नो कुरा बताउनु भएको थियो, आफू बिरामी नभइ अनशनमा रहेको र मर्नुपरे पनि चन्दननाथ बाबाको काखमा, तिला नदिको किनारमै मर्ने इच्छा व्यक्त गर्नु भएको थियो ।
अडियो काठमाडौसम्म त पुग्यो तर सत्ताको उन्मादले भरिएको सत्ताधारीका कानसम्म सायद पुग्न सकेन !
बिहान ८ बजे
चिया खान म , नारायण र किशोर बाहिर निस्किएका थियौं । खलंगा बजारमा आज हेलिकप्टर आउने कुरो त खरमा सल्किएको आगो जसरी सल्किसकेको रहेछ ।
चिया पसलमा स्थानीय काने खुशी गर्दै थिए, जुम्ला आउन लागेको हेलिकप्टर त औँसीको रातमा पनि उड्न सक्छ रे । कोही भन्दै थिए, प्लेन जत्रो हेलिकप्टर हुन्छ रे । हामी तिनै जना मुस्कुरायौँ । चिया पिउँदै हेलिकप्टर शिर्षकमा कविता पनि लेखियो ।
फर्किएर अस्पताल आउँदा स्थिती अर्कै बनिसकेको थियो । अरु दिनभन्दा अस्पतालमा मानिसहरुको चहलपहल ज्यादा नै थियो । पछि थाह भयो ती त बिना बर्दिका प्रहरी रहेछन् । बिरामीका आफन्त बनेर सिभिल ड्रेसका प्रहरीहरु अस्पताल भित्र पसिसकेका थिए । माथि टप फ्लोरदेखि तल ग्राउन्ड फ्लोरसम्म प्रहरीहरु तैनाथ थिए ।
बिहान ९ बजे
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यनरत एच.ए, ल्याब टेक्निसियन, एनेस्थेसिया, नर्सिङका विद्यार्थीहरुको कानसम्म पनि हेलिकप्टर आउने कुरा पुगिसकेको रहेछ । त्यस दिन सबैजना स्वतस्फुर्त रुपमा कक्षा कोठामा नगइ, अनशन स्थल तर्फ आए । सबैजना करिडोरमा जम्मा भएर बस्यौँ ।
डा.केसी अनशन बसेको स्थल अस्पतालको तेस्रो तल्लामा थियो र अनशन स्थलसम्म आइपुग्ने प्रमुख तीन बाटाहरु थिए । पुर्वतिर नर्सिङका विद्यार्थी थिए, पश्चिम तर्फ एच.ए का । तल मेन गेटमा चाहिँ नर्सिङका स्टाफहरु बस्नु भएको थियो ।
विद्यार्थीहरुले गेटमा चाबी लगाए । गेटमा टँसाएर डेस्क बेन्च राखे र आफू त्यसभन्दा पछाडी बसेर सबै नाकाहरु सम्पुर्ण रुपमा सिलबन्दी गरिदिए ।
सबैजना विश्वस्त थियौं, प्रहरीले अस्पताल भित्र पसेर कुनै पनि हालतमा बल प्रयोग गर्दैन । त्यसैले यत्तिको सिल बनाइसकेपछि डा.केसीसम्म सरकार पुग्न सक्दैनथ्यो । तर आजका दिनमा फर्किएर हेर्दा यस्तो लाग्छ कि सरकार हामीले अपनाउन सक्ने सम्पुर्ण सावधानीका बारे जानकार थियो र त्यसलाई काट्ने मास्टरप्लान राती नै नेकपाको आकस्मिक बैठकमा बनिसकेको थियो ।
बिहान १० बजे
अन्तत खलंगाको आकाशमा हेलिकप्टर देखा पर्यो । अनि हेलिकप्टरको आवाज सुनेसँगै सारा खलंगा बजार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुग्यो । जुम्ली आमाहरु जम्मा हुनथाले । भण्डारी गाउँ तल प्रतिष्ठान तर्फ ओर्लियो । गैरागाउँका दिदी बहिनिहरु मास्तिर उक्लिए । हेर्दाहेर्दै केही क्षणमै मानव सागर अस्पताल वरपर जम्मा भयो ।
बाहिर स्थानीयको अवरोध , भित्र विद्यार्थी , चिकित्सक र नर्सहरुको । यस्तो अवस्थामा डा.केसीलाइ जुम्लाबाट लैजान कुनै पनि हालतमा सम्भव नै थिएन ।
करिब साँढे दश तिर कर्णाली प्रदेशका मुख्य मन्त्री, गृह मन्त्री र नेपाल सरकारका सचिव अनशन स्थलमा आइपुगे ।
बिहान ११ बजे
डा.केसीको एउटै अडान थियो । सरकारले तोडमोड गरेर संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म म वार्ता गर्दिन । डा.केसीकै भावना अनुरुप हामीले सरकारका प्रतिनिधिहरुलाइ भित्र नजान आग्रह गर्यौँ ।
सुरुमा त जसरी पनि डा.केसीलाइ भेट्ने उहाँहरुको योजना थियो । तर वरपरको त्यत्रो मानवसागर र उनीहरुले डा.केसीको समर्थनमा लगाइरहेको नारा सुनिसकेपश्चात उहाँहरुको मुड फेरियो ।
सरकारका प्रतिनिधि व्याक भए । पहिलो घेरामा बसेका प्रहरीहरु पनि एकहद सम्म व्याक भए । स्थानीयले भिडन्त निम्तन नदिएकोमा आफ्ना मुख्य मन्त्री र गृहमन्त्रीका पक्षमा नाराबाजी पनि गरे । हात हल्लाएर आफ्ना जनप्रतिनिधिको स्वागत गरे ।
तर मुस्कुराउँदै निस्किएका जनप्रतिनिधि भित्रको क्रोध सायद जुम्ली जनताले पढ्न सकेनन । त्यसपछिको चार घण्टामा जेजे भयो ती सबै घटना जुम्ला र सारा कर्णाली कै इतिहासमा एउटा कालो धब्बाका रुपमा सदा रहनेछ ।
त्यसपछि जे भयो .....
सरकारका प्रतिनिधिहरु फर्किएसँगै, माथिको आदेश भन्दै स्थानीयको पहिलो घेरा टोडेर प्रहरी अस्पताल हातामा प्रवेश गर्यो ।
इमेर्जेन्सीकै बाहिर सबैभन्दा अघि ६-७ जना सिस्टरहरु हुनुहुन्थ्यो । प्रहरीको सबैभन्दा पहिले कुटाइ खानेमा उहाँहरु नै पर्नुभयो । हात खोलेर उहाँहरु माथी लाठी बजारियो । कसैको टाउकोमा लाग्यो, कसैको खुट्टामा , कसैलाइ कपालमा समातेर पछारियो कोही यसै भुइमा लडेर मुर्छा पर्नुभयो । ढोका छेउमै रहनु भएका एक चिकित्सक माथी दुई प्रहरी खनिए । उहाँको टाउको, ढाड र खुट्टामा चोट लागेको छ
त्यसपछी प्रहरीहरु सम्पुर्ण रुपमा अस्पताल भित्र प्रवेश गरे । बर्दी धारी प्रहरीहरु त्यसरी अस्पतालमा प्रवेश गरेर स्वास्थ्यकर्मीलाइ नै कुटपिट गरेको सायद यो नै पहिलो घटना थियो होला ।
आफ्ना साथीहरुले कुटाइ खान थालिसकेपछी विद्यार्थीहरु थप आक्रोशित भए । नाराबाजी गर्दै , कुर्सी र बेन्चहरु प्रहरी तर्फ प्रहार गर्न लागे ।
पश्चिम तर्फको गेट र सिलबन्दी तोड्न प्रहरीहरु सफल भए । छात्र-छात्रा केहि नभनिकन निर्ममतापुर्वक लाठी प्रहार भयो ।
विद्यार्थीहरुले बेन्च र कुर्सीले प्रतिकार गर्न थाले । यसैबिच प्रहरीले टियर ग्यासको प्रयोग गर्यो । वार्डमा रहेका बिरामी र कुरुवाहरुको भागाभाग भयो । टियर ग्यासको धुवाले अस्पतालमा रहेको फायर अर्लाम बज्न थाल्यो ।
एक समय यस्तो थियो कि अस्पताल भरी प्रहरी , टियर ग्यासका धुवाँ , ड्याङ र डुङ आवाज , फायर अर्लामको साइरन र चिच्याइरहेका विद्यार्थी । सायद रणभुमिमा यस्तै हुन्छ होला ।
विद्यार्थीहरु धमाधम घाइते भइरहेका थिए । कोही सिधै प्रहरीको पिटाइ खाएर , कोही अश्रुग्यासको प्रभावले त कोही त्यहाँको माहोलले धमाधम बेहोस भइरहेका थिए । एक समय त यस्तो आयो कि , बेहोस भएको एउटा विद्यार्थीलाई एकजनाले टाउको र अर्काले खुट्टा तर्फ बोकी रहेका थियौँ , तब खुट्टा तर्फ बोक्ने आफै बेहोस भए । जब बल्लतल्ल घिस्स्याएर दुवैलाइ इमेर्जेन्सिमा पुर्याइयो, इमेर्जेन्सी पुरै प्याक ।
डा.केसीको आन्दोलन मै सरिक भइरहदा, लोकमानले खटाएका प्रहरीको लौरी पनि खाइयो , बालुवाटरमा लखेटिएर पिटाइ पनि खाइयो, बानेश्वरमा प्रहरीसँग हातापाइ पनि भयो तर यत्तिको ज्याजती आजसम्म देखेको थिएन ।
करिब १२ बजे
प्रहरीहरुको जोस र आक्रोश देख्दा त्यसदिन अनशन मै रहनुभएका डा.केसी माथी पनि हातपात हुने सम्भावना देखियो । त्यसैले हामी केही साथिहरु डा.केसीको आडमै गयौँ । उहाँ रहनु भएको वार्डको ढोका भित्रबाट ढ्याप्प लगायौँ । साँचो लगाउने ठाउँमा तार बाध्यौँ अनि सम्पुर्ण झ्यालका चुकुल पनि लगायौँ ।
बाहिर विद्यार्थी र प्रहरी बिच भएको झडपका कारण डा.केसी सम्मै चर्का चर्का आवाजहरु आइरहेकै थिए । उहाँ मौन हुनुन्थ्यो तर उहाँको मनको भाव मनिटरमा दुरुस्तै देख्न सकिन्थ्यो , अत्याधिक बढेको मुटुको गतिले ।
केही क्षणमा बाहिर के भइरहेको छ, हामीले सब बतायौँ । त्यसपछाडी हो उहाँ भावुक हुन लाग्नु भयो । विद्यार्थी र प्रहरी घाइते भएको कुराले उहाँलाइ विक्षिप्त बनायो । एकछिन त बेकार भनिएछ जस्तो लाग्यो तर लुकाएर पो कसरी लुक्थ्यो र ! अस्पताल धुँवा-धुँवा भइसकेको थियो, अप्रिय आवाजहरु निरन्तर आइरहेका थिए ।
डा.केसीले रुदै यो सब रोक्न भन्नु भयो । आफू काठमाडौ जान तयार भएको कुरा पनि बताउनुभयो । तर भन्ने कसलाइ । हुँदै गरेको नरसंहार रोक्ने कसरी ?
सिडियो समक्ष डा.केसीको सन्देश पुर्याइयो । काठमाडौमा फोन गरेर शिक्षा मन्त्री समेतलाइ आग्रह गरियो । तर धेरै समयसम्म पनि कसैको केही चलेन ।
जस्तो किसिमको वातावरण बाहिर थियो, जस्ता आवाजहरु कोठा भित्र हाम्रा कानसम्म आइरहेका थिए , हामीले सोच्यौँ आज यहाँ ठुलै जनधनको क्षति भइसकेको छ । भाग्यवश कसैको ज्यान गएन !
दिनको २ बजे
डा.केसी काठमाडौ जान राजी भइसकेपछी २ बजेसम्ममा सम्पुर्ण प्रहरीहरु अस्पताल बाहिर गइसकेका थिए । प्रहरीहरू तर्फ पनि केही साथिइहरु घाइते हुनुभयो । एस.पिको हातमा चोट लागेको थियो, एक जवान छातिमा गम्भीर चोट लाग्यो भनेर इमेर्जेन्सिमै पुग्नुभयो ।
जति नै कुटाइ खाएपनी चिकित्सकहरुले आफ्नो धर्म भने छाडेनन् । त्यसैदिन मलाइ आफ्नो पेशाप्रति झन प्रघाढ माया बस्यो । आफ्नै टाउकोमा टाँका लगाएका चिकित्सकले घाइते प्रहरीको छातीमा टाँका लगाए । निर्घात कुटाइ खानु भएको सिस्टरले आफ्नै ब्लड दिएर प्रहरीको ज्यान बचाउनु भयो । आफैलै लाठी चार्ज भनेर आदेश दिएका एसपि साबलाई "डाइक्लोफिन्याक"को सुइ लगाउन तिनै चिकित्सकले भ्याए ।
डा.केसीले काठमाडौ जान्छु भनेसँगै भित्र त स्थिति सामान्य बन्दै थियो तर बाहिर भने जुम्ला वासीहरु झनझन आक्रोशित बनिरहेका थिए । उनीहरुले अब भन्न थालेका थिए , हामीले प्रहरीको यत्ती कुटाइ खायौँ अब कुनै पनि हालतमा डा.केसीलाइ यहाँबाट जान दिदैनौ । उहाँको माग हामी जुम्लाबाटै पूरा गराउनेछौँ ।
यसै बिच डा.केसीले अडान लिनुभयो , म काठमाडौ त जान्छु तर सरकारले ल्याएको हेलिकप्टरबाट होइन आफ्नै तरिकाले भोलि स्थिती सामान्य भएपछि मात्रै । बाहिर जम्मा भएका मानिस डा.केसीको यस प्रस्तावले कन्भिस्ड देखिन्थे ।
तर सरकार डा.केसीका कुनै पनि कुरा सुन्न तयार थिएन । सरकारका सबै निकायहरु नेकपाको अघिल्लो रात बसेको आक्स्मिक बैठकमा भएको निर्णयको शिरोधार्य गर्न तत्पर थिए । अर्थात जसरी हुन्छ त्यसदिन डा.केसीलाइ काठमाडौ उडाउनु थियो ।
त्यसपछी प्रशासनले नयाँ जुक्ति निकाल्यो । डिएसपिले एउटा माइकिङ गरे," हाम्रो एकजना साथी डाउन भइसकेका छन, हामी चुप बस्न हुदैन ।" प्रहरीहरु यो सुन्नासाथ आक्रोशित भए । तिनै डिएसपिले यता डा.केसीको कमजोरी माथी खेल्ने काम गरे ।
प्रशासनले राम्रोसँग बुझेको थियो, अस्पतालका विद्यार्थी वा स्थानीयलाई प्रहार गर्न सकियो भने डा.केसी गल्नेछ्न । त्यसैले डिएसपिले दस मिनेटको अल्टिमेटम दिए । "डा.साब तपाईं दस मिनेट भित्र जान तयार हुनु भएन भने हामी जम्मा भएका भिडमाथी फायर ओपन गर्नेछौँ ।"
यो भन्दा ज्यादा डा.केसीले सहन सकेनन् । अन्तत रुदै रुदै काठमाडौ जान राजी भए । पत्रकार सम्मेलन गर्दै जम्मा भएका स्थानीयलाइ उनले सम्झाए ," तपाइहरुले प्रहरीसँग लडेर मलाइ यहाँबाट जान त रोक्नु होला तर के को 'एक्स्पेन्समा' ? कति जनाको ज्यानको ज्यानको बलिदानिमा ? म कदापी चहान्न कि मेरो आन्दोलन हिंसात्मक होस ।"
दिनको ३ बजे
जति नै हिम्मतिला भएतापनी जुम्लीको मन भने सार्है कमलो रहेछ । डा.केसीलाइ विदाइ गर्ने बेला सबैको गहभरी आँसु थियो । केहिले त तुरुन्तै सयपत्रीको माला पनि गाँस्न भ्याए । अन्तमा कसैले पनि डा.केसीको माग पूरा गर भनेनन् । यतिका दिन सँगै बसिसकेपछी सत्याग्रहको चुरो कुरो सबैले बुझिसकेका थिए ।
त्यसैले त अस्पतालदेखि एरपोर्टसम्म डा.केसीलाइ विदाइ गर्न जाँदा सबैले एउटै नारा लगाइरहे ," हाम्रो माग पूरा गर , पूरा गर ।" !
***
आज घटना घटेको तीन दिन बितिसक्दा पनि जुम्ला विक्षिप्त छ । चिकित्सकहरु प्रशासनले अस्पताल हाता भित्र छिरेर गरेको ज्याजतीको माफी नमागेसम्म काममा नफर्किने बताइरहेका छन् । विद्यार्थीहरु अझै कति बेहोस नै छन् , कति घटना सम्झदै तर्सिरहेका छ्न । नर्सिङ महाविद्यालय लेखेको हलमा ताल्चा लागिरहेको छ । मुख्यमन्त्री घटना सुनियोजित भएको ठान्दछ्न , सबलाइ कार्वाही गर्ने धम्की दिइरहेका छन् ।
अन्तमा यस्तो भयो कि , कुटाइ खाने पनि नर्स र चिकित्सक अनि कार्वाहीको धम्की पाउने पनि बिचरा तिनै नर्स र चिकित्सक !
No comments:
Post a Comment