Search This Blog

Friday, April 7, 2017

कथा: गाइनेकोलोजिस्ट



"धेरै दिनदेखि भोकाएको एउटा बाघको गुफा भित्र तिनजना डाक्टर अकस्मात छिर्न पुगेछन् । तीनजना  मध्य एकजना गाइनेकोलोजिस्ट थिए, एकजना जनरल सर्जन र अर्का चाहिँ फिजिसियन। राजु, अब भन त को चाहिँ गुफाबाट बाहिर निस्कियो होला? "
बिहानीको जनरल ओपीडीमा सधैँको जस्तो आज पनि भिँडभाँड नै थियो। बिरामी, बिरामीका आफन्त, डाक्टर, नर्सिङ स्टाफ र अझ त्यहाँ माथी विद्यार्थी । परबाट झट्ट हेर्दा वातावरण कोलाहलमय   देखिन्थ्यो।तर यस्तै सिचुयसनमा, मनिषको  दिमागमा भने  झट्ट एउटा प्रस्न फुर्यो अनि त के चाहियो र उसलाई, साथीहरूलाई एउटा कुनामा जम्मा गर्यो अनि सोधिहाल्यो। एकछिन सबै अकमकिए। राजुले सबभन्दा पहिले मुख खोल्यो-" सायद सर्जन निस्कियो होला, उसँग ब्लेड, कैँची सबै हुन्छ, बाघको हलाल गर्न उसैले सक्छ।" होइन, होइन बाघ होकि बघिनी पहिला त्यो खुलाउनु पर्यो। समिरले मनिषलाइ बिचमै इन्टरप्ट गर्यो - 'बघिनी भए, गाइनेकोलोजिस्टलाइ सजिलो हुन्छ।'

सायद अलि पर बिरामी जाँचिरहनु भएको म्याडमको कानमा पनि  डिस्कसनको यो अंश परेछ क्यार, मुसुक्क मुस्कुराउँदै हुनुहुन्थ्यो । तर त्यस्तो भिँडभाँडमा पछाडि फर्केर विद्यार्थीलाई हल्ला नगर भन्ने टाइम   नै उहाँसँग कहाँ थियो र!  सरकारी अस्पतालको जनरल ओपीडी , त्यहाँ माथी म्याडमको पालो भनेपछि कति बिरामी आउँछन्, त्यसको लेखाजोखा नै गर्न सकिन्न।

सरिता दिदी सिन्धुलीदेखि आएकी थिइन् । एकैछिनको वार्तालाप पछि, म्याडमले ओपीडी कार्डमा लेख्न थाल्नु भयो। चिफ कम्प्लेन- अमिनोरिया फर टु मन्थ (अर्थात् महिनाबारी नभएको दुई महिना) । सरिता दिदिले पहिलै दुई छोरी जन्माइसकेकी थिइन् । त्यसपछि भने उनको लगातर दुई वटा गर्भ खेर गयो वा खेर पठाइयो । त्यसको रहस्य सरिता दिदीको आँखामा लुकेको थियो,जुन म्याडमले मात्र सुटुक्क पढ्नुभयो। तर के कुरा चाहिँ छर्लङ्ग थियो भने पटकपटकको गर्वले उनलाइ निकै कमजोर बनाइसकेको थियो। त्यसैले त यसपटक भने गर्व रहेको शंका लाग्न साथ उनका श्रीमानले नै काठमाडौ पठाएर कोही आफन्तकोमा रहि राम्रोसँग चेकअप गर्न बन्दोबस्त मिलाइदिएका थिए।

म्याडमले सरिता दिदीलाइ थोरोल्ली जाँच गर्नु भयो। आँखाको डिलमा शरीरमा रहेको रगतको मात्रा हेर्नू भयो। छातीमा स्टेथ राखेर मुटुको अवस्थाबारे बुझ्नु भयो , भित्र कोठामा लगेर पाठेघरको जाँच गर्नु भयो अनि रगत, पिसाब र अल्ट्रासाउन्ड जाँच गरेको रिपोर्ट लिएर अर्को पटक आउने सल्लाह दिनुभयो। सरिता दिदी पनि आफ्नो गर्वावस्थाबारे सम्पुर्ण कुरो लेखिएको गर्ववती कार्ड लिएर मक्ख पर्दै आफन्त कहाँ फर्किइन।

 कार्डमा लेखिएबमोजिम फोलिक एसिड चक्की खाँदै गर्दा, उनको कानमा म्याडमका वाणीहरु गुन्जिरहन्थे -' यसले चाहिँ तपाइको हुर्कदै गरेको बच्चाको विशेषगरी दिमाग र स्नायुको विकासमा सहयोग पुर्याउँछ, नियमित खानुहोला।' कहिलेकाही त उनी उत्तेजित भएर एकैचोटि दुइटा चक्की खान खोज्थिन ताकी अब जन्मने उनको सन्तानको विकास राम्रोसँग भएको होस र पहिलेका दुई छोरी जस्तै
अपाङ्ग नजन्मियोस। तर एकैछिनमा आफुले आफैलाइ सम्हाल्थिन अनि म्याडमले भनेअनुसार नै गर्थिन।

दोस्रोपटक अस्पताल पुग्दा उनको गर्व बार्ह हप्ताबाट उकालो लागिसकेको थियो। अहिलेसम्म प्रेसर नर्मल थियो, रगतमा सुगर सन्तुलित मात्रामा नै थियो अनि पिसाब वा रगतमा कुनै इन्फेक्सन देखिएको थिएन।यसपटक भने म्याडमले पेटमा पनि छामछुम पारेर जाँच गर्नु भयो अनि फोलिक एसिड बन्द गरेर आइरन- क्याल्सियम खाने सल्लाह दिनु भयो।

सायद गर्वावस्थाको सोर्हौँ हप्तामा थिइन् सरिता दिदी, एकदिन अचानक पेटमा बच्चा चलेको महसुस गरिन। उनलाइ त्यो क्षण औधी खुसी लाग्यो। हतारहतार आफ्नो श्रीमानलाइ टेलिफोन गरेर सुनाइन अनि दिनभर फुरुङ्ग परिरहिन। त्यस दिन उनलाई  आफ्नी आमाको पनि औधी याद आयो। कति मिहिनेतले उनलाइ जन्माइन अनि कति दुख-कष्टले हुर्काइन। फेरि आफ्ना ससाना छोरीहरुलाइ पनि सम्झिइन। आमा नभएको कुनै एउटा परिवारको कल्पना गरिन। उफ, कति अपुरो अनि छरपस्ट र लथालिङ्ग हुन्छ आमाबिनाको घर।

उनको लागि यो गर्व अति नै महत्वपूर्ण थियो। त्यसैले त उनी म्याडमले भनेको एकएक कुरा अक्षरंस पूरा गर्थिन। टिटी खोप लगाइन, भने-भनेको टाइममा अस्पताल गइन अनि आइरन-क्याल्सियम ट्याबलेट निरन्तर खाइरहिन। उनलाइ म्याडमले भनेका सबै कुरा याद थिए जस्तै रगत बग्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने, आँखा धमिलो देख्ने आदि भएमा तुरुन्तै अस्पताल जानुपर्छ भन्ने कुरा उनलाइ कन्ठस्थ नै थियो।

जतिजति दिनहरु बित्दै थिए, सरिता दिदीका प्रतीक्षाका पलहरु नजिकिदै थिए।

यता मनिष र उसका साथीहरूले भने गाइनेको पोस्टिङ सक्काएर, डर्मा, डेन्टलहुँदै साइकायट्रीसम्म पढ्न भ्याइसकेका थिए। सधैं ठ्ट्यौली प्रस्न गरिरहने मनिष , त्यस दिन भने पुरै गम खाएर मौन बसिरहेको थियो। राजुले आइस ब्रेक गर्यो- " के हो यस्तो दिनभर पूरा चुपचाप , लभ- सभ पर्यो कि क्या हो, हाम्रो देवदासको?"
'लभ होइन यार, ममिले दिनदिनै फोन गरिरहनु'भाछ, एकदम गार्हो भयो रे।
असाध्यै पेट र ढाड दुख्छ रे अनि आजभोलि त ब्लिडिङ पनि भइराखेको छ रे'।
'छिटो बोलाएर जचाइदे, उसो भए'।
'अँ त्यसै गर्नु पर्ला'।

काठमाडौ आइपुग्दा मनिषकी आमा त्यही समस्याका कारण दुई पाउकी भइसक्नु भएको थियो। मनिष आमालाइ लिएर हतारिदै फेरि म्याडमकोमा नै पुग्यो। म्याडमले सम्पुर्ण जाँच गराउनु भयो। अल्ट्रासाउन्ड , साइटोलोजी र अरु सबै रगत, पिसाबको रिपोर्ट आउन एकहप्ता जति लाग्यो।
 उसले सामान्य इन्फेक्सनको शंका गरेको थियो तर रिपोर्ट हेरिसकेपछी उ खङ्ग्रङ भयो। म्याडमले पनि चाँडो भन्दा चाँडो पाठेघरको अपरेसन गर्ने सल्लाह दिनुभयो। उसले  सबैकुरा गएर आमालाइ बतायो अनि यस शल्यक्रियाका बारेमा आफुले जाने जत्ती सरल भाषामा सम्झाइदियो। मनिषका बुवा, भाइदेखि बुढा भएका हजुरबुबा - हजुरामासमेत चिन्ताले आकुल हुनुभएको थियो। सायद हाम्रो घर, परिवार अनि समाजका असली खम्बा भनेका महिला नै हुन।

मनिषले धैरैवटा हिस्टेरेक्टोमी (पाठेघरको शल्यक्रिया ) देखिसकेको छ। उसले एकदिन सोचेको पनि थियो, मेडिकल लाइनमा आएपछि त यत्तिका मृत्युहरु देखियो, असंख्य पिडाहरु नजिकबाट हेरियो, पोस्टमार्टम गरियो, इमेर्जेन्सीमा अनेकन असामान्य अवस्थाको सामना गरियो अब त समवेदना भन्ने चिज यो मुटुमा कहिँ-कतै  छैन होला। तर अहँ, आफ्नी आमाको पेटमा छुरा चल्ने कुराले चाहिँ उसलाई सम्झदा पनि चसक्क गर्थ्यो।फेरि एकछिनपछी  त्यो ब्लेड म्याडमको हातमा भएको कल्पना गर्थ्यो जसको सम्झनाले पुनः उसको आँत रसिलो बनाउँथ्यो।

'आमा, उठ्नोस त। म मनिष , चिन्नु भो मलाइ?' 
पोस्ट अपरेटिभ वार्डमा ल्याएको निकै बेरपछी मात्र उहाँको पूरा होस खुल्यो। अपरेसन सक्सेस्फुल्ली गरिसकेर, म्याडम निस्किसक्नु भएको थियो। आमालाइ रुघ्ने चक्करमा, म्याडमलाइ थ्यान्क यु भन्न बिर्सेकोमा मनिषलाइ लाज लाग्यो र मनमनै भएपनी  धेरै धेरै धन्यवाद दियो। त्यसको केही दिनमा त मनिषकी आमा ठमठम हिँडेर घर जानू भएको थियो।

एकचोटि मनिष क्यान्टिनबाट निस्केको मात्र के थियो, म्याडमलाइ हतारिएर कुद्दै गरेको देख्यो। हुन'त मनिषलाइ अस्पताल भरीमै सबभन्दा दौडिरहने डिपार्टमेन्ट गाइनेकोलोजी हो जस्तो लाग्थ्यो तर पनि आज भने म्याडमको चालमा केही फरक अवस्य थियो। म्याडम सिधै लेबर रुममा छिर्नुभयो। मनिष पनि उहाँलाइ पछ्याउँदै - पछ्याउँदै त्यतै गयो। ओहो, भित्र त अत्यन्त अत्यासपुर्ण वातावरण बनिसकेको रहेछ। भएछ के भन्दा, बच्चाको टाउको निस्कनु पर्नेमा सुरुमै फुत्त हात पहिला बाहिर आएछ। त्यस्तो अवस्थामा सबैजना के गर्ने भन्नेमै अलमल परेपछी तुरुन्तै म्याडमलाइ बोलाइएको रहेछ।

बच्चाको निस्किएको हात झनझन निलो भइरहेको थियो। आमाको मुखबाट प्रसव वेदनाको चीत्कार डेलिबरी रुमभरि गुन्जीरहेको थियो। सबै एक-अर्काको मुखामुख गरिरहेका थिए। त्यस्तोमा म्याडमले हठात निर्णय गर्नु भयो, पाँच मिनेट भित्र सिजर (अपरेसन ) गरेर बच्चा निकाल्नपर्छ। अन्यथा बच्चा र आमा दुवैलाइ कुनैपनि बेला जे पनि हुन सक्छ। तुरुन्तै अपरेसनको तयारी भयो। 

मनिषले त्यसै मौकामा बिरामीको फाइल खोलेर हेर्यो। सुरुमै लेखिएको थियो-' सरिता लामा, सिन्धुली'।

सरिता दिदी अर्धचेत थिइन, आधा शरीर मात्र लट्याइएको अवस्थामा । उनले झलझली आफ्नो घर सम्झिइन। कतिखेर आमा आउलिन भनेर कुरेर बसिरहेका आफ्ना छोरीहरुलाइ सम्झिइन। आफ्नी श्रीमतीको प्रतीक्षा गरिरहेका लामा दाइलाइ सम्झिइन। नौ- नौ महिनासम्म गर्वमा हुर्काएको आफ्नो सन्तानलाइ सम्झिइन।
उनलाइ अब बाचिन्छ जस्तो पटक्कै लागेन र अन्तिमपटक संसार हेर्नका लागि सकिनसकी गरेर आँखा उघारिन। तर आँखा उघार्दा त म्याडम निकै चाँडो-चाँडो गरि आफ्ना  हातहरु उनको शरिरमाथी  नचाइरहनु भएको थियो।

केहिक्षणमा त अपरेसन थिएटर बाहिर उभिइरहेको मनिषले च्याँ गरेर बच्चा रोएको आवाज सुन्यो।

त्यति नै बेला उसले आफ्नो पोस्टिङको पहिलो दिनको प्रस्न सम्झियो। उसले बाघको गुफाबाट को निस्कियो होला भन्ने प्रस्नमा उत्तर दिएको थियो- जब भोकाएको बाघको गुफाभित्र गाइनेकोलोजिस्ट, जनरल सर्जन र फिजिसिएन पसे , अन्त्यमा त्यस गुफाबाट बाघ मात्र बाहिर निस्कियो।'
 तर उसलाइ आज जवाफ फेर्न मन लागेको छ। सबै बिधाको आ-आफ्नै महत्व छ तर कुनै कारणवश कोही एक मात्र निस्कने परिस्थिति आइहाल्यो भने चाहिँ, गाइनेकोलोजिस्ट नै बाहिर निस्कन पर्छ किनभने गाइनेकोलोजिस्टले हाम्रा आमाहरुलाइ बचाउँछ्न र जबसम्म आमाहरु बाचिँरहन्छ्न तबसम्म संसार बाँचिरहन्छ।




No comments:

Post a Comment