Search This Blog

Friday, October 20, 2017

पल्पसा मरेकी छैन –Palpasa is not yet dead !


दृश्यलाई के लाग्यो, पल्पसा त्यति सजिलै मारिइन ? के पल्पसा त्यति कमजोर भाग्य भएकि केटि थिइ जसको जीवन एक पलमै सकियो ?

सधैँ देखिएका र लेखिएका कुरा मात्र सत्य हुँदैनन् ।

 हो , पल्पसा मरेकी छैन । उसले त अझ धेरै बाच्नु छ । धेरै भोग्नु छ । र मर्नु भन्दा अघि यो पनि जान्नु छ कि दृश्य उसको लागि लायक नै थिएन ।

पल्पसाले दृश्यलाइ चिन्न सकिन अनि दृश्यले पल्पसालाइ बुझ्न सकेन । पल्पसा जो सानैदेखि पश्चिमि रहनसहन र “इस्टे टुगेदर” को संस्कृतिमा हुर्केकी थिइ , बोल्ड थिइ । के उ  हिन्दी फिलिमको सत्य सावित्री झै सदा दृश्यको यादमै सारा जिवन व्यतित गर्ने सोचमा थिइ ?

कदापी होइन , दृश्यले महिनौ वास्ता नगरिसकेको पृष्ठभुमिमा पल्पसा जो “ पोलिग्यामस रिलेसनशिप” देखेर हुर्केकी थिइ, चुप बस्ने मनस्थिति मै थिइन । त्यो रात पनि पल्पसा मसँग थिइ, जुन रात दृश्यले सोच्यो, पल्पसा मारिइन । अझ साचो भन्नुपर्दा , उ एक्लै पश्चिम पहाडको द्वन्द्वग्रस्त क्षेत्रमा डकुमेन्ट्री बनाउन गएकै थिइन । हामी दुवै त्यो प्रोजेक्टमा सँगै थियौँ ।

****
दृश्य उहि चित्रकार थियो, जसको बारेमा पल्पसाले मलाइ हाम्रो सम्बन्ध सुरु हुनुभन्दा पहिले नै बताइसकेकी थिइ । उ हरायो भन्ने कुरा सुनिसकेपछि मैले करिब २÷३ महिना विभिन्न स्रोतबाट उसको खोजी गरे तर उ कतै फेला परेन । मनमनै लाग्यो, द्वन्द्वको बेला छ , कतै क्रसफायरिङमा मरिसक्यो ।

 तर त्यो रात जब डकुमेन्ट्री सकेर हामी फर्कदै थियौँ, दृश्य हामी चढेकै बसमा आएर चढ्यो । सुरुमा त पल्पसा आत्तिएकी थिइ पछि मसँग अनुमती मागेर उसैको समिपमा गएर बसि । त्यस घटनाले मलाइ ठुलो बज्रपात भयो । लामो समय हराएर अचानक भेटिएको दृश्यप्रति पल्पसाले देखाएको आशक्ती मेरा लागी सानो चोट थिएन ।

****
पल्पसाको सुन्दरता, उसको व्यवहार, उसको सोच्ने तरिका ! ओहो ! मेरा लागि उ अक्सिजन भन्दा कम महत्वपूर्ण थिइन । हाम्रो पहिलो भेट न्युयोर्कमै भएको थियो । देशमा भविष्य नदेखेपछी म फिजिक्स पढ्न अमेरिका हानिएको थिएँ । पढ्दै सानो–तिनो जागिर पनि गर्थे ।

यसपटक भने धेरै दिनको कसरत पछि एउटा खैरेको आर्ट ग्यालरीमा जागिर पाएको थिएँ । चित्र बनाउन नजानेकाले नै बायोलोजी छाडेर फिजिक्स रोजेको मेर ालागी क्यानभास भन्नु कालो अक्षर भैसी बराबर नै थियो । तर दुइ÷चार दिनका पट्यारलाग्दा पलहरुपछी , मैले त्यस ग्यालरीमा जे देखे त्यो मेरालागी सानो खुसीको बहाव थिएन ।

एसियाली वर्णकै एक सुन्दर युवती घन्टौ त्यस ग्यालरीमा आएर घोत्लिरहन्थी । लामो कालो कपाल, हसिलो मुहार अनि फरासिलो स्वभाव, सायद “लभ एट फस्ट साइट” भन्ने कुरो सुनेको मात्रै थिएँ तर त्यसदिन आफैले महशुस गर्ने मौका पाएँ । आफ्नो धैर्यतालाइ मैले धेरैदिन कायम राख्न सकिन । फटाफट उसको समिपमा गएँ र मित्रताको हात अघी बढाएँ ।

“ हाइ आइ एम बिशाल फ्रम नेपाल, आइ वोर्क एट डिस ग्यालरी ।” मेरो वाक्य टुंगिन नपाउदै उसको मुहारमा कान्ति प्रज्वलित भैसकेको थियो । “ओ माइ गड, तपाईं नेपाली हो ? सो लक्की टु सी अ नेपालिज गाइ हेअर ।” मेरो नाम पल्पसा हो ।

मैले हात बढाएको थिएँ, उसले हग गर्न खोजी । मलाइ निकै अप्ठ्यारो लाग्यो ।

****
उ साझसम्म ग्यालरीमा बसेर चित्र हेर्थी । म भने उसलाइ मौका मिलेसम्म हेरिरहन्थे । पछि पछि हुदै गएपछी, हाम्रो मित्रता ग्यालरी भित्र मात्रै सिमित रहेन । न्युयोर्कका रेस्टुरेन्ट, पार्क अनि स्ट्रीटहरुमा हामी घन्टौ गफिन्थयौँ । वास्तमा हाम्रो सम्बन्ध झ्याङिदै थियो ।

आफ्नो कलाप्रतिको आशक्ती, घर परिवारसगँको टकराव, उसले लगभग सबैकुरा मलाइ नलुकाइ भन्थी । घरमा छोरीको विवाह पि.एच.डी गरेको केटासँग गरिदिने निर्णय भएको रहेछ तर पल्पसा आफ्नो स्वतन्त्रता चहान्थी । म मनमनै सोच्थे “फिजिक्समा पि.एच.डि सकेकै दिन तिम्रो हात माग्न तिम्रै घर आउनेछु मैया”। सायद फलाम तातिसकेको थियो, मौका बखत बिचार गरेर प्रहार गर्न मात्र बाकी थियो ।

अर्थात म संसारलाइ बताउन चहान्थेँ पल्पसा र मेरो सम्बन्धको बारेमा । उसलाइ पल्पसाबाट “मेरी पल्पसा” बनाउन चहान्थेँ, मात्र मेरी ।

****
 आज ग्यालरी जानु अघि सानो पत्र लेखेँ साथमा केही गुलाफहरु । सदाझै आज पनि ठिक ११ बजे ग्यालरी पुगे, पल्पसा २ बजे आउथिन । तर आजको दिन अरु दिनहरु भन्दा निकै फरक थियो, मुटुको गति बढिरहेको थियो तर समयले आफ्नो धर्म पट्क्कै छाडेको थिएन, मन्द मन्द आफ्नै गतिमा घडीको सुइ चलिरहेको थियो ।

४ बज्यो तर पनि पल्पसा आइपुगिन, लाग्यो केहि काम पर्यो होला । उसको मोबाइलमा सम्पर्क हुनसकेन । दिनहरु बिते, गुलाफ मुर्झायो, पत्रका मसि सुके तर किन हो पल्पसा आइन ।

सात दिनपछी आफुलाइ जेनि बताउने एकजना महिला ग्यालरीमा मलाई खोज्दै आइ । हस्याङ–फस्याङ गर्दै आफ्नो ब्यागबाट पत्र निकालेर मेरो हातमा थमाइदिइ अनि हावाको बेग जस्तैगरी त्यहाबाट अलप भइ । पल्पसाको पत्र रहेछ, एकै सासमा खामबाट झिके अनि पढ्न थालेँ ।

 आत्मीय मित्र भनेर सम्बोधन गरेकी रहिछ, जब पत्र सकियो म पुरै गले । करङको कापबाट रगत बगेर सिधै पैतालामा पुगेको भान भयो, हातगोडा लल्याक–लुलुक भए । उसले लेखेकी थिइ “घरमा धेरै नै टर्चर भएपछि नयाँ सिराबाट जिवन सुरु गर्न सदाका लागी नेपाल जादैछु । यो पत्र तिम्रो हातमा पर्दा सायद म काठमाडौमा ल्यान्ड गरिसकेकी हुनेछु । पछिल्ला दिनयता तिमिले हाम्रो मित्रतालाइ बिल्ड अप गरेर अर्कै नाम दिन लागेको मलाइ भान भइरहेछ । प्लिज मलाइ बिर्सिदेउ ।” निमेष भरमै मेरा सारा सपना भताभुङ्ग भए, मेरो प्रेम एकतर्फी मात्र रहेछ भन्ने प्रमाणित भयो । कयौं दिनसम्म निदाउन सकिन .

****
 एक बिहान मेरो मनमा अनौठो उर्जा जागृत भयो । नयाँ सोचले जन्म लियो । अमेरिकामै स्थायी रुपमा बस्न पाउँ भनी लिएको “पि.आर” को आवेदन फारम च्यातेर फालिदिए । म पल्पसालाइ फलो गर्न चहान्थे, मित्र भएरै सहि उसँग नजिक हुन चहान्थे किनभने मलाइ अर्कि पल्पसा फेरि कहि मिल्नेबाला थिएन । पढाइ र करिअरको पर्वाह गरिन अनि कसैलाइ सुइँकोसम्म पनि नदिइ म काठमाडौ फर्किए ।

****

 पल्पसा र म बिचको ग्याप महिनौको भइसकेको थियो । उपन्यासमा भनिए जस्तै यो बिचमा पल्पसा र दृश्य एक–अर्कासग नजिक भएका रहेछन् जसको सुइको मैले धेरै पछि मात्र पाएको थिएँ ।

तर भावीको लेखा पनि अचम्मको हुदोरहेछ । मैले काठमाडौ आएर फेरि पल्पसालाइ एपरोच गरेको समय त्यस्तो समय थियो जतिखेर दृश्यले पल्पसालाइ छाडेर अन्यन्त्र कतै हिंडेको थियो। उ पुन एक्लिएर अनि न्यास्रीएर फेरि अन्यत्र सिफ्ट हुने योजनामा थिइ । म काठमाडौ आएको थाह पाउनसाथ उ भक्कानिदै आएर मेरो अङ्गालोमा बाँधिइ । दृश्यसँगको सम्बन्ध अनि उसले दिएको धोका सब बेलिबिस्तार लगाइ । मैले पनि उसलाइ च्याप्प अङगालोमा बाँधे अनि तिमि एक्लो छैनौ भनेर ठुलो ढाडस दिँए । आखिरमा हाम्रो सम्बन्धले त्यही नाम पायो जसका लागी मैले आफ्नो करियर अनि भविस्य सब दाउमा लगाएको थिएँ ।

 एकदिन बिहानै पल्पसाले फोन गरी र झट्टै भेट्नु छ भनेर बोलाइ । अजङ्गको क्यामरा किनेकी रहिछ, द्वन्द्वको विषयमा डकुमेन्ट्री बनाउन लागेको र एकजना साथीको खाँचो भएको कुरो सुनाइ । म पल्पसासँग केहि समय बिताउन चहान्थँे, उसँग अझै नजिक हुन चहान्थँे । त्यसैले यस्तो सुनौलो मौका मैले खेर जान दिइन । अनि लाग्यौँ पश्चिम पहाडतिर ।

 ****

त्यस भयानक रात पल्पसा र उसको प्रिय चित्रकार दृश्य अगाडि सिटमा बसेका थिए, म भने अलि पछाडी थिएँ । गाडी टक्क रोकियो । कन्डक्टर भन्दै थिए, पिसाब फेर्न ओर्लनुस फेरि अगाडि गाडी रोकिदैन । दृश्य उठेर पिसाब फेर्न गयो ।

पल्पसा त्यसैबेला म निर आइ अनि अघि किनेको पानीको बोतल मागी । पानी सक्किएकाले मैले रित्तो बोतल थमाइदिएँ । उ बोतल लिएर पानी भर्न तल झरी ,म पनि पल्पसालाइ पछ्याउँदै बाहिर निस्किएँ । गाडीको एकातर्फ पिसाब फेर्नेको लर्को थियो, अर्कातर्फ पल्पसा र म धारामा पानी भरिरहेका थियौँ ।

त्यसपछिको घटनाक्रम उपन्यासमा वर्णन गरिए जस्तै थियो । प्रहरीको जिपलाइ लक्षित गरि थापिएको एम्बुसमा हामी चढेको गाडी पर्यो । त्यस्तो भयानक बिस्फोट मैले सायद चलचित्रमा पनि देखेको थिइन ।

दृश्यलाइ लाग्यो, पल्पसा बस भित्रै रहेका कारणले उ मारिइ । पल्पसालाइ लाग्यो दृश्य मर्यो, मलाइ लाग्यो ‘जार’ सक्कियो अनि “पल्पसा क्याफे” पढ्ने पाठकलाइ लाग्यो चोखो प्रेम मर्यो । तर वास्तमा हामी सबै भ्रममा बाँचिरहेका थियौँ ।

****
 अनेक प्रयत्न गरेर दृश्य मरिसकेको कुरा पल्पसालाइ सम्झाएँ । गुहेश्वोरीलाइ साक्षी राखी उसको सिहुदोमा सिन्दुर भरेँ । अमेरिका त्यागिदिएँ अनि शान्त र सौम्य जिन्दगी बिताइरहेको थिएँ ।

अचानक मेरो जिन्दगी एक उपन्यासले तहस नहस पारिदियो, सिर्फ एक झट्कामा । नारायण वाग्लेको कृती पल्पसा क्याफे आउनासाथ मैले त्यो पढेँ अनि दृश्य जिउँदै रहेको कुरा थाह पाएँ । पछि पुस्तकले मदन पुरस्कार पायो, अनि त पल्पसाबाट जति लुकाउन खोजेपनि सत्य लुकेन ।

 आज यो लेखिरहदा म टिचिङ अस्पतालको मानसिक रोग उपचार कक्षमा छु । पल्पसा बिक्षिप्त छिन् । डाक्टरहरु भन्छन् ,गहिरो सद्मा परेको छ, यस्तो बिरामीको बर्षौसम्म पनि होस नफर्किएका रेकर्डहरु छ्न । कति वर्ष कुर्नु हुन्छ विशाल जि ?

म फिस्स हास्दै भन्छु, म पल्पसालाइ वर्षौ त के, जुनि जुनि कुर्न सक्छु डाक्टर साब!

(नारायण वाग्लेको उपन्यास पल्पसा क्याफेमा आधारित)

Thursday, September 28, 2017

गजल


मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।

काम पर्दा आक्कल-झुक्कल घन्टी बज्थ्यो उसको  (२)
त्यही 'कामका' पाना  भित्र गुलाफ राखिनछु ।

शहर बजार टहलिदै कफी पिइयो कतिकति (२)
एउटै इस्ट्र  कपमा राखी जुठो साटिनछु ।

मध्य रातमा अनलाइन गफले काउकुती लाउँथ्यो (२)
भेट हुँदा गफका कुरा गर्न जानिनछु ।

‘असल मित्र’ मात्रै हामी जाने बेला तिम्ले भन्यौ (२)
दाल–भात खायो भोक टर्यो  ! तर ट्वाक्क बनिनछु ।

मित्रता र प्रेम बिच फरक देखिनछु
आफ्नै सम्झी तिम्लाइ छुट्टै पत्र लेखिनछु ।



Wednesday, September 27, 2017

शिक्षण अस्पतालमा पहिलो अनशन


(अनशन त्यसमाथि पनि झन शिक्षण अस्पताल भनिसकेपछि त सबैको मनमा एउटै नाम आउँछ , डा. गोविन्द केसी । तर डा.गोविन्द केसी भन्दा पहिले पनि आइओएममा अनशन बस्ने व्यतिm हुन प्रा.डा. भीष्मराज प्रसाई जसको रोचक वर्णन उनको आत्माकथा आफैलाइ फर्केर हेर्दा’ मा पढ्न पाइन्छ ।)

ओहो म त भूतले खाजा खाने बेलामा डिन भएको रहेछु । त्यो बेला २०४६ सालको आन्दोलनको पृष्ठभूमि बन्दै थियो । पञ्चायत विरोधी गतिविधि बढ्दै थियो । क्याम्पसमा कतिपय विद्यार्थी र प्राध्यापकहरु पठनपाठन भन्दा राजनितिमा बढि तल्लीन हुन थालेका थिए । राजनैतिक दलहरु प्रतिबन्धित भएकाले स्वतन्त्र विद्यार्थी युनियनका नाममा पार्टीका भ्रातृ संगठनहरु क्याम्पसमा सक्रिय थिए । प्रतिबन्धित राजनितिक पार्टीको टर्च बोकेर विद्यार्थी संगठनहरु तत्कालिन बेथिति,प्रशासनिक अस्तव्यस्तता र शैक्षिक समस्यालाइ निहुँ बनाएर क्याम्पसमा होहल्ला गरिरहेका थिए ।

२०४६ सालको आन्दोलन अघिका १० वर्षमा मुलुकका क्याम्पसहरुमा विद्यार्थी राजनिति उफानमा थियो । कांग्रेसको नेपाल विद्यार्थी संघ , कम्युनिष्टहरुको अनेरास्ववियू , पञ्चहरुको राष्ट्रिय विद्यार्थी मण्डल आदि । संगठनहरुले क्याम्पसहरुमा विद्यार्थी समस्याका नाममा राजनिति गरिरहेका थिए जसले क्याम्पसको पठनपाठन अवरुद्ध भइरहेको थियो । क्याम्पसहरुमा अस्थिरता , अनुशासनहिनता र अराजकता व्याप्त थियो ।
उता, त्रिविका प्राध्यापकहरुमा पनि राजनिति हावी भइसकेको थियो र उनीहरुको राजनिति हावा शिक्षण अस्पतालमा पनि घुसिसकेको थियो । प्राध्यापकहरु कोहि ‘प्रगतिशिल’ भएका थिए भने कोहि ‘प्रजातान्त्रिक’ । आफू परियो विशुद्ध सेवक । राजनितिको खेलमा नलागेको । त्यसैले भयो के भन्दा , कांग्रेस र कम्युनिष्ट पार्टीका प्राध्यापक र विद्यार्थीहरुले मलाइ यो पञ्चे डिन हो , यसलाइ डिनबाट हटाउनुपर्छ भन्न थाले । शुरुमै मेरो मार्गमा अवरोध खडा गरियो ।

तर त्यसमा पनि मत विभाजन भयो । एकथरीले मलाइ पञ्चे डिन हो निकाल्नुपर्छ भन्ने र अर्काथरीले उहाँ र उत्कृष्ट डिन हो निकाल्नु हुँदैन भन्ने । अन्तत ः मलाइ डिनबाट हटाउने कि राख्ने भन्ने विषयमा भोटिङ भयो । रोचक भनूँ या बिडम्बना , प्रतिनिधिसभाका माननीय सदस्यहरुले भोटिङ गरेर कुनै प्रधानमन्त्री चयन गरेझैँ शिक्षण अस्पतालका सम्पूर्ण डाक्टर र कर्मचारीहरुले मलाइ हटाउने कि राख्ने भन्ने विषयमा मतदान गर्नुपर्यो रे । मतदान हुँदा मेरो विपक्षमा जम्मा ९ मत खस्यो रे । त्यो अनौठो चुनावमा म करिबकरिब सर्वसम्मत रुपले विजय भएँ अरे । त्यसपछि कसैको केहि लागेन , मलाइ हटाउन खोज्नेहरु आफैँ पाखा लागे ।

यो त एउटा अड्चन थियो । यस्ता अड्चनहरु धेरै आए । म डिन भएर गएपछि पनि विभिन्न विद्यार्थी संगठनहरुले विभिन्न माग तेर्साएर घेराउ , तालाबन्दी र धर्ना आदि गर्दै आएका थिए ।

२०४६ साल फागुनको प्रसङ्ग हो ,एक दिन म आफ्नो कार्यलयमा जाँदा विद्यार्थीहरुको असहज गतिविधि पाएँ । करिब एक सय जना जति विद्यार्थी मेरो कार्यकक्ष बाहिर थुप्रिएका थिए । त्यति नै संख्यामा भित्र पनि विद्यार्थी थिए । जब म ती विद्यार्थीलाइ पन्छाउँदै आफ्नो सेक्रेटरीको कोठामा पुगेँ तब मैले आफ्नो कार्यकक्षको ढोका खुल्लै भएको पाएँ । आफ्नो कार्यकक्षमा प्रवेश गर्दा त दर्जनौँ विद्यार्थी फ्लोरमा बसिरहेका थिए र त्यहाँ कार्यलयमा कोहि स्टाफ थिएनन् ।

म सरासर डिनको कुर्सिमा गएर बसेँ ।

“के भो ? के भन्न आएका हौ ? सबै एकैचोटि यसरी आउने ?” , मैले भनेँ ।

“सर हामी आफ्ना माग राख्न आएका हौँ । सरले यी माग पूरा गर्छु भनेर सहि गर्नुपर्यो । सहि नगर्ने हो भने हामी तपाइलाइ घेराउ गर्छौ ।” विद्यार्थीको कुनै नाइकेले भने ।

केहिबेर उनीहरुलाइ फकाउने कोसिस गरेँ । उनीहरुका मागहरु केके हुन् , त्यसबारेमा बुझ्ने कोसिस गरेँ । उनीहरुका मागहरुमध्य ५० प्रतिशत राजनितिक प्रकृतिका थिए जसका बारेमा मैले कुरै गर्न चाहिन । म उनीहरुसँग शैक्षिक कार्यक्रम र प्रशासनिक प्रकृतिका मागहरुका बारेमा मात्र छलफल गर्ने पक्षमा थिएँ तर उनीहरुको उदेश्य अर्कै थियो । उनीहरु डिनलाइ हतोत्साहित पारेर आफ्ना सम्पूर्ण मागमा सहि गराउने योजनाले आएका थिए वा राजनैतिक आन्दोलनकै त्यो एउटा अंग थियो , मलाइ खासै थाहा भएन । जति सम्झाउँदा पनि विद्यार्थीहरु मेरो कार्यलयबाट टसको मस भएनन् ।

तीन घण्टा बित्यो । उनीहरुले इन्स्टिच्युटका अन्य कर्मचारीलाइ पनि भित्र प्रवेश गर्न दिएनन् , मलाइ पनि घेराउ गरिरहे । म गम्भिर अवस्थामा पुगेँ । विभिन्न ठाउँबाट मलाइ फोन आउन थाल्यो । म घेराउमा परेको घटनाका बारेमा चारैतिर खबर फैलियो । मेरो सुरक्षालाइ लिएर मेरा परिवारका सदस्यहरु बडो चिन्तित हुन थाले । मेरा भाइ बेनुपराज प्रसाई त्यतिबेला पञ्चायत तथा स्थानीय सहायकमन्त्री थिए । उनले गृहमन्त्रीलाइ मेरो अवस्थाका बारेमा जानकारी गराइसकेका थिए । सरकार बल प्रयोग गरेर मेरो उद्धार गर्ने भन्ने तयारी गर्दै थियो ।

मलाइ उद्धार गर्न सरकारले कुनै बल प्रयोग गर्नु पर्दैन । उत्पन्न परिस्थितिलाइ म आफ्नै तरिकाले हल गर्नेछु । मैले गृहका अधिकारीलाइ भनिदिएँ र क्याम्पसमा बल प्रयोग गर्न दिइनँ ।

दिउँसोतिर मलाइ लाग्यो कि अब यी विद्यार्थीहरुसँग बहस र वादविवाद गरेर समस्याको समाधान हुनेवाला छैन । अब अर्कै समाधान खोज्नुपर्ला ।

म मुसुक्क हाँसे । केहिबेर उनीहरुलाइ एक–दुइ चोटि जोक पनि सुनाएँ । केहिबेर पछि मैले भने “तिमीहरुको र मेरो सम्बन्ध अब अलिकति परिवर्तन गरुँ है । अब म पनि तिमीहरुसँगै लाग्छु”।

म आफ्नो कुर्सिबाट जुरुक्क उठेँ र विद्यार्थीहरुसँगै तल फ्लोरमा गएर बसेँ । “तिमीहरुलाइ केहि भन्नु छ भने म सुनिरहन्छु तर म तिमीहरुको कुराको कुनै मतलब गर्दिनँ”, मैले भनेँ ।

“हैन सर हाम्रा माग तपाइले सम्बोधन गर्नुपर्यो”, विद्यार्थीहरु कराए । तर म मौन भएँ , केहि बोलिन । कुनै ध्यान साधकझैँ हलचल नगरी चुपचाप दुवै आँखा बन्द गरिरहेँ । त्यसपछि भने बल विद्यार्थीहरुको कोटमा थियो । म उनीहरुको प्रतिक्रियाको प्रतिक्षामा थिएँ ।

साझँको पाँच बज्यो । अब भने विद्यार्थीहरुलाइ छटपटी हुन थाल्यो ।

साँझमा मैले घोषणा गरेँ ,“तिमीहरुले यो घेराउ कार्यक्रम रद्ध गरेर नगएसम्म म तिमीहरुसँग बोल्दिन र केहि खान्न पनि । मेरो प्रजातान्त्रिक हक खोस्ने तिमीहरुको व्यवहार विरुद्ध म भोक हड्ताल गर्छु ।”

मेरो घोषणाले विद्यार्थी , मेरी श्रीमती र अन्य आफन्तहरु आत्तिए । सबैलाइ मेरो चिन्ता हुन थाल्यो । हामी घेराउ गर्न आएको डिन आफैँ भोक हड्ताल गरिरहेको छ भन्दै विद्यार्थीहरुले चारैतिर खबर फैलाए । क्याम्पस हातामा प्रहरी प्रवेश गर्न दिनुपर्यो भनेर मलाइ सरकारबाट दबाब आउन थाल्यो तर पनि मैले क्याम्पस हातामा प्रहरीको प्रवेश हुन दिइन ।

रात परेपछि घेराउमा बसेका करिब ७० प्रतिशत विद्यार्थी त्यहाँबाट गए , तिनका नाइके मात्र बाँकी रहे । त्यसपछि भने इन्स्टिच्युटका अधिकारीहरु मेरो कोठामा मलाइ भेट्न आए । मैले उनीहरुलाइ तत्काल गइहाल्न भने  र उनीहरु पनि चुपचाप गइहाले ।

राति ८ बजे विद्यार्थी नेताहरुले होस्टेलमा मेरा लागी खाना तयार गराएका रहेछन् । त्यो खाना मेरो कार्यकक्षमा ल्याइयो । तर मैले खाना खान अस्विकार गरेँ र आफ्नो अडानमा दृढ रहेँ । मेरा लागी अब त्यो प्रतिष्ठाको विषय भइसकेको थियो ।

पहिलो दिन मैले केहि खाइन । दोस्रो दिन भने विद्यार्थीहरुको व्यवहार केहि नरम भयो । फेरि बिहान उनीहरुले मलाइ ब्रेकफास्टका लागि आग्रह गरे तर मैले मानिन ।

घेराउ कार्यक्रम बन्द भएको लिखित घोषणा गर अनिमात्र खान्छु । मैले भने ।

अब भने विद्यार्थीहरुलाइ बडा संकट पर्यो । उत्पन्न परिस्थितिका बारेमा आफ्ना राजनितिक गुरुहरुसँग सल्लाह गर्न गए । साँझपख विद्यार्थीहरुले आएर भने “सर, हामी यो घेराउ कार्यक्रम रद्ध गर्छौँ । त्यसको लिखित विज्ञप्ति पनि ल्याएका छौँ , तपाइले भोक हड्ताल तोड्नुपर्यो ।”

अन्ततः विद्यार्थीहरुले नै आन्दोलन फिर्ता लिएपछि मैले पनि ३६ घण्टापछि आफ्नो भोक हड्ताल तोडेँ ।

(प्रा.डा. भीष्मराज प्रसाईको किताब आफैलाइ फर्केर हेर्दाबाट )

प्रसाइ आइओएमका पूर्व डिन साथै शिक्षण अस्पतालका प्रथम डाइरेक्टर पनि हुन ।