गोरखपुरबाट दिल्ली हुँदै पहिलोपटक पटियाला पुग्दा बिहानीको ३ बजिसकेको थियो । तर रात जति नै छिप्पिसकेको भएतापनी हामी भने पुरा निस्फिक्री थियौँ । पहिलो त पन्जाबका व्यस्त रात्रीकालिन सडकहरु र त्यहाँ चौबिसै घन्टा चल्ने सार्वजनिक यातायात छदै थिए ,दोस्रो चाहिँ हामी पन्जाबी साथिकै साथ लागेर उसको देश घुम्न गएका थियौँ । त्यसैले छिप्पिसकेको रातले मनमा कुनै त्रास पैदा गर्न सकेको थिएन ।
सामान्यत तपाइको घरमा बिहानीको ३ बजे कोहि पाहुना आइपुगे के गर्नुहुन्छ ? सुत्नका लागि ओढ्ने–ओछ्याउने व्यवस्था गरिदिने अनि थप सत्कारका लागि बिहानीको प्रतीक्षा गर्ने ।
तर पटियालाले भने हामीलाइ बिहानीको ३ बजे नै चौरासी व्यन्जनले भव्य स्वागत गर्यो । यहाँ चौरासी व्यन्जनलाइ बिम्बका रुपमा प्रयोग गरिएको होइन, झन्डै–झन्डै गनेरै ८४ थरिका परिकार हाम्रा लागि तयार बनाइएको थियो । म त आफ्नो जिवनकालमै पहिलोपटक त्यति झिसमिसेमा पेट चर्कने गरि खाँदै थिएँ ।
बिहानीले दिनको संकेत गर्छ । हो , त्यस बिहानीले पनि हाम्रो पन्जाब बसाइँ र त्यस दौरान हाम्रा खान्कीबारे स्पष्ट संकेत गर्दै थियो ।
२० औँ शताब्दिकी प्रसिद्द लेखिका भर्जि्निया वुल्फ भन्छिन्, यदि तपाईंले राम्रोसँग खानु भएको छैन भने, तपाईं राम्रोसँग सोच्न सक्नुहुन्न , राम्रोसँग सुत्न सक्नुहुन्न न त राम्रोसँग प्रेम नै गर्न सक्नुहुनेछ । राजा अकबरले आफ्नो दरबारमा मिष्ठान्न भोजनका लागी मात्र ४०० भन्दा बढी भान्छेहरु नियुक्त गरेका थिए रे । बेलायती प्रधानमन्त्री विस्टन चर्चिल सबेरै पेट चर्कने गरि नखाएसम्म केहि काम गर्दैन थिए ।
****
पन्जाबीहरु पनि खानका अत्यन्त सौखिन । अरु कुरा जे होस खाने कुरामा कहिलै कम्प्रमाइज नगर्ने । दिनको सुरुवात पन्जाबी लस्सी, ’गोबीका परौठा’, परौठामा दल्नैपर्ने शुद्द देशी मख्खन,थरीथरीका अचार, अन्डाका परिकार,खुवा, पन्जिरी ( जौको पिठोबाट बनेको पन्जाबी परिकार ) , चिया आदिले हुन्थ्यो । त्यो पनि एउटा, दुइटा परौठा र एक, दुइ गिलास लस्सी खाएर उम्कन नपाइने , अनिवार्य थपिथपी खानै पर्ने ।
बेलुकी मख्खी (मकैको) रोटी, सर्सोका साग , चावल ,दाल , चिकेन सुप अनि सबै परिकारमा मिसाउनका लागि छुट्टै मख्खन । त्यति खाइसकेपछि उठ्ने बेलामा गुलाब–जामुन अनि फेरि चुठ्ने बेलामा पन्जाबी सुप ।
दिउँसो खाली मुख बसेको देख्नै नहुने मानौँ मुख चल्न रोकियो भने संसार पनि चल्न रोकिने छ । समोसा , पकौडा , चाप ( एक प्रकारको भेज सेकुवा ), आलुका परिकार , भुजिया आदिले दिनमा संसारलाइ चलायमान राख्दथ्यो ।
****
दिउँसो प्राय हामी पटियालाका शहर बजार अनि पुरातात्विक ठाउँहरु घुम्न निस्किन्थ्यौँ । एकदिन त एकजना साथीले असह्य भएर प्रस्ताव राख्यो:
“ पाजी आज हम घर नहि जायङ्गे, ठिक हे ?”
" पर क्यू भाइ, घर क्यू नहि जायङ्गे ? ”
“क्यू कि घर वाले ख्वा ख्वा कर मुजे मार डालेङ्गे ” उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावना चाहिँ पुरै टोलिकै त्यहि थियो ।
टाउकोमा पगरी नलगाएका नौला मानिस अनि त्यस माथि विदेशी पाहुना भनेर हामीले त्यहाँ राम्रै सत्कार पाएका थियौँ । तर पनि बिहान बेलुकी यसो घुम्न निस्कदा हामी भने सकेसम्म पाजीको आफन्त वा साथीको घरमा छिर्न खोज्दैनथ्यौँ ।जहाँ छिर्यो पेट चर्कनेगरि खानै पर्ने ।
केहि दिन अघि मात्रै राजदिपको घरमा घाटीसम्म आउनेगरि समोसा , लालमोहन अनि गाँजरको हलुवा खानु परेको हामी कसैले बिर्सिएका थिएनम । दोस्रोबाट तेस्रो लालमोहन प्लेटमा थपिदा त सातै जनाको हात आत्मासमर्पण गर्ने शैलिमा ठडिएको थियो ।
हाम्रो बसाइकै दौरान नयाँ वर्ष आयो जसको रौनकले सिङ्गो पन्जाब झुमेको थियो । चोक चोकमा नाँच्ने गाउनेहरुको ठूलो भिँड जम्मा भएको थियो अनि बजारका सयौँ स्टलहरुमा हजारौँ परिकारका खानेकुरा उपलब्ध थिए । घरमा हाम्रा लागि भनेर झन विशेष पाकवानहरु तयार भइरहेका थिए । जता गयो खाने र खुवाउने कुरा मात्रै ।
कतिकति खेर त साथीले "क्या गाना हे" भनेर गितको तारिफ गर्दा पनि गानालाइ खाना सुनेर " बस भाइ नहि खाना हे " भनेका उदाहारणहरु छ्न । समग्रमा भन्नुपर्दा पन्जाबले हाम्रा लागि एक किसिमको खाना आतङ्क नै सिर्जना गरिदिएको थियो ।
****
झन त्यसबेला हामी आश्चर्यचकित भयौँ जतिखेर उहाँहरु भन्दै हुनुहुन्थ्यो , पाहुना आएका छन् भनेर हामीले विशेष केहि पकाएका होइनौ । धेरै परिकार बनाएर खाने हाम्रो संस्कार नै हो । नभन्दै शहर , बजार अनि गल्लिहरुमा भेटिने हरएक पन्जाबीहरु खाए जस्तै अग्ला , हृष्ट , पुष्ट अनि फूर्तिला देखिन्थे ।
पन्जाबीहरुमा खाने संस्कृति विकास हुनुको मूख्य कारण उनीहरुको सबल कृषिकर्म नै हो । भारतमा १९६० को दशकमा हरित क्रान्ति अर्थात ग्रिन रिभोलुसन सम्पन्न भयो जसको नेतृत्व पन्जाबले नै गरेको थियो । प्रशस्त खेतियोग्य जमिन र अधिकांश मानिस कृषि पेशामै संलग्न रहँदा रहँदै पनि मनग्गे उत्पादन भने हुन सकिरहेको थिएन । तर पन्जाब सरकारले ६० को दशकमा हठात एउटा निर्णय मार्फत कृषि क्षेत्रमा व्यापक लगानी बढायो । मेक्सिकोबाट आफ्नो माटो सुहाउँदो अठार हजार टन गहुँका दानाहरु मगाएर कृषकहरुलाइ वितरण गर्यो । बिजुली , पानी र फर्टिलाइजरहरु लगभग निशुल्क रुपमा खेतबारीहरुमा उपलब्ध गरायो । फलस्वरुप पन्जाब आफूलाइ मात्र होइन सारा भारतलाइ पुग्ने अन्न उत्पादन गर्न सक्षम बन्यो ।
आज पनि त्यहाँका खेतियोग्य जमिनलाइ प्लटिङ गरेर बेच्न वा बसोबास गर्न निकै नै झन्झटिलो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । खेतबारीमा सरकारले निशुल्क बिजुली र सिचाइको व्यवस्था गरेको छ । हरेक मुख्य शहरहरुका वरिपरि ठूला ठूला नहरहरु देख्न सकिन्छ । कृषि औजार खरिद गर्न कृषकहरुले मनग्गे अनुदान पाएका छन् ।
त्यसैले त पन्जाब सिङ्गो राष्ट्रकै अन्नभण्डार बनेर उभिएको छ । तसर्थ भण्डारकै डाडु पुन्यू भएकाको भान्सामा अनेकथरि परिकार पाक्नु नौलो कुरो पनि त भएन ।
****
शाह जाले औरङ्गजेबलाइ बन्दि बनाउदै गर्दा उनकै रोजाइको एउटा मात्र अन्न खान दिनु भनि आदेश दिएका थिए रे । कुटिल औरङ्गजेबले चना मागे र आफ्नो निर्वासित जीवन चना मात्र खाएर बिताए ।
त्यो बाँच्नका लागि खाइएको खाना थियो ।
संसारमा आधाभन्दा बढी जनसंख्या (सायद) आजपनि बाच्नका लागी मात्र खान्छ । गिठ्ठा, भ्याकुर बटुलेर गुजारा गर्ने या अरुले फालेका जुठा खाना खाएर जिविका चलाउने सयौँ उदाहरण त हाम्रै वरिपरि प्रशस्तै छन् ।
कोहि हुन्छन् , रोग ब्याधिका कारण खानबाट बन्चित हुनेहरु ।
फेरि कोहि कोहि चाहिँ आफ्नो सिदान्त , धर्म , तपस्या या पेशाका कारण ठिक्क शरिर सुहाउँदो अड्कलेर खाने हुन्छन् ।
न्युनतम बाच्नका लागी पनि खान नपाउनेहरुका निम्ती खानु ज्यादै नै महत्वपूर्ण कर्म हो । त्यसमा कुनै दुइ मत नै रहेन । तर जो 'बाँचिरहेका' छन् उनिहरुका लागी खानु कत्तिको महत्वपूर्ण छ त ?
सन २००९ मा प्रकाशित जर्मन जर्नललाई आधार मान्ने हो भने , मानिस बिना खाना र पानी ८ देखि २१ दिनसम्म बाँच्न सक्छ र पानी मात्र पिएर दुई महिनासम्म । तर त्यति लामो समय भोकै बस्दा विभिन्न अङ्गहरुमा पर्ने असर भने भयावह छ । तसर्थ मानिसले बाँच्नका लागि खान पर्ने न्युनतम खाना भनेको वयस्क पुरुषका लागि १२०० क्यालोरी प्रतिदिन र वयस्क महिलाका लागि १८०० क्यालोरी प्रतिदिन हो । मानिसलाइ बाँच्नका लागि न्युनतम कति खाना चाहिन्छ भनेर विभिन्न साइन्टिफिक रिसर्चहरु भएका छन् , तिनैलाइ आधार बनाएर सुत्रहरु पनि बनेका छन् । उदाहारणका लागि पाँच फिट चार इन्च उचाइ र ६० केजी तौल भएकी ३० वर्षीय महिलालाइ प्रतिदिन न्युनतम १४१५ क्यालोरी शक्ति बाँच्नका लागि चाहिन्छ ।
सर्सर्ती हिसाब गर्दा, ठिक्कको एक थाल पाकेको भातमा ३०० क्यालोरी , एक कचौरा दालमा ३५० क्यालोरी , एउटा रोटी बराबर १०० क्यालोरी , बन्दाको तरकारी १२२ क्यालोरी , प्रती गोटा आलु १०० क्यालोरी र एउटा अन्डा बराबर १७३ क्यालोरी शक्ति हाम्रो शरिरले प्राप्त गर्दछ । अझ घिउ , मासु , दहि , मोहीमा छुट्टै थप क्यालोरी पाइन्छ । यसरी हेर्दा हामीले खाने एक छाक सामान्य खाना मात्रै पनि बाँच्नका लागि पर्याप्त छ ।
तर के हामी बाँच्नका लागि मात्र खान्छौँ त ? प्राय मानिसहरुका लागी खानु ,अझ मिठो खानु जीवनको महत्वपूर्ण कर्म हो । धेरैले तर्क गर्छन् 'यो सब गरेको खानकै लागी त हो ।' हुन पनि हो, हाम्रो शरिरको बनावट नै त्यस्तै छ । यो मेसिन रुपी शरीर चलेकै हामीले खाने खानाबाटै हो । खाएको खानालाइ घन्टौँ लगाएर पचायो , त्यसबाटै शक्ति सन्चय गर्यो , रगत मार्फत त्यही खानाबाटै सन्चित शक्तिलाइ कोसिकाहरुसम्म पुर्यायो अनि यो हड्डी र मांसपेशीहरुलाइ जिवित तुल्यायो ।
अझ मानिसले खान नछाडोस भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने , खाउ-खाउ लाग्ने ,मिठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरुले त झन खाने कर्मलाइ महत्वपूर्ण नै बनाइदिएका छन् ।
****
एकचोटि यसरी सोचौँ न , यदि मानिसले खानेकर्मलाइ आफ्नो सबैभन्दा न्युनतम प्राथमिकतामा राखे के हुन्छ ? (पुन: यस आलेखमा दुइ छाक खान धौधौ पर्ने समुदायको खानेकर्मका बारे चर्चा गरिएको छैन) ।
हामी मिठै खाउ भन्नका निम्ती असल/खराब जस्तो कार्य पनि गर्छौँ । खानैका लागि कतिपय ठाउँमा आफ्नो श्री, इतिश्री भुलिदिन्छौँ । दौडधुप , मारकाट , झैझगडा खानाकै लागी हुन्छन् । पापी पेटका अघि इमान र न्याय झुकेका सयौँ उदाहरण छन् ।
भनिन्छ मानिसको सृष्टि गर्दा उसलाइ भगवानले एउटा अर्ति दिनुभएको थियो रे , एकपटक खानु अनि तिन पटक नुहाउनु । तर मानिसले भने त्यसलाइ ठिक उल्टो बुझे, एकपटक नुहाउनु अनि तिनपटक खानु । फलस्वरूप , मानिसले आज खाना खानुलाइ नै जिवन ज्युनुको पर्याय बनाएका छन् ।
हो खानुपर्छ । मिठो मसिनो नै खानुपर्छ । पेट चर्कने गरि नै खानुपर्छ । बाँच्नका लागी मात्र होइन, स्वस्थ रहन अनि चुस्त दुरुस्त रहन पनि खानैपर्छ । तर हरेकदिन हरेक गाँस हाल्नु अघि एउटै प्रश्नको उत्तर खोज्न जरुरी छ :
के यो खाना मेरो इमान र परिश्रमको खाना हो ?
आखिर पन्जाबले हामीलाइ सिकाएको कुरो पनि त्यहि थियो, बडो इमानदारीका साथ कृषिकर्म गर्ने अनि आफ्नो परिश्रमको कमाइ उस्तै रइस पाराले खाने ।
तस्बिर : बिर अनमोल सिंह सन्धु , पटियाला ।