Search This Blog

Tuesday, July 17, 2018

कविता : हेलिकप्टर

यदि सक्छ
तिम्रो शासनसत्ताले यहाँ
हरेकदिन हेलिकप्टर उडाउन भने
यदि सक्छ उडाएर लान
मुगु, हुम्ला र डोल्पाबाट
हरएक अन्तिम अवस्थाका सुत्केरीलाई
भिरबाट लडी अङग-भङग भएका अशक्तलाई
मृत्युसँग लड्दै गरेका नवजात शिशुलाइ
यदि सक्छ भने
आज तयार छ
जुम्लाबाट एउटा हेलिकप्टर
तिम्रै प्रिय राजधानी तर्फ उड्नका लागि ।

यदि सक्छ
तिम्रो हेलिकप्टरले
दैलेख, कालिकोट र जाजरकोटका
हरएक घरमा
सिटामोलका चक्की पुर्याउन
जिवनजलका प्याकेट पुर्याउन
तिनै सिटामोल र जीवनजल घोल्न
सिकाउने स्वस्थ्यकर्मी पुर्याउन
तब तयार छ
एउटा हेलिकप्टर
तिमिले तोकेको ठाउँमा
अवतरण गर्न ।

यदि सक्छ
त्यो हेलिकप्टरले
दैलेखबाट घिउ लिएर
एच.ए पढ्न हिँडेको भाइलाई,
मुगुमा भेडा घिस्याउँदै
नर्सिङ पढ्न खुत्रुक्के
भर्दै गरेकी बहिनीलाइ
निशुल्क उडाएर
तिमीले खोजेकै
स्वयम्भू , झापा वा भैसेपाटीमा
सकुशल अवतरण गराउन ।
यदि सक्छ भने
आज तयार छ
जुम्लामा एउटा हेलिकप्टर
तिमीले भनेकै मार्गमा
उड्नका लागि ।

सरकार
तिमीले नचाहने
तर देशले खोजेको
संवृद्दि
जुम्लाले अठार दिनदेखि
बडो जतनले
जोगाइराखेको छ ।
खबरदार
हाम्रो संवृद्दिलाई
तिम्रो गिद्दे हेलिकप्टरमा
उडाउन नखोज ।

विशद दाहाल
जुम्ला







No comments:

Post a Comment