Search This Blog

Friday, March 8, 2019

मेची महाकाली साइकलमा सरर


“महेन्द्र  राजमार्गमा  धागो तानेको जस्तो सिधा र  सम्म बाटो छ ” नेपालकै पुरानो पन्च अष्ट नारायण साइकल पसल पुग्दा त्यहाँका संचालकले हामीलाइ यात्राका लागि यसरी हौस्याए ।

हुन पनि विगत एक वर्षमा जीवन यस्तै निरश अनि सम्म भएको थियो । एमबिबिएस अन्तिम वर्षको परीक्षाले जीवनका लगभग सम्पूर्ण रङ्गहरु फुस्रो तुल्याइदिएको थियो ।

अहिले सम्झदा पनि कहाली लाग्छ , तिन सय तेत्तिस दिनसम्म लगातार हरेक दिन एउटै रुटिन । बिहान जुरुक्क झिसमिसेमा उठ अनि आँखा मिच्दै दौडेर लाइब्रेरी पुग । दिनभरि किताबका ठेलिहरुसँग साउती मार्दै रमाउ । अनि राति १२ बजे लाइब्रेरी बन्द भएको जनाउसँगै निन्द्राले  टिलपिल भएका आँखा अनि निन्द्रैले  लरबराएका खुट्टाको अन्दाजै अन्दाजमा खाटसम्म आइपुग । अनि भोलि फेरि एकाबिहानै भालेको डाँकसँगै उठ्ने वाचाका साथ झुपुक्क निदाउ ।

खाना , खाजा अनि ट्वाइलेट जाने समय भन्नु नै जीवनमा सबैभन्दा लामा ब्रेकहरु हुन्थे । लाइब्रेरीका कुर्सीमा यसरी जमेर बसिएको थियो मानौँ एकैछिन पनि उठेर बाहिर निस्कदा ती कुर्सीहरु पुलकित भएर लामो सुस्केरा हाल्दथे । साच्चै जीवन यति सिधा र सम्म बनिसकेको थियो कि , किताबका पन्नामा छापिएका इसिजिका बाङ्गा–टिङ्गा धर्साहरु हेरेरै हामी रोमान्चित हुन्थ्यौँ ।

अन्ततः तिनै इसिजिका धर्साहरुले जीवनमा केहि बाङ्गो–टिङ्गो गर्ने सोच जन्मायो ।

छेउमा पढिरहेको सागर एकाएक पुरै युरेका स्टाइलमा भन्न थाल्यो – “जाँच सकिएपछि मेची महाकाली साइकल यात्रा गर्नुपर्छ ।” जसरी पहिलोपटक पुष्कर शाहले साइकलमा  विश्व भ्रमण गर्ने योजना सुनाउँदा , पुष्करेलाइ छ्याङ लागेछ भनेर उनका साथीहरुले अट्टाहास गरेका थिए , लगभग सागरको योजनाले पनि त्यस्तै नियति भोगिसकेको थियो ।

अचानक अलि परको टेबलमा बसेको दिवाकरले कान ठाडो बनायो । त्यसपछि त एक्लै भएपनि यात्रा गर्ने अठोट गरेको सागरको योजनाले मजबुत साथ पायो । केहि समय पछि योजनामा म पनि जोडिएँ । त्यसपछि भने हामीले समावेश गर्न चाहेका थुपै्र साथीहरु कोहि समय अभावका कारण , कोहि घरायसी उल्झनले त कोहि योजनाप्रतिकै अविश्वासका कारण छुट्न पुगे ।

एउटा प्रसिद्द अफ्रिकन भनाइ छ , “इफ यू वान्ट टु गो फास्ट गो अलोन बट इफ यू वान्ट टु गो फार गो टुगेदर ।” अर्थात यदि तिमीलाइ चाँडै जानु छ भने एक्लै जाउ तर टाढा जानु छ भने सबैलाइ साथ लिएर सँगै जाउ । हामीलाइ टाढा जानु थियो । त्यसैले पनि धेरै जनालाइ हाम्रो योजना सुनाइरह्यौ । अन्तत ः मेची महाकालीको मध्यविन्दुबाट चौँथो यात्री प्रकाश शर्मा जोडिन आइपुगे । यसरी तिन जनाले मेची पुलबाट सुरु गरेको यात्रा , महाकाली पुगेर चार भाइले टुङ्ग्यायौँ ।

ÒÒÒÒÒ

फाल्गुन २ गते दिउँसो १२ बजे बिर्तामोडमा टन्टलापुर घाम लागेको थियो । साइकलमा झुन्ड्याउने फ्लेक्स बनाउन बजार पुग्दा  यात्राको सुरुवातमै साह्रै नै न्यानो अभिवादन पाइहालियो । पसिनाले गन्जि लुथ्रुक्कै  भिजेछ । तर हामी यस्तै घाम–पानी , हावा–हुरी अनुभव गर्न त हिँडेका , हच्किने कुरै भएन । फेरि दिउँसो ३ बजे मेची पुल पुगेर यात्राको श्री गणेश जो गर्नु थियो ।

“तपाइहरुको नारा चाहिँ के हो ? ” फ्लेक्स डिजाइन गर्ने दिदिले सोध्नुभयो । तिन जनाकै मुखबाट एकैपटक निस्कियो , “स्वास्थ्यका लागि साइकल ।” तर यो संयोग भने थिएन । यात्राको उदेश्य र नारा पनि तिनै लाइब्रेरी बसाइका पट्यार लाग्दा दिनहरुमै हामीले सोचिसकेका थियौँ ।

अन्तिम परीक्षाको तयारी गरिरहँदा हामीले बुझिसकेका थियौँ डाक्टरको पगरी त्यसै आउँदैन , त्यो सँगसँगै समाजप्रतिको जिम्मेवारी पनि साथसाथै जोडिएर आउँछ । तसर्थ डाक्टर बन्दा नबन्दै सानै भएपनि  आफूले सकेको केहि गरौँ भनेर यात्राको सटिक उदेश्य बनायौँ –“ स्वास्थ्यका लागि साइकल । ”

यो बाहेक साइकलको प्रवद्र्धन गर्दै स्वच्छ हराबरा शहर अनि देशका विभिन्न ठाउँलाइ चिनाउँदै पर्यटनलाइ टेवा पुर्याउनु हाम्रो उदेश्य थियो । यतिन्जेल हाम्रो गनथन सुनिरहनु भएको डिजानिङकि दिदिले भन्नुभयो , “अहो तपाइहरुको त यात्रा होइन अभियान रहेछ , नाम फेरौँ मेची महाकाली साइकल अभियान राखौँ ।”

“होइन होइन दिदि अहिलेलाइ यात्रा नै राखौँ । हामी यात्री हौँ , अरुलाइ सुनाउनु भन्दा अरुका धेरै कुरा सुन्नु छ ।”

ÒÒÒÒ

                                                                  मेची पुल झापा

राइट ब्रदर्शले पहिलोपटक हवाइजहाज बनाइरहँदा , एक थरी मानिस भन्ने गर्थे , यो उड्नै सक्दैन । जब हवाइजहाज उड्यो तिनै मानिसले फेरि भने उड्न त उड्यो तर यो रोकिदैन ।

यात्राको योजना बन्दै गर्दा धेरैले भन्थे सुरु त गरेर देखाओ अनि पत्याउँला । धेरै लामो गन्थन– मन्थन अनि रस्साकस्सी पश्चात् फाल्गुन २ अर्थात् फेबु्रअरी १४ का दिन तिनजना तिन साइकल सहित मेची पुलमा पुग्दा छाती धक्क फुलेको थियो । हामीलाइ देखेर जम्मा भएका एक हुल मानिसले त्यहाँ फेरि भने , “भाइहरुले सुरु त गर्नुभयो , महाकालीसम्म साइकलमा पुग्न सकिएला त ?”

यहि प्रश्नको उत्तर खोज्न तिन भाइले नै एकैपटक साइकलको पाइडल चलायौँ दिनको ठिक तिन बजे देशको पूर्वी सिमाना काँकडभिट्टाबाट ।

ÒÒÒ

 बटौलीको फुल्की हजुर भद्रपुरको भक्का
मुस्कुरायौ जब तिमी मैले सम्झे पक्का

भक्का बनाउने उर्मिला काकी उमेरले ८० वर्षकि हुनुहुन्थ्यो । विर्तामोडमा बसेर उहाँले भक्का बनाउन थाल्नु भएको ठ्याक्कै यति भयो भनेर त भन्नसक्नु भएन तर त्यतिखेर राजमार्ग वरपर जंगल मात्रै थियो रे , यसरी घरहरु बनेका थिएनन रे । भर्खर विवाह गरेर आएदेखी भक्का बेच्न थालेको काकीको सारा जिन्दगी भक्का बेचेर नै गुज्रियो ।

अहिले छोराछोरी हुर्किए , सक्षम पनि भए । यो उमेरमा भक्का बेच्नु बाध्यता त होइन तर भक्कासँग उनको आत्मासम्मान जोडिएको छ । “ भक्का हाम्रो राजवंशीहरुको शान हो , बरु तपाइहरुको साइकल चलाउँदा देशै भरी भनिदिनोस न , भक्का खाए झन स्वस्थ भइन्छ भनेर ” उर्मिला काकी मुस्कुराइन । सायद यो उमेरमा पनि त्यो स्फुर्र्ती अनि त्यति मीठो मुस्कानको रहस्य पक्का पनि भक्का नै हुनपर्छ ।
                                             
                                                        विर्तामोडमा भक्का खादै

माइ खोलाको तिरैमा बसी....

बिहानीको भक्काले हामीलाइ झापा जिल्लाकै अर्को प्रसिद्द तिर्थस्थल माइसम्म पुर्यायो । इलामहुँदै झरेको माइखोला झापा आइपुग्दा कन्काइ बन्दोरहेछ । नेपालकै दास्रो लामो कन्काइ पुलमा हामीलाइ स्वागत गर्न हाम्रै व्याचका सरोज ताम्ली आइपुगिसकेका थिए , “ हैट मुले हाम्रो माइमा चुर्लुम्म नडुबेसम्म त तिमीहरुको यात्रा नै पूरा हुँदैन हो । ”

माइमा डुबुल्की हान्ने भनी जोसिएका हामी , खुट्टा डुबाउदैमा मात्र चिसोले तर्सिहाल्यौँ । त्यसपछि त के चाहियो र , सबैले एकै स्वरमा गुनगुनाउन थालियो , “माइ खोलाको तिरैमा बसी नछुटिने कसम खाको ... ।”

                                                           माइ खोला , झापा

पचास हजारको साइकल

हरेक पचास पाइडल मार्दा नमार्दै दिवाकरले एउटा कुरो सुनाइहाल्थ्यो , “मेरो त पचास हजारको साइकल ।” हुन पनि साइकल बेजोड कै थियो । बनावट र सहजताको हिसाबले हामी दुइको भन्दा विशिष्ट थियो । त्यतिमात्र होइन सात समुन्द्र पारी बसेको साथीले “मेरो पनि नेपाल घुम्ने ठूलो इच्छा थियो , पढ्न यता आइयो , मिलेन । मनग्गे घुमेर मेरो पनि इच्छा पूरा गरिदे है” भनेर उपहारस्वरुप पठाएको साइकल  आफैमा विशेष महत्वको हुने नै भयो ।

दमक पुग्दा नपुग्दै पचास हजारको साइकल बिच बाटोमै पहिलो पटक पंचर भयो । तिन भाइ मिलेर ट्युब फेरियो । त्यसपछि त के भयो कुन्नि पचास हजार भन्ने शब्द उच्चारण गरे पिच्छे नै साइकल पंचर हुन थाल्यो । यो सिलसिला दाङको लमही पुगुन्जेलसम्म जारी नै रह्यो । त्यसपछि न त दिवाकरले पचास हजारको साइकल भनेर उच्चारण गर्यो न त फेरि टायर पंचर नै भयो ।

                                                           पचास हजारको साइकल पन्चर भएपछी

साइकल रहर होइन बाध्यता

तेस्रो दिन विराटनगर स्थित सन्देश प्रधानको घरबाट राम शंकरको गाउँ बिसनपुर पुग्दा ११० किलोमिटर साइकल चलाइएछ । रामको घरमा राम्रै गफ लगाइयो । यत्तिका दुरी एकै दिनमा चलाएकोमा मन पनि गदगद भएको थियो । भोलिपल्ट सबेरै रामले एउटा इन्डियन स्टाइलको पुरानो साइकल देखाउँदै भन्यो, “म सानो छँदा , हरेक शुक्रबार बुवाले म र मेरो भाइलाइ इटहरीको स्कुलबाट घरसम्म यहि साइकलमा ल्याउनुहुन्थ्यो । ”

“सुन्दै छाती धक्क फुलेर आयो । इटहरीदेखिको दुरी लगभग १०० किलोमिटर हुन्थ्यो , त्यसमाथि एउटै साइकलमा तिन जना ।” हामी साइकल चलाउनपर्छ भन्ने सन्देश बोकेर हिँडेका , रामको बुबालाइ थप अरु केहि भन्न सकेनम । यति चलाएम र उति चलाएम भनेर अघिल्लो दिन दिएका ठूला–ठूला गफ सम्झेर आफैलाइ लाज लाग्यो ।

हामीले १५ दिनसम्म जहाँ–जहाँ साइकल चलायौँ , त्यहाँ साइकल रहर नभइ बाध्यता थियो । हर घरमा एक थान साइकल अनिवार्य जस्तै थियो । साइकल घाँस दाउरा , धनदेखि , विद्या आर्जन सबैको माध्यम थियो ।

                                                         साइकलमा एक बाबु दुइ छोरा

अपने गड्डी अर फेमिलि बहुत प्यारा हे सर ...

कोसी ब्यारेज कटेर भर्खर भर्खर हाम्रो साइकल प्रदेश २ मा प्रवेश गरेको थियो । दिउँसोको टन्टलापुर घाम , टिलिक्क टल्किएको चिल्लो सडक , वरपर गजबका धानखेत , आँखाले देखेसम्मै सिधा र सम्म हाइवे । साइकल चलाउन बिछट्टै मजा आइरहेको थियो ।

अलि पर हामीले एउटा रिक्सा जस्तै लाग्ने एउटा बहान देख्यौँ । उक्त बहानमा पछाडी एकजना महिला बसेकी थिइन । उनको काखमा दुइ साना नानीहरु थिए । अगाडिबाट एक युवक सकिनसकि बहान चलाइरहेका थिए । तिनको पाइडलमा खुट्टा अनि मुख सँगसँगै जस्तो चलिरहेको थियो । पछाडी बसेकी ति महिला अनि साना नानीहरु उनकै कुरा सुनेर गदगद थिए ।

उक्त  दृश्यले साह्रै लोभ्यायो । बातचित गर्ने हेतुले आफ्नो साइकल उनको नजिकै पुर्याएँ ।

“दाइ , ए क्या चिज हे ?”

“ए अपने गड्डी हे सर”

“अच्छा कहाँ जा रहे हो ?”

“सर आज छुट्टी हे ना , इस लिए अपने गड्डी पर बिबी अर बेटियोँको कोसी ब्यारेज देखाने ले आए थे । बहुत इन्जोए किया ।”

शहर बजारमा दौडने प्राडो र मर्सिडिज गाडी हुन । जसमा ति युवकको भावना र माया जोडिएको छ , त्यो गड्डी हो । सायद गड्डीमा जुन ‘इन्जोए’ छ त्यो गाडीमा कहाँ ?


                                                                गड्डीमा परिवारसहित


                                                       महेन्द्र राजमार्गमा भेटिएको साइकल लेन , प्रदेश १

                             
                                                            सत्य, सेवा , सुरक्षणम -दुहबी


                                                             कोसी ब्यारेज घुमेर हेर्दा




Sunday, October 21, 2018

स्वास्थ्यका लागि साइकल


”पुष्करेलाइ बल्ल छ्याङ लागेछ ।” पहिलोपटक साइकलबाट  विश्व भ्रमण गर्ने पुष्कर शाहको  घोषणालाइ उडाउँदै एउटाले भन्यो ।

फेरि अर्को बोलिहाल्यो , “बहुलाएछ यो । ” तर उनी भने  आफ्नो जीवनलाइ विश्व साइकल यात्राको त्रिपिटक बनाउन चहान्थे, बाइबल र कुरान बनाउन चहान्थे । छ्याङले नमात्ने उनका ग्याङका साथीहरु त्यहि माइतीघरको भट्टीमा इँटा थपिरहेका थिए । उनी भने निक्लिएँ विश्व भ्रमण गर्न , साइकलमा ।

साइकलमा पनि विश्व भ्रमण गर्न सकिन्छ त ?  कसैले नपत्याउँदा-नपत्याउँदै पनि अन्ततः एघार वर्ष , चार हजार पन्ध्र दिन र दुइ लाख एक्काइस हजार किलोमिटरको दुरि पार गर्दै पुष्कर शाहको साइकलले संसारलाइ साढेँ पाँच फन्को लगायो ।

*****

कुनै जमानामा यातायातको सबैभन्दा विशिष्ट साधन रहँदै आएको साइकललाइ अचेल भने विश्व बजारीकरण र आधुनिकरणसँगै हेयको दृष्टिले हेर्न थालिएको छ । सन् १८१७ मा जर्मन नागरिक कार्ल भोन ड्राइसले पहिलोपटक घोडाले नतानिकनै गुड्ने वस्तु बनाउँदा कत्रो उत्सव मनाइएको थियो । साइकल भएको मानिसको कत्रो इज्जत रहन्थ्यो । यता बेलायतमा वर्षेनि आयोजना हुने साइकल प्रतियोगितामा आफ्ना छोराका लागि हावा भएको टायर बनाएर गुडाइदिदा डनलपका छोराले अरु प्रतिस्पर्धीहरुलाइ कता हो कता पछि पार्न सफल भएका थिए । यसरी क्रमिक रुपमा साइकलको स्वरुप र इन्जिनियरिङमा परिवर्तनहरु भइरहेका छन् ।

नेपालमा भने साइकलको इतिहास त्यति लामो छैन । सन् १९२५ मा स्थापना भएको पञ्च अष्टनारायण साइकल पसललाइ नै नेपालको पहिलो आधिकारिक साइकल विक्रेता मानिदै आएको छ । तर त्यो भन्दा अघि नै तराइका विभिन्न जिल्लाहरुमा फाट्टफुट्ट साइकल देखा परिसकेको थियो । ती भूभागमा केहि समय अघिसम्म पनि साइकल छोटो र मध्यम दुरिको यात्राका लागि एकमात्र यातायातको साधन थियो । तर समयसँगै साइकलको प्रयोगमा धेरै हदसम्म कमि आइसकेको छ ।

यस्तै नियति १९६० को दशकमा साइकलको राजधानी मानिने नेदरल्यान्डले पनि भोगेको थियो । दोस्रो विश्व युद्द पछि जब मानिसहरुको जीवनस्तरमा क्रमिक रुपमा सुधार हुन थाल्यो तब मानिसहरुले धमाधम साइकल त्यागेर कार किन्न थाले । लगभग काठमाडौँ कै जस्तो भू–बनोट रहेको आम्सटरड्याम साइकलका लागि उपयुक्त  शहर हुँदा हुँदै पनि १९६० पछिका दिनमा साइकल अलोकप्रिय बन्दै थियो ।

 साइकलको संख्या घटेसँगै आम्सटरड्याममा तिन प्रमुख समस्याहरु देखिन थाले । शहरमा मस्तिष्कघात र ह्रृदयघातका बिरामीहरुको संख्या बढ्यो । देशले आफ्नो अर्थतन्त्रको गतिलो हिस्सा तेल आयातमा खर्च गर्न थाल्यो । अनि पेट्रोल , डिजल र मट्टितेलको प्रयोगसँगै सुन्दर शहर एकाएक प्रदुषित बन्न थाल्यो ।

तर नेदरल्यान्ड साँच्चै साइकल युगमा प्रवेश गरेको चाहिँ सन् १९७१ र ७३ का दुइ घटनाले नै हुन् ।  सडक दुर्घटनमा परी एकै वर्षमा ४०० भन्दा बढि बालबालिकाको मृत्यु भइसके पश्चात् “स्टप चाइल्ड मडर” अर्थात बालबालिकाको हत्या बन्द गर भनी स्थानीय जनता प्रदर्शनमा उत्रन थाले ।

त्यस्तै इजरायललाइ युद्दमा सघाएको आरोपमा , साउदी अरबले नेदरल्यान्ड माथि नाकाबन्दि लगायो । दिनानुदिन हुने प्रर्दशन र तेलमा भएको नाकाबन्दिले आजित भएका डच प्रधानमन्त्रीले सन् १९७३ मा विशेष सम्बोधन मार्फत आफ्ना जनतालाइ जीवनशैलि नै परिवर्तन गर्न आह्रान गरे । फलस्वरुप , नेदरल्यान्ड पुनः साइकल सिटि मै रुपान्तिरित भयो ।

आजका दिनमा , आठ मध्य सात डच नागरिक साइकल चलाउँछन् । बाइस हजार माइल त साइकल चलाउनकै लागि भनि बनाइएका साइकल पाथ रहेका छन् । त्यहाँका प्रधानमन्त्री मार्क रुटे साइकलमै चढेर राजदरबार पुगेको अनि कार्यलय जान आउन नै साइकल प्रयोग गरेका तस्बिरहरु बेलाबखत भाइरल हुने गरेका छन् ।

नेदरल्यान्ड मात्रै  होइन डेनमार्क , स्विडेन , नर्वे , बेलायत लगायतका विभिन्न यूरोपियन देशहरुले साइकलको फाइदा बुझी सक्दो आफूलाइ साइकल सिटिमा रुपान्तरित गराइरहेका छन् ।

स्वास्थ्यका लागि साइकल

सन् २०१४ मा प्रकाशित विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाइ आधार मान्ने हो भने नेपालामा हुने कुल मृत्युको ६० प्रतिशत कारण नसर्ने रोगहरु रहेका छन् । त्यसमा पनि डाइबेटिज , मुटुको रोग , क्यान्सर, दम  प्रमुख चुनौति बनिरहेका छन् । अझ परिवर्तित खानपिन र जीवनशैलिका कारण युवा वर्ग नै उच्च रक्तचाप र मधुमेहको जोखिममा पर्न थालेका छन् ।

यस्तो अवस्थामा साइकलका विभिन्न फाइदाहरुलाइ अङ्गिकार गर्दै यसको प्रवद्र्दन गर्न सके अकालमा हुने त्यस्ता मृत्यु केहि हदसम्म भएपनि न्यूनिकरण गर्न सकिन्थ्यो कि ।

१ मानसिक स्वास्थ्यमा सुधार

प्रसिद्ध साइकल यात्री ग्रायम ओब्री डिप्रेसनको सिकार भएका थिए । भनिन्छ तिनपटक सम्म त उनले आत्माहत्याकै प्रयास गरे । तर उनका अनुसार अन्ततः साइकलकै कारण उनले पुर्नजीवन पाए । हुन पनि साइकल चलाउँदा निस्कने ‘इन्ड्रोफिन’ र ‘एड्रिनालिन’ जस्ता हार्मोनले मस्तिष्कमा सहि र सकारात्मक परिवर्तहरुको संचार गराउँछन् ।

एक अध्ययनका अनुसार , दैनिक तिस मिनेटको साइकल यात्राले मानिसको स्मरणशक्ति , सोच्न सक्ने र योजना बनाउन सक्ने क्षमतामा व्यापक वृृद्धि गराउँछ । साइकलले आत्मविश्वास बढाउँछ । यति मात्र नभएर यदि तपाइ ‘इन्सोम्निया’ अर्थात निद्रा नपर्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने पनि साइकल यात्राले त्यसमा धेरै सहयोग पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।


२ मोटोपनको अचुक औषधी ः साइकल

 एक घण्टाको साइकल यात्रामा करिब ४०० देखि  १००० क्यालोरी कार्बोहाइड्रेट नष्ट हुन्छ । यसको अर्थ के हो भने यदि तपाइ नियमित रुपमा साइकल चलाउनुहुन्छ भने खानपानमा उति साह्रो पथपरेज नलगाइ पनि आफ्नो तौल घटाउन सक्नुहुनेछ । अझ महत्वपूर्ण कुरा त के छ भने , उति नै समय हिँड्ने र साइकल चलाउने दुइ बिचमा , हिँड्ने मानिसको तुलनामा साइकल चलाउने मानिसले लगभग दुइ गुणा ज्यादा क्यालोरी नष्ट गर्न सक्छ । हिँडदा भन्दा कुद्द्दा र कुद्ददा भन्दा साइकल चलाउँदा चाँडो तौल घटाउन सकिन्छ ।

साइकलको तुलनामा हिँड्दा वा कुद्दा शरिरको अतिरिक्त भार घुँडा र कुर्कुच्चामा पर्ने हुँदा तौल घटाउनका लागि कुद्नु भन्दा साइक्लिङ गर्नु थप फाइदा जनक मानिन्छ ।

यस्तै साइक्लिङ गर्दा पेटका मांसपेशीमा थप बल पुग्ने हुँदा, घटाउन सबैभन्दा गार्हो मानिने 'एबडोमिनल फ्याट' अर्थात पेटको बोसो सजिलै पग्लन्छ ।

३ मुटु रोगको जोखिम कम गर्न साइकल

ग्लास्गो यूनिभर्सिटिले झन्डै झन्डै पाँच वर्ष लगाएर करिब दुइ लाख साठी हजार जनामा गरेको अध्ययनले दैनिक रुपमा साइकल चलाउने व्यक्तिहरुमा मुटु रोगको जोखिम पचास प्रतिशतले कम हुने तथ्य बाहिर ल्याएको छ । सन् २०१८ को ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित सो अध्ययनले शहरी क्षेत्रमा तसर्थ साइकलको प्रयोग व्यापक रुपमा बढाउनु पर्ने कुरा पनि औँल्याइएको छ । साइकल चलाउँदा मुटुको धड्कन र रक्त संचार दुवै सन्तुलनमा रहन्छन्  जसले समग्र रक्त प्रणालीलाइ नै ठिक राख्न मदत पुर्याउँछ ।

यति हुँदा–हुँदै पनि लामो समयसम्म निरन्तर साइकल चलाउने कसैकसैमा भने मुटुको आकार ठूलो भइ ‘सडेन कार्डियाक अरेस्ट’ अर्थात अचानक मुटु बन्द हुने जोखिमपूर्ण अवस्था पनि देखिएको छ । तर साइकलले मुटुलाइ पुर्याउने फाइदाका तुलनामा यस्ता यदाकदा घट्ने जोखिमहरु नगन्य नै हुन्छन् ।

४ स्वस्थ फोक्सोका लागि साइकल

साइकलले दुइ तरिकाले हाम्रो फोक्सोलाइ फाइदा पुर्याउँछ । पहिलो त साइकलका कारण कम हुने वातावरणीय क्षति र प्रदूषणले फोक्सोलाइ सफा र स्वस्थ राख्न मदत गर्दछ । भनिन्छ गाडीको प्रयोग छाडेर प्रत्येक दिन दश किलोमिटर मात्रै पनि साइकलमा आवतजावत गर्ने हो भने प्रति व्यक्ति बराबर एक वर्षमा १५०० किलो कार्बन उत्सर्जन कम हुनेछ । साइकलको प्रयोगले इन्धनको खपतमा कमी आउनुका साथै धुवाँ, धूलो र प्रदुषण व्यापक रुपमा कम हुनेछ ।

दोस्रो भनेको साइकल चलाउँदा फोक्सोमा हुने रक्तसंचार र श्वासप्रश्वासले पनि यसलाइ स्वस्थ राख्न मदत पुर्याउँछ ।

५ जिमको विकल्प साइक्लिङ

स्वस्थ अनि स्फूर्त रहन साथै फिट देखिनका लागि अहिले ठूलो संख्यामा युवा जमात जिम सेन्टरहरु धाउने गरेका छन् । कुनै कारणवश यदि तपाइ जिम गर्न असमर्थ रहँदै आउनु भएको छ भने त्यसको भरपर्दो विकल्प साइक्लिङ हुनसक्छ ।

 साइकलको नियमित प्रयोगले तौल घटाउनुका साथै मांसपेशी र हड्डीको सन्तुलित विकासमा सहयोग पुर्याउँछ । विशेषगरी पेडलिङ गर्दा खुट्टामा र ओरालो झर्दा  हातमा बल पुग्ने हुदाँ साइक्लिङ गर्दा मांसपेशी कसिलो, सार्हो र मोटो बन्दछ ।

त्यस्तै साइकल चलाउँदा, मासंपेशीले हड्डीलाई तान्ने हुदाँ यसले  "बोन डेन्सिटी" बढाउन पनि मदत गर्दछ । समग्र रुपमा हड्डीको विकासमा पनि साइक्लिङले टेवा पुर्याउँछ ।

यी बाहेक पनि मस्तिष्कघातमा (स्ट्रोक) कमि आउने , मानिसको 'न्याभिगेसन स्किल' अर्थात भूगोललाई बुझ्न सक्ने क्षमतामा वृद्धि हुने , तार्किक क्षमता बढ्ने , यौन क्षमतामा वृद्धि हुने आदि फाइदाहरुबारे  विभिन्न अध्ययनहरु भएका छन् । यसका अलावा पनि रिसर्च नभएका साइकलका अनेकौँ फाइदाहरु छन् जसबारे विस्तृत अध्ययन र खोज हुन बाँकी नै छ ।


मेची-महाकाली साइकल यात्रा

साइकलका यिनै फाइदाहरुलाइ जनमानसमा पुर्याउन अझ अहिलेका युवाहरुलाइ साइकल तर्फ थप आकर्षित गर्न हामीले एउटा कठिन साइकल यात्रा गर्ने योजना बनाएका छौँ । "स्वास्थ्यका लागि साइकल" भन्ने प्रमुख नारा सहित  मेची पुलबाट प्रारम्भ गरिने  यात्रा महाकाली पुलमा  पुगेर समापन गर्ने योजना रहेको छ ।

पुष्कर शाहले शान्तिको सन्देश बोकी साइकलमै विश्व भ्रमण गरे । जम्मा तिनवटा साइकल, दुई सय सत्तरीवटा टायर, एक सय पन्चानब्बेवटा ट्युब , एक सय चालीसवटा चेन , छब्बिस जोडी प्याडल, चौधवटा हेल्मेट र त्रिपन्न जोडी पन्जा फेरेरै भएपनी उनले विश्व भ्रमण गरि छाडे ।

हामीले त यो भन्दा सार्है सानो सोचेका छौँ । मात्र केही सय युवालाइ साइकल प्रती आकर्षित गर्न सकियो भने पनि देशमा दिनानुदिन बढ्दै गएको दिर्घ रोग त्यही सयको हाराहारीमा भएपनी कम गर्न सकिन्थ्यो ।

झन भविष्यमा प्रमुख शहरहरुलाइ नै साइकल सिटि बनाउन सकियो भने त "सफा, सुन्दर र स्वस्थ" नेपाल बनाउने सबैको चहाना पनि पूरा हुने थियो ।






Saturday, October 13, 2018

कविता : आस

घण्टी,बजिहाल्छ कि भन्ने आस
मोबाइलको
घण्टा, बितिहालोस भन्ने आस
पर्खाइको ।

नकाब,एउटा उत्रिहालोस भन्ने आस
झुटको
धर्का, त्यो जोडिजावोस भन्ने आस
फुटको ।

पोते, एउटा उनियोस भन्ने आस
लगनको
गित, एउटा कोरियोस भन्ने आस
मिलनको ।

बादल, त्यो  नबर्सियोस भन्ने आस
आँसुको
खाडल, त्यो पुरियोस भन्ने आस
अविश्वासको ।

छाती, एउटा भइदियोस भन्ने आस
बेलुनको
पट्टि , एउटा देओस कसैले मलाइ
गान्धारीको ।