Search This Blog

Saturday, April 28, 2018

चाट


नमस्कार, यो महाराजगंज चाट क्याम्पस हो । यहाँ दक्ष तथा अनुभवि चाट विशेषज्ञहरु द्धारा पाइलैपिच्छे तपाइले अनिच्क्षाय बमोजिमका चाट पस्कने काम हुन्छ ।

चाटको इतिहास खोतल्दै जाने हो भने संसारमा सर्वप्रथम चाट खाने पात्रहरु पाण्डव हुन त्यो पनि द्रौपदीको हातबाट (हैट, सिरियस कुरो हो नहासौँ न) । भनिन्छ एकदिन महारानी कुन्तिले आफ्नी बुहारी द्रौपदीको व्यवस्थापन गर्न सक्ने क्षमताको परीक्षा लिने विचार गरिन । उनले केहि टुक्रा आलुहरु र गहुँको पिठो दिदै आफ्ना सबै पतिहरुलाइ मनपर्ने खाना खुवाउन भनिन । फलत ः द्रौ पदीले सबै परिकारहरुलाइ मिसमास पारिन र चाटको आविष्कार गरिन ।

चाट शब्द ‘चाट्नु’ बाट अपभ्रंशहुदै बनेको हो । अर्थात यो परिकार यति स्वादिष्ट हुन्छ कि तपाइ आफ्ना औँला या ओठ नचाटि बस्नै सक्नुहुन्न । फेरि यसमा मसला र खुर्सानीको अधिकतम प्रयोग गरिएको हुन्छ , जसले गर्दा सामान्य खाना भन्दा यो तिख्खरो हुन्छ । अझ महत्वपूर्ण कुरा त के छ भने जस्तै भोकाएको मान्छे पनि एक प्लेट चाट खाएपछि त अघाउँछ, अघाउँछ । चाट खानुको अर्को फाइदा भनेको एउटै पैसामा तपाइले धेरै परिकारको स्वाद चाख्न पाउनुहुनेछ । यत्ति भनिसकेपछि अब सबैले बुझिसक्नु भयो होला चाट सामान्य मानिसले, सामान्य तरिकाले , सामान्य परिस्थितिमा खाने सामान्य परिकार हुँदै होइन । चाट एक विशिष्ट खाना हो ।

तर बिडम्बना यति विशिष्ट खाना हुँदाहुँदै पनि आइओएम भित्र भने सितिमिति कुनैपनि क्यान्टिनमा चाट बन्दैन । क्याम्पस बाहिर पनि यत्तिका वर्ष भयो कसैले आँट गरेर चाट हाउस खोल्न सकेका छैनन् । कारण सजिलो र स्पष्ट छ । क्लासमा , पोस्टिङमा ,ड्युटिमा , लाइब्रेरीमा, पे्रजेनटेसनमा  अनि होस्टेलका रुमरुममा समेत सालभर ‘ट्वान्टि फो सेभेन’ चाट मात्रै खाने विचरा बबुरो÷बबुरी कुन स्वादका लागि फेरि चाट किनिकिनी खाओस ।

तसर्थ यस आलेखको एकमात्र उदेश्य भनेको आइओएम भित्र बन्ने विभिन्न किसिमका चाटहरुको चर्चा गर्नु नै हो । यदि तपाइहरुले पनि तलका मध्य कुनै चाट खाने सुअवसर प्राप्त गर्नु भएको छ भने ममः भनेर घुटुक्क थुक निल्नु होला ।


स्विट चाट

यो चाट परिवारमा म्युटेसन भएर जन्मिएको चाट हो । त्यसैले त यो अरु चाटहरु भन्दा निकै नै भिन्न छ । चाट भएर पनि एकदम गुलियो छ , मिठो छ । तर बिडम्बना, सात वर्षे आइओएम बसाइका दौरान यस्तो चाट सुरुका केहि महिना मात्र खान पाइन्छ ।  तर यदि तपाइ लेडिज हुनुहुन्छ भने चाहिँ स्विट चाटको एक्सटेन्डेड भर्सन खान पाउनुहुनेछ अर्थात अर्को व्याच नआउन्जेलसम्म , सालभर  (बट कन्डिसन्स अप्लाइ) ।

स्विट चाट विशेषत सिनियरहरुले खुवाउँछन् । यो चाट कलेज भएका कारण अन्त मेडिकल कलेजमा जस्तो यहाँ ¥यागिङ हुँदैन । बरु ¥यागिङको सट्टामा नयाँ आउने विद्यार्थीहरुको भव्य स्वागत हुन्छ त्यो पनि विथ स्विट चाट । यस्तो चाट एल्लो बिल्डिङ रुम नम्बर नाइन , बेसिक साइन्स लेक्चर हल , हाम्रो मेस , कफि सप , मोमो म्याजिक , टिट्स–बिट्स, हेपाटाइटिस भ्याक्सिन , फस्ट एड ट्रेनिङ आदिमा महिना, दुइ महिनासम्म चलिरहन्छ ।

स्विट चाट नाम जत्तिको स्विट भने अलि हुदैन । समोसाका पत्र भित्र स्वार्थ लुकेका हुन सक्छन् । दहिको सेतो लेपनले खुवाउनेको कालो मनलाइ छोपेको हुन सक्छ । तर यसको चिन्ता पटक्कै लिनुपर्दैन । मज्जाले खानोस अनि पचाइदिनुस । आखिर स्विट चाटमा नुन हुदैन । त्यसैले ख्वाउनेको नुनको सोजो गर्नुपर्छ भन्ने पनि छैन ।

उहि बाजेको पुरानो चाट

यो सदिऔँ देखि चलिआएको चाट हो । परम्परागत शैलिमा बन्ने भएका कारण , कुन अवस्थामा खान पाइने र चाटमा के–के हुन्छ भन्ने कुरा पहिल्यै अनुमान लगाउन सकिन्छ । जस्तो कि दाह्री–कपाल पालेर पेडियाट्रिक्स पोस्टिङ जाँदा , चप्पल लगाएर फरेन्सिक अटोप्सीमा जाँदा, यादवको किताब बोकेर एनेस्थेसिया पोस्टिङ जाँदा, डटपेन नलिइ सिएम भाइभा दिन जाँदा ( कहिलेकाहिँ यो चाटले भने डरलाग्दो फुड पोइजनिङ पनि गराउन सक्छ), नेम ट्याग नझुन्ड्याइ सर्जरी राउन्डमा जाँदा आदि अवस्थामा उहि बाजेको पुरानो चाट सियोर सट खान पाइन्छ ।

यो चाटको प्रमुख विशेषता भनेको चाहिँ यो आफूले खान भन्दा पनि अरुले खाएको हेर्न बहुत स्वादिलो हुन्छ । स्वादमा खासै तिख्खरोपन नहुने यस किसिमको चाट खान कुनै स्पेसल अकेजन भने पर्खिरहनु पर्दैन । हरेकदिन कसै न कसैले खाइरहेकै हुन्छ ।

 मगमगे चाट

यो एकप्रकारको खुस्बुदार चाट हो । परैबाट मगमग बास्ना आउने भएका कारण यसलाइ मगमगे चाट भनिएको हो । यसको बास्ना यति जोडदार हुन्छ कि तपाइले दुइ कोश परबाटै थाहा पाउनु हुन्छ , अब चाट खान पाइने भयो । मगमगेहरुले कस्तुरीका झैँ चाट बनाउने रिसिपि आफ्नो नाबीमै बोकेर हिँडेका हुन्छन् , कतै भेट्यो कि त ख्वाइहाल्छन् । आइओएमले सायद इन्ट्रास लिदै हरेक ब्याचमा यस्ता मगमगे चाट बनाउन पोख्तहरुलाइ एक वा दुइवटा कोटा अनिवार्य छुट्याइदिएको हुन्छ ।

उदाहरणका लागि, यदि तपाइ होस्टलबाट लाइब्रेरी जाँदै हुनुहुन्छ र मगमगे चाट मनमोहन साइडबाट यतै आइरहेको गन्ध पाउनु भयो भने पुरै इमर्जेन्सी घुमेर ब्याक साइडबाट लाइब्रेरी जानु बुद्धिमता ठहर्छ । त्यस्तै कहिले काहिँ भने मगमगे चाट क्युबिकल–क्युबिकल चहार्दै तपाइनेर आइपुग्न पनि सक्छ । त्यस्तो विषम परिस्थितिमा चाहिँ घोप्टो परेर निदाएको जस्तो गर्नु सबैभन्दा उत्तम विकल्प हो । 

भाग्दा भाग्दै पनि कहिलेकाहिँ यस्तो चाटको फेला पर्नु भयो भने यसपछिको लाइन सधै सम्झनुहोला । मगमगे चाटको सबैभन्दा गतिलो एन्टिडोट भनेको उल्टो उसैलाइ चाट खुवाउन नै हो । यदि तपाइसँग यो खुबिलिटि छ भने ठिक , नत्र अँ , अँ गरेर चाट खाइरहनुको विकल्प देखिन्न ।

जयनेपाल÷लालसलाम चाट

यस्ता चाट भने प्राय चुनाव ताका प्रशस्तै खान पाइन्छ । बेसिक साइन्सको लेक्चर हलबाट सुरु हुने यस्तो चाट खुवाउने कार्यक्रम , हाम्रो मेश , होस्टलका रुमरुम हुदै कहिले काहिँ आलिसान पार्टी प्यालेसहरुमा समेत पुग्दछन् । प्रत्यक्ष रुपमा चुनावमा उठेको उमेदवार र अप्रत्यक्ष रुपमा स्वचालित कटप्पाहरुको हातबाट एक डेढ हप्तासम्म मनग्गे चाट खाइरहन पाइन्छ । बिडम्बना चाहिँ के भन्दा साम्यवादी होस कि पुजिवादी दुवैले खुवाउने चाटको स्तर भने उहि नै हुन्छ । 

यो चाट खाने आफ्नै विशिष्ट शैलि छ । चाट खुवाउने व्यतिmले सुरुमा अनिवार्य चाट खाने व्यतिmसँग हात मिलाउँछ । त्यसरी च्याप्प हात समातिसकेपछि , उसैले तपाइको मुखमा कपाकप चाट हालिदिन्छ । त्यो पनि पहिला मटर त्यसपछि आलु गरेर बिस्तारै–बिस्तारै होइन सिधै सिङ्गो समोसाको डल्लो ।

सायद आइओएम भरिकै सबैभन्दा दुर्गन्धित चाट यहि हो । यो चाटको साइडइफेक्ट वर्षौसम्म पनि देखिरहन्छ , यसले गराउने ‘हर्टबर्न’का रुपमा । त्यस्तो हर्टबर्न जुन सायद कुनै पिपिआइले पनि ठिक नगर्न सक्छ ।

टक्जिक चाट

यो चाटहरुको पनि चाट हो अर्थात महाचाट । स्वादमा सबैभन्दा तिख्खरो र कहिले काहिँ प्राणघातक पनि सिद्ध हुनसक्ने भएकाले यसलाइ टक्जिक चाट भनिएको हो । यस्तो चाट प्राय बोर्ड इक्जामको भाइभाको दौरान खान पाइन्छ । ‘वाट इज फिजियोलोजी’ देखि ‘बेसिक साइन्स नै कमजोर भयो’ भन्ने बेलासम्म हरेक वर्ष हरेकले हरेक मंसिरदेखि पौषसम्म खाने चाट हो यो ।

लाउ चाऽऽऽऽट भनेर होला सायद सबैले दाह्री कपाल काटेर चिल्लो बन्छन् । टक्जिक चाटको थर्मल इफेक्टका कारण महिनौँ खुम्चिएका एप्रोनमा आइरन लाग्छन् ।  जुत्ता, चाटेकै जस्तो गरि टल्किन्छन् । अनि रातभर रातभर नसुतेका काला–राता आँखा मिच्दै अनि सरि सर र आइ डन्ट नो म्याम भन्दै मुफ्तमा चाट खाइरहन्छम ।

यी त भए केहि प्रतिनिधि चाटहरु । यो बाहेक अनेकौ अरु चाटहरु पनि  हुन्छन जसको व्याख्या यहा गरिएको छैन।

 यहाँ बताइएका कुनै पनि चाट तपाइले यदि  खानु भएको छैन भने सोच्नुस कि तपाइ आइओमाइट्स नै होइन । यी र यस्ता चाटहरु ३८ वर्ष अघिकाले पनि खाए र ३८ औँ ले पनि खाँदै छन् । सायद कति त खाएर, ख्वाउने पनि भइसकेका छन् ।

हेल्लो सरकार , आइओएमबाट पास आउट हरएक ग्राजुएटलाइ डाक्टरी डिग्रिको साथमा एउटा चाट विशेषज्ञको पैरवी पनि सङसँगै दे ।





Thursday, April 19, 2018

खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ? : पन्जाब डायरी



गोरखपुरबाट दिल्ली हुँदै पहिलोपटक पटियाला पुग्दा बिहानीको ३ बजिसकेको थियो । तर रात जति नै छिप्पिसकेको भएतापनी हामी भने पुरा निस्फिक्री थियौँ । पहिलो त पन्जाबका व्यस्त रात्रीकालिन सडकहरु र त्यहाँ चौबिसै घन्टा चल्ने सार्वजनिक यातायात छदै थिए ,दोस्रो चाहिँ हामी पन्जाबी साथिकै साथ लागेर उसको देश घुम्न गएका थियौँ । त्यसैले छिप्पिसकेको रातले मनमा कुनै त्रास पैदा गर्न सकेको थिएन ।

सामान्यत तपाइको घरमा बिहानीको ३ बजे कोहि पाहुना आइपुगे के गर्नुहुन्छ ? सुत्नका लागि ओढ्ने–ओछ्याउने व्यवस्था गरिदिने अनि थप सत्कारका लागि बिहानीको प्रतीक्षा गर्ने ।

तर पटियालाले भने हामीलाइ बिहानीको ३ बजे नै चौरासी व्यन्जनले भव्य स्वागत गर्यो । यहाँ चौरासी व्यन्जनलाइ बिम्बका रुपमा प्रयोग गरिएको होइन, झन्डै–झन्डै गनेरै ८४ थरिका परिकार हाम्रा लागि तयार बनाइएको थियो । म त आफ्नो जिवनकालमै पहिलोपटक त्यति झिसमिसेमा पेट चर्कने गरि खाँदै थिएँ ।

बिहानीले दिनको संकेत गर्छ । हो , त्यस बिहानीले पनि हाम्रो पन्जाब बसाइँ र त्यस दौरान हाम्रा खान्कीबारे स्पष्ट संकेत गर्दै थियो ।

२० औँ शताब्दिकी प्रसिद्द लेखिका भर्जि्निया वुल्फ भन्छिन्, यदि तपाईंले राम्रोसँग खानु भएको छैन भने, तपाईं राम्रोसँग सोच्न सक्नुहुन्न , राम्रोसँग सुत्न सक्नुहुन्न न त राम्रोसँग प्रेम  नै गर्न सक्नुहुनेछ । राजा अकबरले आफ्नो दरबारमा मिष्ठान्न भोजनका लागी मात्र ४०० भन्दा बढी भान्छेहरु  नियुक्त गरेका थिए रे । बेलायती प्रधानमन्त्री विस्टन चर्चिल सबेरै पेट चर्कने गरि नखाएसम्म केहि काम गर्दैन थिए ।

****

पन्जाबीहरु पनि खानका अत्यन्त सौखिन । अरु कुरा जे होस खाने कुरामा कहिलै कम्प्रमाइज नगर्ने । दिनको सुरुवात पन्जाबी लस्सी, ’गोबीका परौठा’, परौठामा दल्नैपर्ने शुद्द देशी मख्खन,थरीथरीका अचार, अन्डाका परिकार,खुवा, पन्जिरी ( जौको पिठोबाट बनेको पन्जाबी परिकार ) , चिया आदिले  हुन्थ्यो । त्यो पनि एउटा, दुइटा परौठा र एक, दुइ गिलास लस्सी खाएर उम्कन नपाइने , अनिवार्य थपिथपी खानै पर्ने ।

बेलुकी मख्खी (मकैको) रोटी, सर्सोका साग , चावल ,दाल , चिकेन सुप अनि सबै परिकारमा मिसाउनका लागि छुट्टै मख्खन । त्यति खाइसकेपछि उठ्ने बेलामा गुलाब–जामुन अनि फेरि चुठ्ने बेलामा पन्जाबी सुप ।

दिउँसो खाली मुख बसेको देख्नै नहुने मानौँ मुख चल्न रोकियो भने संसार पनि चल्न  रोकिने छ । समोसा , पकौडा , चाप ( एक प्रकारको भेज सेकुवा ), आलुका परिकार , भुजिया आदिले दिनमा संसारलाइ चलायमान राख्दथ्यो ।



****

दिउँसो प्राय हामी पटियालाका शहर बजार अनि पुरातात्विक ठाउँहरु घुम्न निस्किन्थ्यौँ । एकदिन त एकजना साथीले असह्य भएर प्रस्ताव राख्यो:

“ पाजी आज हम घर नहि जायङ्गे, ठिक हे ?”

" पर क्यू भाइ, घर क्यू नहि जायङ्गे ? ”

“क्यू कि घर वाले ख्वा ख्वा कर मुजे मार डालेङ्गे ”  उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर  भावना चाहिँ पुरै टोलिकै त्यहि थियो ।

टाउकोमा पगरी नलगाएका नौला मानिस अनि त्यस माथि विदेशी पाहुना भनेर हामीले त्यहाँ राम्रै सत्कार पाएका थियौँ  । तर पनि बिहान बेलुकी यसो घुम्न निस्कदा  हामी भने सकेसम्म पाजीको आफन्त वा साथीको घरमा छिर्न खोज्दैनथ्यौँ ।जहाँ छिर्यो पेट चर्कनेगरि खानै पर्ने । 

केहि दिन अघि मात्रै राजदिपको घरमा घाटीसम्म आउनेगरि समोसा , लालमोहन  अनि गाँजरको हलुवा खानु परेको हामी कसैले बिर्सिएका थिएनम । दोस्रोबाट तेस्रो लालमोहन प्लेटमा थपिदा त सातै जनाको हात आत्मासमर्पण गर्ने शैलिमा ठडिएको थियो ।

हाम्रो बसाइकै दौरान नयाँ वर्ष आयो जसको रौनकले सिङ्गो पन्जाब झुमेको थियो । चोक चोकमा नाँच्ने गाउनेहरुको ठूलो भिँड जम्मा भएको थियो अनि बजारका सयौँ स्टलहरुमा हजारौँ परिकारका खानेकुरा उपलब्ध थिए । घरमा हाम्रा लागि भनेर झन विशेष पाकवानहरु तयार भइरहेका थिए । जता गयो खाने र खुवाउने कुरा मात्रै ।


कतिकति खेर त साथीले "क्या गाना हे" भनेर गितको तारिफ गर्दा पनि गानालाइ खाना सुनेर " बस भाइ नहि खाना हे " भनेका  उदाहारणहरु छ्न । समग्रमा भन्नुपर्दा  पन्जाबले हाम्रा लागि एक किसिमको खाना आतङ्क नै सिर्जना गरिदिएको थियो ।


****

झन त्यसबेला हामी आश्चर्यचकित भयौँ जतिखेर उहाँहरु भन्दै हुनुहुन्थ्यो , पाहुना आएका छन् भनेर हामीले विशेष केहि पकाएका होइनौ । धेरै परिकार बनाएर खाने हाम्रो संस्कार नै हो । नभन्दै शहर , बजार अनि गल्लिहरुमा भेटिने हरएक पन्जाबीहरु खाए जस्तै अग्ला , हृष्ट , पुष्ट अनि फूर्तिला देखिन्थे ।


पन्जाबीहरुमा खाने संस्कृति विकास हुनुको मूख्य कारण उनीहरुको सबल कृषिकर्म नै हो । भारतमा १९६० को दशकमा हरित क्रान्ति अर्थात ग्रिन रिभोलुसन सम्पन्न भयो जसको नेतृत्व पन्जाबले नै गरेको थियो । प्रशस्त खेतियोग्य जमिन र अधिकांश मानिस कृषि पेशामै संलग्न रहँदा रहँदै पनि मनग्गे उत्पादन भने हुन सकिरहेको थिएन । तर पन्जाब सरकारले ६० को दशकमा हठात एउटा निर्णय मार्फत कृषि क्षेत्रमा व्यापक लगानी बढायो । मेक्सिकोबाट आफ्नो माटो सुहाउँदो अठार हजार टन गहुँका दानाहरु मगाएर कृषकहरुलाइ वितरण गर्यो । बिजुली , पानी र फर्टिलाइजरहरु लगभग निशुल्क रुपमा खेतबारीहरुमा उपलब्ध गरायो । फलस्वरुप पन्जाब आफूलाइ मात्र होइन सारा भारतलाइ पुग्ने अन्न उत्पादन गर्न सक्षम बन्यो ।

आज पनि त्यहाँका खेतियोग्य जमिनलाइ प्लटिङ गरेर बेच्न वा बसोबास गर्न निकै नै झन्झटिलो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । खेतबारीमा सरकारले निशुल्क बिजुली र सिचाइको व्यवस्था गरेको छ । हरेक मुख्य शहरहरुका वरिपरि ठूला ठूला नहरहरु देख्न सकिन्छ । कृषि औजार खरिद गर्न कृषकहरुले मनग्गे अनुदान पाएका छन् ।

त्यसैले त पन्जाब सिङ्गो राष्ट्रकै अन्नभण्डार बनेर उभिएको छ ।  तसर्थ भण्डारकै डाडु पुन्यू भएकाको भान्सामा अनेकथरि परिकार पाक्नु नौलो कुरो पनि त भएन । 



****

शाह जाले औरङ्गजेबलाइ बन्दि बनाउदै गर्दा उनकै रोजाइको एउटा मात्र अन्न खान दिनु भनि आदेश दिएका थिए रे । कुटिल औरङ्गजेबले चना मागे र आफ्नो निर्वासित जीवन चना मात्र खाएर बिताए ।

त्यो बाँच्नका लागि खाइएको खाना थियो । 

संसारमा आधाभन्दा बढी जनसंख्या (सायद) आजपनि बाच्नका लागी मात्र खान्छ । गिठ्ठा, भ्याकुर बटुलेर गुजारा गर्ने या अरुले फालेका जुठा खाना खाएर जिविका चलाउने सयौँ उदाहरण त हाम्रै वरिपरि प्रशस्तै छन् । 

कोहि हुन्छन् , रोग ब्याधिका कारण खानबाट बन्चित हुनेहरु । 

फेरि कोहि कोहि चाहिँ आफ्नो सिदान्त , धर्म , तपस्या या पेशाका कारण ठिक्क शरिर सुहाउँदो अड्कलेर खाने हुन्छन् ।

न्युनतम बाच्नका लागी पनि खान नपाउनेहरुका निम्ती खानु ज्यादै नै महत्वपूर्ण कर्म हो । त्यसमा कुनै दुइ मत नै रहेन । तर जो 'बाँचिरहेका' छन् उनिहरुका लागी खानु कत्तिको महत्वपूर्ण छ त ?

सन २००९ मा प्रकाशित जर्मन जर्नललाई आधार मान्ने हो भने , मानिस बिना खाना र पानी ८ देखि २१ दिनसम्म बाँच्न सक्छ र पानी मात्र पिएर दुई महिनासम्म । तर त्यति लामो समय भोकै बस्दा  विभिन्न अङ्गहरुमा पर्ने असर भने भयावह छ  । तसर्थ मानिसले बाँच्नका लागि खान पर्ने न्युनतम खाना भनेको वयस्क पुरुषका लागि १२०० क्यालोरी प्रतिदिन र वयस्क महिलाका लागि १८०० क्यालोरी प्रतिदिन हो । मानिसलाइ बाँच्नका लागि न्युनतम कति खाना चाहिन्छ भनेर विभिन्न साइन्टिफिक रिसर्चहरु भएका छन् , तिनैलाइ आधार बनाएर सुत्रहरु पनि बनेका छन् । उदाहारणका लागि पाँच फिट चार इन्च उचाइ र ६० केजी तौल भएकी  ३० वर्षीय महिलालाइ प्रतिदिन न्युनतम १४१५ क्यालोरी शक्ति बाँच्नका लागि चाहिन्छ ।

सर्सर्ती हिसाब गर्दा, ठिक्कको एक थाल पाकेको भातमा ३०० क्यालोरी , एक कचौरा दालमा ३५० क्यालोरी , एउटा रोटी बराबर १०० क्यालोरी , बन्दाको तरकारी १२२ क्यालोरी , प्रती गोटा आलु १०० क्यालोरी  र एउटा अन्डा बराबर १७३ क्यालोरी शक्ति हाम्रो शरिरले प्राप्त गर्दछ । अझ घिउ , मासु , दहि , मोहीमा छुट्टै थप क्यालोरी पाइन्छ । यसरी हेर्दा हामीले खाने एक छाक सामान्य खाना मात्रै पनि बाँच्नका लागि पर्याप्त छ ।

तर के हामी बाँच्नका लागि मात्र खान्छौँ त ? प्राय मानिसहरुका लागी खानु ,अझ मिठो खानु जीवनको महत्वपूर्ण कर्म हो । धेरैले तर्क गर्छन् 'यो सब गरेको खानकै लागी त हो ।' हुन पनि हो, हाम्रो शरिरको बनावट नै त्यस्तै छ । यो मेसिन रुपी शरीर चलेकै हामीले खाने खानाबाटै हो । खाएको खानालाइ घन्टौँ लगाएर पचायो , त्यसबाटै शक्ति सन्चय गर्यो , रगत मार्फत त्यही खानाबाटै सन्चित शक्तिलाइ कोसिकाहरुसम्म पुर्यायो अनि यो हड्डी र मांसपेशीहरुलाइ जिवित तुल्यायो ।

अझ मानिसले खान नछाडोस भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने , खाउ-खाउ लाग्ने ,मिठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरुले  त झन खाने कर्मलाइ महत्वपूर्ण नै बनाइदिएका छन् ।

****

एकचोटि यसरी सोचौँ न , यदि मानिसले खानेकर्मलाइ  आफ्नो सबैभन्दा न्युनतम  प्राथमिकतामा राखे के हुन्छ ? (पुन: यस आलेखमा दुइ छाक खान धौधौ पर्ने समुदायको खानेकर्मका बारे चर्चा गरिएको छैन) ।


हामी मिठै खाउ भन्नका निम्ती असल/खराब जस्तो कार्य पनि गर्छौँ । खानैका लागि कतिपय ठाउँमा आफ्नो श्री, इतिश्री भुलिदिन्छौँ । दौडधुप , मारकाट , झैझगडा खानाकै लागी हुन्छन्  । पापी पेटका अघि इमान र न्याय  झुकेका सयौँ उदाहरण छन् । 

भनिन्छ मानिसको सृष्टि गर्दा उसलाइ भगवानले एउटा अर्ति दिनुभएको थियो रे , एकपटक खानु अनि तिन पटक नुहाउनु । तर मानिसले भने त्यसलाइ ठिक उल्टो बुझे, एकपटक नुहाउनु अनि तिनपटक खानु । फलस्वरूप , मानिसले आज खाना खानुलाइ नै जिवन ज्युनुको पर्याय बनाएका छन् ।

हो खानुपर्छ । मिठो मसिनो नै खानुपर्छ । पेट चर्कने गरि नै खानुपर्छ । बाँच्नका लागी मात्र होइन, स्वस्थ रहन अनि चुस्त दुरुस्त रहन पनि खानैपर्छ । तर हरेकदिन हरेक गाँस हाल्नु अघि एउटै प्रश्नको उत्तर खोज्न  जरुरी छ :

के यो खाना मेरो इमान र परिश्रमको खाना हो ?

आखिर पन्जाबले हामीलाइ सिकाएको कुरो पनि त्यहि थियो, बडो इमानदारीका साथ कृषिकर्म गर्ने अनि आफ्नो परिश्रमको कमाइ उस्तै रइस पाराले खाने ।


तस्बिर : बिर अनमोल सिंह सन्धु , पटियाला ।


Saturday, April 7, 2018

गुँरास फुल्यो

डाँडा पाखा ढकमक्क बोटै भरी गुँरास फुल्यो
मुस्कुराउने सान्नानीको ओठै भरी गुँरास फुल्यो ।

तिम्लाइ नभेटेरै रैछ, साइत मेरो नजुरेको
वर्षौं देखि थन्किएको कोटै भरी गुँरास फुल्यो ।

आजकालका मदन हुन एक मुनामा अड्कदैनन
घर छोडेर हिँडेका थे, भोटै भरी गुँरास फुल्यो ।

कति पुस्ता त्यहिँ टड्पे, कति पुस्ता त्यहिँ मरे
जब भत्क्यो अनि बल्ल 'छाउ' गोठै भरी गुँरास फुल्यो ।

सृष्टिको नियम यस्तै होनी, आएपछी जानै पर्ने
ज्यान बचाउने डाक्सापको नी, फोटै भरी गुँरास फुल्यो ।

अन्तिम शेर;

जीवन कति सुन्दर रैछ, बुझे मैले त्यतिखेर
तिमी आको पहिलो रातमै , कोठै भरी गुँरास फुल्यो ।